‘अर्नब’ चक्रवात भारतीय तटमाः आन्ध्र प्रदेश र ओडिसामा भारी वर्षा

८ असोज ८३, बिहीबार
Share this
736shares

८ असोज , काठमाण्डौ ।

Advertisement

भारतको आन्ध्र प्रदेशमा ‘अर्नब’ चक्रवात तटमा ठोक्किएको छ । यसको प्रभाव भारतका विभिन्न राज्यसँगै नेपालमा पनि देखिन थालेको छ । गएरातिदेखि देशका धेरै ठाउँमा वर्षा भइरहेको छ भने आजदेखि वर्षाको मात्रा र क्षेत्र अझै बढ्ने पूर्वानुमान गरिएको छ ।

कोशीदेखि लुम्बिनीसम्म भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । कतिपय क्षेत्रमा अति भारी वर्षासमेत हुन सक्ने चेतावनी दिइएको छ । पहिल्यै भिजेको जमिनमा थप वर्षा हुँदा बाढी, पहिरो र डुबानको जोखिम झन् बढेको छ ।

Advertisement

मुख्य राजमार्गमा रातिको यात्रा रोकिएको छ, जोखिमयुक्त क्षेत्रमा रेड अलर्ट जारी गरिएको छ र सुरक्षा निकायलाई हाई अलर्टमा राखिएको छ ।तर यो वर्षा कति दिन रहन्छ ? कुन–कुन क्षेत्रमा सबैभन्दा ठूलो जोखिम छ ? र सरकारले सम्भावित विपद् रोक्न के तयारी गरिरहेको छ ? अब विस्तारमा चर्चा गरौं ।

भारतको आन्ध्र प्रदेशस्थित श्रीकाकुलम जिल्लाको कलिंगपट्टनम नजिकै ‘अर्नब’ चक्रवात तटमा ठोक्किएको छ । मौसम विभागका अनुसार यो प्रणाली पछिल्लो ६ घण्टामा ३ किलोमिटर प्रतिघण्टाको गतिमा पश्चिम–उत्तर–पश्चिम दिशातर्फ अघि बढेको थियो ।

Advertisement

यसले सेप्टेम्बर २३ राति ११ बजेदेखि असोज ०८ गते (सेप्टेम्बर २४) विहान १ बजेको बिचमा कलिंगपट्टनमको दक्षिण–पश्चिम तट पार गरेको छ । चक्रवातको प्रभावका कारण धेरैजसो क्षेत्रमा भारी वर्षा हुनुका साथै ७५ किलोमिटर प्रतिघण्टाको गतिमा हावाहुरी चलेको छ ।

एनटीआर जिल्लाको विजयवाडामा बिहानैदेखि निरन्तर वर्षा भइरहेको छ । यसले गर्दा होचा भूभागहरू जलमग्न बनेका छन् भने सहरका धेरैजसो विद्यालयहरूमा लगातार दोस्रो दिन पनि बिदा घोषणा गरिएको छ । ओडिसामा पनि यसको व्यापक असर देखिएको छ ।

त्यहाँ करिब ५ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । मलकानगिरीमा भारी वर्षाका कारण कयौँ पुलहरू बगेका छन् भने पुलमाथि ३ देखि ४ फिटसम्म पानी बगिरहेको छ । राज्यका कम्तीमा ७ जिल्लामा विद्यालयहरू बन्द गरिनुका साथै सरकारी कर्मचारीहरूको बिदा रद्द गरिएको छ ।

परिस्थिति नियन्त्रणमा राख्न ११ जिल्लाका कलेक्टरहरूलाई राहत तथा उद्धारको तयारी पूर्ण राख्न निर्देशन दिइएको छ । यसैबिच पश्चिम बङ्गालका केही भागमा पनि भारी वर्षाको अनुमान गरिएको छ । सम्भावित जोखिमलाई ध्यानमा राख्दै दार्जिलिङ र कलिम्पोङ क्षेत्रमा पहिरोको चेतावनी जारी गरिएको छ ।

यता नेपालमा पनि गएरातिदेखि देशका धेरै ठाउँमा झरी पर्न शुरु भएको छ । बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले पानी परेको हो । भोलिदेखि आइतबारसम्म ठूलो पानी पर्ने पूर्वानुमान भए पनि केही ठाउँमा गएरातिदेखि नै मुसलधारे पानी पर्न थालेको छ । गएराति लुम्बिनी र गण्डकी प्रदेशका केही ठाउँमा मुसलधारे पानी परेको हो ।

