काठमाडाैं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संस्थापन इतर पक्षले आयोजना गरेको ‘सुकेधारा भेलामा’ उठेका विषयलाई आफूले ध्यानपूर्वक सुनेको बताएका छन्। उनले पार्टीको नीति र धारणा राख्ने आधिकारिक मञ्च हुँदाहुँदै तीबाहेकका भेलाबाट तय भएका निष्कर्ष पार्टीको नीति वा आधिकारिक धारणा नबन्ने स्पष्ट पारे।
शशांक कोइरालाको नेतृत्वमा साउन २९ देखि ३१ गतेसम्म सुकेधारामा आयोजना गरिएको भेलामा पूर्वसभापति शेरबहादुर देउवासमेत सहभागी भएका थिए। भेलाले कांग्रेसभित्र चर्चा पाए पनि सभापति थापाले पार्टीमा फरक विचारलाई स्थान दिने र यस्ता भेला गर्ने परम्परा रहेको भन्दै त्यसलाई सम्मान गर्ने बताए।
पार्टीको केन्द्रीय कार्यसमिति बैठकपछि सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै थापाले स्वतन्त्र रूपमा भेला हुने अधिकार संविधानले नै सुनिश्चित गरेकाले कांग्रेसले त्यसको सम्मान गर्ने बताए।

‘हिजो सभापति शेरबहादुर देउवा हुँदा मैले पनि कतिपय यस्ता भेला संयोजन गरेको छु,’ उनले भने, ‘भेलाभित्र भएका छलफललाई हामी ध्यानपूर्वक सुन्छौँ। नेतृत्वले त्यसलाई लिनु पनि पर्छ।’



