सुरजसिंहले आईसीयूमै लिइएको अन्तर्वार्तामा बोल्यो प्रेस काउन्सिल

२९ भदौ ८३, सोमबार
Share this
737shares

२९ भदौ , काठमाण्डौ ।

Advertisement

रसुवाको भोटेकोशी मा आएको बाढीमा त्रिशूली थ्री ए हाइड्रोपावरबाट १० दिनपछि उद्धार गरी एक अस्पतालको आईसीयुमा उपचाररत घाइतेको अन्तर्वार्ता लिएको विवादित विषयमा प्रेस काउन्सिलले समेत ध्यानाकर्षण भएको जनाएको छ । काउन्सिलले विज्ञप्ति जारी गर्दै आइसियूमा रहेका व्यक्तिहरूसँग अन्तर्वार्ता लिँदै इनसाइड द बङ्कर नामक युट्युब च्यानलबाट सम्प्रेषित सामग्रीप्रति काउन्सिलको ध्यानाकर्षण भएको उल्लेख छ ।

विज्ञप्तिमा, यसअघि पनि सगरमाथामा सम्पर्कविहीन भएको सातौँ दिनमा फेला परेका एक पथप्रदर्शकको एक अस्पतालमा उपचाररत रहेको अवस्थामा आईसीयुबाट अन्तर्वार्ता लिई बिबिसी नेपालीले प्रसारण गरेको भिडियो सामग्रीको विषय पनि काउन्सिलको जानकारीमा आएको भनिएको छ ।

Advertisement

काउन्सिलले सम्प्रेषित सामग्रीका सम्बन्धमा पत्रकार आचारसंहिताको परिधिभित्र रहेर थप अध्ययन, अनुगमन गरिरहेको र यस विषयमा अध्ययनका लागि सम्बन्धित सञ्चारकर्मी, अस्पताल र मेडिकल काउन्सिलमा पत्राचार भएको ब्यहोरा विज्ञप्तिमार्फत सम्बद्ध सबैमा जानकारी गराइएको उल्लेख छ ।

काठमाडौँको छाउनीस्थित सैनिक अस्पतालको आइसियुमा उपचाररत घाइतेको अन्तर्वार्ता युट्युब कार्यक्रम ‘इनसाइड द बङ्कर’का लागि सुरजसिंह ठकुरीले लिएका छन् । आयोजकले आवश्यक स्वास्थ्य सुरक्षा र बिरामीको सहमतिमै रेकर्ड गरिएको दाबी गरे तापनि घाइतेका आफन्तको अनुमति नलिइएको र सङ्क्रमणको जोखिमयुक्त संवेदनशील क्षेत्रमा यसरी लापरबाही गरी अन्तर्वार्ता लिइएको भन्दै चौतर्फी आलोचना भइरहेका बेला काउन्सिलले ध्यानाकर्षण भएको जनाएको छ ।

Advertisement

भिडियोमा ठकुरी र घाइते कसैले पनि मास्क नलगाएको देखिन्छ । ठकुरीले अन्तर्वार्ता हुनु अघि चिकित्सकको अनुमतिमा अस्पताल गएको बताएका छन् । आइतबार दिउसो सामाजिक सञ्जालमा मेडिकल प्रोटोकल मिचेर खिचिएको भिडियो प्रोमोसहित इन्साइड द बंकर पेजमा लेखियो “ इन्साइड दि आइसीयु, एक्सक्लुसिभ इन्टरभ्यु त्रिशूली थ्री ए सर्भाइवर।”

कार्यक्रम प्रशारण गर्दा आइसीयु भित्र खिचिएको विषयलाई हेडलाइनदेखि नै हाइलाइट गरिएको छ। युट्युबमा प्रशारण हुने कार्यक्रमको फेसबुक पेजमा राखिएको प्रोमोसहित अन्तर्वार्ता सम्बन्धित व्यक्तिहरूको सहमति, चिकित्सकहरूको उपस्थितिमा र स्वास्थ्य तथा सुरक्षासम्बन्धी आवश्यक प्रोटोकल पालना गर्दै रेकर्ड गरिएको दाबी गरिएको छ।

ठकुरीले त्रिशूली ३ ’ए’ सुरुङभित्र बाढीमा फसेका उद्धारकर्ता तथा पीडितहरूसँगको विशेष कुराकानीमा आधारित एक संवेदनशील एपिसोड शीघ्र प्रसारण हुने जनाएका थिए। यो प्रसारण भइसकेको छ । ’इनसाइड द बङ्कर’ नामक कार्यक्रममार्फत सार्वजनिक गर्न लागिएको उक्त विशेष अन्तर्वार्तामा बाढीका बेला सुरुङभित्र बिताएका अँध्यारा र कहालीलाग्दा घण्टाहरू, जीवन र मरणको सङ्घर्ष तथा त्यसपछिको उद्धार प्रयासका बारेमा सर्भाइभरहरूले आफ्ना हुबहु अनुभव साझा गरेको बताए ।

सामाजिक सञ्जालमार्फत ठकुरीले भनेका छन्,“ सहभागीहरूको शारीरिक तथा मानसिक अवस्थालाई उच्च प्राथमिकता दिँदै यो कार्यक्रम चिकित्सकहरूको प्रत्यक्ष उपस्थिति र आवश्यक स्वास्थ्य तथा सुरक्षा प्रोटोकलको पूर्ण पालना गरी रेकर्ड गरिएको हो। सम्बन्धित व्यक्तिहरूकै पूर्ण सहमतिमा तयार पारिएको यस एपिसोडले प्राकृतिक विपत्तिमा परेका मानिसहरूको साहस र जीवित रहनका लागि गरिएको सङ्घर्षलाई उनीहरूकै आवाजमा दर्शकमाझ ल्याउँदै छ। ”

