काठमाडौं । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले पार्टी अध्यक्ष केपी शर्मा ओलीको तस्बिरसहित सामाजिक सञ्जालमा लामो धारणा सार्वजनिक गर्दै संकटका बेला एकअर्कालाई सहयोग गर्नुपर्ने सन्देश दिएकी छन्। झाँक्रीले जीवनमा सधैँ युद्ध र प्रतिस्पर्धाका दिन नहुने उल्लेख गर्दै कुनै बेला आफूलाई पनि अरूको सहारा आवश्यक पर्ने बताएकी छन्। उनले लेखेकी छन्, ‘कुनै दिन आफैँलाई कसैको हात चाहिन्छ। कुनै दिन आफैँलाई बाटो देखाउने र ‘म छु नि’ भन्ने मान्छे चाहिन्छ।’
प्राकृतिक विपद्को उदाहरण दिँदै झाँक्रीले फ्ल्यास फ्लडले बलियो–कमजोर, धनी–गरिब तथा आफ्ना–पराया नछुट्याउने उल्लेख गरेकी छन्। संकटका बेला पुरानो रिस, प्रतिस्पर्धा र अहंकारको अर्थ नहुने उनको भनाइ छ।‘त्यस्तो बेला कसैको खुट्टा तान्नु भनेको आफू पनि डुबिरहेको खाल्डो अझ गहिरो बनाउनु हो। कसैलाई ढुंगा हान्नु भनेको आफू उभिएको किनार पनि भत्काउनु हो,’ उनले भनेकी छन्।उनले आज शक्तिशाली देखिएको व्यक्ति भोलि आफैँलाई कसैको सहयोग आवश्यक पर्ने अवस्थामा पुग्न सक्ने भन्दै कमजोरलाई ढाल्ने नभई उठाउने संस्कार विकास गर्नुपर्नेमा जोड दिएकी छन्।
‘कहिलेकाहीँ एउटा हातले अर्को हात समात्नु नै सबैभन्दा ठूलो राजनीति हुन्छ,’ झाँक्रीले लेखेकी छन्, ‘पीडाले झरेका आँसुलाई पुछिदिनु सबैभन्दा ठूलो मानवता हुन्छ। र ढल्न लागेको मान्छेलाई “उठ, अझै बाँच्न सकिन्छ” भन्नु नै सबैभन्दा ठूलो साहस हुन्छ।’उनले समाज कस्तो बनाउने भन्ने प्रश्न सबैले आफैँलाई गर्नुपर्ने बताउँदै संकटका बेला पीडितलाई सहयोग गर्नुको सट्टा लुट्ने वा ढलेका मानिसमाथि ढुंगा प्रहार गर्ने प्रवृत्तिको आलोचनासमेत गरेकी छन्।झाँक्रीले अन्ततः सबै एउटै डुंगाका यात्रु भएको उल्लेख गर्दै विपद्का बेला सामूहिक रूपमा एकअर्कालाई बचाउनुपर्ने धारणा राखेकी छन्।




