काठमाडाैं । नेपाल र कजाकिस्तानबीच कूटनीतिक तथा सरकारी/सेवा राहदानीवाहकलाई भिसा छुट दिने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अवसरमा न्युयोर्कमा आयोजित साइडलाइन कार्यक्रममा नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र कजाकिस्तानका परराष्ट्रमन्त्री मुख्तार त्लिउबर्दीले आ–आफ्ना सरकारका तर्फबाट सम्झौतामा हस्ताक्षर गर्नुभएको हो।
सम्झौताअनुसार दुवै देशका कूटनीतिक तथा सरकारी/सेवा राहदानीवाहकलाई एक–अर्काको देश भ्रमण गर्दा भिसा लिनुपर्ने आवश्यकताबाट छुट दिइनेछ । यस सम्झौताले दुवै देशका सरकारी अधिकारीको आवागमन सहज बनाउनुका साथै नेपाल–कजाकिस्तानबीचको द्विपक्षीय सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउन योगदान पुग्ने अपेक्षा गरिएको छ।
सम्झौतामा हस्ताक्षर गर्नुअघि परराष्ट्रमन्त्री खनाल र कजाकिस्तानका परराष्ट्रमन्त्री त्लिउबर्दीबीच द्विपक्षीय भेटवार्ता भएको थियो। भेटवार्तामा दुवै मन्त्रीले आपसी हितका विषयमा विचार आदानप्रदान गर्नुका साथै नेपाल–कजाकिस्तान सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल गर्नुभएको थियो।