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. समीर कुमार अधिकारीले आईसीयू कक्ष अत्यन्तै संवेदनशील हुने भएकाले अन्तर्वार्ता लिँदा ख्याल गर्नुपर्ने र आवश्यक प्रोटोकल पूरा गर्नुपर्ने बताएका छन् । अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा रहेका बिरामीलाई भेटघाट गर्न र उनीहरूसँग कुराकानी गर्न चिकित्सकहरूले उच्च सतर्कता अपनाउनुपर्नेमा जोड दिएका छन्।

आईसीयूमा भर्ना भएका बिरामीहरूमा सङ्क्रमणको जोखिम उच्च रहने भएकाले ’इन्फेक्सन प्रिभेन्सन’ (सङ्क्रमण रोकथाम) को नियमलाई कडाइका साथ पालना गर्नुपर्ने उनीहरूको भनाइ छ। अस्पतालको निश्चित नियम र सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै धेरैजसो आईसीयू सेन्टरहरूमा अनावश्यक क्रियाकलाप र बिना अनुमति प्रवेशमा पूर्ण निषेध गरिने हुनाले बिरामीको स्वास्थ्य सुरक्षालाई नै पहिलो प्राथमिकता दिनुपर्नेमा चिकित्सकहरूको भनाइ छ।

अस्पतालको सघन उपचार कक्ष भित्र प्रत्यक्ष पुगेर अन्तर्वार्ता वा छायाङ्कन गर्न नपाइने विश्व स्वास्थ्य सङ्गठन र स्वास्थ्य सुरक्षा मापदण्डले स्पष्ट पारेको छ। अति संवेदनशील मानिने आइसियु क्षेत्रमा बिरामीको सुरक्षा र सङ्क्रमण नियन्त्रण पहिलो प्राथमिकता हुने भएकाले अनावश्यक मानिसको प्रवेश, क्यामेरा तथा माइकजस्ता बाह्य उपकरणको प्रयोगमा कडा प्रतिबन्ध लगाइएको छ।

विश्व स्वास्थ्य सङ्गठनको हातको स्वच्छता, अनिवार्य व्यक्तिगत सुरक्षा सामग्रीको प्रयोग र बिरामीको गोपनीयतासम्बन्धी अन्तर्राष्ट्रिय प्रोटोकल अनुसार बिरामीको उपचार प्रक्रियामा बाधा पुग्ने गरी कुनै पनि सञ्चारमाध्यमलाई भित्र कभरेज गर्ने अनुमति दिइँदैन। विशेष वा आपत्कालीन परिस्थितिमा अस्पताल प्रशासन र आइसियु इन्चार्जको लिखित सहमति तथा बिरामी वा निजका आफन्तको पूर्वस्वीकृतिमा मात्र सीमित सञ्चार अनुमति सम्भव हुन्छ।

तर, त्यसका लागि पनि सञ्चार उपकरणहरूलाई पूर्ण रूपमा सङ्क्रमणरहित बनाउनुपर्ने र अन्य बिरामीको गोपनीयतामा कुनै आँच आउन नदिने सर्त कडा रूपमा लागू हुन्छ। इन्टेन्सिभ केयर युनिट आइसियूमा भर्ना हुने बिरामीहरूको रोग प्रतिरोधात्मक क्षमता अत्यन्तै कमजोर हुन्छ।

त्यसैले अन्तर्राष्ट्रिय प्रोटोकल गाइडलाइन अनुसार आइसीयुमा हावाको चाप, एचईपीए फिल्टर र कडा स्टेराइल प्रोटोकल अपनाइन्छ। बाहिरी व्यक्ति, अझ क्यामेरा र माइकसहितको मिडिया टोली प्रवेश गर्दा बिरामीमा अस्पतालजन्य सङ्क्रमण जस्तै भेन्टिलेटर–सम्बन्धित निमोनिया, सेप्सिस वा मल्टि–ड्रग रेसिस्टेन्ट ब्याक्टेरियाको जोखिम सयौं गुणा बढ्छ।

अमेरिका, युरोपियन युनियन र अन्तर्राष्ट्रिय चिकित्सा आचारसंहिता अनुशार पनि कुनै पनि बिरामी, विशेष गरी आघात वा आइसीयुमा रहेका व्यक्तिको मन्जुरी बिना उनको फोटो, भिडियो वा व्यक्तिगत विवरण सार्वजनिक गर्न पूर्ण रूपमा निषेध हुन्छ।

गम्भीर शारीरिक वा मानसिक पीडामा रहेको बिरामीसँग अन्तर्वार्ता लिनु उसको मनोवैज्ञानिक शोषण समेत मानिन्छ। अन्तर्राष्ट्रिय अस्पतालहरूमा आइसीयु भिजिटिङ समय अत्यन्तै सीमित गरिएको हुन्छ। यस्तोमा तोकिएका नजिकका नातेदारका लागि अधिकतम दिनमा १५ देखि ३० मिनेट तोकिन्छ। एक पटकमा एक वा बढीमा दुई जनालाई मात्र पस्न दिने गरिएको हुन्छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top