युएस सैनिक मारे÷समाते ३० हजारदेखि ६० हजार डलर दिने इरानी घोषणा

१ भदौ , काठमाण्डौ ।

Advertisement

इरान र अमेरिकाबीच एकातिर मैदानमा युद्ध, अर्कातिर सामाजिक संजालमा तीव्र बनेको वाक युद्ध अब झनै उग्र बनेको छ । एकातर्फ डोनाल्ड ट्रम्पले इरानको हारपछि होर्मुज स्ट्रेटलाई अमेरिकी भूभाग घोषणा गर्ने दाबी गरिरहेका छन् भने अर्कातिर इरानले पनि अमेरिकी सैनिक मार्ने वा नियन्त्रणमा लिनेलाई हजारौं अमेरिकी डलरको घोषणा गरेको छ ।

इरानी सेनाले कुनै पनि अमेरिकी सैनिकलाई मार्ने वा नियन्त्रणमा लिने व्यक्तिलाई ३० हजार अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको छ । यदि यो कार्य कुनै महिलाले गरेमा पुरस्कार रकम दोब्बर अर्थात् ६० हजार डलर पु¥याइने इरानी सेनाले जनाएको छ । साथै, आक्रमणमा प्रयोग गरिएको हतियार खरिद गरी संग्रहालयमा राखिनेछ ।

Advertisement

तेहरानमा आयोजित एक कार्यक्रममा इरानी सेनाका कमाण्डर–इन–चिफ अमिर हातमीले वित्तीय जिहादमार्फत देशको युद्ध प्रयासमा आर्थिक सहयोग गर्न चाहने नागरिकहरूको मागबमोजिम यो योजना ल्याइएको बताए । हातमीले यस योजनाले अमेरिकाको सैन्य प्रभुत्वलाई कमजोर बनाएको र धेरै देशहरूलाई आफ्नो सुरक्षाका लागि अन्य विकल्प खोज्न बाध्य पारेको दाबी गरे ।

इरानलाई पराजित गरेपछि होर्मुज स्ट्रेटलाई अमेरिकी क्षेत्र घोषणा गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अभिव्यक्तिको आलोचना गर्दै हातमीले इरानले अमेरिकी सेनालाई प्रभावकारी रूपमा पछि हट्न बाध्य पारेको बताए। उनले अब अमेरिकी सेनालाई फारसको खाडी, ओमान सागर वा होर्मुज स्ट्रेटमा प्रवेशको अनुमति नभएको दाबी समेत गरे ।

Advertisement

यसबीच यो युद्धको असर अब पश्चिम एसियाका युद्धमैदान र स्ट्रेट अफ होर्मुजमा मात्र सीमित छैन । लामो समयदेखि समुद्रमा तैनाथ अमेरिकी सैनिकमाथि पनि यसको गम्भीर असर पर्न थालेको छ । विशेषगरी अमेरिकी नौसेनाको विमानवाहक युद्धपोत यूएसएस अब्राहम लिंकनमा तैनाथ करिब ५ हजार सैनिक कठिन मानसिक अवस्थासँग जुधिरहेका छन् ।

गत वर्ष नोभेम्बरमा अमेरिकी सैन्य बन्दरगाहबाट निस्किएको यो युद्धपोत २५० दिनभन्दा बढी समयदेखि लगातार समुद्रमा छ । लामो समयसम्म जमिनमा ओर्लिन नपाउनु, युद्धको निरन्तर दबाब, खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको अभाव, प्लम्बिङ र सरसफाइका समस्या तथा पर्याप्त आराम नपाउँदा सैनिकहरूमा शारीरिक र मानसिक थकान बढेको रिपोर्टहरू सार्वजनिक भएका छन् ।

