२८ साउन, काठमाण्डौ ।
नेपालको लुम्बिनीमा जन्मिएका विश्व शान्तिका अग्रदूत भगवान गौतमबुद्धका ४ प्रमुख महातीर्थस्थल छन् । नेपालको लुम्बिनी जहाँ बुद्धको जन्म भयो । बोधगया, जहाँ बुद्धले ज्ञानप्राप्ति गरे, सारनाथ, जहाँ बुद्धले पहिलो धर्मोपदेश दिए भने कुशीनगर, जहाँ बुद्धको महापरिनिर्वाण अर्थात निधन भएको थियो ।
बुद्धका यी चार महातीर्थ मध्ये बुद्धले ज्ञानप्राप्त गरेको बोधगयामा अहिले बौद्ध समुदायकै पूर्ण अधिकार हुनुपर्छ ? कि यसको व्यवस्थापनमा साझा संस्कृतिको नाममा अन्य धर्मको प्रभाव पनि कायमै रहनुपर्छ ? भन्ने प्रश्नले आज भारतको धार्मिक तथा राजनीतिक वृत्तमा ठुलो हलचल ल्याएको छ ।

जहाँ ऐतिहासिक महाबोधि मन्दिरको प्रशासनिक अधिकारलाई लिएर हिन्दू र बौद्ध धर्मावलम्बीहरूबीच लामो समयदेखि चल्दै आएको विवादले अहिले सडक आन्दोलनको रूप लिएको छ।विश्वभरका बौद्ध धर्मावलम्बीहरूको आस्थाको केन्द्र तथा गौतम बुद्धले ज्ञान प्राप्त गरेको पवित्र भूमि बोधगयास्थित महाबोधि मन्दिर को व्यवस्थापनलाई लिएर वर्तमान समयमा भारतभर गम्भीर विवाद उत्पन्न भएको छ ।
बुद्धले बोधिपत्र मुनि बसेर आध्यात्मिक ज्ञान प्राप्त गरेको यस ऐतिहासिक धरोहरमाथि कसको पूर्ण प्रशासनिक अधिकार हुनुपर्छ भन्ने विषयले अहिले गम्भीर बहसको रूप लिएको छ।गत डेढ वर्षभन्दा बढी समयदेखि भारतका विभिन्न प्रान्तहरूबाट आएका हजारौँ बौद्धमार्गीहरू महाबोधि मन्दिर परिसरभन्दा केही टाढा धर्ना तथा विरोध प्रदर्शनमा बसिरहेका छन्।
उनीहरूले मुख्य रूपमा सन् १९४९ को बोधगया मन्दिर ऐन (बीटीए) खारेज गर्नुपर्ने र मन्दिरको सम्पूर्ण प्रशासनिक तथा व्यवस्थापकीय अधिकार बौद्ध समुदायलाई मात्रै सुम्पिनुपर्ने माग अघि सारेका छन्। शताब्दीयौँ पुरानो यो ऐतिहासिक स्थलमा वर्तमान समयमा देखिएको हिन्दु र बौद्धमार्गीबीचको वैचारिक तथा प्रशासनिक टकरावको यथार्थता के हो ? आज हामी यही विषयमा चर्चा गर्न गइरहेका छौ ।
बिहार राज्यको राजधानी पटनाबाट लगभग एक सय किलोमिटर दक्षिणमा अवस्थित महाबोधि मन्दिरको निर्माण पाँचौँ र छैटौँ शताब्दीको बीचमा भएको मानिन्छ। तथापि, यसको ऐतिहासिक जरो भने इसापूर्व तेस्रो शताब्दीमा महान् सम्राट अशोकको शासनकालसँग गासिएको छ।
इसापूर्व २५९ मा आफ्नो शासनको दशौँ वर्षमा बोधगयाको भ्रमण गरेका सम्राट अशोकले यस पवित्र स्थलमा भव्य स्तूप र बौद्ध मन्दिरहरूको निर्माण गराएका थिए। उनले पिपलको रूखमुनि ढुङ्गाको विशेष सिंहासन र त्यसको वरिपरि बार लगाएका थिए।
