हिमालय क्षेत्र ‘टिपिङ पोइन्ट’ नजिक, गम्भीर संकटको चेतावनी

३० भदौ ८३, मंगलबार
Share this
718shares

३० भदौ, काठमाण्डौ ।

Advertisement

हिमालय क्षेत्र गम्भीर जोखिमको विन्दुतर्फ अघि बढिरहेको एक नयाँ अनुसन्धानले देखाएको छ । हिमनदी तीव्र गतिमा पग्लिनु, हिमताल अस्थिर बन्दै जानु र अनुगमन कमजोर हुनुका कारण यो जोखिम बढेको हो ।

ग्लोबल कन्सल्टेन्सी सिस्टमिकले इन्टिग्रेटेड माउन्टेन इनिसिएटिभको सहकार्य तथा इसिमोड र जिबी पन्त नेसनल इन्स्टिच्युट अफ हिमालयन इन्भाइरोन्मेन्टको प्राविधिक योगदानमा तयार पारेको रिपोर्टमा यस्तो निष्कर्ष निकालिएको हो।

Advertisement

रिपोर्टअनुसार, हिमालय तथा कराकोरमका हिमनदीले एक दशकअघिको तुलनामा अहिले ६५ प्रतिशत बढी तीव्र गतिमा आफ्नो भार गुमाइरहेका छन् । तर, अनुमानित ४० हजार हिमनदीमध्ये करिब २१ वटाको मात्र विस्तृत र निरन्तर अनुगमन भइरहेको छ ।

हिमनदी पग्लँदै जाँदा पछाडि हिमताल बन्ने र ती विस्तार हुँदै जाने जोखिम हुन्छ । यस्ता ताललाई चट्टान र बरफका कमजोर प्राकृतिक बाँधले रोकिराखेको हुने भएकाले त्यो फुट्दा ठूलो बाढी आउन सक्छ । तापक्रम वृद्धिले पर्माफ्रस्ट र हिमाली ढलान कमजोर बनाउँदै जाँदा एउटा विपत्तिले अर्को विपद् निम्त्याउने जोखिम समेत बढेको रिपोर्टमा उल्लेख छ ।

Advertisement

भारतको हिमाली क्षेत्रले देशको करिब १८ प्रतिशत भूभाग ओगटेको छ । तर, कुल विपद्को करिब ३५ प्रतिशत यही क्षेत्रमा हुने जनाइएको छ । सन् २०२५ मा गरिएको मूल्यांकनपछि भारतीय हिमाली क्षेत्रका १८९ उच्च जोखिमयुक्त हिमतालमध्ये ५६ वटालाई ‘अत्यधिक उच्च जोखिमयुक्त’ वर्गमा राखिएको थियो ।

२०२३ मा सिक्किममा आएको हिमताल विस्फोटन बाढीमा कम्तीमा ७० जनाको मृत्यु भएको थियो । २०२१ मा उत्तराखण्डमा यस्तै विपत्तिमा २०० भन्दा बढी मानिसको ज्यान गएको थियो । जोखिम बाढीमा मात्र सीमित छैन । हिमालयबाट बग्ने नदीले दक्षिण एसियाका करोडौँ मानिसलाई पानी उपलब्ध गराउँछन् ।

अधिकांश हिन्दुकुश हिमालय नदी बेसिनमा शताब्दीको मध्यतिर ‘पिक वाटर’ पुग्ने अपेक्षा गरिएको छ । त्यसपछि हिमनदीको आकार घट्दै जाँदा नदीको बहाव पनि कम हुन सक्ने इसिमोडले जनाएको छ । अनुसन्धान अनुसार, हिमनदी पग्लिनुमा करिब एकतिहाइ भूमिका ब्ल्याक कार्बनको हुनसक्छ ।

