राष्ट्रसंघमा जलवायु न्यायका लागि मौन प्रदर्शनको तयारी

३० भदौ ८३, मंगलबार
Share this
741shares

३० भदौ, काठमाण्डौ ।

Advertisement

मुस्ताङमा आजदेखि ‘घरपझोङ जलवायु सम्मेलन २०८३’ सुरु हुँदै छ । सम्मेलनको आज कृषि वन तथा पर्यावरणमन्त्री गीता चौधरीले उद्घाटन गर्ने कार्यक्रम छ । सम्मेलनमा भाग लिन ४२१ स्थानीय तह र ३६ जिल्ला समन्वय समितिका जनप्रतिनिधि सोमबार साँझ मुस्ताङ पुगेका छन् ।

सोमबार साँझसम्म सातै प्रदेशका महानगर, उपमहानगर, नगर र गाउँपालिकाका जनप्रतिनिधिसहित दुई हजारभन्दा बढी अतिथि मुस्ताङ आइपुगेको घरपझोङ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत भीमकुमार बस्नेतले जानकारी दिए । सम्मेलनको व्यवस्थापनका लागि पालिकाअन्तर्गतका पाँचै वडाका गाउँ समाज, आमा समूह, युवा क्लब र अन्य संघसस्थालाई परिचालन गरिएको गाउँपालिका उपाध्यक्ष जमुना थकालीले जानकारी दिइन् ।

Advertisement

सम्मेलनस्थलभित्र २८ फिट उचाइको जलवायु परिवर्तनको असरसम्बन्धी जनचेतना झल्काउने पृथ्वी रोइरहेको बेलुनको गोलाकार आकृति राखिएको छ । मुस्ताङका कृषि उत्पादनको प्रचारप्रसार गर्ने उद्देश्यका साथ पचासभन्दा बढी स्टल राखिएको गाउँपालिकाका कृषि शाखा अधिकृत रोशन थकालीले जानकारी दिए ।

Advertisement

दुई दिनसम्म चल्ने सम्मेलनले जलवायु परिवर्तनको असरसम्वन्धी घोषणापत्र जारी गर्नेछ । मुस्ताङ सदरमुकाम जोमसोममा भदौ ३० देखि ३१ गतेसम्म चल्ने घरपझोङ जलवायु परिवर्तन सम्मेलनमा जलवायु संकटबारे चर्चा हुने जनाइएको छ। सम्मेलनको विशिष्ट अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे रहने भएका छन्।

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले शुभकामना सन्देश पठाएको गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले बताए। उनले भने ‘उहाँले यो सम्मेलन उठाइएका जलवायु परिवर्तन सम्बन्धी विषय राष्ट्र संघीय महासभामा पनि लैजान्छु भन्नुभएको छ। महासभामा पनि यो कुरा राख्नुहुन्छ।’

प्रधानमन्त्री शाहले असोज ८ गते संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने कार्यक्रमको तयारीका कारण सम्मेलनमा सहभागी हुन नसकेको लालचनको भनाइ छ। अध्यक्ष लालचनका अनुसार सम्मेलनमा देशभरका स्थानीय तहको सहभागिता रहनेछ। ‘करिब पाँच सय पालिका प्रमुख आउनुभएको छ, ३६ वटा जिल्ला समन्वय समितिका सभापति आउनुभएको छ,’ उनले भने।

जलवायु परिवर्तनले हिमाल, पहाड र तराईका स्थानीय तहमा पु¥याएको असर र अनुकूलनलगायतका विषयमा साझा धारण तय गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गर्न ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन’ गर्न लागिएको उनको भनाइ छ।

उनका अनुसार हरितगृह ग्यास उत्सर्जनका कारण जलवायु परिवर्तनले पृथ्वीको तापमान वृद्धिले नेपालका हिमाली, पहाडी र तराईका जिल्लाले भोग्नुपरेका जलवायु सङ्कट र त्यसको समुचित व्यवस्थापनका विषयमा सम्मेलनमा गहन बहस हुनेछ।

सम्मेलनमा अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड), विश्व वन्यजन्तु कोष (डब्लूडब्लूएफ), प्रकृति संरक्षणका लागि अन्तर्राष्ट्रिय सङ्घ (आइयूसीएन), त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभाग र वातावरण विज्ञान केन्द्रीय विभाग, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र कृषि वन तथा पर्यावरण मन्त्रालयलगायतका विज्ञ टोलीको सहभागिता रहनेछ।

