५ असोज , काठमाण्डौ ।
जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत पुरुष कबड्डीमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ । समूह ‘बी’ अन्तर्गत सोमबार टोकाइ सिटिजन जिम्नेसियममा भएको खेलमा नेपाल थाइल्यान्डसँग ५९–४८ ले पराजित भएको हो ।
पहिलो हाफमा नेपाल २८–२४ ले पछि परेको थियो। दोस्रो हाफमा पनि थाइल्यान्डले आफ्नो अग्रता कायम राख्दै ३१ अंक जोड्दा नेपालले २४ अंक मात्र जोड्यो । योसँगै नेपालले समूह चरणको पहिलो खेलमै हार बेहोरेको छ ।

नेपाल रहेको समूह ‘बी’मा इरान, पाकिस्तान र मलेसिया पनि छन् । यता नेपालकी उसु खेलाडी सुष्मिता तामाङ प्रतियोगिताबाटै बाहिरिएकी छिन् । थाउलुको महिला छानक्वानमा सुष्मिता १३ औं स्थानमा रहिन्। उनले ९. ५८० स्कोर गरिन्।
कुल १६ प्रतिस्पर्धीमा उनी १३ औं भएकी हुन्। उनले भियतनाम, भारत र जापनाका खेलाडीलाई पछि पारिन् । यो स्पर्धामा हङकङकी खेलाडीले स्वर्ण, मकाउकीले रजत र इन्डोनेसियाकीले कास्य पदक जिते । सुष्मिताको यो लगातार चौथो एसियन गेम्स सहभागिता हो ।

तर चौथो पटक पनि उत्कृष्ट प्रदर्शन गर्न सकिनन्। उसुले एसियाली खेलकुदमा अहिलेसम्म पदक जित्न सकेको छैन । यसबीच पौडीतर्फ सोमबार नेपालका चार खेलाडी पनि हिट चरणबाटै बाहिरिएका छन् । महिला ५० मिटर ब्याकस्ट्रोकमा आर्या महर्जनले ३३.४० सेकेन्डको समय निकाल्दै ३१ खेलाडीमध्ये २७औं स्थान हासिल गरिन् ।
महिला २०० मिटर फ्रिस्टाइलमा डुवाना लामाले २ मिनेट १५.४० सेकेन्डमा १९औं स्थान हासिल गरिन् । त्यस्तै, पुरुष १०० मिटर ब्रेस्टस्ट्रोकमा जादेन श्रेष्ठ १ मिनेट ८.०१ सेकेन्डसहित ३६ खेलाडीमध्ये ३०औं स्थानमा रहे । यसैगरी, एर्भिन श्रेष्ठले ५० मिटर फ्रिस्टाइलमा २४.५६ सेकेन्डको समय निकाल्दै ४८ खेलाडीमध्ये ३८औं स्थान हासिल गरे ।
चारै खेलाडी फाइनल चरणमा पुग्न असफल भए । सोमबारको नतिजासँगै ६ वटा स्पर्धामा नेपाली पौडीवाजको चुनौती समाप्त भएको छ । एर्भिन आफ्नो दुवै व्यक्तिगत स्पर्धामा हिट चरणबाटै बाहिरिएका छन् । यसअघि आइतबार उनले १०० मिटर फ्रिस्टाइलमा ५४.०३ सेकेन्डसहित ३६औं स्थान हासिल गरेका थिए ।
आइतबार सोही इभेन्टमा एर्भिनसँगै अविभ प्रधानले प्रतिस्पर्धा गरेका थिए । उनी ५२.७४ सेकेन्डसहित २८औं स्थानमा रहे । जारी २०औँ एसियाली खेलकुदको प्रारम्भिक चरणका खेल सकिँदै जाँदा आशा गरिएझैँ चीनले पदक तालिकामा आफ्नो दबदबा राख्न थालेको छ ।
आयोजक जापानले पनि घरेलु मैदानमा प्रभावशाली प्रदर्शन गरिरहेको छ । दक्षिण कोरिया र काजकिस्तानले समेत उल्लेखनीय प्रदर्शन गरेका छन् । तेस्रो दिनको खेल जारी रहदा चीनले १४ स्वर्ण, ६ रजत र तीन कांस्य गरी २३ पदक जितेको छ ।
जापानले ६ स्वर्ण, ८ रजत र ८ कांस्य गरी २२ पदक जितेको छ । कुल पदक संख्यामा चीन नै जापान भन्दा अघि छ । दक्षिण कोरिया चार स्वर्ण, तीन रजत र ९कांस्य गरी १६ पदक जितेर तेस्रो स्थानमा छ । काजकिस्तान चार स्वर्णसहित चौथो स्थान छ ।
थाइल्यान्डले तीन स्वर्णसहित पाँचौँ स्थानमा आफूलाई उभ्याएको छ । छिमेकी देश भारतले पनि सुटिङबाट तीन रजतपदक जितिसकेको छ । प्रतियोगितामा एथलेटिक्स, पौडी, सुटिङ, कुस्ती, बक्सिङ, ब्याडमिन्टन, टेबल टेनिसलगायत खेलका महत्त्वपूर्ण पदक इभेन्ट सुरु हुन बाँकी छ ।
