इस्कोनभित्र बाल दुव्र्यवहार ? ८ पदाधिकारी निलम्बित ः के भएको थियो?

७ असोज ८३, बुधबार
Share this
786shares

७ असोज , काठमाण्डौ ।

Advertisement

काठमाडौंको बूढानीलकण्ठमा रहेको इस्कोनको भक्तिवेदान्त गुरुकुल अहिले बाल दुव्र्यवहारसम्बन्धी आरोपका कारण विवादमा छ। गुरुकुलमा पढ्ने बालबालिकामाथि शारीरिक यातना र यौन दुव्र्यवहार भएको आरोप लागेपछि प्रहरीमा उजुरी परेको छ ।

घटनासँग जोडिएका केही व्यक्ति कानुनी प्रक्रियामा छन् भने एक आरोपित अझै फरार रहेको बताइएको छ। घटना बाहिरिएपछि इस्कोनको अन्तर्राष्ट्रिय समितिले नेपाल शाखाका ८ पदाधिकारीलाई निलम्बन गरेको छ। तर, इस्कोन नेपालले भने उक्त निलम्बनलाई नै अवैध र अमान्य भन्दै विरोध गरेको छ ।

Advertisement

त्यसैले अहिले यो घटना केवल बाल दुव्र्यवहारको आरोपमा मात्र सीमित छैन् । संस्थाभित्रको व्यवस्थापन, बाल संरक्षण, निलम्बनको अधिकार र कानुनी प्रक्रियालाई लिएर पनि विवाद देखिएको छ। आखिर गुरुकुलमा के भएको थियो? हामी यही विषमा चर्चा गर्न गइरहेका छौ।

काठमाडौंको बूढानीलकण्ठ स्थित भक्तिवेदान्त गुरुकुलमा अध्ययनरत बालबालिकामाथि शारीरिक हिंसा, यौन दुव्र्यवहार र बाल संरक्षणमा लापरबाही भएको आरोप लागेको छ।पीडित परिवारका अनुसार उनीहरूका दुई छोराछोरीले गुरुकुलमा रहँदा फरक–फरक किसिमको दुव्र्यवहार भोगेका थिए।

Advertisement

परिवारका अनुसार १३ वर्षीया एक बालिकाले गुरुकुलमा अध्ययन गर्ने क्रममा यौन दुव्र्यवहार भोगेकी थिइन्। उनले आफू २०७८ भदौदेखि २०७९ भदौसम्म दुव्र्यवहारमा परेको बताएकी छन्। तर, घटना भएको समयमा उनले आफूलाई के भइरहेको थियो भन्ने कुरा स्पष्ट रूपमा बुझ्न नसकेको र धेरै समयपछि मात्रै त्यसबारे बोल्न सकेको बताइएको छ।

उनले २०८२ जेठको मध्यतिर पहिलो पटक अर्कै विद्यालयकी एक महिला शिक्षकलाई आफूले भोगेको कुरा बताएकी थिइन्। त्यसपछि परिवारले घटनाबारे थाहा पाएको बताइएको छ।परिवारका अनुसार घटनापछि बालिकाको व्यवहारमा पनि परिवर्तन आएको थियो।

उनी टोलाइरहने, राम्रोसँग सुत्न नसक्ने, पटक–पटक रुने तथा चिच्याउने गरेको उनका बुबाले बताएका छन्।त्यही परिवारका ५ वर्षीय छोरा पनि गुरुकुलमा पढ्थे। परिवारका अनुसार ती बालकमाथि तत्कालीन प्रिन्सिपल सुरजकृष्ण श्रेष्ठले कुटपिट गर्ने र धारिलो पिनले घोच्नेजस्ता शारीरिक यातना दिने गरेका थिए।

बालकले आफूलाई कुट्ने र पिनले घोच्ने गरिएको तथा यसबारे बुबाआमालाई बताए अझ कडा सजाय दिने भनेर धम्क्याउने गरिएको बताएका छन्। यी आरोपहरूका आधारमा परिवारले प्रहरीमा उजुरी दिएको हो।त र यहाँ एउटा के कुरा स्पष्ट हुनुपर्छ भने , यी सबै आरोपहरू हुन् र सम्बन्धित मुद्दा अहिले अदालतमा विचाराधीन छन्।

