काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा (एमाले)को वरिष्ठ नेतामा मनोनीत भएकी छन्। आज बसेको पार्टीको केन्द्रीय कमिटी बैठकले उनलाई वरिष्ठ नेताको जिम्मेवारी दिने निर्णय गरेको हो। अब उनी ओलीपछि दोस्रो वरीयतामा रहनेछिन् । भण्डारी यसअघि एमालेकी उपाध्यक्ष थिइन्। दुई कार्यकाल राष्ट्रपति बनेकी भण्डारीलाई २०८२ साउनमा बसेको एमालेको बैठकले पार्टी सदस्यता नवीकरण नगरी निष्क्रिय बनाउने निर्णय गरेको थियो।
तर, आज बिहान बसेको सचिवालय बैठकले उक्त निर्णय फिर्ता लिने निर्णय गरेको थियो। त्यसपछि बसेको केन्द्रीय कमिटी बैठकले भण्डारीलाई वरिष्ठ नेता बनाउने सचिवालयको प्रस्ताव अनुमोदन गरेको हो। भण्डारीले यसअघि नै आफू सक्रिय राजनीतिमा फर्किन इच्छुक रहेको सार्वजनिक रूपमा बताउँदै आएकी थिइन्।
पार्टीभित्रको अन्तरसंघर्षका कारण उनलाई ११औँ महाधिवेशनमा अध्यक्षको प्रत्याशी बन्ने बाटो भने रोकिएको थियो। अब भण्डारी करिब एक दशकपछि सक्रिय राजनीतिमा फर्किन लागेकी छन्। वरिष्ठ नेताका रूपमा उनी अध्यक्ष केपी शर्मा ओलीपछि दोस्रो वरीयतामा रहनेछिन्।