२४ घण्टामा पाल्पामा १६० मिलिमिटर र कपिलवस्तुमा १२५ मिलिमिटरभन्दा धेरै पानी परेको छ । २४ घण्टामा १०० देखि २०० मिलिमिटर पानी परे धेरै भारी वर्षा र २०० मिलिमिटरभन्दा बढी पानी परेमा भने त्यसलाई अति भारी वर्षा भनिन्छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आजदेखि पानी पर्नेक्रम अझै बढ्नेछ । केही ठाउँमा मुसलधारे र आरीघोप्टे वर्षाको सम्भावना छ । मौसम एकछिन खुलेजस्तो भए पनि फेरि ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै ठाउँमा निकै ठूलो वर्षाको सम्भावना छ । मधेश प्रदेश तथा कोशी प्रदेशको तराईका थोरै ठाउँमा हावाहुरीको समेत सम्भावना छ । अरु ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आइतबारसम्म धेरै ठाउँमा ठूलो पानी पर्ने भएकाले जोखिमयुक्त क्षेत्रमा पहिरो जाने, खोला तथा नदीमा बाढी आउने सम्भावना छ । त्यसैले हवाई, सडक यातायात प्रभावित हुनसक्ने पूर्वानुमान छ । सम्भावित जोखिमबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले सबैलाई आग्रह गरेको छ ।

महाशाखाको वेबसाइटमा अद्यवधिक विवरण अनुसार पछिल्लो १२ घन्टामा कपिलवस्तुको भगवानपुरमा १२३ मिलिमिटर वर्षा मापन भएको छ। त्यस्तै मैनारमा ११७.८ मिलिमिटर, अर्घाखाँचीको सिमलपानीमा ९१.४ मिलिमिटर, पाल्पाको बल्ड्याङगढीमा १३१ मिलिमिटर वर्षा मापन भएको छ । तनहुँ, कास्की, सिन्धुपाल्चोक, खोटाङ, संखुवासभामा पनि भारी वर्षा भएको छ ।

मौसमविदका अनुसार नेपालमा सिधै प्रणाली प्रवेश गर्ने होइन । भारतको जमिनी सतहमा आएको प्रणालको असर नेपालमा पर्ने हो । ’अहिले ‘डिप डिप्रेसन’कै रूपमा भारतीय भूभागमा प्रवेश गरेको हो । अब यसमा थप शक्ति विकास हुने सम्भावना नरहेको र क्रमशः कमजोर हुँदै डिप्रेसनमा परिणत हुने देखिएको मौसमविद्ले बताएका छन् ।

तर आज र भोलि पनि वर्षाको गतिविधि बढ्ने सम्भावना छ । आज कोशीदेखि लुम्बिनीसम्मका क्षेत्रमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको र भोलि यसको प्रभाव कर्णाली प्रदेशसम्म देखिन सक्ने मौसमविद्को भनाइ छ । त्यसपछिको दिनमा भने विशेषगरी लुम्बिनी र कर्णाली आसपास वर्षा बढी केन्द्रित हुने सम्भावना रहेको छ ।

केही मौसम मोडलमा अत्यन्तै भीषण वर्षाको संकेत देखिए पनि अहिलेको अवस्था हेर्दा त्यस्तो चरम वर्षा हुने सम्भावना देखिएको छैन । तर यसलाई सामान्य रूपमा लिन नहुने मौसमविदको सुझाव छ । लगातारको मनसुनी वर्षाले जमिन पहिल्यै भिजेको अवस्थामा रहेकाले थप वर्षाले कमजोर भूभागमा पहिरो तथा बाढीको जोखिम बढाउन सक्छ ।

सहरी र तराई क्षेत्रमा डुबानको जोखिम पनि रहन सक्ने भएकाले सतर्कता अपनाउन सुझाव छ । काठमाडौंमा पनि आज वर्षा छ । मौसम विभागका अनुसार उपत्यकामा मध्यमसम्मको वर्षा हुने सम्भावना बढी छ भने एक–दुई स्थानमा भारी वर्षासमेत हुन सक्छ ।

यसबीच आज बहानको मापनअनुसार कोसी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरू तथा कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाब सतर्कता तहभन्दा तलै रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