यसको ठूलो हिस्सा तराईका इँटाभट्टाबाट आउने अनुमान गरिएको छ । हिउँ र बरफमा जम्मा हुने कालो धुलोले सूर्यको ताप बढी सोस्ने भएकाले पग्लिने गति बढाउँछ । सिस्टमिककी वरिष्ठ निर्देशक तथा मुख्य लेखक आरुषी चोपडाले भनिन्, “लाखौँ मानिसको जीवन र जीविकोपार्जन जोखिममा परेकाले हिमालय एउटा गम्भीर मोड नजिक पुगिरहेको छ ।  हिमनदीहरू एक दशकअघिको तुलनामा तीव्र गतिमा पग्लिरहेका छन् ।”

ब्ल्याक कार्बन उत्सर्जन घटाउने, हिमनदीको अनुगमन विस्तार, विपद् पूर्वसूचना प्रणाली सुधार र हिमाली पर्यटनलाई पुनर्विचार गर्नेलगायत १० प्राथमिकता रिपोर्टमा प्रस्ताव गरिएको छ । इसिमोडका महानिर्देशक पेमा ग्याम्छोका अनुसार, हिमनदी पछि हट्दै जानु, पर्माफ्रस्ट र उच्च हिमाली ढलान अस्थिर हुनु तथा तल्लो तटीय क्षेत्रमा शृंखलाबद्ध जोखिम बढ्नु चिन्ताजनक अवस्था हो ।

उनले हिमाली जोखिम राष्ट्रिय सीमामा सीमित नहुने भएकाले सीमापार अनुगमन, साझा जोखिम सूचना, पूर्वसूचना प्रणाली र उत्थानशीलतामा संयुक्त लगानी आवश्यक रहेको बताएका छन् । हिमालयलाई करोडौँ मानिसको जीवन, जीविकोपार्जन र अर्थतन्त्रसँग जोडिएको साझा प्राकृतिक प्रणालीका रूपमा हेर्दै तत्काल जोखिम न्यूनीकरणका उपाय अघि बढाउनुपर्नेमा रिपोर्टमा जोड दिइएको छ ।

यसै महिना सार्वजनिक भएको यो अध्ययन अनुसार, एक दशकअघिको तुलनामा हिमनदीहरू तीव्र गतिमा पग्लिरहेकाले हिमालय क्षेत्र ‘टिपिङ पोइन्ट’ (अपरिवर्तनीय विन्दु) तर्फ पुग्दैछ । त्यसले यो क्षेत्र शताब्दीको मध्यसम्ममा ‘पिक वाटर’ (पानीको उच्चतम बहावको विन्दु) मा पुग्दा जल सुरक्षालाई नै गम्भीर जोखिममा पारिरहेको छ ।

अगस्टको अन्त्यतिर नेपाल–तिब्बत सीमा क्षेत्रमा एक हिमाली हिमनदी फुटेपछि तल्लो उपत्यकाहरूमा एकपछि अर्को पहिरो र आकस्मिक बाढी निम्त्याएको थियो । त्यसलगत्तै यो निष्कर्ष सार्वजनिक भएको हो । नेपाल र चीनको तिब्बत क्षेत्रभरि झण्डै १४ सयजनाको मृत्यु भएको पुष्टि भइसकेको छ भने ५३ सयभन्दा बढी मानिस बेपत्ता छन् ।

हिमनदीहरू पग्लिँदै पछाडि हट्दा लाखौं मानिसहरू बसोबास गर्ने उपत्यकाहरूभन्दा माथि कमजोर ढुंगा र बरफले मात्र थामिएका अस्थिर हिमतालहरू पछाडि छाडिरहेको उक्त अध्ययनले देखाएको छ । यो अध्ययन दिगोपनासम्बन्धी परामर्शदाता संस्था सिस्टिमिकले एकीकृत पर्वतीय पहल (इन्टिग्रेटेड माउन्टेन इनिसिएटिभ), अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) र भारतको जीबी पन्त राष्ट्रिय हिमालय वातावरण संस्थानसँग मिलेर तयार पारेको हो ।

