पाकिस्तानी सेनासँग इमरान खानको गोप्य सम्झौता ? सडकभरि सेना

५ भदौ , काठमाण्डौ ।

Advertisement

पाकिस्तानका जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानलाई शुक्रबार कडा सुरक्षा व्यवस्थाबीच इस्लामाबादस्थित शिफा इन्टरनेसनल अस्पतालमा सारिएको छ । यो स्थानान्तरण देशको सर्वोच्च अदालतको आदेशअनुसार गरिएको हो।

पाकिस्तानी सञ्चारमाध्यम ‘डन’का अनुसार पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई) का संस्थापक खानलाई राजधानीभर कडा सुरक्षा व्यवस्थाबीच पत्रास बोखारी रोड हुँदै अस्पताल लगिएको हो। पाकिस्तानको राजधानी इस्लामाबादमा अहिले उच्च सतर्कता अपनाइएको छ।

Advertisement

ठाउँ–ठाउँमा सुरक्षाकर्मी परिचालन गरिएको छ भने राजधानीका धेरै क्षेत्रलाई एक प्रकारले सिल गरिएको छ। केही क्षेत्रबाट सर्वसाधारणलाई टाढा राखिएको छ। अदियाला जेलदेखि शिफा अस्पतालसम्मको बाटो लगभग सिल गरिएको छ। सेना, पञ्जाब प्रहरी र फ्रन्टियर कन्स्टेबुलरीका सुरक्षाकर्मीहरू भीआईपीको यात्रा हुने सबै सडकमा तैनाथ गरिएको छ।

राजधानीमा अचानक बढाइएको कडा सुरक्षा घेराले इमरान खानलाई लिएर गएराति आखिर के हुन लागेको हो भन्ने प्रश्नसमेत उठेको थियो । शिफा इन्टरनेसनल अस्पतालको वार्डलाई पूर्ण रूपमा खाली गराएर सुरक्षा बलले आफ्नो प्रत्यक्ष नियन्त्रणमा लिएका छन् ।

Advertisement

खानलाई अस्पताल पु¥याएलगत्तै अस्पताल भवनको सबै बत्तीहरू निभाइएको पाकिस्तानी सञ्चारमाध्यमहरुले जनाएका छन् । साथै, अस्पतालका डाक्टर तथा कर्मचारीहरूको मोबाइल फोन समेत जफत गरिएको र गेटबाहिर रहेका सञ्चारकर्मीहरूलाई त्यहाँबाट हटाइएको छ ।

अदियाला जेल प्रहरी, पाकिस्तान रेन्जर्स र एफसी गार्डहरूको टोलीले अस्पतालको उक्त विशेष वार्डलाई चारैतिरबाट घेरा हालेका छन्। बिरामी हुन् वा अस्पतालका कर्मचारी, कडा जाँचबिना कसैलाई पनि उक्त क्षेत्रमा प्रवेश गर्न अनुमति दिइएको छैन। अस्पताल परिसरमा समेत सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको छ।

पूर्व पाकिस्तानी प्रधानमन्त्री खान सन् २०२३ अगस्ट ५ देखि तोषाखाना उपहारसम्बन्धी विवरण लुकाएको आरोपमा १४ वर्षको जेल सजाय भोगिरहेका छन्। उनी रावलपिन्डीस्थित अदियाला जेलमा रहेका थिए। उनलाई १९ करोड पाउन्डको भ्रष्टाचार मुद्दा, जसलाई अल–कादिर ट्रस्ट मुद्दा पनि भनिन्छ, मा समेत दोषी ठहर गरिएको छ।

जेल सजायका क्रममा उनको स्वास्थ्य अवस्था बिग्रँदै गएको खबर सार्वजनिक भएपछि परिवार र समर्थकहरूमा आक्रोश बढेको थियो। खान अस्पताल पुगेपछि इस्लामाबादका प्रहरी महानिरीक्षक (आईजीपी) सैयद अली नासिर रिजवीले पुनः अस्पताल पुगेर सुरक्षा व्यवस्थाको निरीक्षण गरेका छन्।

उनले बिहीबार राति पनि अस्पताल पुगेर पूर्वप्रधानमन्त्रीको आगमनका लागि गरिएको तयारीको निरीक्षण गरेका थिए। खानको पार्टीका प्रवक्ता जुल्फिकार बुखारीले सर्वोच्च अदालतको आदेशपछि इमरान खानलाई अदियाला जेलबाट इस्लामाबादस्थित इन्टरनेसनल शिफा अस्पतालमा सारिएको बताए। उनका अनुसार अदालतको आदेशअनुसार खानको परिवारलाई उनलाई भेट्न अनुमति दिनुपर्छ।

बुखारीले भने, “अबको चरण इमरान खानको तत्काल स्वास्थ्य उपचारमा मात्र सीमित हुनु हुँदैन। यसले स्वतन्त्र चिकित्सकीय निगरानी, योग्य विशेषज्ञको पहुँच, परिवार तथा कानुनी अधिकारको सम्मान र उनको स्वास्थ्य अवस्थाबारे पूर्ण पारदर्शिता सुनिश्चित गर्नुपर्छ।”

पाकिस्तानी सरकारले सर्वोच्च अदालतका तीन न्यायाधीशको इजलासले दिएको आदेश पालना गर्नुपरेको हो। अदालतले खानलाई ४८ घण्टाभित्र निजी अस्पतालमा सार्न आदेश दिएको थियो। यसअघि खानलाई अस्पताल सार्ने वा नसार्ने विषयमा सत्तारुढ पक्षभित्र समेत मतभेद रहेको थियो।

