रास्वपाको क्यान्डिडेट क्लब के हो ? प्रतिनिधिसभाका उम्मेदवारको बाटो बन्द

२ भदौ ८३, मंगलबार

२ भदौ , काठमाण्डौ ।

Advertisement

प्रतिनिधिसभामा देशको सबैभन्दा ठूलो सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्थानीय तह निर्वाचनको तयारीमा होमिएको छ । रास्वपाले उम्मेदवार बन्न चाहने आकांक्षीको मूल्यांकन र छनोटका लागि ‘क्यान्डिडेट क्लब’ सञ्चालनमा ल्याएको छ ।

सोमबार चःमतिस्थित पार्टी केन्द्रीय कार्यालयमा सभापति रवि लामिछानेले ‘क्यान्डिडेट क्लब’को घोषणा गरेका हुन् । अब उम्मेदवार हुन इच्छुकले आवेदन दिनुपर्नेछ । २०८४ वैशाखमा स्थानीय तहको चुनाव हुँदैछ । रास्वपाले यी पालिकाका ३५ हजार २२१ पदका लागि आवेदन आह्वान गरेको हो ।

Advertisement

रास्वपा महामन्त्री विपीन आचार्यका अनुसार अब स्थानीय तह निर्वाचन उम्मेदवार छनोट प्रक्रिया सुरु भएको छ । यसका लागि रास्वपाले उम्मेदवार छनोट रुपरेखा नै तयार पारेको छ । यसबाट वैज्ञानिक, वस्तुपरक, पारदर्शी र सहभागितामूलक विधिबाट उम्मेदवार छानिने छन् ।

२१ फागुनको निर्वाचनमा झण्डै दुईतिहाइ बहुमत प्राप्त गरेको रास्वपाले त्यो जनअपेक्षाअनुरुप डेलिभरी दिन स्थानीय तहमा योग्य, सक्षम, इमानदार र जनउत्तरदायी व्यक्तिहरुको नेतृत्व स्थापित गर्न उम्मेदवार छनोट बलियो र पारदर्शी विधि बनाएको हो ।

Advertisement

उम्मेदवार बन्न इच्छुकले सुरुमा क्यान्डिडेट क्लबमा आवेदन दिनुपर्ने छ, त्यहीँबाट रास्वपाले आवेदन संकलन गर्नेछ । यसमा आकांक्षीहरुको व्यक्तिगत पृष्ठभूमि, विज्ञता र आधारभूत योग्यताको तथ्यांक संकलन तथा परीक्षण गरिन्छ । रास्वपाले स्थानीय तहलाई लक्षित गरेर दुई किसिमको क्यान्डिडेट क्लब गठन गरेको छ ।

पहिलो– पालिका तहको र दोस्रो– वडा तहको । पालिका तहमा नगरपालिका प्रमुख र उपप्रमुख तथा गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षका आकांक्षीले आवेदन दिनुपर्नेछ भने वडा तहमा वडाध्यक्ष र सदस्य पदका लागि आकांक्षीहरुले आवेदन दिन पाउनेछन् ।

रास्वपाका तर्फबाट उम्मेदवार बन्न चाहने आकांक्षीले आवेदन दिँदा नेपाली नागरिक हुनुपर्ने, २१ वर्ष उमेर पूरा भएको हुनुपर्ने, उम्मेदवार हुन चाहेको पालिका वा वडाको मतदाता हुनुपर्ने न्यूनतम शर्त राखिएको छ।

यसका अलावा पार्टीको सिद्धान्त र विचारप्रति प्रतिबद्ध रहेको, अन्य दलको सदस्यता त्याग गरेको, उम्मेदवार छनोट प्रक्रियामा पूर्ण रुपमा सहभागी हुन मञ्जुर रहेको, अद्यावधिक सम्पत्ति विवरण, पुलिस रिपोर्टजस्ता दस्तावेजहरु बुझाउनुपर्नेछ ।

आवेदकहरुले शैक्षिक प्रमाणपत्रको प्रमाणीकरण गर्नुपर्नेछ । पेस गरेका सम्पूर्ण शैक्षिक विवरण पूर्णतः सक्कली रहेको र पार्टीको संयन्त्र वा सम्बन्धित निकायले जुनसुकै बेला प्रमाणीकरण गर्दा सही ठहरिने हुनुपर्नेछ । वैवाहिक अवस्थाको कानुनी स्पष्टता हुनुपर्नेछ ।

आफ्नो पारिवारिक र वैवाहिक अवस्था कानुनी रूपमा पूर्णतः वैध र स्पष्ट रहेको तथा यससम्बन्धी कुनै पनि प्रकारको लुकाइएको वा विवादित अवस्था नरहेको हुनुपर्नेछ । दुव्र्यवहार तथा डिजिटल अपराधमा संलग्न नरहेको हुनुपर्नेछ ।

