साउदीले २४ घण्टामा यमनमा ५४ हवाई हमला ग¥यो

३० भदौ ८३, मंगलबार
Share this
696shares

३० भदौ, काठमाण्डौ ।

Advertisement

यमनको विद्रोही समूह हुथीले सोमबार २४ घण्टाभित्र साउदी अरेबियाले यमनका विभिन्न क्षेत्रमा ५४ वटा हवाई आक्रमण गरेको दाबी गरेको छ । हुथीहरू लाल सागरको तटमा द्रुत गतिमा अगाडि बढिरहेका बेला उक्त दाबी आएको हो । हुथीका सैन्य प्रवक्ता याह्या सारीले विज्ञप्तिमा भनेका छन्, ‘साउदी वायुसेनाले एफ–१५ र टाइफुन लडाकु विमान प्रयोग गरेर यमनका क्षेत्रहरूलाई निसाना बनाइएको छ । तैज, लाहज, जवफ, मारिब र होदेइदाह क्षेत्रमा हवाई हमला गरिएको हो।’

हुथीहरूले सोमबार साउदी अरेबियाका सैन्य अड्डाहरूमा मिसाइल र ड्रोन आक्रमण गरिएको दाबी पनि गरेका छन् । हुथीका अनुसार हालैका दिनहरूमा उनीहरूले लाल सागरको तट र बाब अल–मन्डेब स्ट्रेटमा नियन्त्रण प्राप्त गरेका छन् ।हालै यस समुद्री मार्गको रणनीतिक महत्त्व बढेको छ, किनकि अमेरिका–इरान युद्ध सुरु भएयता हर्मुज स्ट्रेट प्रभावित छ ।

Advertisement

यता सोमबार बिहान साउदी अरेबियाको तेल प्रतिष्ठानमा नयाँ आक्रमण भएको इरानी सञ्चारमाध्यमले पनि जनाएका थिए । आईआरजीसीनिकट समाचार एजेन्सी तस्निमले दाबी गरेको छ, ‘आक्रमण आभा र खामिस मुसैत क्षेत्रलक्षित थिए। यस क्षेत्रका चार सहरमा हवाई आक्रमणको साइरन पनि बजाइएको थियो।’

यसअघि आइतबार राति साउदी अरेबियाको नागरिक रक्षा संगठनले देशका चार सहरमा हवाई आक्रमण गर्ने चेतावनी जारी गरेको थियो । संगठनले जाजान र नजरान प्रान्तका साथै आभा र खामिस मुसैत सहरका बासिन्दालाई सुरक्षा चेतावनी पालना गर्न आग्रह गरेको छ ।

Advertisement

यसबीच मध्यपूर्वमा बढ्दो सैन्य तनाव र तेल आपूर्ति प्रणालीमा देखिएको अवरोधका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य पुनः उकालो लागेको छ । अन्तर्राष्ट्रिय बजारको प्रमुख बेन्चमार्क ब्रेन्ट क्रुडको मूल्य १.६३ प्रतिशतले बढेर प्रतिब्यारेल १०७.३ डलर पुगेको छ ।

यस्तै डब्लूटीआई क्रुडको मूल्य पनि १.६४ प्रतिशतले बढेर प्रतिब्यारेल १०३ डलर पुगेको छ । इराकबाट प्रक्षेपण गरिएका ड्रोनका कारण साउदी अरबको महत्वपूर्ण ईस्ट–वेस्ट तेल पाइपलाइनमा क्षति पुगेपछि पाइपलाइन बन्द गरिएको छ। उक्त पाइपलाइनले स्ट्रेट अफ हर्मुजलाई बाइपास गर्दै साउदी अरबको तेल पश्चिमी बजारतर्फ पुर्याउन महत्वपूर्ण भूमिका खेल्छ।

पाइपलाइन बन्द हुँदा विश्व बजारमा तेल आपूर्ति थप प्रभावित हुने चिन्ता बढेको छ । अर्कोतर्फ, इरानी सेनाले स्ट्रेट अफ हर्मुजमाथि उन्नत अमेरिकी ड्रोन खसालेको दाबी गरेको छ। पछिल्ला दिनमा खाडी क्षेत्रमा अमेरिका र इरानबीच सैन्य तनाव बढ्दै गएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि इरानविरुद्धको अभियान जारी राख्न सक्ने तथा इरानको तेलमाथि नियन्त्रण लिन सकिने संकेत दिएका छन् । यसैबीच इरानी सेनाले विमान खसालेपछि उद्धार गरिएका आफ्ना दुई पाइलटको जोखिमपूर्ण उद्धार कार्यको भिडियो अमेरिकी वायुसेनाले सार्वजनिक गरेको छ ।

सार्वजनिक गरिएका यी भिडियोहरू सबैभन्दा पहिले सीबीएस न्युजको कार्यक्रम ‘६० मिनेट’ले प्राप्त गरेको थियो । विमान खसेपछि आपत्कालीन रूपमा बाहिर निस्किएका ‘अल्फा’ र ‘ब्राभो’ कलसाइन भएका दुई अधिकारीको खोजी तथा उद्धार प्रक्रिया भिडियोमा देखिएको छ।

ती अधिकारीहरूको उद्धारका लागि अमेरिकाले ९० भन्दा बढी सैनिक इरानमा परिचालन गरेको थियो । विमान खसेको दुई दिनपछि दिनको उज्यालोमै यो उद्धार अभियान चलाइएको थियो । प्यारासुट बिग्रिएर भुइँमा पछारिँदा ब्राभो गम्भीर घाइते भएका थिए ।

आफ्नो पहिलो सार्वजनिक प्रतिक्रियामा ब्राभोले भने, ‘एक पटक माथि हेर्दा प्यारासुट नदेखिनु मैले जीवनमा देखेको सबैभन्दा डरलाग्दो कुरा थियो।’ ढाड भाँचिएको र अन्य चोटहरू लागेको भए तापनि ती पाइलट उद्धारको पर्खाइमा सात हजार फिट अग्लो पहाडी डाँडामा चढेका थिए । पछि उनी अमेरिकी सेनासँग सम्पर्क गर्न सफल भए ।

घाइते भए पनि आफू अघि बढिरहेको सङ्केत उनले दिएपछि सीआईएले आफ्नो गुप्तचर क्षमता र झुक्याउने रणनीतिको प्रयोग गरी उनको स्थिति पत्ता लगाएको थियो । अन्तर्वार्तामा ब्राभोले उद्धारकर्ताहरूलाई देख्दा आफ्नो जीवनकै सबैभन्दा महान् क्षण महसुस भएको बताए।

ब्राभोभन्दा पाँच माइल टाढा ओर्लिएका अर्का पाइलट अल्फाको पनि विमान खसेको आठ घण्टामै त्यसरी नै उद्धार गरिएको थियो । सीबीएस न्युजसँग कुरा गर्दै जोइन्ट चिफ्स अफ स्टाफका अध्यक्ष जनरल मार्क मिलेले दिनको उज्यालोमा शत्रुको रेखा पार गरेर जानु सधैँ जोखिमपूर्ण हुने बताए।

अल्फामाथि रहेको खतरालाई ध्यानमा राख्दै अरू कसैले भेट्नुअघि नै उनलाई सुरक्षित निकाल्न दिनमै शत्रुको इलाकामा जाने साहस गरिएको अन्य सैन्य अधिकारीहरूले बताएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top