अशोकले आफ्ना छोरा महेन्द्र र छोरी सङ्घमित्रलाई बौद्ध धर्मको प्रचारका लागि श्रीलङ्का पठाएका थिए, जसमा सङ्घमित्रले यही बोधि वृक्षको एक पवित्र हाँगा श्रीलङ्का लगेकी थिइन् । यस मन्दिर परिसरको सबैभन्दा विशिष्ट र पवित्र पक्ष भनेको त्यहाँको महाबोधि वृक्ष पिपलको रूख हो, जसको मुनि बसेर सिद्धार्थ गौतमले कठोर तपस्या पश्चात् बुद्धत्व प्राप्त गरेका थिए।
इतिहासकारहरूका अनुसार, सातौँ शताब्दीको सुरुमा बङ्गालका हिन्दू राजा शशाङ्कले बोधगयाको मूल पिपलको रूख उखेलेर नष्ट गरेको जनविश्वास पाइन्छ। यद्यपि, बौद्ध परम्पराअनुसार पछि सोही स्थानमा श्रीलङ्काबाट ल्याइएको अर्को हाँगा रोपेर त्यसलाई निरन्तरता दिइयो।प्राचीन पाली र प्राकृत भाषाका विज्ञ तथा इतिहासकार डाक्टर राजेन्द्रप्रसाद सिंहका अनुसार, १० औँ र ११ औँ शताब्दीतिर यस क्षेत्रमा बौद्ध धर्म क्रमशः कमजोर हुँदै गयो र बौद्ध भिक्षुहरूले बिस्तारै यो क्षेत्र छोड्दै गए।
लामो समयसम्म यो मन्दिर सुनसान रह्यो र समयको अन्तरालसँगै यो क्षेत्र झाडी र जङ्गलले भरिन पुग्यो।मठ र मन्दिरहरूको स्थापनाः इतिहास अनुसार सन् १५९० मा एक हिन्दू भिक्षु घमण्डी गिरिले बौद्ध मन्दिर नजिकै एउटा हिन्दू मन्दिरको निर्माण गरेका थिए, जुन आजसम्म पनि कायम छ।
समय बित्दै जाँदा ब्रिटिश शासनकाल (उन्टासौं शताब्दी) मा यस मन्दिरको ठूलो स्तरमा जीर्णोद्धार र मर्मत गरियो। तर, मन्दिर परिसरमा रहेका विभिन्न हिन्दू मन्दिरका महन्तहरूले पनि यसको व्यवस्थापनमा आफ्नो स्वामित्व दाबी गर्न थाले, जसले गर्दा दुई समुदायबीचको विवादले नयाँ मोड लियो।
यो विवादलाई समाधान गर्ने उद्देश्यले बिहार विधानसभाले सन् १९४९ मा बोधगया मन्दिर ऐन पारित गर्यो। यस ऐनले व्यवस्थापनका लागि एक समिति गठन गर्यो, जसमा चार जना बौद्ध र चार जना हिन्दू सदस्यहरू रहने व्यवस्था गरियो। यस समितिको नेतृत्व सामान्यतया हिन्दू धर्मावलम्बी रहेका जिल्ला मजिस्ट्रेटले गर्ने गर्दछन्।
बौद्धमार्गीहरूको मुख्य गुनासो यहीँबाट सुरु हुन्छ; उनीहरूको नजरमा सरकारद्वारा मनोनीत हुने यी सदस्यहरू र हिन्दू अध्यक्षका कारण समिति प्रत्यक्ष रूपमा हिन्दूहरूको नियन्त्रणमा पुगेको छ। भन्ते प्रज्ञाशील, जो विगत आठ वर्षदेखि मन्दिरका प्रमुख भिक्षुको रूपमा कार्यरत छन्, उनी यो ठाउँ विशुद्ध रूपमा विश्वभरका बौद्धमार्गीहरूको ऐतिहासिक तथा सांस्कृतिक धरोहर भएको बताउँछन्।
