२ भदौ , काठमाण्डौ ।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको लोकप्रियता निरन्तर घट्दै गइरहेको छ । पछिल्लो रोयटर्स÷इप्सोस पोलअनुसार ट्रम्पको ‘अप्रुवल रेटिङ’ ३३ प्रतिशतमा झरेको छ, जुन उनको वर्तमान कार्यकालको सबैभन्दा कम स्तर हो ।
सर्वेक्षणमा सहभागी ६४ प्रतिशत अमेरिकीले राष्ट्रपतिका रूपमा ट्रम्पको कार्यसम्पादनलाई अस्वीकार गरेका हुन् भने केवल ३३ प्रतिशतले उनको कामलाई अनुमोदन गरेका हुन् । यस महिनाको सुरुमा गरिएको एक सर्वेक्षणले ट्रम्पको ‘अप्रुवल रेटिङ’ ३५ प्रतिशत थियो ।

सर्वेक्षणका अनुसार, ट्रम्पको हालको ‘अप्रुवल रेटिङ’ उनको पहिलो कार्यकालको सबैभन्दा कम स्तरमा पुगेको छ । उनको अघिल्लो कार्यकालमा डिसेम्बर २०१७ मा यो ३३ प्रतिशत थियो । सर्वेक्षणले इरान युद्धबारे अमेरिकीहरूको चिन्ता पनि देखाएको छ ।
झन्डै ८० प्रतिशत अमेरिकीले भनेका छन्, ‘हामी अमेरिका र इरानबिच युद्ध लम्बिने त्रासमा छौँ।’ यता ट्रम्पका दूत तथा ज्वाइँ जेरेड कुसनरले इरान र अमेरिकाबिच वार्ता गम्भीर स्तरमा चलिरहेको दाबी गरेका छन् । तर वार्ता अझै सहमतिमा पुग्न नसकेको उनको भनाइ छ ।
कुसनरले सोमबार फक्स न्युजसँग भनेका छन्, ‘संयुक्त राज्य अमेरिका र इरान सरकारका विभिन्न निकायबिचको छलफल सम्भवतः अहिलेसम्मको सबैभन्दा बलियो चरणमा छ। यद्यपि उनीहरू अझै अन्तिम निष्कर्षमा पुगेका छैनन्।’ यसअघि राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसमा पत्रकारहरूसँग आफू इरानसँगको अन्तरिम सम्झौतालाई विस्तार गर्ने प्रयासमा नरहेको बताएका छन् ।
बीबीसी फारसीका अनुसार, यो सम्झौता असफल भएको छ किनभने यसले हर्मुज जलमार्ग खोल्ने बाटो स्पष्ट पार्न सकेन । आफ्नो पछिल्लो अभिव्यक्तिमा ट्रम्पले भनेका छन्, ‘संयुक्त राज्य अमेरिकाले आवश्यक ठानेको सम्झौता स्वीकार गर्न इरान तयार हुनेछ भन्ने विश्वास छ।’
अमेरिका र इरानबिच गत जुनमा भएको ६० दिने शान्ति सम्झौताको म्याद सोमबार (भदौ १ गते) समाप्त भएको छ । यसको उद्देश्य दुई देशबिच जारी युद्ध स्थायी रूपमा अन्त्य गर्नु थियो । तर यसबिच न अन्तिम सम्झौता भयो न अमेरिकाले इरानमा ठुलो आक्रमण नै ग¥यो ।
६० दिनको अवधिमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बारम्बार धम्की दिएका थिए– वार्ता असफल भयो भने अमेरिका इरानविरुद्ध सैन्य कारबाहीका लागि पूर्ण रूपमा तयार छ । अनि यो विश्वास गरिएको थियो कि समयसीमा समाप्त हुनेबित्तिकै अमेरिकाले इरानमा भीषण हमला गर्न सक्छ ।
तर समयसीमा सकिनुभन्दा ठिकअगाडि ट्रम्पको अडान परिवर्तन भएको देखियो । एक्सियोससँगको अन्तर्वार्तामा उनले भनेका छन्, ‘हामी पहिलेभन्दा नरम दृष्टिकोण अपनाइरहेका छौँ।’ यसैबीच यता यमनका हुथी विद्रोहीले सोमबार लाल सागरमा साउदी अरबको सैन्य जहाज र त्यससँगै आएका अन्य चार जहाजमा क्षेप्यास्त्र प्रहार गरिएको बताएको छ ।