चीनले यसपटक पनि एसियाली खेलकुदमा आफ्नो परम्परागत शक्ति प्रदर्शन गरेको छ । चीनले अहिलेसम्म जितेका २० पदकमध्ये पौडीबाट मात्र नौ पदक प्राप्त गरेको छ । पौडीमा चीनले ६ स्वर्ण, एक रजत र दुई कांस्य जितेको छ ।
चीनका निम्ति युवा पौडी खेलाडी यु जिदी प्रतियोगिताको आकर्षण बनेकी छन् । १३ वर्षीया युले महिला २०० मिटर बटरफ्लाईमा स्वर्ण जित्दै एसियाली खेलकुदको नयाँ कीर्तिमान कायम गरिन् । उनले यसअघि चीनकी चर्चित पौडी खेलाडी झाङ युफेईको कीर्तिमान सुधारिन् ।
पौडीबाहेक आधुनिक पेन्टाथलनमा पनि चीनको प्रदर्शन बलियो छ । यसमा चीनले पाँच पदक जितिसकेको छ । चीनले सन् १९८२ देखि एसियाली खेलकुदमा निरन्तर प्रभाव जमाउँदै आएको छ । यसअघिको हान्चाउ एसियाडमा चीनले २०१ स्वर्ण जितेको थियो ।
आयोजक जापानले पनि सुरुआती दिनमा चीनलाई कडा चुनौती दिएको छ । जापानको खातामा ६ स्वर्णसहित कुल २२ पदक छन् । जापानका निम्ति प्रतियोगिताको पहिलो स्वर्ण ताकुमी होजोले जितेका थिए । उनले पुरुष व्यक्तिगत ट्रायथलनमा स्वर्ण जितेका हुन् ।
जापानले पौडीमा एक स्वर्ण, तीन रजत र तीन कांस्यसहित सात पदक जितेको छ । ट्रायथलनमा एक स्वर्ण र दुई रजत र अरू खेलबाट पनि पदक थपिएका छन् । घरेलु मैदानमा जापानको प्रदर्शन अझ महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ ।
विशेष गरी पौडी, जुडो, कराते, टेबलटेनिस, ब्याडमिन्टन र अरू प्राविधिक खेलमा जापानले स्वर्णपदकको संख्या बढाउने लक्ष्य राखेको छ । दक्षिण कोरियाले पनि प्रारम्भिक चरणमा प्रभावशाली प्रदर्शन गरेको छ । चार स्वर्ण, तीन रजत र ९ कांस्यसहित कोरिया तेस्रो स्थानमा छ ।
दक्षिण कोरियाको प्रदर्शन विभिन्न खेलमा फैलिएको छ । स्वर्णका साथै ९ कांस्य जित्नुले कोरियाले धेरै खेलमा पदकका निम्ति प्रतिस्पर्धा गरिरहेको देखिन्छ । आगामी दिनमा तेक्वान्दो, तीरन्दाजी, ब्याडमिन्टन, टेबलटेनिस, सुटिङ र अरू खेलमा दक्षिण कोरियाले थप पदक जित्ने अपेक्षा गरिएको छ ।
एसियाली खेलकुदमा पहिलोपटक समावेश गरिएको टेकबलमा थाइल्यान्डले प्रभावशाली प्रदर्शन गरेको छ । टेकबलका पाँच स्वर्णमध्ये थाइल्यान्डले तीनवाट जितेको छ । दक्षिण कोरियाले पुरुष एकलमा स्वर्ण जितेको छ । नयाँ पुस्तामा लोकप्रिय हुँदै गएको टेकबलले एसियाली खेलकुदमा आफ्नो उपस्थिति जनाउँदै नयाँ पदक प्रतिस्पर्धा थपेको छ ।
यता नेपालका खेलाडीबाट पदकको निकै आशा गरिएको खेलमा करातेको पहिलो दिन बिर्सनलायक भयो । स्वर्णपदकको दाबेदारका रूपमा हेरिएकी एरिका गुरुङ पदकविहीन बनिन् । अरू नेपाली खेलाडी पनि पदकसम्म पुग्न सकेनन् । उसुका विजय सिँजाली र सुस्मिता तामाङ पराजित हुन पुगे ।
कुमिते विधामा एरिका गुरुङ, मीनबहादुर तामाङ र राकेश मानन्धर सेमिफाइनलमा प्रवेश गरेका थिए । तर, तीनैजना फाइनलमा पुग्न सकेनन् । कांस्यपदक भिडन्तमा पनि तीनैजना पराजित हुन पुगे । करातेमा कातातर्फकी खेलाडी सानुमाया थिङ पनि एकल कातामा पहिलो खेलबाटै बाहिरिन पुगिन् ।



