२८ साउन, काठमाण्डौ ।
युरोपका करिब ३० वर्षयताकै सबैभन्दा दुर्लभ र आकर्षक सूर्यग्रहण देखिएको छ। यो अद्भूत खगोलीय दृश्य हेर्नका लागि युरोपभरि लाखौँ मानिसको सहभागिता रहेको थियो। बुधबार साँझ युरोपका लाखौँ मानिसले एउटा अद्भूत खगोलीय दृश्य अर्थात् सूर्यग्रहणको अनुभव गरेका छन् ।
उत्तरी तथा मध्य स्पेनको ठूलो भूभाग, पोर्चुगलको केही भाग तथा ग्रिनल्यान्ड र आइसल्यान्डका केही क्षेत्रमा दुर्लभ पूर्ण सूर्यग्रहण देखिएको छ पश्चिमी युरोपका बेलायत, फ्रान्स, बेल्जियम, स्विट्जरल्यान्ड र उत्तरी इटालीसहितका धेरै क्षेत्रमा अस्ताउँदै गरेको सूर्यको प्रकाश लगभग पूर्ण रूपमा छेकिएको छ।

बेलायती समय अनुसार साँझ सात बजेपछि उच्च विन्दुमा पुगेको उक्त ग्रहणमा बेलायतका बहुसंख्यक मानिसले ९० प्रतिशतभन्दा बढी सूर्य चन्द्रमाले ढाकेको देखेका थिए। बेलायतमा आंशिक ग्रहण देखिए पनि ग्रिनल्यान्ड, आइसल्यान्ड र स्पेनका केही भागमा भने पूर्ण सूर्यग्रहण लागेर केही समय अँध्यारो छाएको थियो।
यो खगोलीय घटनाको बाटो रुसको साइबेरियाली उत्तरी भेगबाट सुरु भएको थियो। त्यसपछि आर्कटिक महासागर हुँदै आइसल्यान्ड र बेलायतसम्म यसको असर फैलिएको थियो। बेलायतका विभिन्न भागमा साँझ ६ बजेदेखि ६ः२० को बिचमा आंशिक ग्रहण सुरु भएको थियो।
सुरुमा महसुस नभए पनि आकाश सफा भएका क्षेत्रमा चन्द्रमाले बिस्तारै सूर्यलाई ढाक्दै लगेको प्रस्ट देखिएको थियो। मध्य र दक्षिणी इंग्ल्याण्ड तथा वेल्समा मौसम सफा रहेकाले मानिसहरूले राम्रोसँग ग्रहण अवलोकन गर्न पाएका थिए।
उत्तरी इंग्ल्याण्ड, स्कटल्यान्ड र उत्तरी आयरल्यान्डमा अलि बढी बादल लागे पनि मानिसहरू प्रसिद्ध स्थलहरूमा भेला भएर दृश्य हेर्न छाडेनन्। ग्रहण हेर्ने विशेष चस्माको अभाव भएपछि मानिसहरूले भान्छामा प्रयोग हुने जाली, भाँडा, बट्टा र कागजका टुक्राहरू प्रयोग गरेर सुरक्षित रूपमा ग्रहण हेरेका थिए।
पृथ्वी, सूर्य र चन्द्रमा एकै सीधा रेखामा पर्दा सूर्यग्रहण लाग्छ। बेलायतबाट पूर्ण रूपमा एउटै रेखामा नदेखिएकाले त्यहाँ आंशिक ग्रहण मात्र देखिएको हो। यद्यपि सन् १९९९ पछि बेलायतमा देखिएको यो नै सबैभन्दा ठुलो सूर्यग्रहण हो।
इंग्ल्याण्डको कर्नवालमा ९५ प्रतिशतसम्म सूर्य ढाकिएको थियो। स्पेनमा भने साँझ करिब साढे सात बजे सूर्य, चन्द्रमा र पृथ्वी पूर्ण रूपमा एउटै रेखामा परेर पूर्ण सूर्यग्रहण लागेको थियो।
उक्त दृश्य हेर्न हजारौँ माइल यात्रा गरेर स्पेनको ए कोरुना पुगेकी चिलीकी वैज्ञानिक यास्मिन क्याट्रिचियोले भनिन्, ‘पूर्ण ग्रहणका बेला सबै जना खुसीले कराउँदै दृश्य सेयर गरिरहेका थिए। त्यो अनुभव शब्दमा व्यक्त गर्न सकिँदैन, ब्रह्माण्ड साँच्चै नै अद्भुत छ।’
सूर्यग्रहण त्यतिबेला हुन्छ, जब चन्द्रमा पृथ्वी र सूर्यको बीचमा सीधा आउँछ र त्यस क्रममा चन्द्रमाले पृथ्वीमा आफ्नो छाया पार्छ। सूर्यको प्रकाश चन्द्रमाले पूर्ण रूपमा छेक्दा दर्शकहरूले पूर्ण सूर्यग्रहण देख्छन्। यस्तो अवस्थामा उनीहरू चन्द्रमाको छायाको ‘उम्ब्रा’ क्षेत्रमा हुन्छन्।