तर वर्षासँगै ती नदीको बहाब बढ्दै जाने सम्भावना रहेको बाढी महाशाखाले जानकारी दिएको छ । यसैगरी आज काठमाडौँसहित ६५ जिल्ला र यस आसपासका अन्य ससाना नदीमा पनि बाढीको बहाब उल्लेख्य बढ्ने र जोखिम निम्तिने सम्भावना छ ।

यस्तै गएरातिदेखि देशका धेरै ठाउँमा पानी परेकाले सडकमा गाडी सञ्चालनमा समस्या भएको छ । काठमाण्डौ जोड्ने मुख्य सडक पृथ्वी राजमार्गको कृष्णभीर नजिकै पहिरो खस्दा सडक रातभर सडक अवरुद्ध भएकोमा बिहानदेखि खुलेको छ । ठाउँठाउँमा पहिरो खस्ने जोखिम भएकाले सावधानी अपनाउन प्रहरीले यात्रु र चालकलाई आग्रह गरेको छ ।

वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न सक्ने भन्दै बीपी राजमार्ग, कान्ति राजपथ र भैँसे–भीमफेदी–देउराली–कुलेखानी सडकखण्डमा रातिको समयमा गाडी चलाउन रोक लगाइएको छ । कान्ति राजपथमा भोलिदेखि आइतबारसम्म बिहान ५ बजेदेखि बेलुका ५ बजेसम्म मात्रै गाडी चल्न दिइनेछ ।

त्यस्तै, भैँसे–भीमफेदी–देउराली–कुलेखानी सडकखण्डमा पनि बिहान ५ बजेदेखि बेलुका ५ बजेसम्म मात्रै गाडी चल्ने दिनेछ । यसैगरी विपी राजमार्गमा पनि आजदेखि चार दिनसम्म रातिको समयमा गाडी चलाउन रोक लगाइएको छ ।

यसबीच मौसम पूर्वानुमान महाशाखाले बंगालको खाडीमा बनेको गहिरो न्यूनचापीय प्रणाली आगामी २४ घण्टापछि कमजोर बन्न सक्ने सम्भावना रहेको पनि जनाएको छ । यद्यपि त्यसको असरले नेपालका केही जिल्लामा भारीदेखि धेरै भारी वर्षाको सम्भावना भने कायम रहेकाले जनजीवन पनि प्रभावित हुनेसक्ने सम्भावना छ ।

त्यसैले उच्च सतर्कता कायम राख्न आवश्यक रहेको मौसमविदले सुझाव दिएका छन् । यो प्रणालीको प्रभावले बाढी–पहिरोको जोखिमयुक्त क्षेत्रमा उच्चसतर्कता अपनाउन र सकेसम्म रातिमा यात्रा नगर्न भनिएको छ । बंगालको खाडीको विकसित भएको गहिरो न्यूनचापीय प्रणालीको प्रभावले नेपालका केही स्थानमा भारीदेखि अति भारी वर्षा तथा उच्च हिमाली भेगमा हिमपातको सम्भावना औंल्याइएको हो ।

गएरातिदेखि नै देशका धेरै स्थानमा पानी पर्ने क्रम जारी छ । आज वर्षाको मात्रा र क्षेत्र अझै बढ्ने सम्भावना रहेको नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महशाखाका मौसमविद डेभिड ढकालले जानकारी दिए । यस्तै महाशाखाले बुधबार साँझ ६ बजे आगामी पाँच दिनको मौसम पूर्वानुमानको आधारमा जोखिम नक्सा सार्वजनिक गरेको छ ।

सो नक्सामा आज असोज ८ गते विहीबार कोशी, बागमती र गण्डकी तथा लुम्बिनी प्रदेशका पूर्वी पहाडी जिल्लामा सुन्तला रंगले संकेत गरेर सतर्क रहन भनिएको छ । सुन्तला रंगले जोखिम अवस्था हुनसक्ने भएकाले जनधनको सतर्क हुनुपर्ने भन्ने संकेत गर्दछ ।

यसैगरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका जिल्लामा पहेँलो रंगले संकेत गरेर मौसमी अवस्थाबारे अध्यावधिक रहन भनिएको छ । जोखिम नक्सामा कर्णाली प्रदेशका केही जिल्लालाई पनि पहेँलो रंगले संकेत गरिएको छ ।

