३० भदौ, काठमाण्डौ ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा अहिले सरदर स्थानकै आसपास रहेको छ। मनसुनी प्रणाली सक्रिय रहेकाले देशका अधिकांश भूभागमा बदलीसँगै वर्षाको सम्भावना देखिएको छ।
हाल देशभरको मौसम सामान्यतया बदली रहेको छ। विभिन्न प्रदेशका केही स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहँदा भारी वर्षाको सम्भावना रहेको हो दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

राति कोसी प्रदेशको पहाडी र तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको पूर्वानुमान छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रका थोरै स्थानमा मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ ।
पहाडी भूभागका केही स्थानमा मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ । वाग्मती, गण्डकी, लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा र मधेस प्रदेश तथा कोसी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ ।
त्यस्तै आज राति देशभर साधरणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा तथा मधेस प्रदेश तथा र सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी प्रदेशको पहाडी र तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।
भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रहरूमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न महाशाखाले अनुरोध गरेको छ । साथै, यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात, उद्धार र राहतमा असर पर्नसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन र विभागको पछिल्लो सूचनामा अद्यावधिक रहन समेत आग्रह गरिएको छ ।
यसैबीच भक्तपुर र काठमाडौँको सिमाना भएर बग्ने मनोहरा खोलामा गएराति पानीको बहाव बढेपछि स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ। खोला किनारमा टहरा एवं घर बनाएर बसोबास गर्दै आएका स्थानीय बस्ती छाडेर भक्तपुरको लोकन्थली हाइटमा पुगेका हुन्।
चाँगुनारायण नगरपालिकाको नगरकोटदेखि काठमाडौँको साँखुलगातका क्षेत्रमा साँझ परेको ठूलो वर्षाका कारण आएको बाढीले खोला किनाराका बस्तीमा पानी पसेको छ। बस्तीमा पानी पसेपछि स्थानीयवासी लोकन्थलीको हाइटमा पुगेको स्थानीयले बताएका छन् ।
राति ९ः०० बजे खोलाको बहाव बढेपछि साइरन बजाइएको थियो। सरकारले मनोहरा सुकुमवासी बस्ती यसअघि नै हटाएको छ। जडीबुटी पेप्सीकोलाको पश्चिमतर्फ निजी जग्गा भाडामा लिएर र आफ्नै जग्गामा घरटहरा बनाएर बसेकाको बस्तीभित्र बाढी पसेको हो।
जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले मनोहरा खोलामा बाढीको बहाव बढेसँगै राति नै प्रहरीले खोला किनारका बस्तीमा प्रहरी परिचालन गरी स्थानीयलाई सुरक्षित स्थानमा सारेको जानकारी दिए। उनले आवश्यक पर्दा उद्धारका लागि सुरक्षाकर्मी तयारी अवस्थामा रहेको जानकारी दिए।
सुरक्षाकर्मी तम्तयारी अवस्थामा रहेको उल्लेख गर्दै उनले राति १० बजेपछि खोलामा पानीको बहाव क्रमशः कम हुँदै गएको बताए। जोखिम कायम रहेकाले सावधानी अपनाउन प्रहरीले स्थानीयवासीलाई आग्रह गरेको छ।
अब भोटेकोशी बाढीपछिको खोजीसहितको पछिल्लो खबर ।
बाढीमा परी हालसम्म एक हजार ३९५ जनाको शव फेलापरेको छ भने पाँच हजार १३० जना अझै सम्पर्कविहीन छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबारसाझ सार्वजनिक गरेको विवरणअनुसार फेलापरेका शवमध्ये चितवनमा ३६४, नवलपरासी पूर्वमा २३२, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा २०२, रसुवामा १८६, गोरखामा ७७, धादिङमा ७२ र तनहुँमा ३८ छन् ।
उपचारका क्रममा काठमाडौंमा दुई जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ । हालसम्म फेलापरेका शवमध्ये १०४ को सनाखत भइसकेको छ । बाँकी शवको पहिचानका लागि डिएनए परीक्षणलगायत प्रक्रिया अघि बढाइएको छ । प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार बाढीपछि हालसम्म १३ हजार ७३७ जनाको उद्धार गरिएको छ ।
उद्धार गरिएकामध्ये विभिन्न ३३ वटा होल्डिङ सेन्टरमा राखिएका नागरिकमध्ये नुवाकोटमा एक हजार ४९९, रसुवामा ८२५ र धादिङमा ९४ जना रहेका छन् । डिएनए नमूनाका आधारमा सनाखत हुन बाँकी शवको पहिचान गर्ने कार्य अघि बढाइएको प्राधिकरणले जनाएको छ ।
त्यस्तै, विभिन्न १९ अस्पतालमा ३४१ जनाको उपचार गरिएकामा २७८ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् । विभिन्न सुरक्षा निकायमार्फत थप नौ हजार ३५८ जनाले स्वास्थ्य उपचार सेवा लिएका छन् । प्रभावित क्षेत्रमा स्वास्थ्य मन्त्रालयमार्फत १५० जना परामर्शदाता परिचालन गरिएको छ ।
नेपाल प्रहरीले सञ्चालन गरेका १६६ वटा सामुदायिक जनचेतना कार्यक्रममार्फत ४५ हजार २३८ जनालाई परामर्श प्रदान गरिएको प्रवक्ता महतले जानकारी दिइन् ।




