काठमाडौं । त्रिमूल नेपाल पार्टीका अध्यक्ष भरत दाहाल मोरङबाट पक्राउ परेका छन्। उनलाई मोरङको बेलबारीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।दाहालविरुद्ध साइबर ब्युरोमा उजुरी परेको थियो। साइबर ब्युरोका प्रवक्ता एसपी दिलीपकुमार गिरीले नेपाल टाइम्सलाई दाहाल पक्राउ परेको पुष्टि गरेका छन्।
उनका अनुसार दाहाललाई आजै काठमाडौं ल्याउने तयारी भइरहेको छ। विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत तथ्यहीन, भ्रामक र कपोलकल्पित सूचना प्रवाह गरेको भन्दै उनीविरुद्ध उजुरी परेको गिरीले बताए।
‘उहाँविरुद्ध धेरै गुनासा छन्। जिम्मेवार व्यक्ति तथा पदाधिकारीमाथि तथ्यहीन आरोप लगाएको र भ्रामक कुरा बोलेको भन्दै उजुरी आएको थियो,’ गिरीले भने, ‘उजुरीका आधारमा अदालतको आदेश लिएर पक्राउ गरिएको हो।’

गिरीका अनुसार गत शुक्रबार काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर दाहाललाई पक्राउ गर्ने प्रक्रिया अघि बढाइएको थियो। राजनीतिक विश्लेषकसमेत रहेका दाहाल विभिन्न युट्युब च्यानलमा कडा अभिव्यक्ति दिँदै प्रधानमन्त्री वालेन्द्र शाहको आलोचना गर्दै आएका थिए। उनलाई सरकारविरोधी अभिव्यक्ति दिएको आधारमा पक्राउ गरिएको भन्दै सामाजिक सञ्जालमा विरोधसमेत भइरहेको छ।