असोज ९ गते ८ गतेको तुलनामा अझ बढी जोखिम हुने संकेत गरिएको छ । यस दिन कोशी, बागमती र गण्डकी प्रदेशका उच्च हिमाली भेगमा रातो रंगले संकेत गरिएको छ । यसको अर्थ प्रतिकार्य गर्नुपर्ने भन्ने बुझिन्छ । रातो रंगले संकेत गरिएका जिल्लाहरुमा ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, रसुवा, धादिङ, गोरखा, मनाङ र मुस्ताङ छन् ।

यसैगरी कोशी प्रदेशका झापा, मोरङ, सुनसरी, मधेश प्रदेशका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा जिल्लालाई पहेँलो रंगले संकेत गरेर मौसमी अवस्थामा अध्यावधिक रहन भनिएको छ। अरु बाँकी सबै जिल्लालाई सुन्तला रंगले संकेत गरेर सतर्क हुन भनिएकोमा आज बिहान भने हल्का संशोधन गरिएको छ ।

हिजो साँझ सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, डोटी, डडेलधुरा र बैतडी जिल्लालाई पनि सुन्तला रंगले संकेत गरेको मौसम पूर्वानुमान महाशाखाले आज बिहान भने ती पाँच जिल्लालाई पहेँलो रंगले संकेत गरी मौसमी अवस्थामा अध्यावधिक हुने भनेको छ ।

असोज १० गते शनिबार कर्णाली र सुदूरपश्चिमतिर अलि बढी जोखिम रहने सम्भावना छ । त्यसैले मौसम विज्ञान विभागले डोल्पा, जाजरकोट, जुम्ला, मुगु, कालिकोट, बाजुरा, बझाङ, हुम्ला र दार्चुला जिल्लालाई रातो रंगले संकेत गरेको छ ।

यसैगरी लम्जुङ, कास्की, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी, पाल्पा, नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, प्युठान, दाङ, रोल्पा, रुकुमपूर्व, रुकुमपश्चिम, बाँके, बर्दिया, सल्यान, सुर्खेत, दैलेख, कैलाली, कञ्चनपुर, अछाम, डोटी, डडेलधुरा र बैतडी जिल्लालाई सुन्तला रंगले संकेत गरेर सतर्क अवस्थामा रहन भनिएको छ ।

असोज ८, ९ र १० गतेको तुलनामा ११ गते पानी पर्ने क्रम अलि कम हुने सम्भावना छ । असोज ११ गते बागमतीभन्दा पश्चिमतिरका सबै जिल्लालाई पहेँलो रंगले संकेत गरिएको छ । पहेँलो रंगको अर्थ जोखिम नरहेको तर मौसमी अवस्थामा अध्यावधिक रहन भनिएको हो ।

कोशी, मधेश र बागमतीका सबै जिल्लालाई हरियो रंगले संकेत गरेर अवस्था सामान्य हुनसक्ने भनिएको छ । उता बङ्गालको खाडीको गहिरो न्यून चापीय क्षेत्रले भारतको विशाखापट्टनम र गोपालपुरको बीच, कलिंगपट्टनमको दक्षिणपश्चिम नजिकबाट उत्तर आन्ध्र प्रदेश तथा आसपासको दक्षिण ओडिशा तट पार गर्दा यो प्रणाली आगामी २४ घण्टामा उत्तर–उत्तरपश्चिमतर्फ सर्दै क्रमशः कमजोर हुने सम्भावना रहेको भारतको मौसम विज्ञान विभागले जनाएको छ ।

साथै नेपाल मौसम विज्ञान विभागले पनि आज बिहान जारी गरेको बुलेटिनमा न्यूनचापीय प्रणाली आगामी २४ घण्टापछि क्रमशः कमजोर हुँदै जाने सम्भावना रहेको जनाएको छ । यद्यपि उक्त मौसम प्रणालीका कारण नेपालका केही स्थानमा हुने भारी वर्षाले जोखिमयुक्त क्षेत्रमा बाढी, पहिरोको सम्भावना हुने भएकाले सतर्क रहनुपर्ने नेपालको मौसम विज्ञान विभागका मौसमविद डेभिड ढकालले बताएका हुन् ।