पछिल्ला दशकहरूमा हिमाली हिमनदीहरूको पिण्ड गुम्ने (मास लस) क्रम तीव्र बनेको छ । जबकि अफगानिस्तानदेखि म्यान्मारसम्म आठ देशहरूमा फैलिएको विशाल पर्वतीय प्रणाली हिन्दूकुश–हिमालय क्षेत्रका अनुमानित ४० हजार हिमनदीहरूमध्ये हाल केवल २१ वटा हिमनदीको मात्र स्थलगत रूपमा प्रत्यक्ष निगरानी भइरहेको अध्ययनले देखाएको छ ।

भारतमा करिब २०० वटा हिमतालहरू उच्च जोखिमयुक्त रूपमा पहिचान गरिएका छन् जसमध्ये ५६ वटालाई ‘अत्यन्त उच्च जोखिम’ का रूपमा वर्गीकृत गरिएको छ । त्यसले तल्लो तटीय क्षेत्रका लाखौं मानिसहरूलाई जोखिममा पारेको छ । यो क्षेत्र नदीको बहाव बढ्न रोकिने र घट्न थाल्ने विन्दु अर्थात् ‘पिक वाटर’ नजिक पुग्दै गर्दा यसले जल सुरक्षामा गम्भीर असर पार्नेछ ।

हिमालयले भारतको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को २० प्रतिशतभन्दा बढी हिस्सालाई आधार प्रदान गरेको हुनाले यो क्षेत्र देशको राष्ट्रिय आर्थिक पूर्वाधारको एक प्रमुख अंग बनेको छ जसमा करोडौं मानिसहरू निर्भर छन् । भारतको भूभागको करिब १८ प्रतिशत हिस्सा ओगटेको भए तापनि देशका प्राकृतिक विपत्तिहरूमध्ये करिब ३५ प्रतिशत हिस्सा हिमाली क्षेत्रकै रहने गरेको छ ।

उता स्विट्जरल्यान्डमा तीव्र गतिमा पग्लिरहेका हिमनदी र ताललाई जोगाउन वैज्ञानिकहरूले एउटा नयाँ उपायको परीक्षण गरिरहेका छन् । उनीहरूले पश्चिमी स्विट्जरल्यान्डको त्सानफ्लूरोन हिमनदीमा भेडाको ऊनबाट बनेका दुई वटा कम्बल अर्थात् च्यादर ओढाएका छन् ।

ऊनका यी कम्बलले हिउँ पग्लिनबाट रोक्न सक्छन् कि सक्दैनन् ? भन्ने विषयलाई वैज्ञानिकहरूले हेर्न र थप अध्ययन गर्न चाहेका अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । हिमनदीको हिउँलाई तीव्र घाम र गर्मीबाट जोगाउन यसअघि नै विशेष प्रकारका ‘सिन्थेटिक’ तानहरूको प्रयोग गरिँदै आइएको छ ।

यी तानहरूले सूर्यको किरणलाई फर्काइदिन्छन्, जसले गर्दा हिउँसम्म कम गर्मी पुग्छ । यो प्रयोग ‘किप इट वुल’ परियोजनाअन्तर्गत भइरहेको छ । यसलाई समिट फाउन्डेसन र युनिभर्सिटी अफ लोसानले संयुक्त रूपमा सञ्चालन गरिरहेका छन् ।

यो प्रयोगको अर्को उद्देश्य स्विट्जरल्यान्डमा खेर गइरहेको भेडाको उनलाई प्रयोगमा ल्याउनु पनि हो । यी तानहरूले हिउँलाई केही हदसम्म जोगाउन त सक्छन्, तर बढ्दो तापक्रम नियन्त्रण गर्नु नै हिमनदीलाई जोगाउने वास्तविक र दिगो उपाय मानिन्छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top