चीनसँगको एकमात्रै प्रवेशद्वार कोरला नाका कस्तो छ ?

२१ भदौ ८३, आइतबार
Share this
804shares

२१ भदौ , काठमाण्डौ ।

Advertisement

रसुवाको विनाशकारी बाढीका कारण रसुवागढी–केरुङ सडकखण्ड अवरुद्ध भएको केहीदिनमै चीन सरकारले तातोपानी नाका समेत बन्द गरेपछि चीनमा रोकिएका नेपाली नागरिक र सवारीसाधनलाई केरुङ हुँदै ढोङमसेन र लिची नाका पार गराएर मुस्ताङको कोरला नाकाबाट नेपाल भित्र्याउन थालिएको छ ।

सम्बन्धित निकायका अनुसार केरुङबाट चीनको तिब्बत क्षेत्र हुँदै ढोङमसेन र लिची नाका पार गरेर कोरलासम्म ल्याइएका नेपाली नागरिक र सवारीसाधनलाई नेपाल प्रवेश गराउने क्रममा दुवै देशका अधिकारीहरूले आवश्यक सहजीकरण गरिरहेका छन् ।

Advertisement

रसुवागढी र तातोपानी दुवै नाकामा आवागमन प्रभावित भएपछि कोरला अहिले नेपाल–चीन आवागमन तथा व्यापारिक विकल्पका रूपमा प्रयोग हुन थालेको हो । यो व्यवस्थाले तत्काल चीनमा रोकिएका नेपालीको उद्धार र आवागमन सहज बनाएको मात्र छैन, मुस्ताङको कोरला नाकालाई भविष्यमा व्यापार, पर्यटन र अन्तर्राष्ट्रिय आवागमनका लागि रणनीतिक मार्गका रूपमा स्थापित गर्ने सम्भावनालाई पनि बल दिएको छ ।

कोरला नाका नयाँ मार्ग होइन । स्थानीय इतिहासकारहरूका अनुसार राणाकाल, प्रजातन्त्र र पञ्चायतकालसम्म भोट र पहाडबीचको प्रमुख व्यापारिक मार्ग यही क्षेत्र थियो । त्यसबेला मुस्ताङको टुकुचे प्रमुख व्यापारिक तथा भन्सार केन्द्रका रूपमा परिचित थियो ।

Advertisement

तिब्बती व्यापारीहरू नुन, ऊन र पशुचौपाया बोकेर टुकुचेसम्म आउने गर्थे भने नेपालबाट जौ, मकै, चामल, सातु तथा पित्तलका भाँडाकुँडा तिब्बततर्फ लैजाने गरिन्थ्यो। यही नुन–अन्न व्यापारले मुस्ताङको आर्थिक र सामाजिक जीवनलाई दशकौँसम्म चलायमान बनाएको थियो ।

तर सन् १९५०–५१ पछि तिब्बतमा चिनियाँ नियन्त्रण स्थापित भएसँगै पुरानो व्यापार प्रणाली क्रमशः कमजोर बन्दै गयो । त्यसपछि सीमावर्ती क्षेत्रमा सुरक्षा संवेदनशीलता बढ्यो र परम्परागत व्यापारिक गतिविधिमा ठूलो परिवर्तन आयो ।
सन् १९६० जुन २८ (वि.सं. २०१७ असार १५) मा कोरला नजिकै चिनियाँ सेनाले नेपाली सीमा गस्ती टोलीमाथि गोली चलाउँदा एक नेपाली सुरक्षाकर्मीको मृत्यु भएको ऐतिहासिक अभिलेखमा उल्लेख छ ।

त्यसबेला चिनियाँ पक्षले नेपाली टोलीलाई तिब्बती विद्रोही ठानेर कारबाही भएको जनाएको थियो । नेपालले कूटनीतिक विरोध जनाएपछि चीनले घटनाप्रति क्षमा माग्दै ५० हजार रुपैयाँ क्षतिपूर्ति दिएको विवरण पनि पाइन्छ । त्यसअघि २००७ सालपछि भारतले लोमान्थाङ र जोमसोम क्षेत्रमा सैनिक पोस्ट स्थापना गरेको स्थानीय इतिहासमा उल्लेख छ ।

ती राजनीतिक र सुरक्षा घटनाक्रमसँगै पुरानो व्यापारिक संरचना क्रमशः कमजोर हुँदै गयो । व्यापार खस्किएपछि टुकुचेका शेरचनलगायत थकाली व्यापारीहरूले काठमाडौं, विभिन्न जिल्ला सदरमुकाम र तराईका बजारतर्फ व्यापार विस्तार गरे । कतिपयले बाटोछेउमा खरका भट्टी सञ्चालन गरे, जुन समयसँगै थकाली भान्साघर, होटल, लज र आधुनिक आतिथ्य व्यवसायमा रूपान्तरण भए ।

पञ्चायतकालदेखि नै कोरला नाका सञ्चालन र सडक पहुँच विस्तारका प्रयास भए पनि पूर्वाधार अभाव र राजनीतिक उतारचढावका कारण कामले गति लिन सकेन । २०६२÷६३ को जनआन्दोलनपछि मुस्ताङमा सडक विस्तार हुँदै माथिल्लो मुस्ताङसम्म सवारीसाधन पुग्न थाले ।

त्यसपछि २०७२ सालको भूकम्प र दक्षिणतर्फको नाकाबन्दीले चीनसँग जोडिने उत्तरी मार्गहरूको महत्त्व अझ बढायो । त्यसयता सरकारले कोरला नाकासम्मको सडक स्तरोन्नति र कालोपत्रेका लागि विभिन्न चरणमा बजेट विनियोजन गर्दै आएको छ । अहिले पनि सडक सुधारका काम विभिन्न चरणमा अघि बढिरहेका छन् ।

लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नोर्बु गुरुङका अनुसार गत वर्ष लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाका जनप्रतिनिधिहरूले कोरला नाका हुँदै भिसा लगाएर आफ्नै खर्चमा तिब्बतको ल्हासा र सिगात्से भ्रमण गरेका थिए । उनले कोरला हुँदै आवागमन थप विस्तार भए माथिल्लो मुस्ताङको पर्यटन, स्थानीय व्यापार र सेवा क्षेत्रमा नयाँ अवसर सिर्जना हुन सक्ने बताए ।

नेपालका उत्तरी सीमामा चीनसँग जोडिने तातोपानी, केरुङ र कोरला तीनवटै नाकाको आ–आफ्नै ऐतिहासिक भूमिका छ । तर रसुवाको बाढी र पहिरोपछि रसुवागढी बन्द हुनु, तातोपानी नाका पनि प्रभावित हुनु र त्यसपछि कोरला वैकल्पिक मार्गका रूपमा प्रयोग हुन थालेको घटनाले यसको रणनीतिक महत्त्व थप स्पष्ट भएको छ ।

एक समय नुन र अन्नको व्यापार बोक्ने यही मार्ग अहिले चीनमा रोकिएका नेपालीलाई स्वदेश फर्काउने वैकल्पिक प्रवेशद्वार बनेको छ । यसले तत्कालीन संकट व्यवस्थापनमा राहत पु¥याएको मात्र होइन, भविष्यमा नेपाल–चीन व्यापार, पर्यटन र अन्तर्राष्ट्रिय आवागमनको अर्को भरपर्दो मार्गका रूपमा कोरलाको सम्भावनालाई पनि नयाँ ढंगले उजागर गरेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top