त्यस्तै, सूर्यको केही भाग मात्र छेकिँदा आंशिक सूर्यग्रहण देखिन्छ, जसमा दर्शकहरू चन्द्रमाको छायाको ‘पेनुम्ब्रा’ क्षेत्रमा हुन्छन्। “पूर्ण सूर्यग्रहण देखिनका लागि चन्द्रमा र सूर्य ठ्याक्कै एउटै रेखामा पर्नुपर्छ, ताकि चन्द्रमाले सूर्यलाई पूर्ण रूपमा ढाक्न सकोस्,” युनिभर्सिटी अफ ल्यान्काशायरकी खगोलभौतिकशास्त्री तथा सोसाइटी फर पपुलर एस्ट्रोनोमीकी उपाध्यक्ष डा। मेगन आर्गोले भनिन्।
“चन्द्रमाको कक्ष केही ढल्किएको हुने भएकाले पृथ्वीको परिक्रमा गर्ने प्रत्येक पटक हाम्रो दृष्टिकोणबाट सूर्यको सतह अगाडि चन्द्रमा आइपुग्दैन।” दर्शकले पूर्ण, आंशिक वा कुनै पनि सूर्यग्रहण देख्ने भन्ने कुरा पृथ्वीको सतहमा उनीहरू रहेको स्थानमा निर्भर गर्छ। “पूर्ण सूर्यग्रहण हेर्न तपाईं चन्द्रमाको छायाको ठीक बीचमा हुनुपर्छ, जुन पृथ्वीको सतहमा निकै साँघुरो मार्ग हो,” आर्गोले भनिन्।
यो पूर्ण सूर्यग्रहण दुई दशकपछि मुख्यभूमि युरोपबाट देखिने पहिलो घटना भएको छ । बेलायतबाट अर्को पूर्ण सूर्यग्रहण सन् २०९० सम्म देखिने छैन। बेलायतमा बुधबार आंशिक सूर्यग्रहण मात्र देखिए पनि विज्ञहरू यसलाई लिएर उत्साहित भएका छन् ।
बेलायतबाट यससँग तुलनायोग्य अर्को घटना सन् २०८१ मा मात्र देखिनेछ। “सन् १९९९ पछि बेलायतमा देखिने यो सबैभन्दा राम्रो सूर्यग्रहण हो। यसअघि केही आंशिक ग्रहण देखिएका थिए, तर यसपटकजति गहिरो, अर्थात् चन्द्रमाले सूर्यको यति ठूलो भाग ढाक्ने ग्रहण देखिएको थिएन,” आर्गोले भनिन्।
सामान्यतया पृथ्वीको कुनै न कुनै भागमा हरेक १८ महिनामा पूर्ण सूर्यग्रहण लाग्छ। तर कुनै एक निश्चित स्थानमा भने करिब चार सय वर्षमा एक पटक मात्र यस्तो अवसर जुर्छ। स्पेनमा पूर्ण सूर्यग्रहण हेर्नेहरूले सूर्यको पछाडि रातो चमक र टाढासम्म फैलिएको ग्यासको ज्वाला (कोरोना) समेत देखेका थिए।
पूर्ण सूर्यग्रहण दुई मिनेटभन्दा कम समय मात्र कायम रहे पनि अवलोकनकर्ताहरूका लागि यो अविस्मरणीय बनेको छ। वैज्ञानिकहरूका अनुसार सूर्य पृथ्वीभन्दा १५ करोड किलोमिटर टाढा छ, जुन दूरी चन्द्रमाको तुलनामा ४०० गुणा बढी हो।
तर चन्द्रमाको व्यास सूर्यभन्दा ४०० गुणा सानो भएकाले आकाशमा दुवैको आकार एउटै देखिन्छ। चन्द्रमा अलि सानो वा अलि टाढा भएको भए पृथ्वीबाट कहिल्यै पूर्ण सूर्यग्रहण देखिने थिएन। अब सन् २०२६ देखि २०२८ को बिचमा पूर्ण सूर्यग्रहणको एउटा ठुलो शृङ्खला सुरु हुँदै छ।
तर ती ग्रहणहरू बेलायतबाट देखिने छैनन्। बेलायतमा अब सन् २०२७ मा करिब ४५ प्रतिशतसम्म ढाकिने आंशिक ग्रहण देखिने छ । सूर्यग्रहण वैज्ञानिक अध्ययनका लागि पनि महत्वपूर्ण हुन्छ। “ग्रहणका क्रममा हामीले वैज्ञानिक अध्ययन गर्न सक्छौँ,” आर्गोले भनिन्।
यसले सूर्यको बाहिरी वायुमण्डल अर्थात् ‘सोलार कोरोना’को अध्ययन गर्ने अवसर दिन्छ। यसबाट सूर्यको वायुमण्डलको रासायनिक संरचना तथा ११ वर्षे चक्रमा दोहोरिने सूर्यका धब्बा र सौर्य गतिविधिअनुसार वायुमण्डलमा हुने परिवर्तनबारे धेरै जानकारी प्राप्त गर्न सकिन्छ।
सूर्यग्रहणका क्रममा विगतमा महत्वपूर्ण वैज्ञानिक प्रयोगसमेत भएका छन्। सन् १९१९ को सूर्यग्रहणका बेला सूर्यनजिक रहेका ग्रह र ताराहरूको स्थिति मापन गर्न वैज्ञानिकहरूले अभियान सञ्चालन गरेका थिए। त्यसको मुख्य उद्देश्य आइन्स्टाइनको सामान्य सापेक्षताको सिद्धान्त पुष्टि गर्नु थियो ।






