शिक्षामन्त्री पोखरेलले बोल्दाबोल्दै किन कार्यक्रम छाडे ?के हो विवाद ?

२८ भदौ ८३, आइतबार
Share this
784shares

२८ भदौ , काठमाण्डौ ।

Advertisement

सिरहामा आयोजित एक कार्यक्रममा विवाद भएपछि शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल कार्यक्रमबाट बोल्दाबोल्दै हलबाट निस्केर हिँडेका छन्। शनिबार सिराहाको औरही गाउँपालिकाको सभाहलमा आयोजित शैक्षिक सुझाव संकलन कार्यक्रममा विवाद सिर्जना भएपछि सरकारका प्रवक्तासमेत रहेका मन्त्री पोखरेल कार्यक्रमबाट बिचमै निस्किएर हिँडेको भिडियो यतिबेला सामाजिक संजालमा भाइरल बनिरहेको छ।

औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादवका अनुसार शिक्षा समन्वय इकाइँ सिराहाले आयोजना गरेको कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी, व्यवस्थापन समितिका पदाधिकारी लगायतलाई आमन्त्रण गरिएको थियो। कार्यक्रममा सहभागीहरुले आआफ्ना धारणा राखिसकेपछिको समयमा मन्त्री पोखरेल कार्यक्रमस्थलमा पुगेका थिए।

Advertisement

मन्त्री पोखरेल पुगेपछि पनि केहीले आफ्ना भनाइ राखेका थिए। मन्त्री आउनुअघि औरही गाउँपालिकाका शिक्षा शाखा प्रमुख सन्तोष यादवले कार्यक्रम सञ्चालन गरेका थिए। तर, मन्त्री आएपछि सञ्चालक परिवर्तन गरिएको थियो।
मन्त्री पोखरेल आएपछि मन्त्रालयकै एक कर्मचारीले कार्यक्रम चलाउन थालेका थिए।

शिक्षामन्त्री पोखरेलको सचिवालयका मान्छेले कार्यक्रम छोट्याउन भन्दै पूर्व निर्धारित बक्ताहरुको नाम कटौती गरेपछि विवाद सिर्जना भएको अध्यक्ष यादवले बताए। कार्यक्रमको पूर्वनिर्धारित तालिकाअनुसार मन्तव्यका लागि समय तय गरिएका वक्ताहरूलाई बोल्नु अघि मन्त्री पोखरेलले बोल्न थालेपछि मंचमै आसिन जिल्ला समन्वय समिति सिराहाका सभापति दिनेश महतोले असन्तुष्टि जनाएसँगै विवाद सिर्जना भएको थियो।

Advertisement

मन्त्री पोखरेलले बोल्न सुरु गरेपछि सभापति महतोले आफू कार्यक्रमको लागि २ घण्टादेखि बसिरहे पनि बोल्न नपाएको भन्दै असन्तुष्टि जनाएका थिए । त्यसपछि उनका समर्थकहरुले सभापति महतोलाई किन बोल्न दिइएन भन्दै विरोध गरेपछि कार्यक्रम स्थलमा होहल्ला भएको सहभागीहरुले जानकारी दिएका छन् ।

गाउँपालिका अध्यक्ष यादवले पनि मन्त्री पोखरेल कार्यक्रममा आएर अरु बक्ताहरुले बोल्नु अघि आफैँ बोल्न थालेपछि र बिचमा कार्यक्रमको सञ्चालक फेरिएपछि विवाद सिर्जना भएको बताएका छन् । ‘मन्त्री आएपछि हतारहतार कार्यक्रम सक्न खोज्दा विवाद सिर्जना भएको हो,’ उनले भने, ‘जिल्ला समन्व्य समितिका सभापतिले बोल्न समय माग्दा पनि सञ्चालकले दिएनन्।

त्यसपछि एकैपटक मन्त्रीलाई बोल्न दिँदा विवाद भयो। त्यहाँ मन्त्रीको फोटो खिच्ने क्रममा पनि विवाद भयो। अनि कार्यक्रम हलमा विवादसँगै होहल्ला भएपछि मन्त्री पोखरेलले आफ्नो मन्तव्य पूरा नगरी बिचमै छाडेर हिँडेका थिए ।यो घटनाका विषयमा शिक्षामन्त्री पोखरेलले पनि सामाजिक सञ्जालमार्फत प्रष्टिकरण दिएका छन् ।

