७ असोज , काठमाण्डौ ।
बडादसैँ, तिहार र छठ पर्वमा आफ्नो गाउँघर फर्कने र परिवारसँग खुसी साट्ने योजनामा हुनुहुन्छ ? यसका लागि के तपाईंले पनि अग्रिम टिकट बुकिङका लागि सास्ती खेप्नुपरेको छ वा सधैँझैँ यस पटक पनि चाडपर्वको यात्रा सुरक्षित हुन्छ कि हुँदैन भन्ने चिन्ताले सताएको छ ?
अनि, के हाम्रा सार्वजनिक सडकहरू र सवारीसाधनहरू सचमुच सुरक्षित यात्राका लागि तयार छन् त ? यी र यस्तै अनेकौँ जिज्ञासा र चासोका बीच, नजिकिँदै गरेका चाडपर्वलाई मध्यनजर गर्दै यातायात व्यवस्था विभागले सार्वजनिक यातायात सञ्चालन र व्यवस्थापनलाई पूर्ण रूपमा सुरक्षित र व्यवस्थित बनाउन एक नयाँ तथा कडा निर्देशिका जारी गरेको छ ।

चाडपर्वका बेला सडकमा हुने अत्यधिक भिडभाड, यात्रुको चाप र दुर्घटनाको जोखिमलाई न्यूनीकरण गर्न विभागले १५ बुँदे महत्वपूर्ण निर्णय सार्वजनिक गरेको छ। नजिकिँदै गरेका महान चाडपर्वहरू बडा दसैँ, तिहार र छठ—लाई लक्षित गर्दै यातायात व्यवस्था विभागले सार्वजनिक यातायातलाई थप सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन एक नयाँ तथा कडा निर्देशिका जारी गरेको छ ।
चाडपर्वका बेला सडकमा हुने अत्यधिक भिडभाड, यात्रुको चाप र दुर्घटनाको जोखिमलाई न्यूनीकरण गर्न विभागले १५ बुँदे निर्णय सार्वजनिक गरेको हो। यात्रुको सहजता र सडक सुरक्षालाई सर्वोपरि राख्दै यातायात व्यवस्था विभागका महानिर्देशकको नेतृत्वमा जारी यो नयाँ निर्देशिकाले यातायात क्षेत्रमा देखिएका धेरैजसो बेथितिहरूलाई चिर्ने अपेक्षा गरिएको छ।

यस पटकको व्यवस्थापनमा अग्रिम टिकट बुकिङदेखि लिएर सवारी साधनको प्राविधिक जाँच र चालकको स्वास्थ्य तथा आचरणमा विशेष निगरानी राखिने भएको छ।सबैभन्दा महत्वपूर्ण कुरा,लामो दुरीमा चल्ने सार्वजनिक सवारी साधनहरूमा अबदेखि अनिवार्य रूपमा दुई जना चालक राख्नुपर्ने नियमलाई कडाइका साथ लागू गरिएको छ ।
लामो यात्राका कारण चालकमा आउने थकान र त्यसले निम्त्याउने दुर्घटनाको जोखिमलाई रोक्न आलोपालो प्रणालीमा सवारी चलाउनुपर्ने व्यवस्था मिलाइएको छ । त्यस्तै, गन्तव्यतर्फ प्रस्थान गर्नुअघि सवारी साधनको प्राविधिक तथा मेकानिकल अवस्था अनिवार्य रूपमा जाँच गराउनुपर्नेछ ।
टिकट काउन्टरहरूको अस्तव्यस्ततालाई हटाउन विभागले अनलाइन टिकट बुकिङ प्रणालीलाई उच्च प्राथमिकता दिएको छ। यातायात व्यवसायीहरूले मध्यम तथा लामो दुरीका सवारी साधनमा अनलाइन प्रणालीबाटै टिकट बिक्रीको व्यवस्थालाई प्रभावकारी बनाउनुपर्नेछ।
परिचयपत्र र तोकिएको पोसाक नभएका व्यक्तिहरू वा अनाधिकृत काउन्टरहरूबाट टिकट बिक्री गर्ने कार्यलाई पूर्ण रूपमा नियन्त्रण गर्ने विभागले जनाएको छ। दर्शकवृन्द, चाडपर्वको समयमा हुने कालोबजारी र ठगीलाई रोक्न विभागले यात्रुहरूका लागि पनि विशेष आग्रह गरेको छ।
आधिकारिक काउन्टर वा परिचयपत्र वाहक कर्मचारीबाट मात्र टिकट लिन, टिकट लिएर मात्र सुरक्षित यात्रा गर्न र यात्राका क्रममा मादक पदार्थ सेवन नगर्न विभागले सबैमा अनुरोध गरेको छ। बालबालिकाको हकमा पनि विभागले निकै संवेदनशील निर्णय गरेको छ।
१८ वर्ष उमेर पूरा नभएका कुनै पनि बालबालिकालाई सार्वजनिक यातायातमा सहचालक (परिचालक) वा अन्य कुनै पनि श्रममा लगाउन पूर्ण रूपमा रोक लगाइएको छ। यस नियमको उल्लंघन गर्नेलाई कानुनबमोजिम कडा कारबाही हुनेछ।
त्यसैगरी, उपत्यका भित्रिने र बाहिरिने प्रमुख नाकाहरू लगायत देशका विभिन्न मुख्य राजमार्गहरूमा नेपाल प्रहरी र ट्राफिक प्रहरीको संयुक्त सहकार्यमा चालकहरूको स्वास्थ्य अवस्थाको कडा परीक्षण गरिनेछ। चालकले मादक पदार्थ (मापसे) वा लागु पदार्थ (लापसे) सेवन गरे–नगरेको चेकजाँच कडा पारिएको छ।
यदि कुनै पनि चालकले मापसे वा लापसे गरेको पाइएमा, यातायात व्यवसायीले तत्कालै यात्रुहरूको गन्तव्यका लागि अर्को वैकल्पिक चालकको व्यवस्था गर्नुपर्नेछ। यात्राका क्रममा यात्रुहरूलाई खाना वा खाजा खुवाउन रोकिने होटल तथा रेस्टुरेन्टहरूको सरसफाइ र गुणस्तरमा पनि सरकारले ध्यान दिएको छ।
तोकिएको मापदण्ड पूरा गरेका र भिडभाड नहुने स्वच्छ स्थानमा मात्र सवारीसाधन रोक्न पाइनेछ।चाडपर्वको समयमा हुने अत्यधिक भिडभाड र दुर्घटनाको जोखिमलाई ध्यानमा राख्दै यातायात व्यवस्था विभाग, नेपाल प्रहरी, ट्राफिक प्रहरी, ल्होत्से बहुउद्देश्यीय प्रालि तथा विभिन्न उपभोक्ता सम्बद्ध संस्थाहरूको संयुक्त सहकार्यमा यसपटक प्रभावकारी अनुगमन र निगरानी गरिनेछ ।
यदि तपाईं वा तपाईंको परिवार पनि यस चाडपर्वमा यात्रा गर्ने तयारीमा हुनुहुन्छ भने, आधिकारिक काउन्टरबाट मात्र टिकट लिनुहोला, सुरक्षित यात्रा गर्नुहोला र नियमको पालना गर्नमा सहयोग पु¥याउनुहोला।