उनका अनुसार, सारा संसारलाई यो ठाउँ बौद्धमार्गीहरूको हो भन्ने थाहा छ, त्यसैले यसको व्यवस्थापन पूर्ण रूपमा बौद्ध समुदायले नै पाउनुपर्छ।
आन्दोलनको नेतृत्व गरिरहेका अल इन्डिया बुद्धिस्ट फोरमका प्रमुख डाक्टर आकाश लामाले दिल्लीको जन्तरमन्तरमा आयोजित विरोध प्रदर्शनलाई सम्बोधन गर्दै भनेका छन्, “हामी कुनै पनि धर्मका विरोधी होइनौँ, तर सम्राट् अशोकले निर्माण गरेको र बुद्धले ज्ञान प्राप्त गरेको यो पवित्र भूमिमाथि भएको अन्याय हामी अब थप सहन सक्दैनौँ। अयोध्यामा राममन्दिर बन्दा त्यहाँ जसरि बौद्ध वा अन्य कुनै कुरा छैन, त्यसरी नै यो हाम्रो पवित्र स्थल हो।“
उनीहरूले सन् १९४९ को ऐनलाई असंवैधानिक घोषणा गर्दै तत्काल खारेज गर्न जोड दिएका छन्। अर्कातर्फ, बोधगयाका प्रमुख महन्त विवेकानन्द गिरि बौद्धमार्गीहरूको यो आन्दोलनको कुनै औचित्य नरहेको जिकिर गर्छन्। उनका अनुसार, व्यवस्थापन समितिका हिन्दू सदस्यहरू पनि उत्तिकै रूपमा बुद्धका अनुयायी हुन्।
मन्दिरभित्र हिन्दू देवता शिव वा अन्य देवताको उपस्थितिका बारेमा स्पष्ट पार्दै महन्त विवेकानन्द गिरि भन्छन् कि सम्राट् अशोकको पालादेखि वा त्योभन्दा पनि पहिलेदेखि यहाँ भगवान् बुद्धको पूजा हुँदै आएको कुरामा कुनै शङ्का छैन, तर भगवान् बुद्धसँगै यहाँ सुरुदेखि नै भगवान् शिवको पनि पुजिँदै आएको धार्मिक प्रमाणहरू पाइन्छन्।
बाह्रौँ शताब्दीको उत्तरार्धमा बख्तियार खिल्जीद्वारा बौद्ध गुम्बा ध्वस्त पारिएपछि यहाँको हिन्दू समाज र बोधगया मठका महन्तले यसको रेखदेख गरेकोले यहाँ भगवान् बुद्ध र भगवान् शिवको समान रूपमा पूजा हुँदै आएको उनको तर्क छ।भारतमा यस विवादले राजनीतिक र कानुनी रूप समेत लिइसकेको छ।
भारतको सर्वोच्च अदालतमा समेत बोधि विहार व्यवस्थापन समितिमा बौद्धहरूको उचित र पूर्ण प्रतिनिधित्व हुनुपर्ने माग राख्दै एक महत्त्वपूर्ण रिट निवेदन विचाराधीन अवस्थामा रहेको छ।
भारतको कुल जनसङ्ख्याको करिब एक प्रतिशतभन्दा पनि कम अर्थात् करिब ९० लाख मात्रै बौद्ध धर्मावलम्बीहरू रहेको यस देशमा यो आन्दोलन केवल व्यवस्थापकीय अधिकारको लडाइँ मात्र नभई पहिचान, आस्था र सांस्कृतिक स्वायत्तताको एक ठूलो राष्ट्रिय मुद्दा बनेको छ।