कानुनी रूपमा प्रमाणित नभएको अवस्थामा पनि कुनै प्रकारको घरेलु हिंसा, यौनजन्य दुव्र्यवहार वा सार्वजनिक स्थलमा अमर्यादित व्यवहारमा संलग्न नरहेको हुनुपर्नेछ । साथै, सामाजिक सञ्जालको दुरुपयोग गरी साइबर बुलिङ, चरित्र हत्या, अनलाइन ठगी वा अन्य कुनै पनि प्रकारको डिजिटल दुव्र्यवहारमा आफ्नो संलग्नता नरहेको हुनुपर्नेछ ।

वित्तीय तथा आर्थिक शुद्धता हुनुपर्नेछ । समाजमा मिटरब्याज, सट्टेबाजी, हप्ताअसुली, ढुकुटी, हुन्डी वा सहकारी संस्थाको बचत अपचलनजस्ता कुनै पनि प्रकारका अनौपचारिक तथा अवैध आर्थिक कारोबारमा प्रत्यक्ष वा परोक्ष रूपमा संलग्न नरहेको हुनुपर्नेछ । स्वार्थ बाझिने अवस्था हुनुहुँदैन ।

आफूले उम्मेदवारी दिन चाहेको पालिका वा वडाअन्तर्गत सञ्चालित कुनै पनि विकास निर्माण, ठेक्कापट्टा, खरिद प्रक्रिया, उपभोक्ता समिति वा सार्वजनिक आपूर्तिमा आफ्नो वा एकाघरको परिवारको स्वामित्वमा रहेको व्यावसायिक फर्मको प्रत्यक्ष संलग्नता अर्थात् स्वार्थ बाझिने अवस्था विद्यमान भए वा नभएको यथार्थ विवरण खुलाएको हुनुपर्नेछ ।

विचाराधीन मुद्दा तथा कानुनी विवादको स्पष्टता हुनुपर्नेछ । अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोग वा अन्य कुनै पनि न्यायिकरअर्धन्यायिक निकायमा आफ्नो विरुद्ध कुनै पनि प्रकारको फौजदारी, भ्रष्टाचार, ठगी वा गम्भीर प्रकृतिको देवानी मुद्दा विचाराधीन अवस्थामा रहेरनरहेको स्पष्ट विवरण खुलाएको हुनुपर्नेछ ।

रास्वपाको सदस्यता प्राप्त गरेको ४५ दिन पूरा गरेपछि मात्रै उम्मेदवार छनोट प्रक्रियामा सहभागी हुन पाइने छ । अन्य दलबाट प्रवेश गरेकाको हकमा पार्टी सदस्य लिएको ९० दिन हुनुपर्नेछ । यसैगरी समाजका प्रतिष्ठित, विज्ञ, सार्वजनिक रुपमा स्वच्छ छवि भएका वा पार्टीलाई आवश्यक पर्ने विशेष क्षमता भएका व्यक्तिहरुलाई भने उम्मेदवारको आवेदन दिनका लागि ल्याटर इन्ट्री दिइनेछ ।

उम्मेदवार छनोट रुपरेखाअनुसार फागुन २१ मा सम्पन्न प्रतिनिधि सदस्य निर्वाचनमा उम्मेदवार हुन छनोट प्रक्रियामा सहभागी भएकाहरु अहिले स्थानीय तहमा उम्मेदवार बन्न पाउने छैनन् । यसैगरी अहिले स्थानीय तहको छनोट प्रक्रियामा सहभागी भएकाहरु आगामी प्रदेशसभा सदस्य निर्वाचनको उम्मेदवार बन्न पाउनेछैनन् ।

यसैगरी तीनै तहको सरकारी कार्यालय वा संस्थामा कार्यरत कर्मचारी, निर्वाचनसम्बन्धी कसुरमा सजाय पाएर दुई वर्ष पूरा नभएको व्यक्ति उम्मेदवार छनोटमै सहभागी हुन पाउने छैन ।
यसैगरी भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागुऔषध बिक्री वितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग, अपहरणसम्बन्धी कसुर वा नैतिक पतन देखिने अन्य फौजदारी कसुरमा सजाय पाई वा कुनै कसुरमा जन्मकैद वा २० वर्ष वा सोभन्दा बढीको कैद सजाय पाई अन्तिम फैसला भएको व्यक्तिले सहभागी हुन पाउनेछैनन् ।

रास्वपामा उम्मेदवार बन्न चाहने आकांक्षीहरुको परीक्षण तथा छनोटका चारवटा आधार छ । पहिलो– लिडरसिप एकेडेमी, दोस्रो– पलिटिकल प्रोक्सिमिटी, तेस्रो– समावेशिता र चौथो– प्रारम्भिक निर्वाचन । यी चारै चरण पारे गरेमा मात्रै रास्वपाबाट पालिकामा उम्मेदवार बन्न पाइनेछ ।

रास्वपाले नेतृत्व परीक्षण तथा वैचारिक स्पष्टताका लागि लिडरसिप एकेडेमीमार्फत मूल्यांकन गर्नेछ । समग्र मूल्यांकन प्रणालीमा लिडरसिप एकेडेमीको नतिजालाई २५ प्रतिशत अंक प्रदान गरिनेछ । अर्थात १०० सयमा २५ नम्बर ल्याउनुपर्छ ।