केही घटनामा सैनिकहरूले जहाजबाट समुद्रमा हाम फाल्ने प्रयाससमेत गरेको बताइएको छ । यही अवस्थाका कारण अमेरिकी सरकारले त्यस क्षेत्रमा अर्को विमानवाहक युद्धपोत पठाउने तयारी गरिरहेको छ, ताकि यूएसएस अब्राहम लिंकनलाई फिर्ता बोलाउन सकियोस् ।

अमेरिका र इरानबिचको वर्तमान युद्ध फेब्रुअरी २८ मा अमेरिकाले इरानमाथि गरेको आक्रमणबाट सुरु भएको थियो । अमेरिकाले यस सैन्य अभियानलाई ‘अपरेसन एपिक फ्युरी’ नाम दिएको छ । अमेरिकी आक्रमणपछि इरानले पनि ब्यालिस्टिक क्षेप्यास्त्र र ड्रोनमार्फत पश्चिम एसियामा रहेका अमेरिकी सैन्य अखडाहरूलाई लक्षित गर्दै जवाफी हमला ग¥यो ।

यस क्रममा अमेरिकी सैन्य जनशक्ति र सैन्य उपकरण दुवैतर्फ क्षति भएको बताइएको छ । जुलाईमा जोर्डनस्थित मुवफ्फक साल्टी एयर बेसमा भएको आक्रमणमा फस्र्ट लेफ्टिनेन्ट टायलर जेम्स फीहान, प्राइभेट इसाबेला गोन्जालेस र सार्जेन्ट एन्जेल एस रामप्रसाद मारिएका थिए ।

त्यस्तै, इराकमा ड्रोनको नियन्त्रित विस्फोटका क्रममा सार्जेन्ट माइकल इम्यानुएल स्विन्टनको मृत्यु भएको उल्लेख गरिएको छ । मानवीय क्षतिबाहेक अमेरिकाले अर्बौं डलर बराबरका रक्षा प्रणाली, ड्रोन र विमानसमेत गुमाएको दाबी गरिएको छ ।

युद्धपोत यूएसएस जेराल्ड आर फोर्ड र अहिले यूएसएस अब्राहम लिंकनमा तैनाथ सैनिकहरूले पनि युद्धको प्रत्यक्ष तथा अप्रत्यक्ष असर भोगिरहेका छन् । यता युद्धमा इरानी सैन्य बलले पनि ठुलो क्षति बेहोरेको बताइएको छ । इरानले आफ्नो क्षतिको पूर्ण विवरण सार्वजनिक गरेको छैन ।

विभिन्न अनुमानअनुसार १ हजार ८ सयदेखि ७ हजार ६५० सम्म इरानी सैनिक मारिएको दाबी गरिएको छ । इरानी सरकारी सञ्चारमाध्यमले करिब १ हजार ८ सय सैनिकको मृत्यु स्वीकार गरेको बताइएको छ भने इजरायली सेना तथा अन्य स्वतन्त्र स्रोतहरूले मृतकको संख्या ६ हजारदेखि ७ हजार ६५० सम्म हुन सक्ने अनुमान गरेका छन् ।

इरानी सेनाका लागि सबैभन्दा ठुलो रणनीतिक क्षतिमध्ये शीर्ष नेतृत्वका केही प्रमुख व्यक्तिको मृत्यु रहेको बताइएको छ । यसमा सर्वोच्च नेता आयातोल्लाह अली खामेनी, आईआरजीसीका कमान्डर–इन–चिफ होसेन सलामी तथा सशस्त्र बलका प्रमुख मोहम्मद बाघेरीजस्ता प्रभावशाली नाम समावेश छन् ।

नेतृत्वमा भएको ठुलो क्षतिका कारण इरानले युद्धकै बिच नयाँ कमान्डर नियुक्त गर्नुपरेको बताइएको छ । स्वतन्त्र भू–उपग्रह तस्बिर तथा सैन्य विश्लेषणका आधारमा इरानको रक्षा पूर्वाधारमा पनि ठुलो क्षति पुगेको दाबी गरिएको छ ।

