११ असोज , काठमाण्डौ ।
नेपाली सेनाले रसुवाको भोटेकोसी बाढी व्यवस्थापनमा संगठनको भूमिका अतुलनीय, ऐतिहासिक र अनुकरणीय रहेको निष्कर्ष निकालेको छ । प्रतिकूल र तीव्र गतिमा बदलिने मौसम, पहाडी तथा साँघुरो उडान क्षेत्र, सीमित हेलिप्याड, अवरुद्ध सञ्चार, नदीको अनिश्चित बहाव, निरन्तरको पहिरो तथा सुरुङभित्र थुप्रिएको लेदो र ठूला चट्टानजस्ता अत्यधिक उच्च जोखिमका बीच सम्पूर्ण उद्धार अभियान सम्पादन गरिएको सेनाले स्पष्ट पारेको छ ।
भोटेकोसी बाढीले राष्ट्रिय संकट व्यवस्थापनमा विपत् प्रतिकार्यलाई सामान्य प्रशासनिक कामका रूपमा नभइ उच्च जोखिम, अनिश्चितता र अन्तरनिकाय समन्वय आवश्यक पर्ने संयुक्त कार्यका रूपमा लिनुपर्ने स्पष्ट सन्देश दिएको सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतले जानकारी दिए ।


उनले भने, ‘संकटको जुनसुकै कठिन घडीमा पनि अग्रपङ्क्तिमा खटिएर नेपाली सेनाले प्रदर्शन गरेको अदम्य साहस तथा मानवीय समर्पण राष्ट्रका लागि गौरव, प्रेरणा र भविष्यका विपत् प्रतिकार्यका लागि महत्त्वपूर्ण दृष्टान्तका रूपमा रहनेछ ।’

रसुवा बाढीपछिको एक महिनाको अवधिमा गरिएका खोज तथा उद्धार, स्वास्थ्य सेवा प्रदान र प्रभावित क्षेत्रको जनजीवनलाई सामान्य बनाउन पूर्वाधार पुनस्र्थापनाका प्रयासबारे सेनाले उपलब्ध गराएको दस्तावेजमा विपत् प्रतिकार्यको सबैभन्दा जटिल र साहसिक अध्याय जलविद्युत् आयोजनाका पुरिएका सुरुङभित्र गरिएको उद्धार भएको ठम्याइँ छ ।
गत १० भदौमा भोटेकोसीमा गएको विनाशकारी बाढीले नदी आसपासका तटीय क्षेत्रमा अपूरणीय क्षति पु¥यायो । यस अप्रत्याशित जलप्रकोपका कारण स्थानीय मानव बस्ती, सडक पूर्वाधार, पुलहरू तथा जलविद्युत् आयोजना क्षणभरमै लेदोमा विलीन हुन पुगे ।

यस्तो विकराल र विषम राष्ट्रिय संकटको घडीमा सेनाले आफ्नो उत्कृष्ट मानवीय दायित्व निर्वाह गर्दै आपत्कालीन खोज, उद्धार तथा विपत् व्यवस्थापनमा नेतृत्वदायी भूमिका निर्वाह ग¥यो । विपत्को खबर प्राप्त हुनासाथ रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन र पूर्वी नवलपरासीलगायत इलाकामा तैनाथ सैनिक युनिट तत्काल उद्धार कार्यका लागि खटिएका थिए ।
विषम परिस्थितिमा उद्धार अभियानलाई चुस्त बनाउन नौ हजार ३०० भन्दा बढी सैनिक जनशक्ति परिचालन गरिनुका साथै कम्पोजित क्विक रियाक्सन टिम (सिक्युआरटी) र आपत्कालीन मेडिकल टिमसहित तुरुन्त चारवटा हेलिकोप्टर खोज तथा उद्धारका लागि खटाइएका थिए ।