उनले कार्यक्रममा आफू बाहिरिएको विषयमा भ्रामक प्रचार गरिएको भन्दै असन्तुष्टि जनाएका छन् । शिक्षा सुधारका लागि मधेस प्रदेशमा भइरहेको सुझाव सङ्कलन कार्यक्रमलाई प्रभावित पार्ने उद्देश्यले घटनाको सन्दर्भ तोडमोड गरेर भ्रामक प्रचार गरिएको उनले बताएका छन्।

उनले कुनै पनि भ्रम वा भ्रामक प्रचारले शिक्षा सुधारको मूल उद्देश्यलाई रोक्न नसक्ने बताएका छन्। मन्त्री पोखरेलका अनुसार शनिबार सिराहा र सप्तरीमा आयोजित अन्तरक्रियामा १०० भन्दाबढी विद्यार्थी, शिक्षक, अभिभावक तथा अन्य सरोकारवालाको सहभागिता थियो।

कार्यक्रममा दुई जना व्यक्तिले हल्लाखल्ला गरेपछि सहभागीको सहभागिता प्रभावित हुने अवस्था आएपछि आफूहरू कार्यक्रमस्थलबाट बाहिरिएको उनको दाबी छ। ‘एक मिनेटभन्दा पनि छोटो भिडियो क्लिप काटेर सम्पूर्ण घटनाको सन्दर्भ नै बङ्ग्याएर अनावश्यक भ्रम फैलाउने प्रयास गरिएको छ’, मन्त्री पोखरेलले फेसबुकमा लेखेका छन्।

उनले लोकतान्त्रिक व्यवस्थामा असहमति जनाउने अधिकार सबैलाई भए पनि घटनाको पूर्ण सन्दर्भ नबुझी छोटो भिडियोका आधारमा धारणा बनाउनु उचित नहुने पनि बताएका छन्। मन्त्री पोखरेलले उक्त घटनापछि पनि शिक्षा सुधारका लागि आफ्नो अभियान नरोकिने स्पष्ट पारेका छन्।

उनले सिरहास्थित बहिरा बालबालिका अध्ययन गर्ने विद्यालय र मदरसा शिक्षालयमा पुगेर विद्यार्थीसँग संवाद गर्नुका साथै सोमबार मात्रै करिब आठदेखि १० वटा विद्यालयमा पुगेर सुझाव सङ्कलन गरिएको जानकारी दिएका छन्। त्यसैगरी उनले मधेस प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बढ्दो प्रभाव र शिक्षा क्षेत्रमा भइरहेका सकारात्मक कामप्रति असन्तुष्टि हुनसक्ने भए पनि त्यसका आधारमा भ्रम फैलाउनुभन्दा सरकारले गरिरहेको कामको मूल्याङ्कन जनतालाई नै गर्न दिनुपर्ने तर्क गरेका छन्।

‘हामी राजनीतिक ‘स्टन्ट’ वा हल्ला गर्न होइन, ग्राउन्डमै पुगेर शिक्षा क्षेत्रमा वास्तविक र सकारात्मक परिवर्तन ल्याउन आएका हौँ’, उनले भनेका छन्, ‘हल्लाभन्दा काम ठूलो भएकाले आफ्नो काम र नियतको मूल्याङ्कन जनताले गर्ने विश्वास छ।’

मन्त्री पोखरेलले नेपालको विद्यालय शिक्षालाई थप व्यावहारिक, सीपमूलक र समयसापेक्ष बनाउने उद्देश्यले राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सरकारले विभिन्न जिल्लामा विद्यार्थी, शिक्षक र अभिभावकसँग सुझाव सङ्कलन गरिरहेको बताएका छन्।

आगामी शैक्षिकसत्रदेखि कार्यान्वयन गर्ने लक्ष्यसहित ‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ लगायतका अवधारणाबारे पनि सरोकारवालासँग सुझाव लिइनेक्रम जारी रहेको छ। मधेस प्रदेशको कार्यक्रमपछि टोली सप्तरी हुँदै मोरङतर्फ आउने कार्यक्रम छ।

शिक्षा तथा खेलकुद मन्त्रालयअन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले पहिलो चरणमा भदौ २४ गतेदेखि सातै प्रदेशका २८ जिल्लामा विद्यार्थी, शिक्षक, अभिभावक तथा अन्य सरोकारवालासँग अन्तरक्रिया गरी सुझाव तथा पृष्ठपोषण सङ्कलन गरिरहेको छ। यो अभियान भदौ ३० गतेसम्म सञ्चालन हुने शिक्षा मन्त्रालयले जनाएको छ। दोस्रो चरणमा ७७ वटै जिल्लामा सरोकारवालासँग सुझाव लिइनेछ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top