२ भदौ , काठमाण्डौ ।
लामो समयपछि र चौतर्फी आलोचनापछि अन्ततः प्रधानमन्त्री बालेन पुनः संसदमा जाने भएका छन । प्रतिनिधिसभामा यही भदौ १० गते बुधवार प्रधानमन्त्री वालेन्द्र शाहसँग सांसदहरुको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम तय गरिएको छ ।
सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको हिजो सोमवारको बैठकमा प्रधानमन्त्री शाहसँग प्रतिनिधिसभामा प्रश्नोत्तरको कार्यक्रम तय गरिएको जानकारी गराएका थिए । सभामुख अर्यालले प्रधानमन्त्री शाहलाई प्रतिनिधिसभा बैठकमा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिन ‘रुलिङ’ गरेका थिए ।

गएको जेठ १७ मा प्रतिनिधिसभामा प्रधानमन्त्री शाहले सीमासम्बन्धी विवादास्पद अभिव्यक्ति दिएपछि नै सांसदहरूले संसद् आएर स्पष्टीकरण दिनुपर्ने माग गर्दै आएका थिए । सभामुख अर्यालले विपक्षी दलहरूले माग गरेबमोजिम नै प्रधानमन्त्रीका नाममा आफूले ‘रुलिङ’ गरेको उल्लेख गरे ।
प्रश्नकर्ता सदस्यले यही शुक्रवार १ बजेभित्र प्रतिनिधिसभाका सचिवसमक्ष आफ्नो प्रश्न लिखित रूपमा दिन सक्नेछन् । जसको उत्तर भदौ १० गते बुधबार प्रधानमन्त्रीले दिने भएका हुन् । यसैबीच आज प्रधानमन्त्री बालेनले भारतीय सेनाप्रमुखसंग पनि भेट्ने भएका हुन् ।
नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनापति धिरज सेठ र प्रधानमन्त्री शाहबीच आज दिउँसो साढे २ बजे सिंहदरबारमा भेटवार्ता हुने जनाइएको छ । सेठ आइतबार नेपाल भ्रमणमा आएका थिए । उनलाई सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको दज्र्यानी चिह्न प्रदान गरेका थिए ।
सोमबार नै सेठले जंगी अड्डामा नेपाली सेनाका प्रमुख आशोकराज सिग्देलसँग भेटवार्ता गरेका थिए । त्यस क्रममा उनले जंगी अड्डामा वृक्षरोपणसमेत गरेका थिए । अब आज प्रधानमन्त्रीसंग हुने भेटका अवसरमा नेपाल भारत मैत्रि सम्बन्ध र द्धिपक्षीय आपसी हितका विषयमा छलफल हुने जनाइएको छ ।
भारतको प्रधानसेनापति नियुक्त भएपछि सेठले नेपालबाट आफ्नो विदेश भ्रमण थालेका हुन् । नेपालमा पनि शाह प्रधानमन्त्री भएपछि नेपाल भ्रमण गर्ने सेठ भारतको अहिलेसम्मकै उच्च अधिकारी हुन् । सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले जनरल सेठलाई मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गरेका थिए ।
सन् १९५० देखि नेपाल र भारतबीच एक–अर्का देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्न शुरु गरिएको हो । प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा नेपालको ३ दिने भ्रमणमा उनी आएका हुन् । प्रधान सेनापति सिग्देलसंगको शिष्टाचार भेटपछि भारतीय सेना प्रमुख सेठले नेपाली सेनाका लागि स्वास्थ्य सामग्री प्रदान गरेका थिए ।
यता नेपाल र भारतका सेना प्रमुख एक अर्काका मुलुकका मानार्थ सैन्य प्रमुख हुने परम्परा ६ दशकभन्दा बढी समयदेखि निरन्तरता पाउँदै आएको भए पनि पछिल्लो पाँच वर्षदेखि भारतीय सेनामा गोरखा सेना भर्ती बन्द भएकोले आगामी वर्षहरुमा यो परम्परामा अड्कलबाजी भइरहेको छ ।
सन १९४७ देखि भारतीय सेनामा गोरखा भर्ती अनवरत चल्दै आएकोमा सन् २०२२ देखि भारतले एकतर्फी रुपमा यो परम्परालाई प्रभावित हुने गरी एकतर्फी निर्णय लिएको थियो । भारतीय सेनामा अग्निवीर योजना सुरु भएयता चार वर्षका लागि मात्रै सैन्यभर्ती हुने हुँदा नेपालले आफ्ना नागरिकलाई त्यसमा जान निरुत्साहित गरेको हो ।
करिब एक दशकपछि भारतीय सेनामा हाल कार्यरत प्राय सबै सैन्यले अवकास पाउने भएपछि भारतीय सेनामा गोर्खाविहीन हुनेछ । र त्यस अवस्थामा यो सेना प्रमुखहरुको मानार्थ सेनापतिको परम्परा असान्दर्भिक हुने सुरक्षा विज्ञहरु बताउँछन् ।




