काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सकिएको छ। नेता लेखराज भट्टका अनुसार च्यासलमा बसेको सचिवालयको दशौँ बैठकले कार्यदलका संयोजक तथा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले तयार पारेको प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको छ। नेताहरूका अनुसार बादलको प्रतिवेदनमा महासचिव शंकर पोखरेलले तयार पारेको प्रतिवेदनका केही विषयसमेत समेटिएका छन्।
यसअघि पोखरेलले कार्यदलका तर्फबाट छुट्टै प्रतिवेदन तयार पारेका थिए। उनी उक्त कार्यदलका सदस्य-सचिवसमेत थिए । सातवटै प्रदेशमा पुगेर कार्यकर्ताको सुझाव तथा प्रतिक्रिया समेटिएको उक्त प्रतिवेदनमा एमाले नेतृत्वको विकल्प खोज्नुपर्ने सुझाव आएको थियो। तर, अध्यक्ष केपी शर्मा ओलीको विकल्प खोज्न नहुने धारणा राख्दै आएका बादलले त्यसको प्रतिवाद गर्दै अर्को प्रतिवेदन तयार पारेका थिए। बादलको प्रतिवेदनमा पोखरेलको प्रतिवेदनमा उठाइएका केही विषयको काउन्टर गरिएको थियो।
दुवै प्रतिवेदनमाथि छलफल गरी एउटै प्रतिवेदन बनाउने विषयमा नेताहरूबीच पटक–पटक छलफल भए पनि सहमति जुट्न सकेको थिएन। गत बिहीबार ओली निवास गुण्डुमा बसेको शीर्ष नेताहरूको बैठकले समेत निष्कर्ष निकाल्न नसकेपछि अध्यक्ष ओलीको निर्देशनमा नेता प्रदीप ज्ञवालीलाई अर्काे प्रतिवेदन तयार गर्ने जिम्मेवारी दिइएको थियो।आइतबारदेखि सुरु हुने केन्द्रीय कमिटी बैठकको एजेन्डाका लागि ज्ञवालीले तयार पारेको प्रतिवेदन सार्वजनिक भएपछि एमालेभित्र विवाद थप चर्किएको थियो। कार्यदलमै नरहेका व्यक्तिलाई प्रतिवेदन तयार गर्न लगाइएको भन्दै नेतृत्वको आलोचना भएपछि नेताहरूबीच सहमति जुट्न सकेको थिएन।

विवादकै बीच अध्यक्ष ओलीले बादल, पोखरेल र उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई दुई प्रतिवेदन मर्ज गरी एउटै प्रतिवेदन बनाउन जिम्मेवारी दिएका थिए। आइतबार बसेको सचिवालय बैठकले भने बादलले तयार पारेको प्रतिवेदनलाई ग्रहण गर्ने निर्णय गरेको छ। यससँगै एमाले नेतृत्वको विकल्प खोज्नुपर्ने प्रस्तावसहित पोखरेलले तयार पारेको प्रतिवेदनका विषयहरू पछाडि परेका छन्। भोलिदेखि सुरु हुने केन्द्रीय कमिटी बैठकमा सचिवालयले ग्रहण गरेको उक्त प्रतिवेदन पेस गरिनेछ। एमालेले भोलिदेखि तीन दिनसम्म ललितपुरस्थित एक पार्टी प्यालेसमा केन्द्रीय कमिटी बैठक बस्ने तय गरेको छ।



