काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बुधबार बिहान ११ बजे सर्वदलीय बैठक बोलाएका छन्। सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बैठक बस्ने पार्टी प्रवक्ता जगदीश खरेलले जानकारी दिए। बैठकमा उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयमा छलफल हुने बताइएको छ।
भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रको दिगो व्यवस्थापनका लागि राजनीतिक संयन्त्रमार्फत काम गर्नुपर्ने धारणा विभिन्न राजनीतिक दलहरूले राख्दै आएका छन्। सभामुख डोलप्रसाद अर्यालले पनि विभिन्न दलका नेताहरूसँग छलफलका क्रममा उनीहरूको राय लिएका थिए। त्यस क्रममा नेताहरूले बाढी प्रभावित क्षेत्रका नागरिकको दिगो व्यवस्थापनका लागि राजनीतिक संयन्त्रमार्फत नै काम गर्नुपर्ने धारणा राखेका थिए।