भौगोलिक विकटता र सडक सञ्जाल पूर्ण रूपमा अवरुद्ध भएको चुनौतीपूर्ण स्थितिमा सेनाले हवाई उद्धार, जमिनी उद्धार, टनेल उद्धार, स्वास्थ्य सेवा तथा सडक सञ्जाल पुनस्र्थापनामा द्रुत गतिमा कार्य अगाडि बढाइरहेको छ । भौगोलिक जटिलता र सडक सञ्जाल पूर्ण रूपमा विच्छेद भएको परिस्थितिमा सेनाले हवाई मार्गलाई प्राथमिक माध्यम बनायो ।
एमआई–१७ लगायत सातवटा सैनिक हेलिकोप्टर र निजीक्षेत्रका हवाई साधनलाई रणनीतिक रूपमा परिचालन गरिएको थियो । त्रिशूली र धुन्चेमा बेस स्थापना गरी एयर ट्राफिक कन्ट्रोल (एटीसी) सञ्चालनसहित दैनिक १५ देखि २२ वटा हेलिकोप्टरमार्फत एक हजार ६०० भन्दा बढी उडानहरू भएका छन् ।

यस हवाई अभियानबाट कुल चार हजार २४२ जना (तीन हजार ९५९ नेपाली र १२ देशका २८३ विदेशी नागरिक)को सकुशल उद्धार भएको छ । यसका साथै टिमुरे, स्याफ्रुबेँसी, मैलुङ र हाकुबेँसीजस्ता स्थानमा हजारौँ किलो खाद्यान्न, औषधि, रासन र अक्सिजन सिलिन्डर एयरलिफ्ट तथा ड्रोनबाट पठाउनुका साथै टनेल क्षेत्रमा खोज तथा उद्धारका लागि अति आवश्यक उपकरण लैजान स्लिङ अपरेसनसमेत सञ्चालन गरिएको थियो ।
रसुवागढीदेखि नवलपरासी पूर्वसम्मका प्रभावित क्षेत्रमा जमिनी खोज तथा उद्धार कार्यलाई उत्तिकै तीव्रताका साथ अगाडि बढाइ सेनाले नदी किनार, जंगल, डाँडाकाँडा र सडक विच्छेद तथा बाढीबाट बढी प्रभावित तुप्चे, दानसिङ, कालिकास्थान, स्याफ्रुबेँसीलगायत बस्तीमा निरन्तर पैदल गस्ती सञ्चालन गरी शव र स्थानीय निकायसँग समन्वय र सहकार्य गरी परिस्थितिबारे जानकारी संकलन गरिएको थियो ।
अप्ठ्यारो भूभागमा सम्भावित स्थानको पहिचान गर्न थर्मल ड्रोन तथा आधुनिक उपकरणको प्रयोग गरी रेकीसमेत भएका छन् । जमिनी उत्खनन र खोजीका क्रममा फेला परेका एक हजार ४५१ वटा शवको व्यवस्थापनमा सहयोग गरेको छ । स्थानीय प्रशासन, स्थानीय निकाय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाललगायत सबै सरोकारवाला पक्षसँग समन्वय र सहकार्यमा यी कार्यहरू भएका छन् ।
यस विपत् प्रतिकार्यको सबैभन्दा जटिल र साहसिक अध्याय जलविद्युत् आयोजनाका पुरिएका सुरुङभित्र गरिएको उद्धार कार्य हो । जलविद्युत् आयोजनाको सुरुङ इलाकाबाट दुई हजार ७९८ र बाढीको लेदो, माटो र ठूला चट्टानले पुरिएका सुरुङबाट निरन्तर रूपमा गरिएको अथक प्रयासपश्चात् सात जनाको जीवितै उद्धार गर्न सफल भएको छ ।
त्रिशूली–३ ‘ए’ मा ड्रिलिङ मेसिन, एक्स्काभेटर, रक ब्रेकर र नियन्त्रित विस्फोटमार्फत क्राउन हेड खोली, अक्सिजन पम्प गरेर भदौ १९ गते सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार गरिएको छ । माथिल्लो त्रिशूली–१ बाट अडिट सुरुङको २२५ मिटर गहिराइबाट रबर बोट र थर्मल क्यामेराको प्रयोग गरी चिनियाँ नागरिकको सफल उद्धार गरिनुका साथै जम्मा ३७ वटा शवसमेत संकलन भएका थिए ।