तर यो मौसम प्रणालीको प्रभावका कारण नेपालको हिमाली क्षेत्रमा भारीसम्म हिमपात हुन सक्ने सम्भावना रहेको भन्दै महाशाखाले पर्वतारोही तथा हिमाली क्षेत्रमा रहेका अन्य व्यक्तिलाई पनि उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाले उक्त प्रणालीको निरन्तर अनुगमन गरिरहेको जनाएको छ । मौसममा हुने परिवर्तनअनुसार थप सूचना तथा चेतावनी नियमित रूपमा अद्यावधिक गरिने भएकाले महाशाखाबाट जारी हुने मौसम पूर्वानुमान तथा मौसमी सूचना नियमित रूपमा हेर्न पनि सबैलाई आग्रह गरेको छ ।

त्यस्तै, महाशाखाका मौसमविद्हरूले असोज ९ देखि ११ गतेसम्म हुन सक्ने निरन्तर वर्षाका कारण बाढी÷पहिरोको जोखिम हुने भन्दै लामो दूरीको यात्रा समेत स्थगित गर्न सर्वसाधारणलाई अनुरोध गरेका छन् । महाशाखाका अनुसार उत्तर अण्डमान सागर र आसपासका क्षेत्रमा विकसित न्यूनचापीय क्षेत्र हाल बंगालको खाडीको मध्य भूभाग आसपास रहेको छ ।

उक्त प्रणाली थप शक्तिशाली बन्दै बलियो न्यूनचापीय क्षेत्रका रूपमा विकसित भई पश्चिम–उत्तरपश्चिमतर्फ सर्ने देखिन्छ । यसको प्रभावस्वरूप बुधबारबाटै कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षाको गतिविधि बढ्दै गएको हो ।

बुलेटिनअनुसार आगामी शुक्रबारदेखि आइतबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा तथा एक–दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको छ ।

साथै मधेश प्रदेश, कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा पनि मेघगर्जन, चट्याङ, हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षाको तथा कर्णाली प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

यसैबीच अमेरिकामा रहेका प्रधानमन्त्री बालेन्द्र शाहले पनि शुक्रबारदेखि आइतबारसम्म मौसम प्रतिकूल रहने भन्दै उच्च सतर्कता अपनाउन नागरिकहरुलाई आग्रह गरेका छन् । उनले हिजो सामाजिक सञ्जालमार्फत मौसमजन्य विपदबाट जोगिन, पूर्वतयारी गर्न र सम्बन्धित निकायका सूचनालाई ध्यान दिन आग्रह गरेका हुन् ।

प्रधानमन्त्री शाहले वर्षा भइरहेको बेला र रातिको समयमा राजमार्ग हुँदै यात्रा नगर्न पनि आग्रह गरेका छन् । यस्तै, पदयात्रा तथा हिमाली क्षेत्रको भ्रमण मौसममा सुधार नआएसम्म स्थगित गर्नसमेत प्रधानमन्त्रीले आग्रह गरेका हुन् ।

जल तथा मौसम विज्ञान विभाग र स्थानीय प्रशासनले जारी गर्ने आधिकारिक सूचना नियमित रूपमा हेर्न र सोहीअनुसार आवश्यक सावधानी अपनाउनसमेत उनको आग्रह छ । यस्तै विभिन्न जिल्लामा भारी वर्षाको जोखिमभन्दै आज र भोली दुई दिन विद्यालयहरु पनि बन्द गरिएका छन् ।

यस्तै यातायात व्यवसायी महासंघले पनि यो अवधिमा लामो र विशेषगरी रातिको समयमा यात्रा नगर्न अपिल गरेको छ । यस्तै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले देशभरका अस्पताल तथा स्वास्थ्य संस्थालाई आवश्यक तयारी अवस्थामा रहन आग्रह गरेको छ ।

निरन्तर वर्षाका कारण बाढी, पहिरो लगायतका प्राकृतिक प्रकोपबाट दुर्घटना तथा चोटपटकका घटना बढ्न सक्ने र जनस्वास्थ्यमा समेत नकारात्मक असर पर्न सक्ने भन्दै स्वास्थ्य संस्थालाई सतर्क रहन आग्रह गरिएको हो ।

यता सम्भावित भारी वर्षा र त्यसबाट निम्तिन सक्ने बाढी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै सरकारले नदीको अवस्था र सम्भावित विपद्को निरन्तर निगरानी गरी सर्वसाधारणलाई घण्टा–घण्टामा पूर्वसूचना (अपडेट) दिने भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीका अनुसार जल तथा मौसम विज्ञान विभाग र बाढी पूर्वानुमान महाशाखासँग निरन्तर समन्वय गरी नदीहरूको जलसतह र जोखिमको अवस्था ‘रियल टाइम’ मा निगरानी गरिनेछ ।