बीबीसी फारसीका अनुसार, इरान समर्थित हुथी समूहका सैन्य प्रवक्ता याह्या सारीले टेलिग्राममा उक्त दाबी गरेका हुन् । यद्यपि साउदी अरबले हुथी सशस्त्र समूहको दाबीको जवाफ दिएको छैन ।इरान समर्थित हुथी सशस्त्र समूहले उत्तरपश्चिम यमनको ठुलो क्षेत्र कब्जा गरेको छ ।
अमेरिका र इजरायलले इरानमा आक्रमण गरेपछि सरकारी सेना र हुथीबिच झडप बढेको छ । यमनको गृहयुद्धमा साउदी नेतृत्वको गठबन्धनले सरकारी सेनालाई समर्थन गरेको छ । यस क्षेत्रमा लाल सागरमा जहाजमा आक्रमण हुँदा समुद्री व्यापारमा चिन्ता बढेको छ ।
यस वर्ष फेब्रुअरीदेखि इरानले हर्मुज जलमार्ग बन्द गरेदेखि केही ट्यांकरले यो वैकल्पिक समुद्री मार्ग प्रयोग गरिरहेका छन् । यता ट्रम्पले आफ्नै देशको सहयोगी मुलुक ओमानमा बम हान्ने धम्की दिएका छन् । फक्स न्युजको रिपोर्टअनुसार उनले भनेका छन्, ‘इरानसँग मेरो प्रशासनको वार्तामा बाधा पु¥याए ओमानमा बमबारी गर्नेछौँ।’
नेटवर्कका एक रिपोर्टरका अनुसार सोमबार ट्रम्पले फोनमा त्यस्तो धम्की दिएका हुन् । यस क्रममा ट्रम्पले भने, ‘आईआरजीसीसँग अमेरिकाको प्रत्यक्ष गोप्य सम्पर्क भएको छ।’ तर आईआरजीसीले अमेरिकासँग वार्ता भएको कुरा अस्वीकार गरेको छ ।
यद्यपि इरानी अधिकारीहरूले सोमबार भनेका छन्, ‘हामी हर्मुज जलमार्गबाट जहाज आउजाउ सम्बन्धमा ओमानसँग सम्झौतालाई अन्तिम रूप दिने नजिक पुगेका छौँ।’ यता इरानको रिभोल्युसनरी गाड्र्सका उप–राजनीतिक कमान्डर यदुल्लाह जवानीले भने वर्तमान युद्धको अन्त्य ‘इस्लामाबाद सम्झौता’का आधारमा हुनुपर्ने बताएका छन् ।
उनले स्पष्ट पार्दै भनेका छन्, ‘अमेरिकाले यस सम्झौता अन्तर्गतका आफ्ना उत्तरदायित्वहरू पूरा गरेपछि मात्र होर्मुज स्ट्रेट खुल्नेछ।’ बीबीसी फारसीका अनुसार, इस्लामिक रिपब्लिक रेडियो र टेलिभिजनसँग सम्बद्ध ‘यंग जर्नलिस्ट्स क्लब’लाई दिएको अन्तर्वार्तामा जवानीले होर्मुज स्ट्रेट र यसलाई नियन्त्रण गर्ने व्यवस्था युद्धअघिको जस्तो अब कहिल्यै नहुने दाबी गरे ।
उनले अमेरिका, इजरायल र उनीहरूका सहयोगीहरूले विगत केही महिनादेखि यस जलमार्गमा आफ्नो नियन्त्रण कायम गर्ने प्रयास गरिरहेको भए पनि तिनीहरू सफल हुन नसकेको बताए । जवानीले इरान र ओमानबिचको जलमार्गबारे भइरहेको चर्चा युद्धपछिको अवस्थाका लागि मात्र भएको र युद्धको अन्त्य निश्चित रहेको समेत उल्लेख गरे ।
यसैबिच, होर्मुज स्ट्रेटमा हालैका दिनहरूमा तेल ट्याङ्करहरूमाथि भएका आक्रमणपछि यस मार्गबाट हुने समुद्री परिवहनमा ठुलो गिरावट आएको छ । अमेरिका र इरानबिच वार्ता रोकिएको समयमा यो तनाव थप बढेको हो ।
‘केप्लर’को तथ्याङ्कअनुसार, गत शनिबार ५ वटा मालवाहक जहाज मात्र होर्मुज स्ट्रेटबाट गुज्रिएका थिए भने आइतबार कुनै पनि जहाज उक्त मार्गबाट गएको रेकर्ड छैन । जबकि, अघिल्लो साताको शनिबार र आइतबार यस मार्गबाट ३१ वटा जहाजहरूले ओहोरदोहोर गरेका थिए ।




