सुमन विक्रम पाण्डे पुनः पाटा अन्तर्राष्ट्रिय कार्यसमितिको सदस्यमा मनोनित

३ भदौ ८३, बुधबार

काठमाडाैं: वरिष्ठ पर्यटन व्यवसायी सुमन विक्रम पाण्डे पुनः पाटा (प्यासिफिक एसिया ट्राभल एसोसिएसन) अन्तर्राष्ट्रिय कार्यसमितिको सदस्यमा मनोनित भएका छन्। पाटा अध्यक्ष हेनरी ओ (दक्षिण कोरिया) ले पाण्डेलाई सल्लाहकारका रूपमा मनोनयन गरेपछि उनी पुनः कार्यसमितिको सदस्यमा चयन भएका हुन्। पाण्डेसँगै साउदी अरेबिया पर्यटन प्राधिकरणका एसिया तथा प्रशान्त क्षेत्रीय अध्यक्ष अलहशन अल्डाब्बाग पनि कार्यसमितिको सदस्यमा मनोनित भएका छन्।

Advertisement

मलेसियाको सारावाकमा अगस्ट १८ देखि २० सम्म आयोजित पाटा ट्राभल मार्ट तथा संस्थाको ७५औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा बसेको कार्यसमिति र बोर्ड बैठकले उक्त मनोनयन अनुमोदन गरेको हो।

पाण्डेले सन् २०१३ देखि २०१७ सम्म पाटा नेपाल च्याप्टरको १२औँ अध्यक्ष तथा सन् २०२० देखि २०२४ सम्म पाटा अन्तर्राष्ट्रियको सचिव तथा कोषाध्यक्षको जिम्मेवारी सम्हालेका थिए। सन् २०२४ देखि २०२६ सम्मका लागि उनी पाटा अन्तर्राष्ट्रिय मुख्यालयको उपाध्यक्षमा समेत निर्वाचित भएका थिए। गत वैशाखमा पाटाले उनलाई आजीवन सदस्यता अवार्डबाट सम्मानित गरेको थियो।

Advertisement

३८ वर्षभन्दा लामो व्यावसायिक यात्रामा ट्रेकिङ, ट्राभल, वायुसेवा, होटल तथा रेस्टुरेन्ट क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गरेका पाण्डे टानका पूर्वअध्यक्ष, नेपाल पर्यटन बोर्डका पूर्वसदस्य तथा एअरलाइन्स अपरेटर्स एसोसिएसनका पूर्वमहासचिवसमेत हुन्। उनले सन् २००९ मा कालापत्थरमा सम्पन्न ऐतिहासिक मन्त्रिपरिषद् बैठकको संयोजनसमेत गरेका थिए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top