खोज तथा उद्धार टोलीद्वारा करिब एक हजार ५० मिटर वैकल्पिक बाटो खोली चिलिमे सुरुङको ब्रेकथ्रुपपश्चात् पाँचवटा शव तथा मानव अङ्ग संकलन गर्नुका साथै रसुवागढी र त्रिशूली–३ ‘बी’ आयोजनामा उत्खनन गरी खोज तथा उद्धार कार्य भएको छ ।
छिमेकीलगायत अन्य मित्र राष्ट्रहरूको जनशक्ति तथा प्रविधिसहित नेपाली सेनासँग संयुक्त रूपमा टनेलहरूमा खोज तथा उद्धार कार्यमा संलग्न भएका थिए । त्यसैगरी, भोटेकोसी बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यका अतिरिक्त बाढी प्रभावित नागरिकको स्वास्थ्य उपचारलाई प्राथमिकतामा राख्दै सेनाले त्रिशूली र धुन्चेमा आपत्कालीन उपचार केन्द्र तथा मेडिकल गस्ती सञ्चालन ग¥यो, जसबाट तुरुन्त बाढीबाट घाइते र अन्य गरी चार हजार तीन जनाले प्रत्यक्ष चिकित्सा सेवा प्राप्त गरे ।
सुरुङ तथा भौगोलिक रूपमा विकट इलाकामा गम्भीर घाइते अवस्थामा फेला परेका नागरिकलाई हेलिकोप्टरमार्फत छाउनीस्थित वीरेन्द्र अस्पताल पु¥याएर आपत्कालीन उपचार प्रदान गरियो । विस्थापितहरूका लागि अस्थायी आवास र होल्डिङ सेन्टरमा स्वास्थ्य सेवा प्रदान गर्नुका साथै महामारी फैलन नदिन स्थानीय निकायसँगको समन्वयमा निःसङ्क्रमण अपरेसन सञ्चालन गरिएको थियो ।
खोज तथा उद्धार कार्य, स्वास्थ्य सेवा प्रदानका साथसाथै प्रभावित जनजीवनलाई सामान्य बनाउन पूर्वाधार पुनस्र्थापनामा नेपाली सेनाले महत्त्वपूर्ण योगदान पु¥याएको छ । नुवाकोटको देवीघाटस्थित तादी नदीमा करिब ६० मिटर लम्बाइ र ६० टन भार क्षमताको एक्रो ब्रिज पाँच दिनको निरन्तर प्रयासमा जडान गरी भदौ २५ गतेदेखि सञ्चालनमा ल्याइयो ।
स्याफ्रुबेँसी–चिलिमे र इन्द्रेणी घाटमा तुइन तथा काठका अस्थायी फट्के निर्माण गरिए । बेत्रावतीमा बेलीब्रिज निर्माण कार्य अगाडि बढाउने क्रममा विस्फोटक पदार्थ प्रयोग गरी पुल निर्माण गर्ने स्थानसम्म जाने बाटो निर्माण भइरहेको छ ।
विशेषतः हाइड्रोपावरको साँघुरो र जोखिमपूर्ण सुरुङभित्र करिब १७० मिटर गहिराइसम्म प्रवेश गरी लेदो, चट्टान, सीमित स्थान तथा थप जोखिमको सम्भावनाबीच गरिएको जीवित उद्धार नेपाली सेनाको अदम्य साहस, उच्च व्यावसायिक दक्षता, टोलीगत समन्वय र जोखिम वहन गर्ने सैनिक चरित्रको कारणले सम्भव भएको देखिन्छ ।
राष्ट्रिय संकट व्यवस्थापनमा विपत् प्रतिकार्यलाई सामान्य प्रशासनिक कामका रूपमा नभई उच्च जोखिम, अनिश्चितता र अन्तर–निकाय समन्वय आवश्यक पर्ने संयुक्त कार्यका रूपमा लिनुपर्ने स्पष्ट सन्देश दिएको छ ।
संकटको जुनसुकै कठिन घडीमा पनि अग्रपङ्क्तिमा खटिएर नेपाली सेनाले प्रदर्शन गरेको अदम्य साहस तथा मानवीय समर्पण राष्ट्रका लागि गौरव, प्रेरणा र भविष्यका विपत् प्रतिकार्यका लागि महत्त्वपूर्ण दृष्टान्तका रूपमा रहनेछ ।