आरोप लाग्दैमा सम्बन्धित व्यक्ति कानुनी रूपमा दोषी ठहर भएको मानिँदैन। अन्तिम निर्णय अदालतको प्रक्रियाबाट हुनेछ। परिवारले प्रहरीमा उजुरी गर्नुअघि नै इस्कोनको आफ्नै बाल संरक्षण निकायमा पनि उजुरी गरेको बताएको छ।

पीडित बालबालिकाका बुबाले भारतस्थित इस्कोनको बाल संरक्षण कार्यालयमा २०८२ साउन २० गते उजुरी दिएको बताएका छन्। उनका अनुसार उजुरीमा गुरुकुलमा बालबालिकामाथि गम्भीर दुव्र्यवहार भएको, बाल संरक्षणमा समस्या देखिएको र व्यवस्थापन पक्षबाट लापरबाही भएको आरोप लगाइएको थियो।

त्यसपछि इस्कोनको बाल संरक्षणसम्बन्धी निकायले घटनाको स्वतन्त्र छानबिनका लागि प्रक्रिया अघि बढाएको बताइएको छ। परिवारका अनुसार इस्कोनबाट लामो समयसम्म ठोस कारबाही नभएपछि उनीहरूले प्रहरीमा उजुरी गर्ने निर्णय गरेका थिए।

१७ वैशाखमा जिल्ला प्रहरी परिसर काठमाडौंमा उजुरी दर्ता भएपछि प्रहरीले तत्कालीन प्रिन्सिपल सुरजकृष्ण श्रेष्ठलाई पक्राउ गरेको थियो। उनीमाथि बालबालिका ऐनअन्तर्गत बालकलाई शारीरिक तथा मानसिक यातना दिएको आरोप लगाइएको थियो।श्रेष्ठ पछि धरौटीमा रिहा भएका छन्।

यता, बालिकामाथि यौन दुव्र्यवहार गरेको आरोप लागेका गुरुकुलकै एक सिनियर विद्यार्थी ईश्वर श्रेष्ठ भने अहिलेसम्म फरार रहेको परिवारले जनाएको छ। प्रहरीले उनको खोजीका लागि इन्टरपोल र भारतको केन्द्रीय अनुसन्धान ब्युरोलाई पत्राचार गरेको बताइएको छ।

आरोपितको नागरिकता नबनेका कारण खोजीमा समस्या भइरहेको प्रहरी स्रोतबाट जानकारी आएको परिवारले जनाएको छ।यसबीच इस्कोनको बाल संरक्षण निगरानी समितिले पनि आफ्नो छानबिन सकेको बताइएको छ।

१ असोजमा जारी गरिएको पत्रमा गुरुकुलको नेतृत्व र व्यवस्थापनमा बाल संरक्षणसम्बन्धी समस्या देखिएको उल्लेख गरिएको छ।यसको अर्थ, घटना बाहिरिएपछि बाहिरी कानुनी प्रक्रिया मात्र होइन, इस्कोनभित्रैबाट पनि गुरुकुलको व्यवस्थापन र बाल संरक्षणबारे प्रश्न उठेको देखिन्छ।

घटना सार्वजनिक भएपछि र कानुनी प्रक्रिया अघि बढिरहेको अवस्थामा इस्कोनको अन्तर्राष्ट्रिय समितिले नेपाल शाखाका ८ अधिकारीलाई निलम्बन गरेको छ। २९ भदौमा गरिएको उक्त निलम्बनमा तत्कालीन प्रिन्सिपल सुरजकृष्ण श्रेष्ठ पनि परेका छन्।

भारतस्थित इस्कोनको बाल संरक्षण कार्यालयले निलम्बनसम्बन्धी पत्र सार्वजनिक गरेको बताइएको छ। पत्रमा आन्तरिक छानबिनपछि यस्तो निर्णय गरिएको उल्लेख छ।निलम्बनमा परेका सबैलाई थप छानबिन पूरा नभएसम्म व्यवस्थापकीय, प्रशासनिक तथा नेतृत्वदायी जिम्मेवारीबाट अलग गरिएको बताइएको छ।