खान लामो समयदेखि आँखाको दृष्टि कमजोर हुनेलगायत स्वास्थ्य समस्याबाट पीडित छन्। उनका परिवार र पार्टीले महिनौंदेखि उनलाई विशेषज्ञ चिकित्सकीय सेवा उपलब्ध गराउन माग गर्दै आएका थिए। अन्ततः परिवारले यस विषयलाई सर्वोच्च अदालतसम्म पु¥याएको थियो।

यस वर्षको फेब्रुअरीमा पीटीआईले खानको आँखामा गम्भीर क्षति पुगेको र उनको दृष्टि क्षमता १५ प्रतिशत मात्र बाँकी रहेको दाबी गरेको थियो। त्यतिबेला उनलाई एकान्त कारावासमा राखिएको थियो। पार्टीले पूर्वप्रधानमन्त्रीलाई आधारभूत स्वास्थ्य उपचार तथा परिवार र कानुनी प्रतिनिधिसँग भेटघाट गर्नबाट समेत वञ्चित गरिएको आरोप लगाएको थियो।

यसै कारण अदियाला जेल परिसरमा महिनौँदेखि विरोध प्रदर्शन हुँदै आएको थियो। खानका परिवारका सदस्य तथा दर्जनौँ समर्थकले उनको स्वास्थ्य उपचार र दिदीबहिनीलाई भेट्न दिनुपर्ने माग गर्दै प्रदर्शन गर्दै आएका थिए। मंगलबार सर्वोच्च अदालतका न्यायाधीशहरूले खानको उपचारमा आँखा विशेषज्ञलाई समेत संलग्न गराउने बताएका थिए।

अदालतको आदेशमा कैदीको जीवन, स्वास्थ्य, गरिमा र सुरक्षाको संरक्षण गर्नु संवैधानिक तथा कानुनी दायित्व भएको उल्लेख गरिएको थियो। यसैबीच, खानको पार्टीले अस्पतालबाहिर समर्थकहरू भेला नहुने र उनको उपचार सहज रूपमा अघि बढ्न दिने आश्वासन न्यायाधीशहरूलाई दिएको छ।

यसैबीच, पाकिस्तानका वरिष्ठ पत्रकार हमिद मीरले इमरान खानले सेनासँग कुनै सम्झौता गरिसकेको दाबी गरेका छन्। उनले पाकिस्तानको राजनीतिक इतिहास उल्लेख गर्दै विगतमा विभिन्न राजनीतिज्ञ स्वदेश फर्किएको उदाहरण प्रस्तुत गरेका छन्, जसमा नवाज शरीफ पनि समावेश छन्।

हमिद मीरले भनेका छन् , “पाकिस्तानमा जे पनि हुन सक्छ। अहिलेको अवस्था स्पष्ट देखिइरहेको छ।” उनले प्रधानमन्त्री शहबाज शरीफले आफ्नै भाइ नवाज शरीफको घटनाबाटै यसको अनुमान गर्न सक्ने बताए। सन् २०१८ मा इमरान खान प्रधानमन्त्री हुँदा भ्रष्टाचारका विभिन्न मुद्दामा दोषी ठहर भएपछि नवाज शरीफ पक्राउ परेका थिए।

त्यसको एक वर्षपछि तीन पटक प्रधानमन्त्री भइसकेका नवाज शरीफले स्वास्थ्यका कारण अन्तरिम जमानत पाएका थिए। त्यसपछि लाहोर उच्च अदालतले उनलाई उपचारका लागि विदेश जान अनुमति दिएको थियो। नवाज लन्डन गएका थिए र सन् २०२३ सम्म त्यहीँ बसे। इमरान खानलाई सत्ताबाट हटाएर पछि जेल पठाइएपछि नवाज शरीफ स्वदेश फर्किएका थिए।

यस्तो अवस्थामा इमरान खानलाई निजी अस्पतालमा सार्ने सर्वोच्च अदालतको निर्णयबारे हमिद मीरले भने, “पाकिस्तानको राजनीतिक इतिहासमा यो कुनै नयाँ कुरा होइन। इतिहास आफैं दोहोरिइरहेको छ।” उनका अनुसार नवाज शरीफले अदालत र सम्बन्धित पक्षसँग चुपचाप तथा गोप्य सम्झौता गरेर राहत पाएका थिए।

त्यसैले शरीफ परिवारलाई पनि इमरान खानले कुनै गोप्य सम्झौतामार्फत राहत पाउन सक्ने लागेको हुनसक्छ। यसैबीच, इमरान खानकी बहिनी र पत्नीले नौ महिनापछि पहिलोपटक अदियाला जेलमा उनीसँग भेट गरेका छन्। ‘डन’को रिपोर्टअनुसार इमरान खानकी बहिनी नुरीन नियाजीले यस वर्ष पहिलोपटक उनीसँग करिब १५ मिनेट भेट गरेकी थिइन्।

दुवैबीच जेलको सम्मेलन कक्षमा भेट भएको थियो, जहाँ उनीहरूले खानको स्वास्थ्य तथा अन्य विषयमा कुराकानी गरेका थिए। नुरीनले उनलाई स्वास्थ्य परीक्षणका लागि शिफा इन्टरनेसनल अस्पताल लैजान सर्वोच्च अदालतले दिएको आदेशबारे पनि जानकारी गराएकी थिइन्। तर जेलबाट बाहिरिएपछि नुरीनले सञ्चारमाध्यमसँग कुरा गरिनन् र पत्रकारका प्रश्नमा मौन रहिन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top