शुक्रबार देशभर वर्षा, पाँच प्रदेशमा भारीदेखि अति भारी वर्षाको सम्भावना

९ असोज ८३, शुक्रबार
Share this
708shares

काठमाडौं । मनसुनसँगै बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव नेपालमा देखिन थालेको छ। शुक्रबार देशका अधिकांश भूभागमा बदली र वर्षाको सम्भावना रहेको छ भने पाँच प्रदेशका केही स्थानमा भारीदेखि अति भारी वर्षा हुनसक्ने मौसम पूर्वानुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार भारतको उत्तर महाराष्ट्र तथा छत्तिसगढ आसपास रहेको न्यूनचापीय प्रणाली उत्तर-पश्चिमतर्फ सर्दैछ। आगामी २४ घन्टामा उक्त प्रणाली क्रमशः कमजोर हुने भए पनि यसको प्रभावसँगै सक्रिय मनसुनका कारण नेपालमा वर्षा जारी रहनेछ।

Advertisement

शुक्रबार बिहानैदेखि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। पछिल्लो १२ घन्टाको तथ्यांकले पनि वर्षाको तीव्रता देखाएको छ। पाल्पाको अर्चलेमा ९८ मिलिमिटर, इलामको कन्याममा ८८, बाँकेको ढकेरीमा ७९.४, कोहलपुरमा ७६.८, काभ्रेपलाञ्चोकको रोशीमा ७२.८, चितवनको माडीमा ७१.८ र नवलपुरको देउरालीमा ७०.८ मिलिमिटर वर्षा मापन भएको छ।

कहाँ कस्तो वर्षा ?

Advertisement

विभागका अनुसार शुक्रबार दिउँसो देशभर अधिकांश स्थानमा बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।यस्तै, सुदूरपश्चिमका हिमाली भूभागका धेरै स्थानमा वर्षा तथा हिमपात हुनसक्नेछ।दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेकाे छ। गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भने अति भारी वर्षा हुनसक्ने विभागले जनाएको छ।

मधेश प्रदेशका एक–दुई स्थानमा पनि भारी वर्षाको सम्भावना छ। मधेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनीका तराई भूभागमा हावाहुरी चल्नसक्ने पूर्वानुमान गरिएको छ।

Advertisement

शुक्रबार राति पनि वर्षाको प्रभाव कायमै रहनेछ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुनसक्नेछ। लुम्बिनी र सुदूरपश्चिमका एक–दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।लगातारको वर्षाका कारण नदी तथा खोलानालामा जलसतह बढ्न, पहाडी क्षेत्रमा पहिरो जान तथा सडक र यातायात प्रभावित हुनसक्ने भएकाले सम्भावित जोखिम भएका क्षेत्रमा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top