सम्भावित बाढी खतराको तहमा कहिले पुग्छ र त्यसले कस्तो प्रभाव पार्न सक्छ भन्ने प्राविधिक विश्लेषण गरी हरेक घण्टा सूचना अद्यावधिक गरिने उनले जानकारी दिए । समुद्रमा बन्ने ठूलो आँधी (साइक्लोन) प्रणाली र त्यसको दिशा परिवर्तनको सम्भावनालाई प्राधिकरणले प्रत्यक्ष निगरानी गरिरहेको छ ।

मौसम प्रणाली तीव्र गतिमा फेरिन सक्ने भएकाले उच्च हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावनालाई मध्यनजर गर्दै ‘रेड अलर्ट’ जारी गरिएको छ । मध्यपहाडी र तल्लो तटीय क्षेत्रमा मध्यमदेखि भारी वर्षाको प्रक्षेपण गरिएको छ ।

यसैलाई ध्यानमा राखी जोखिमयुक्त हिमाली तथा पहाडी क्षेत्रमा रहेका पर्यटकहरूलाई तत्काल सुरक्षित स्थानमा ओर्लिन आग्रह गरिएको छ भने ट्राभल एजेन्सीहरूलाई समेत नयाँ बुकिङ नगर्न र हेलिकप्टर उडानको पूर्वतयारीमा सतर्क रहन एडभाइजरी जारी गरिएको छ ।

विपद्को जोखिम बढेमा राजमार्ग तथा सडकहरूमा सवारी आवागमन पूर्ण रूपमा निषेध गरिन सक्ने प्राधिकरणले जनाएको छ । कार्यकारी प्रमुख उप्रेतीका अनुसार शुक्रबार र शनिबार यात्रुहरूलाई अति आवश्यक नपरी यात्रा नगर्न र यातायात व्यवसायीलाई पनि सेवा सञ्चालन नगर्न आग्रह गर्ने तयारी गरिएको छ ।

पहिरोको सम्भावित जोखिमलाई ध्यानमा राखी देशका मुख्य राजमार्गहरूमा तत्काल सडक खुलाउन डोजरहरू ‘स्ट्यान्डबाई’ राखिएको छ। यस्तै, वर्षाले कृषि क्षेत्रमा ठूलो क्षति पु¥याउन सक्ने भएकाले खेतमा पाकेको धानबाली र भण्डारण गरिएको अनाज संरक्षणमा विशेष सतर्कता अपनाउन किसानहरूलाई आग्रह गरिएको छ ।

यस सम्बन्धमा कृषि मन्त्रालयमार्फत छुट्टै एडभाइजरी समेत जारी भइसकेको छ । प्राधिकरणले बाढीको समयमा भिडियो खिच्न, टिकटक बनाउन वा सामाजिक सञ्जालमा सामग्री राख्न आफ्नै ज्यान जोखिममा नपार्न सर्वसाधारणलाई कडा चेतावनी दिएको छ ।

बाढीले बगाएर ल्याएका दाउरा वा अन्य सामग्री संकलन गर्न खोलामा पस्ने प्रवृत्ति जोखिमपूर्ण हुने भन्दै यस्ता गतिविधि नगर्न उप्रेतीले आग्रह गरे । हाल देशभरका सुरक्षा निकायलाई ‘हाई अलर्ट’ मा राखिनुका साथै ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरू सम्मिलित कमान्ड पोस्टमार्फत मौसमी अवस्थाको प्रत्यक्ष निगरानी र प्रतिकार्यको तयारी तीव्र पारिएको छ ।

सरकारको यो तयारी, जारी गरिएका सूचनाहरु र सावधानी अपनाउन गरिएका अपिल र सुझावहरुलाई सबैले ख्याल गरौं । विपत बाजा बनाएर आउँदैन भनिन्छ । तर अहिले संकेतहरु भने दिएको छ ।

भर्खरै हामीले रसुवा बाढीजस्तो विपतको भयानकरुप देखेका, भोगेका र सामना गरेका छौं । अहिलेको प्रणाली २४ घण्टापछि क्रमश कम हुँदै जाने भनिएको छ, तर केही क्षेत्रमा अति भारी वर्षाको जोखिम पनि छ। त्यसैले सबैजना सतर्क रहौं, सावधानी अपनाऔं ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top