सम्मेलनका लागि मुस्ताङका अन्य चार पालिकाले पनि सहयोग गरेका छन्। सम्मेलनको पहिलो दिन उद्घाटन र जलवायुसँग सम्बन्धित विषयमा केन्द्रित रही चरणबद्ध समूहगत छलफल हुनेछ। सम्मेलनमा जलवायुसँग सम्बन्धित सबै स्थानीय तहमा जलवायु परिवर्तनले पारेका असरसम्बन्धी फोटो प्रदर्शनी गरिनेछ।

सम्मेलनमा स्थानीय स्तरमा पाइने कृषि तथा पशुपालनसम्बन्धी उत्पादनका ५० भन्दाबढी प्रदर्शनी कक्ष राखिने अध्यक्ष लालचनले बताए। त्यस्तै, दोस्रो दिन स्थानीय तह तथा जलवायु विज्ञले पेश गरेका अवधारणा पत्रलाई समावेश गरी ऐतिहासिक घरपझोङ जलवायु परिवर्तन सम्मेलन २०८३ को साझा घोषणापत्र जारी गरिने भएको छ।

पालिकाको साझा घोषणापत्र जारी गरेर बुधबार दिउँसो १ बजे कार्यक्रम समापन गरिने अध्यक्ष लालचनले बताए। उनका अनुसार गत भदौ १० गते जलवायु परिवर्तनका असरका कारण हिमताल फुटेर रसुवाको भोटेकोसीमा बाढीले पु¥याएको ठूलो धनधनको क्षतिका सन्दर्भमा मुस्ताङबाट विश्वसमुदायको ध्यानाकर्षण गर्न लागिएको उनको भनाइ छ।

यसैबीच नेपालमा आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको सम्झना र अझै बेपत्ता रहेकाहरूको सकुशलताको कामना गर्दै अमेरिकाको डलासमा नेपाली समुदायले दीप प्रज्वलन गरी श्रद्धाञ्जली अर्पण गरेको छ। डलासस्थित रोनाल्ड किर्क पेडेस्ट्रियन ब्रिजमा भिजिट नेपालले आयोजना गरेको कार्यक्रममा नेपाली समुदाय, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा नेपालप्रेमीहरू सहभागी भएका थिए।

कार्यक्रममा पीडित परिवारप्रति ऐक्यबद्धता जनाउँदै नेपालले भोगिरहेको जलवायु जोखिमलाई जलवायु न्यायको विषयका रूपमा विश्व समुदायले गम्भीरतापूर्वक लिनुपर्ने आवाज उठाइएको थियो । डलासमा उठाइएको यही मुद्दालाई अब अन्तर्राष्ट्रिय मञ्चसम्म पु¥याउने तयारी गरिएको छ ।

भिजिट नेपालले सेप्टेम्बर २४ मा संयुक्त राष्ट्रसंघ मुख्यालय अगाडि शान्तिपूर्ण मौन प्रदर्शन गरी नेपालका लागि जलवायु न्याय, हानि तथा क्षति, अनुकूलन र पुनर्निर्माणमा विश्व समुदायको ध्यानाकर्षण गराउने जनाएको छ । कार्यक्रममार्फत विपत्तिपछि नेपाललाई केवल पीडाको दृष्टिले नहेर्न र नेपाल भ्रमणमार्फत पुनर्निर्माणमा साथ दिन पनि अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरिएको छ ।

सुरक्षित र खुला रहेका हजारौँ पर्यटकीय गन्तव्यको जिम्मेवार भ्रमणले स्थानीय होटल, पथप्रदर्शक, भरिया, चालक, किसान, साना व्यवसायी र परिवारको आयआर्जनमा प्रत्यक्ष सहयोग पुग्ने आयोजकको भनाइ छ। डलासको कार्यक्रमले तीनवटा सन्देश दिएको छ—ज्यान गुमाएकाहरूको सम्झना, बेपत्ताहरूका लागि प्रार्थना र नेपालको भविष्यका लागि जलवायु न्याय। डलासमा दीपमार्फत व्यक्त भएको ऐक्यबद्धता अब राष्ट्रसंघ मुख्यालय अगाडि मौन प्रदर्शनमा बदलिँदैछ—सन्देश भने एउटै छ, “नेपालसँग आज पनि, भोलि पनि।”

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top