स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छनोट गर्न पहिला पार्टीभित्रै प्रारम्भिक अर्थात प्राइमरी इलेक्सन हुनेछ । यसमा पार्टी संरचनाभित्र रहेका सदस्यले आफ्नो मतमार्फत आफ्नै पार्टीका उम्मेदवार छनोट गर्छन् ।

प्रारम्भिक निर्वाचनले उम्मेदवारको लोकप्रियता, संगठनात्मक स्वीकार्यता र जनाधारलाई परीक्षण गर्ने मात्र होइन, निर्णय प्रक्रियामा पार्टी सदस्यहरुको सार्वभौम अधिकारलाई समेत सुनिश्चित गर्ने रास्वपाको भनाइ छ । ‘क्यान्डिडेट क्लब’को घोषणा गर्दै रविले उम्मेदवार छनोटअघि आकांक्षीको कानुनी, आर्थिक, सामाजिक तथा पारिवारिक अवस्थालगायत विषयको मूल्यांकन गरी योग्य र सक्षम प्रतिनिधि छनोटमा सहयोग पु¥याउने उद्देश्यले ‘क्यान्डिडेट क्लब’ सञ्चालनमा ल्याइएको जानकारी दिए ।

स्थानीय तहको उम्मेदवार बन्नुअघि उम्मेदवारको राजनीतिक तथा अन्य मापदण्ड क्यान्डिडेट क्लबमा जाँच गरिने पनि उनले बताए । गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र सदस्य पदका उम्मेदवारले आजैदेखि आवेदन दिनसक्ने समेत उनको भनाइ थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टीको मोबाइल एप्स ‘आरएसपी’ गएर आवेदन दिन सकिने उनले जानकारी गराए । पार्टीलाई आवश्यक नेतृत्व खोज्ने प्रक्रियामा ‘मेरिटोक्रेसी’ कायम गर्न ‘क्याण्डिडेट क्लब’ र ‘लिडरसिप एकेडेमी’को अवधारणा अघि सारिएको उनले बताए ।

लामिछानेले क्यान्डिडेट क्लबमा आवेदन दिएर छनोट भएका व्यक्ति मात्र उम्मेदवार बन्न सक्ने भन्दै कसैले तपाईं नै उम्मेदवार हो भनेर आश्वासन दिएको भए त्यो खारेज भएको घोषणा गरे । ‘कतिपय ठाउँमा उम्मेदवार तपाईं हो है भनेर आश्वासन दिनुभयो । बेच्नुभयो, यसको अर्थ पैसामा बेच्नुभयो भन्न खोजेको होइन ।

यसपटकको मेयरसाप तपाईं हो भनेर कहिलेकाहीँ चर्चा गरेको, ताली खाएको, कहिलेकाहीँ माला नै लगाएको, हो कि क्या हो भनेको जस्तो पनि मैले पाएको छु,’ उनले भने, ‘सभा, कार्यक्रममा बसेर, बिना आधार, बिना कारण, बिना निर्णय, आफ्नो मर्जीले उम्मेदवार तपाईं नै हो भनेर जजसले जहाँजहाँ भन्नुभएको छ, दिनुभएको छ, उपहार दिनुभएको छ । आजको दिनबाट ती सबै खारेज भएको जानकारी दिन चाहन्छु।’

यसअघिको निर्वाचनमा विशेष परिस्थितका कारण क्यान्डिडेट क्लव र लिडरसिप एकेडेमी लागू गर्न नसिकएको उनले बताए । ‘योभन्दा अगाडि पार्टी समायोजन गर्नुपर्ने थियो त्यसैले यो प्रक्रियामा जान सिकएन । अहिले महाधिवेशन भएर समायोजन कार्य सबै समाप्त भइसकेको छ ।

एउटा रास्वपा र एउटा लिडरसीप कायम भएको छ । म यो गुटको वा त्यो गुटको भनेर नआउनुहोला । कसैले यस्तो भन्छ भने त्यसबाट मनोरञ्जनबाहेक केही लिन सकिन्न । अब एउटा रास्वपा, एउटा घन्टी ।’यस्तै लामिछानेले प्रथम महाधिवेशनको समाप्तीसँगै समायोजनका सम्पूर्ण काम सकिएको बताए।

‘एउटा रास्वपा छ, एउटा लिडर छ, फरक–फरक छैन। कसैले भन्न सक्ला म यो गुटको हो, मेरो नेता यो हो। तर त्यसबाट मनोरञ्जनबाट केही पनि लिन सकिँदैन,’ उनले भने। लामिछानेले यसअघि विशेष परिस्थितिका कारण ‘प्राइमरी इलेक्सन’ गर्न नसकेको बताए।

सभापति लामिछानेले ‘क्यान्डिडेट क्लब’लाई रास्वपाभित्रको उम्मेदवार छनोटको प्रक्रियामा मात्र सिमित नराखी समग्र नेपाली राजनीतिमा योगदान पु¥याउने उद्देश्यले ल्याइएको बताएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top