यता युद्ध सुरु भएको प्रारम्भिक चरणमै इरानी क्षेप्यास्त्र र आत्मघाती ड्रोनले बहराइनस्थित अमेरिकी नौसेनाको प्रमुख रसद तथा आपूर्ति केन्द्रमा ठुलो क्षति पु¥याएको दाबी गरिएको छ । यो केन्द्र दशकौँदेखि खाडी क्षेत्रमा अमेरिकी नौसेनाका लागि रसद आपूर्ति, सामग्री व्यवस्थापन तथा सैनिकहरूको आरामका लागि महत्वपूर्ण आधार थियो ।

यसको क्षतिपछि अमेरिकी आपूर्ति प्रणालीमा ठुलो अवरोध उत्पन्न भएको बताइएको छ । बहराइनमा समस्या उत्पन्न भएपछि अमेरिकी सेनाले आफ्नो रसद प्रणाली खाडी क्षेत्रबाट करिब २ हजार २०० माइल टाढा हिन्द महासागरस्थित डिएगो गार्सियातर्फ सार्नुपरेको बताइएको छ ।

यति ठुलो दूरीका कारण यूएसएस अब्राहम लिंकनमा ताजा तरकारी, राशन, औषधि, सरसफाइका सामग्री तथा सैनिकका परिवारले पठाएका पार्सल समयमै पु¥याउन कठिन भएको दाबी गरिएको छ । यसले आपूर्ति व्यवस्थालाई ढिलो, महँगो र अनिश्चित बनाएको छ ।

सामान्य अवस्थामा लामो तैनाथीमा रहेका सैनिकहरू केही हप्ताको अन्तरालमा बहरीन वा संयुक्त अरब इमिरेट्सको फुजैराहजस्ता मित्र राष्ट्रका बन्दरगाहमा ओर्लेर केही दिन आराम गर्न पाउँछन् । तर अहिले यी क्षेत्रहरू इरानी क्षेप्यास्त्रको सम्भावित निशानामा छन् ।

त्यसैले अमेरिकी कमान्डरहरूका लागि यति ठुलो र महँगो विमानवाहक युद्धपोतलाई बन्दरगाहमा लैजान जोखिमपूर्ण भएको बताइएको छ । यसको परिणामस्वरूप सैनिकहरू लगातार समुद्रमै रहन बाध्य छन् । इरानबाट प्रहार भइरहेका क्षेप्यास्त्र र आत्मघाती ड्रोनलाई हावामै रोक्ने तथा समुद्री नाकाबन्दी कायम राख्ने जिम्मेवारीका कारण यूएसएस लिंकन निरन्तर युद्धक अवस्थामा रहनुपरेको बताइएको छ ।

जहाजको चालक दलले हालसम्म करिब १० हजार लडाकु उडान सञ्चालन गरिसकेको दाबी गरिएको छ । यसले सैनिकहरूलाई चौबीसै घण्टा काम गर्न र लामो समयसम्म अत्यधिक मानसिक दबाब सहन बाध्य बनाएको छ ।

यता राष्ट्रपति डोनाल्ड ट्रम्प तथा रक्षा विभागका वरिष्ठ अधिकारीहरूले यूएसएस लिंकनमा मानसिक स्वास्थ्य संकट, सैनिकहरूले जहाजबाट हाम फाल्ने प्रयास गरेको घटना तथा आधारभूत सामग्रीको अभावसम्बन्धी रिपोर्टलाई या त अस्वीकार गरेका छन् वा त्यसको सामान्यिकरण गरेर प्रस्तुत गरेका छन् ।

सरकार र सैन्य नेतृत्वको तर्क छ कि इरानसँग जारी संघर्ष तथा समुद्री नाकाबन्दी कायम राख्न यस्तो लामो तैनाथी राष्ट्रिय सुरक्षाका लागि आवश्यक छ । उनीहरूले यसलाई अमेरिकी सैनिकहरूको क्षमता, अनुशासन र कर्तव्य निर्वाहको उदाहरणका रूपमा प्रस्तुत गरिरहेका छन् ।