तर यसको अर्थ ८ जनालाई दोषी ठहर गरिएको हो भन्ने चाहिँ इस्कोन नेपालका अध्यक्ष प्रदीप भण्डारीले बताएका छैनन्। उनका अनुसार निलम्बनलाई दोष प्रमाणित भएको निष्कर्षका रूपमा बुझ्न हुँदैन। उनले बाल संरक्षण कार्यालयले आफ्नो विस्तृत रिपोर्ट इस्कोन नेपाललाई उपलब्ध नगराएको दाबी पनि गरेका छन्।

इस्कोन नेपालले बालबालिकामाथि हुने हिंसाप्रति आफ्नो ‘शून्य सहनशीलता’ रहेको बताउँदै कानुनी प्रक्रियामा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। अन्तर्राष्ट्रिय समितिले ८ पदाधिकारीलाई निलम्बन गरेपछि इस्कोन नेपालले त्यस निर्णयको वैधानिकतामाथि नै प्रश्न उठाएको छ।

इस्कोन नेपालको साधारणसभाले जारी गरेको विज्ञप्तिअनुसार निलम्बनसम्बन्धी सूचना जारी गर्ने जीबीसीका सहक्षेत्रीय सचिव रेवतीरमण दास भारतीय नागरिक हुन् र नेपालस्थित इस्कोन समितिमा सल्लाहकारको भूमिकामा मात्र रहेको दाबी गरिएको छ।

इस्कोन नेपालको भनाइमा नेपालमा दर्ता भएको संस्थाका पदाधिकारीलाई निलम्बन गर्ने अधिकार उनीसँग नरहेको भन्दै उक्त निलम्बनलाई अवैध र अमान्य भनिएको छ।इस्कोन नेपालले रेवतीरमण दासलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन र माफी माग्नसमेत भनेको थियो।

उक्त समयसीमा सकिइसकेको बताइएको छ। अर्कोतर्फ, संस्थाकै एक अनुयायी आचार्य रत्न दासले पनि साधारणसभाको प्रक्रियालाई लिएर प्रश्न उठाएका छन्।उनले आफूलाई साधारणसभामा प्रवेश गर्न नदिइएको बताएका छन्।

साथै, इस्कोनको विधानअनुसार साधारणसभा आयोजना गर्ने समय र सूचना दिने प्रक्रियासमेत यसपटक पालना नभएको उनको दाबी छ।उनका अनुसार आर्थिक वर्ष सकिनुभन्दा तीन महिनाअघि साधारणसभा हुनुपर्ने भए पनि यसपटक आर्थिक वर्ष सुरु भएको केही समयपछि मात्र सभा आयोजना गरिएको थियो।

त्यस्तै, सभा आयोजना हुनेबारे २१ दिनअघि सूचना दिनुपर्नेमा दुई साताअघि मात्र सूचना दिइएको उनको दाबी छ। साधारणसभा कहिले र कसरी आयोजना भयो भन्ने विषयमा पनि संस्थाभित्र मतभेद देखिएको छ।
अहिले बालकमाथि शारीरिक तथा मानसिक यातना दिएको आरोप र बालिकामाथि यौन दुव्र्यवहार गरेको आरोपसम्बन्धी छुट्टाछुट्टै कानुनी प्रक्रिया अघि बढिरहेको छ।

दुवै मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन रहेको बताइएको छ। पीडित परिवारले भने इस्कोनको अन्तर्राष्ट्रिय समितिले गरेको ८ पदाधिकारीको निलम्बन निर्णय कार्यान्वयन हुनुपर्ने माग गरिरहेको छ।परिवारका बुबाले आफू अझै पनि इस्कोनको सदस्य रहेको बताएका छन्।

उनले आफूले सम्पूर्ण इस्कोन संस्थालाई खराब भन्न नखोजेको पनि बताएका छन्। तर, आफ्ना छोराछोरीले भोगेको घटनापछि संस्थाप्रतिको विश्वास भने गुमेको उनको भनाइ छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top