काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति रहबर अन्सारीले खानीसम्बन्धी विधेयक सरोकारवालाका व्यावहारिक समस्या सम्बोधन हुने गरी परिमार्जन गर्न निर्देशन दिएका छन् । समितिमा विधेयकमाथिको छलफलका क्रममा सभापति अन्सारीले खानी क्षेत्रको संरक्षण, प्रवर्द्धन र राष्ट्रिय पुँजी निर्माणमा यसले पुर्याउन सक्ने योगदानलाई गम्भीरतापूर्वक लिनुपर्ने बताए ।
नेपालमा खनिज पदार्थको प्रचुर सम्भावना रहेको उल्लेख गर्दै उनले त्यसको उचित व्यवस्थापनमार्फत रोजगारी र कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वृद्धि गर्नुपर्ने बताए । राज्यलाई नोक्सान नहुने गरी खानी क्षेत्रको विकास गर्न सम्बन्धित निकायको ध्यानाकर्षणसमेत गराए । विधेयकमाथि ६० भन्दा बढी संशोधन प्रस्ताव प्राप्त भएको उल्लेख गर्दै अन्सारीले सरोकारवालाका समस्या, सुझाव र व्यावहारिक अनुभवलाई समेटेर कानुन परिमार्जन गर्न सम्बन्धित मन्त्रालय तथा निकायलाई निर्देशन दिए ।
उनले सरकारी कार्यालयमा फाइल अड्काएर राख्ने प्रवृत्तिको अन्त्य गर्दै कामलाई प्रभावकारी र छिटोछरितो बनाउनुपर्नेमा समेत जोड दिए।