तर डेमोक्रेटिक पार्टीका सांसद तथा केही सैन्य विज्ञहरूले लामो समयसम्म तैनाथी बढाउँदै सैनिकहरूलाई दूषित पानी, सीमित खाना र अपर्याप्त सरसफाइ सुविधाबिच राख्नु अमानवीय भएको बताएका छन् । उनीहरूले यसलाई सैनिकका आधारभूत आवश्यकताप्रति सरकारको गम्भीर बेवास्ताका रूपमा व्याख्या गरेका छन् ।

एरिजोनाका सिनेटर मार्क केली र रुबेन गालेगोलगायत सांसदहरूले यूएसएस लिंकनको अवस्थाप्रति असन्तुष्टि जनाउँदै पेन्टागनसँग प्रश्न गरेका छन् । उनीहरूले युद्धपोतको सुरक्षा तथा सैनिकहरूको जीवनस्थितिबारे औपचारिक संसदीय छानबिनको मागसमेत गरेका छन् ।

यूएसएस अब्राहम लिंकनमा देखिएको संकट अमेरिकी नौसेनाका लागि पहिलो घटना भने होइन । यसअघि अमेरिकी नौसेनाको सबैभन्दा नयाँ र ठुलो विमानवाहक युद्धपोत यूएसएस जेराल्ड आर. फोर्डले पनि यस्तै चुनौती सामना गरेको थियो ।

यो युद्धपोत लगातार ३२६ दिन, अर्थात् करिब ११ महिना समुद्रमा तैनाथ रहेर मे २०२६ मा फिर्ता भएको थियो । सुरुमा ६–७ महिनाका लागि पठाइएको यो युद्धपोत पहिले भेनेजुएलासम्बन्धी अमेरिकी अभियान र त्यसपछि इरानविरुद्धको युद्धमा प्रयोग गरिएको थियो ।

पछि यसको तैनाथी पनि अनिश्चितकालका लागि लम्ब्याइएको बताइएको छ । यूएसएस लिंकनजस्तै फोर्डमा पनि आधुनिक तर समस्याग्रस्त भ्याकुम शौचालय प्रणालीले ठुलो समस्या सिर्जना गरेको थियो । शौचालय पटक–पटक जाम हुँदा सैनिकहरूले प्रयोग गर्न मिल्ने शौचालयको अभाव झेल्नुपरेको थियो ।

१२ मार्च २०२६ मा इरानविरुद्धको अभियानका क्रममा जहाजको लन्ड्री रुममा ठुलो आगलागी भएको थियो । धुवाँ र आगलागीबाट भएको क्षतिका कारण करिब ६ सय सैनिकलाई उनीहरूका बंकरबाट विस्थापित गर्नुपरेको थियो भने ४ सयभन्दा बढी सैनिक केही दिनसम्म भुइँमै सुत्न बाध्य भएको बताइएको छ ।

यूएसएस लिंकन र यूएसएस फोर्डका घटनाले एउटा गम्भीर प्रश्न उठाएको छ । अमेरिकी नौसेनाका अत्याधुनिक विमानवाहक युद्धपोतहरू लामो समयसम्म युद्धमा तैनाथ रहन सक्षम भए पनि त्यहाँ कार्यरत हजारौँ सैनिकको शारीरिक तथा मानसिक स्वास्थ्यका लागि ती तैनाथी कति दिगो छन् ?

इरानसँगको युद्ध लम्बिँदै जाँदा यसको उत्तर केवल सैन्य रणनीति र युद्धक्षमताले मात्र होइन, सैनिकहरूको जीवन, स्वास्थ्य र मानवीय अवस्थाले पनि निर्धारण गर्ने देखिन्छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top