काठमाडौं — गोल्छा ग्रुप प्रस्तुत ग्लोकल टिन हिरो नेपाल २०२६ का शीर्ष ६ फाइनलिस्ट घोषणा भएका छन्। ग्लोकल प्रालिले मंगलबार राजधानीमा आयोजित कार्यक्रममा यस वर्षको उत्कृष्ट किशोरकिशोरीमध्येबाट छनोट भएका ६ फाइनलिस्टको नाम सार्वजनिक गरेको हो।
ग्लोकल टिन हिरो नेपालमा यस वर्ष देशका सातै प्रदेशबाट ठूलो संख्यामा आवेदन परेको थियो। आवेदकहरूले युवा नेतृत्व तथा सशक्तीकरण, शिक्षा तथा सीप विकास, वातावरण तथा जलवायु, सामुदायिक विकास, प्रविधि तथा नवप्रवर्तन, लैंगिक समानता, स्वास्थ्य र नागरिक सहभागितालगायतका क्षेत्रमा गरेका काम प्रस्तुत गरेका थिए।
यस वर्ष ग्लोकल टिन हिरोको दायरा नेपालबाहिर पनि विस्तार भएको छ। गोल्छा ग्रुप प्रस्तुत ग्लोकल टिन हिरो साउथ एसिया २०२६ अन्तर्गत नेपालसँगै भारत, भुटान, श्रीलंका र बंगलादेशका किशोरकिशोरी पनि सहभागी हुँदैछन्।

शीर्ष ६ फाइनलिस्ट
गोल्छा ग्रुप प्रस्तुत ग्लोकल टिन हिरो नेपाल २०२६ का शीर्ष ६ फाइनलिस्टमा:
- अर्जुन चौधरी, १५ वर्ष, विराटनगर — साइबर सुरक्षा तथा प्रविधि नवप्रवर्तक
- अटल देव ढकाल, १९ वर्ष, अछाम — जलवायु तथा वातावरण अधिवक्ता
- जास्मिन बोहोरा, १८ वर्ष, पोखरा — प्रविधि नवप्रवर्तक
- किशोर न्यौपाने, १७ वर्ष, सुर्खेत — जलवायु तथा वातावरण अभियन्ता
- मन्जिल बस्नेत, १७ वर्ष, बर्दिबास — नागरिक सहभागिता तथा सुशासन नवप्रवर्तक
- सब्नम सुनार, १९ वर्ष, नवलपुर — लैंगिक तथा सामाजिक न्याय अधिवक्ता
१५ वर्षीय अर्जुन चौधरी साइबर सुरक्षा अनुसन्धानकर्ता, उद्यमी तथा सामुदायिक निर्माता हुन्। उनले ४०० भन्दा बढी सक्रिय सदस्य रहेको किशोर प्रविधि समुदाय ‘आर्णिको ह्याक क्लब’ स्थापना गरेका छन्।
अटल देव ढकाल हिमाली समुदाय, जलवायु वित्त र विश्वव्यापी जलवायु नीतिमा युवा सहभागिताका क्षेत्रमा सक्रिय छन्। जास्मिन बोहोराले कृत्रिम बुद्धिमत्ता, वातावरणीय नवप्रवर्तन र अन्तरिक्ष शिक्षालाई जोडेर काम गर्दै आएकी छन्। उनले ४०० भन्दा बढी विद्यार्थीलाई प्रविधि तथा अन्तरिक्ष शिक्षासँग जोडिसकेकी छन्।
किशोर न्यौपानेले कर्णालीमा जलवायु सचेतना अभिवृद्धिका लागि काम गर्दै आएका छन्। उनी २० हजारभन्दा बढी विद्यार्थीसम्म पुगेका छन् भने ३ हजार २३० भन्दा बढी बिरुवा रोप्ने अभियानमा सहभागी भएका छन्।
मन्जिल बस्नेतले विद्यार्थीलाई स्थानीय सरकारसँग जोड्दै सामुदायिक समस्यालाई नीतिगत समाधानमा रूपान्तरण गर्न ‘युथ सिभिक लन्चप्याड’ स्थापना गरेका छन्। सब्नम सुनार बालिका नेतृत्व, लैंगिक समानता, महिनावारी स्वास्थ्य तथा सामाजिक न्यायका क्षेत्रमा सक्रिय छन्।
उपलब्धि र प्रभावका आधारमा छनोट
ग्लोकलका अनुसार दस्तावेज परीक्षणपछि पहल, उपलब्धि र कामको प्रभावका आधारमा शीर्ष ६ फाइनलिस्ट छनोट गरिएको हो। तीन सदस्यीय जुरीले फाइनलिस्टहरूको सिर्जनशीलता, उपलब्धि, सामाजिक प्रभाव र कामको दिगोपनालाई मुख्य आधार बनाएको थियो।
जुरीमा कोका–कोला बेभरेजेज नेपालकी पब्लिक अफेयर्स, कम्युनिकेसन तथा सस्टेनेबिलिटी डाइरेक्टर स्नेह राजभण्डारी, केएफसी तथा पिज्जा हटकी कन्ट्री म्यानेजर विजय शर्मा र एसियाली विकास बैंकका वरिष्ठ शिक्षा विशेषज्ञ जेफ्री सुजियान रहेका थिए।
सेप्टेम्बर १ मा ग्रान्ड फिनाले
शीर्ष ६ फाइनलिस्टले आगामी २७ देखि ३१ अगस्टसम्म सेल्फ–कम्पिटेन्सी वर्कशपमा सहभागी हुनेछन्। उनीहरूले विभिन्न कर्पोरेट हाउस तथा ग्लोकलका साझेदार संस्थाको भ्रमण गर्नुका साथै उद्योग विज्ञसँग अन्तरक्रिया गर्ने अवसर पाउनेछन्।
३१ अगस्टमा जुरीले फाइनलिस्टहरूको व्यक्तिगत अन्तर्वार्ता लिनेछ। त्यसअघि १८ अगस्ट साँझ ५ बजेदेखि ३० अगस्ट साँझ ५ बजेसम्म सार्वजनिक मतदान खुला रहनेछ। सार्वजनिक मतले पनि विजेता छनोटमा भूमिका खेल्ने आयोजकले जनाएको छ।
ग्लोकल टिन हिरो नेपाल २०२६ को विजेता घोषणा तथा सम्मान समारोह १ सेप्टेम्बरमा ललितपुरस्थित द प्लाजामा आयोजना हुनेछ। कार्यक्रममा नेपालसहित भारत, भुटान, श्रीलंका र बंगलादेशका राष्ट्रिय विजेतालाई पनि सम्मान गरिनेछ।
ग्लोकल प्रालिले सन् २०१५ मा काठमाडौं उपत्यकाबाट सुरु गरेको ग्लोकल टिन हिरो कार्यक्रम अहिले युवा नेतृत्व, नवप्रवर्तन र सामाजिक प्रभावलाई सम्मान गर्ने राष्ट्रिय तथा क्षेत्रीय मञ्चका रूपमा विस्तार भएको जनाएको छ।




