काठमाडौं । नेकपा (एमाले)ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई वरिष्ठ नेता बनाएको छ। पार्टीको केन्द्रीय कमिटी बैठकले उनलाई वरिष्ठ नेताको जिम्मेवारी दिने निर्णय गरेसँगै भण्डारी पुनः सक्रिय राजनीतिको केन्द्रमा आएकी छन्। भण्डारी नेपाली राजनीतिमा लामो समयदेखि सक्रिय महिला नेतामध्ये एक हुन्। विद्यार्थी राजनीतिबाट सुरु भएको उनको राजनीतिक यात्रा महिला अधिकारको आन्दोलन, संसदीय राजनीति, मन्त्री पद हुँदै नेपालको राष्ट्रप्रमुखसम्म पुगेको थियो।
भोजपुरको सामान्य किसान परिवारमा जन्म
भण्डारीको जन्म वि.सं. २०१८ असार ५ गते भोजपुरको मानेभञ्ज्याङमा भएको हो। आमा मिथिला पाण्डे र बुबा स्वर्गीय रामबहादुर पाण्डेका पाँच सन्तानमध्ये उनी जेठी हुन्। गाउँकै सामान्य किसान परिवारमा जन्मिएकी भण्डारीले बेहेरेश्वर प्राथमिक विद्यालय, पञ्चकन्या मिडिल स्कुल, भूल्के र विद्योदय व्यावसायिक माध्यमिक विद्यालयमा अध्ययन गरिन्। त्यसपछि भोजपुर क्याम्पस हुँदै विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसबाट उच्च शिक्षा हासिल गरिन्।

भोजपुर क्याम्पसमा अध्ययन गर्ने क्रममा नै उनी राजनीतिक गतिविधितर्फ आकर्षित भइन्। निरंकुश राजतन्त्र र पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनमा सहभागी हुँदै उनले विद्यार्थी राजनीतिमा आफ्नो सक्रियता बढाइन्।
भूमिगत राजनीतिबाट महिला आन्दोलनसम्म


भण्डारी विद्योदय माध्यमिक विद्यालयमा अध्ययन गर्दादेखि नै भूमिगत कम्युनिस्ट राजनीतिसँग जोडिएकी थिइन्। वि.सं. २०३५ मा नेकपा (माले) स्थापना भएपछि उनी त्यसको युथ लिगमा आबद्ध भइन्।
वि.सं. २०३७ मा नेकपा (माले) निकट अखिल नेपाल महिला संघमा आबद्ध भएकी उनी पछि तीन कार्यकालसम्म त्यस संगठनको अध्यक्ष बनिन्। महिला अधिकार र समानताका मुद्दालाई राजनीतिक आन्दोलनसँग जोड्दै अघि बढेकी भण्डारीले अनेरास्ववियुको पूर्वाञ्चल क्षेत्रमा समेत नेतृत्वदायी भूमिका निर्वाह गरिन्।यसै क्रममा उनी विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको पदाधिकारीमा समेत निर्वाचित भइन्।
मदन भण्डारीसँग विवाह र जीवनको नयाँ मोड

वि.सं. २०३९ मा उनको विवाह तत्कालीन कम्युनिस्ट नेता मदन भण्डारीसँग भयो। तर २०५० जेठ ३ गते चितवनको दासढुंगामा भएको जीप दुर्घटनामा मदन भण्डारीको निधन भएपछि उनको जीवनमा ठूलो परिवर्तन आयो।पतिको निधनपछि दुई छोरी उषाकिरण र निशा कुसुमको पालनपोषणसँगै उनले राजनीतिक जिम्मेवारी पनि सम्हालिन्। त्यसपछि उनको राजनीतिक यात्रा अझ फराकिलो हुँदै गयो।
संसददेखि मन्त्रीसम्म
मदन भण्डारीको निधनपछि २०५० सालमा भएको उपनिर्वाचनमा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएसँगै भण्डारीको संसदीय राजनीति सुरु भयो। उनी त्यसपछि तीनपटक प्रत्यक्ष निर्वाचित सांसद बनिन्। २०६२/६३ को दोस्रो जनआन्दोलनपछि पुनःस्थापित संसदमा उनले महिलाको राजनीतिक सहभागितासम्बन्धी विषयलाई प्राथमिकताका साथ उठाइन्। महिलाको ३३ प्रतिशत सहभागिताका लागि संसदमा विशेष प्रस्तावहरू प्रस्तुत गरेकी भण्डारीले त्यसलाई संविधानमा संस्थागत गर्ने प्रक्रियामा भूमिका निर्वाह गरिन्।
उनले नेपाल सरकारमा वातावरणमन्त्री र रक्षामन्त्रीको जिम्मेवारीसमेत सम्हालिन्। एमालेको उपाध्यक्षका रूपमा दुई कार्यकाल काम गरेकी उनी पार्टीको प्रभावशाली महिला नेताका रूपमा स्थापित भइन्।
नेपालको पहिलो महिला राष्ट्रपति

वि.सं. २०७२ मा नेपालको संविधान जारी भएपछि भएको राष्ट्रपतिको निर्वाचनमा भण्डारी निर्वाचित भइन्। २०७२ कात्तिक ११ गते व्यवस्थापिका–संसदबाट निर्वाचित हुँदै उनी नेपालको पहिलो महिला राष्ट्रपति बनिन्।त्यसैगरी उनी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति तथा नयाँ संविधानअनुसार निर्वाचित पहिलो राष्ट्रपति बनिन्।पहिलो कार्यकाल पूरा गरेपछि उनी २०७४ फागुन २९ गते दोस्रो कार्यकालका लागि पुनः राष्ट्रपतिमा निर्वाचित भइन्। दुई कार्यकाल राष्ट्रप्रमुखको जिम्मेवारी सम्हालेपछि उनी २०७९ फागुन २८ गते राष्ट्रपति पदबाट निवृत्त भइन्।
फेरि एमालेको सक्रिय राजनीतिमा
राष्ट्रपति पदबाट निवृत्त भएपछि भण्डारीले आफू सक्रिय राजनीतिमा फर्किन चाहेको संकेत गर्दै आएकी थिइन्। तर एमालेभित्रको राजनीतिक समीकरण र अन्तरसंघर्षका कारण उनको पार्टी राजनीतिमा पुनरागमन तत्काल सहज बनेन।यसअघि एमालेले उनको पार्टी सदस्यता नवीकरण नगरी निष्क्रिय बनाउने निर्णय गरेको थियो। अहिले भने उक्त निर्णय फिर्ता लिएर उनलाई पार्टीको वरिष्ठ नेता बनाइएको छ।यससँगै विद्यार्थी राजनीतिबाट सुरु भएको भण्डारीको राजनीतिक यात्रा फेरि एमालेको सक्रिय पार्टी राजनीतितर्फ फर्किएको छ। राष्ट्रपति पद सम्हालिसकेकी उनी अब एमालेको वरिष्ठ नेताका रूपमा पार्टीको राजनीतिमा नयाँ भूमिकामा देखिनेछिन्।




