इटहरीमा असोज १४ देखि ‘सीप तथा रोजगार मेला’, युवालाई रोजगारीसँग जोड्ने सरकारको तयारी

७ असोज ८३, बुधबार
Share this
687shares

काठमाडौं । सरकारले आगामी असोज १४ देखि २० गतेसम्म कोशी प्रदेशको इटहरीमा ‘सीप तथा रोजगार मेला २०८३’ आयोजना गर्ने भएको छ। मेलाबारे जानकारी दिन श्रम, रोजगार तथा युवा मन्त्रालयमा आयोजित पत्रकार भेटघाट तथा अन्तरक्रियामा युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले मेलामा सहभागी हुने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सक्ने वातावरण बनाउने उद्देश्य रहेको बताए।

Advertisement

‘मेलामा छिर्ने प्रत्येक युवा बाहिर निस्कँदा आफ्ना सम्भावनाप्रति स्पष्ट, आशावादी र नेपालमै केही गर्न सकिन्छ भन्ने विश्वासका साथ निस्कने वातावरण बनाइनेछ,’ मन्त्री यादवले भने।उनले स्वदेशमै रोजगारी तथा स्वरोजगारीका अवसर सिर्जना गरी युवालाई भरोसा दिलाउन सरकार केन्द्रित रहेको बताए।श्रम बजारमा रोजगारदाताले उपयुक्त कामदार नपाउने र रोजगारी खोज्नेले उपयुक्त रोजगारदाता नभेट्ने समस्या अन्त्य गर्न रोजगारदाता र रोजगारी खोज्ने व्यक्तिलाई एउटै एकीकृत मञ्चमा जोड्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको उनले बताए।

‘सीप र रोजगारी : साझा जिम्मेवारी’ भन्ने नाराका साथ आयोजना हुने मेलाको मुख्य उद्देश्य स्वदेशमै सम्मानजनक रोजगारी सिर्जना गरी वैदेशिक रोजगारीको बाध्यता न्यूनीकरण गर्नु तथा श्रम बजारको मागअनुसार दक्ष जनशक्ति तयार पार्नु रहेको मन्त्रालयले जनाएको छ।सरकारले आर्थिक वर्ष २०८३/८४ देखि २०९२/९३ सम्मको अवधिलाई ‘रोजगार दशक’का रूपमा अघि बढाउने नीति लिएको छ। सोही नीतिअनुसार इटहरीमा आयोजना हुने मेलामा उद्योग, सेवा, कृषि, निर्माणलगायत विभिन्न क्षेत्रका रोजगारदाता तथा सम्बन्धित निकायका स्टल रहनेछन्।

Advertisement

मेलामा रोजगारी खोज्ने व्यक्ति र रोजगारदाताबीच प्रत्यक्ष संवाद गराई मागका आधारमा ‘जब म्याचिङ’ तथा ‘जब प्लेसमेन्ट’ गरिनेछ। त्यस्तै, एआई, ईभी र एसी रिपेयरिङलगायत बजारमा माग भएका विषयमा छोटो अवधिका सीपमूलक तालिम, करियर काउन्सिलिङ तथा उत्प्रेरणात्मक सत्र सञ्चालन गरिनेछ।

मेलालाई व्यवस्थित र पारदर्शी बनाउन मन्त्रालयले डिजिटल पोर्टल (jobfair.shramsansar.gov.np) सञ्चालनमा ल्याएको जनाएको छ। उक्त पोर्टलमार्फत कोशी प्रदेशका १३७ वटै स्थानीय तहका रोजगार संयोजक, रोजगारदाता तथा रोजगारी खोज्ने व्यक्तिले आधिकारिक तथ्यांक दर्ता गरी सेवा लिन सक्नेछन्।चालु आर्थिक वर्षभित्र देशभरका कम्तीमा १ लाख युवालाई रोजगारीका अवसरसँग जोड्ने लक्ष्यसहित प्रधानमन्त्री वालेन्द्र शाहसँग कार्यसम्पादन सम्झौता गरिएको मन्त्रालयले जनाएको छ।

Advertisement

इटहरीबाट सुरु हुने सीप तथा रोजगार मेला क्रमशः देशका बाँकी ६ वटै प्रदेशमा सञ्चालन गरी राष्ट्रिय अभियानका रूपमा अघि बढाउने तयारी रहेको छ।तीनै तहका सरकार, निजी क्षेत्रका प्रतिनिधिमूलक संस्था तथा अन्य सरोकारवालाको सहकार्यमा आयोजना हुने मेलाले स्वदेशमै युवालाई रोजगारीका अवसरसँग जोड्न योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top