एकताका लागि नेतृत्व र संगठन सुदृढीकरणमा जोड दिन प्रदीप ज्ञवालीको आग्रह

७ असोज ८३, बुधबार
Share this
762shares

काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले पार्टी, कम्युनिस्ट आन्दोलन, लोकतन्त्र र राष्ट्र नै असाधारण संकटमा रहेको भन्दै त्यसको सामना गर्न पार्टीभित्र एकता आवश्यक रहेको बताएका छन्। पार्टी पुनर्गठनसम्बन्धी आफ्नो प्रतिवेदनमा ज्ञवालीले एमालेभित्र वैचारिक समस्या नरहेको, तर केही विषयमा कोणगत भिन्नता देखिएको उल्लेख गरेका छन्। विशेषगरी भदौ २३–२४ को घटनाक्रमदेखि निर्वाचनसम्मका विषयलाई हेर्ने दृष्टिकोणमा फरक देखिएको उनको निष्कर्ष छ।

Advertisement

ज्ञवालीले पछिल्लो निर्वाचनको धक्कालाई सामूहिक चुनौती र सामूहिक जिम्मेवारीका रूपमा लिएर जनतामा आशा र भरोसा विस्तार गर्नुपर्ने बताएका छन्। निर्वाचनपछि पार्टीभित्र देखिएको अस्वस्थ अवस्थालाई अप्रत्याशित र दुःखद भन्दै उनले पुनर्गठनको बहस लामो हुँदा ध्रुवीकरण बढेको उल्लेख गरेका छन्। उनले पार्टी पुनर्गठनको बहस व्यक्तिकेन्द्रित बनेको र प्रक्रिया पनि नमिलेको बताएका छन्। पार्टीभित्रको समस्याको सम्पूर्ण कारण अध्यक्ष केपी शर्मा ओलीलाई मान्ने र उनको विस्थापन नभएसम्म पार्टी अघि बढ्न नसक्ने तर्कले नियमित पार्टी कामसमेत प्रभावित भएको उनको भनाइ छ।

ज्ञवालीले पार्टीभित्रको भावनात्मक तथा सांगठनिक एकता पुनर्निर्माण गर्नुपर्नेमा जोड दिएका छन्। उनका अनुसार पार्टीभित्र उत्पन्न समस्याको समाधानका लागि हरेक कार्यकर्ताले योगदान गर्नुपर्नेछ। उनले पुनर्गठन कार्यदलको प्रतिवेदनलाई ‘कट अफ पोइन्ट’ मानेर पार्टीलाई एकताबद्ध बनाउने काम अघि बढाउनुपर्ने प्रस्ताव गरेका छन्। यसको नेतृत्व अध्यक्षले गर्नुपर्ने भन्दै ज्ञवालीले अब पार्टीभित्रको आन्तरिक लडाइँभन्दा योजनाबद्ध नेतृत्व विकासमा ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन्।

Advertisement

ज्ञवालीले एमालेले निर्वाचनमा धक्का व्यहोर्नुको प्रमुख कारणमध्ये आन्तरिक एकता कमजोर हुनु र जनतासँगको सम्बन्ध पातलिनु रहेको उल्लेख गरेका छन्। स्थानीय तहका कार्यकर्ताका अपेक्षा, त्यसबाट उत्पन्न प्रतिस्पर्धा र सम्भावित द्वन्द्वको उचित व्यवस्थापन हुन नसक्दा समस्या बढेको उनको निष्कर्ष छ। उनले नेतृत्वका नाममा अनावश्यक रूपमा ध्रुवीकरण बढाउने प्रवृत्तिले पनि समस्या थपिएको बताएका छन्। प्रतिस्पर्धालाई निषेध गर्न नसकिने भए पनि त्यसलाई स्वस्थ बनाउने र प्रतिस्पर्धापछि पुनः बलियो एकतामा रूपान्तरण गर्ने नयाँ विधि आवश्यक रहेको उनको भनाइ छ।

पार्टीभित्र सबैभन्दा बढी अवसर पाएका नेताहरू नै बढी असन्तुष्ट देखिनुको कारणबारे पनि गम्भीर समीक्षा आवश्यक रहेको ज्ञवालीले बताएका छन्। अवसर प्राप्ति नै राजनीतिको मुख्य विषय हो भन्ने सन्देश जाने गरी मूल्यांकन भएको हो कि होइन भन्ने प्रश्नसमेत उनले उठाएका छन्। प्रतिवेदनमा जनजीविकाका सवाललाई जोडेर जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउनुपर्ने उल्लेख छ। पार्टीको ऊर्जा र ध्यान जनतासँग जोडिने विषयमा केन्द्रित गर्नुपर्ने भन्दै उनले यसका लागि थप नयाँ बुँदा समेट्नुपर्ने बताएका छन्।

Advertisement

ज्ञवालीले पुनर्गठन कार्यदलको बहसका क्रममा आफ्नो नाममा छुट्टै प्रतिवेदन रहेको भन्ने चर्चा स्पष्ट पार्दै आफूले कुनै छुट्टै प्रतिवेदन तयार नगरेको बताएका छन्। उनले आफूले विगतमा सयौँ पुस्तक तथा हजारौँ लेख लेखेको र अन्तर्राष्ट्रिय मञ्चमा समेत विभिन्न दस्तावेज प्रस्तुत गरेको उल्लेख गरेका छन्।उनका अनुसार पार्टीभित्र समस्या उत्पन्न हुँदा समन्वयकारी भूमिका निर्वाह गर्नु गलत होइन। तर पार्टीभित्र ध्रुवीकरण चर्किएका बेला एउटा कित्तामा उभिएर अतिवादी विचार राख्दा मिडिया कभरेज पाए पनि त्यसबाट समस्या समाधान नहुने उनको धारणा छ।सामाजिक सञ्जालमा असहमतिलाई विरोधको तहसम्म पुर्‍याउने प्रवृत्तिले पार्टीभित्रको दूरी थप बढाएको पनि उनले बताएका छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top