देशभर वर्षा , त्रिशूली र तादी खोलामा बाढी

५ भदौ ८३, शुक्रबार

५ भदौ , काठमाण्डौ ।

Advertisement

देशका विभिन्न भूभागमा गएरातिदेखि नै लगातार भइरहेको वर्षाका कारण जनजीवन प्रभावित बन्न पुगेको छ । मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखा र मौसम पूर्वानुमान महाशाखाले दिएको ताजा जानकारीअनुसार हाल मध्य तथा पश्चिमी क्षेत्रका केही स्थानमा वर्षाको क्रम अहिले पनि निरन्तर जारी रहेको छ।

मौसम पूर्वानुमान महाशाखाले दिएको पछिल्लो प्रक्षेपण अनुसार आज दिउँसो पनि देशका धेरैजसो स्थानमा वर्षाको सम्भावना कायमै रहेको छ । अझ विशेषगरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा त मुसलधारे वर्षा अर्थात् अति भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले चेतावनी जारी गरेको छ।

Advertisement

पहाडी क्षेत्रमा हुने यस्तो मुसलधारे वर्षाले पहिरो जाने जोखिम बढाउने भएकाले यात्रा गर्ने क्रममा विशेष सावधानी अपनाउन मोटरचालक तथा सर्वसाधारणलाई अनुरोध गरिएको छ।यसैगरी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही भूभागहरूमा साथै मधेश प्रदेशलगायत कोशी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम किसिमको वर्षा हुने सम्भावना देखिएको छ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। राति पनि देशभर बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा धेरै स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुनसक्नेछ।

Advertisement

तराईका धेरै स्थानमा समेत मध्यम वर्षाको सम्भावना छ। यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनीका हिमाली, पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा राति भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।आकाशमा कालो बादल मडारिने, अकासे चट्याङ्ग पर्ने र हुरीबताससहित पानी पर्ने भएकाले विशेष गरी कृषकहरूलाई खेतबारीको काम गर्दा वा खुल्ला ठाउँमा बस्दा सतर्क रहन सचेत गराइएको छ।

मनसुनको यो सक्रिय चरणमा देशका विभिन्न भागमा भइरहेको वर्षाका कारण जनजीवन केही असहज बनेको छ भने बाढी र पहिरोको जोखिम उच्च देखिएको छ। गएराति पछिल्लो ६ घण्टाको अवधिमा भएको वर्षाको मापन हेर्दा केही क्षेत्रमा भारी वर्षा भएको रेकर्ड गरिएको छ, जसले गर्दा नदी तथा खोलामा पानीको सतह उच्च बन्दै गएको छ र स्थानीय प्रशासन तथा मौसमविद्हरूले उच्च सतर्कता अपनाउन आह्वान गरेका छन्।

विस्तृत विवरण अनुसार, गएराति देशका केही सीमित ठाउँहरूमा मध्यमदेखि भारी वर्षा भएको छ। विशेष गरी पछिल्लो छ घण्टाको मापनलाई आधार मान्ने हो भने सिन्धुपाल्चोक जिल्लामा सबैभन्दा बढी ७१ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ।

त्यस्तै, पूर्वी भेगको ताप्लेजुङमा ५३ मिलिमिटर र मध्य तथा पश्चिमी क्षेत्रको दैलेखमा ४२ मिलिमिटरसम्म पानी परेको मौसम कार्यालयले जनाएको छ। यो वर्षाले जमिनलाई भिजाइसकेको र निरन्तरको झरीका कारण पहाडी तथा तराईका भित्री भागमा सानातिना खहरे खोलाहरूमा समेत पानीको बहाव अकासिएको छ।

विशेषगरी, लगातारको यही भारी वर्षाका कारण नुवाकोट जिल्लाका मुख्य नदी प्रणालीहरूमा ठूलो प्रभाव परेको छ । नुवाकोट भएर बग्ने प्रसिद्ध त्रिशूली नदी र ताडी खोलामा पानीको सतह अचानक बढेर बाढी आएको पुष्टी भएको छ। यसले नदी किनारका बस्तीहरूमा केही हदसम्म जोमिख बढाएको छ।

बाढी पूर्वानुमान महाशाखाले यही अवस्थालाई मध्यनजर गर्दै त्रिशूली र ताडी खोला आसपासका सम्पूर्ण बासिन्दाहरूलाई आज बिहानसम्मै उच्च सतर्कताका साथ सुरक्षित स्थानमा रहन वा नदी किनारतर्फ नजान कडा आग्रह गरेको छ। नदीको बहाव जतिखेर पनि बढ्न सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दाहरूलाई विशेष सावधानी अपनाउन सुझाइएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top