साथै, विपत् प्रतिकार्यमा नेपाल सरकारको निर्देशनबमोजिम नेपाली सेनालगायत नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, स्थानीय प्रशासन, स्थानीय निकाय र स्थानीय समुदायबीच समन्वय र सहकार्यले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको प्रस्ट देखिएको छ ।
यता भोटेकोसीमा आएको बाढीपहिरोका कारण क्षतिग्रस्त सडक तथा पुल पुनः सञ्चालनमा ल्याउन नेपाली सेना, सडक विभाग र सम्बन्धित निकायले काम तीव्र बनाएका छन्। चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढीसम्मको सडक सम्पर्क दसैँअघि नै पुनःस्थापित गर्ने लक्ष्यसहित विभिन्न स्थानमा अस्थायी सडक तथा पुल निर्माणको काम अघि बढाइएको छ।
भदौ १० गते आएको बाढीपहिरोले रसुवा, नुवाकोट, धादिङ र गोरखाका विभिन्न क्षेत्रमा ठूलो क्षति पु¥याएको थियो। सडक विभागका अनुसार बाढीका कारण करिब ६९ किलोमिटर सडक र ३७ वटा मोटरेबल पुलमा क्षति पुगेको छ।
सडक र पुल क्षतिग्रस्त भएपछि रसुवागढीसम्मको यातायात सेवा लामो समयदेखि प्रभावित हुँदै आएको छ।अहिले अवरुद्ध सडकखण्डमा पहिरो तथा माटो हटाउने, नदीले कटान गरेको स्थानमा वैकल्पिक ट्र्याक खोल्ने र क्षतिग्रस्त पुलको स्थानमा अस्थायी संरचना निर्माण गर्ने काम भइरहेको छ।
सडक विभाग, नेपाली सेना तथा सरकारद्वारा गठित विशेष कार्यदलका टोली विभिन्न क्षेत्रमा परिचालित छन्। गल्छी–देवीघाट–त्रिशूली सडकखण्डको केही भाग अस्थायी मर्मतपछि सञ्चालनमा ल्याइएको छ। रातामाटे क्षेत्रमा नदी कटानका कारण बगेको करिब एक सय मिटर सडकमा नयाँ ट्र्याक खोलिएको छ।
ठूलोखोला क्षेत्रमा सडकमा थुप्रिएको बाक्लो लेदोसमेत हटाइएको विभागले जनाएको छ।त्यस्तै, बाढीबाट क्षतिग्रस्त कोल्पु खोलाको पुलमा अस्थायी मर्मत गरी यातायात सञ्चालनमा ल्याइएको छ। पुलको स्थायी पुनर्निर्माणका लागि भने ठेक्का प्रक्रिया अघि बढाइएको छ।
तर नुवाकोटको बेत्रावतीतर्फको सडकखण्डमा रहेको कडा चट्टानी भिरका कारण पुनःस्थापनाको काम चुनौतीपूर्ण बनेको छ। उक्त क्षेत्रमा नेपाली सेनाले विस्फोटक पदार्थ प्रयोग गरी चट्टान फुटाएर सडक विस्तार गर्ने काम गरिरहेको छ। सडक विभागका अनुसार आवश्यक स्थानमा ब्लास्टिङ गरेर ट्र्याक खोल्ने काम अन्तिम चरणमा पुगेको छ।
बेत्रावतीमा पुल जडानका लागि आवश्यक आधार संरचना अर्थात् एबुटमेन्ट निर्माण भइसकेको बताइएको छ। सडकमा खसेको पहिरो हटाउने र ट्र्याक खोल्ने काम पूरा भएपछि पुल जडान सुरु गर्ने तयारी छ।
पूर्वाधार विकास मन्त्रालयअन्तर्गत गठित पुल तथा बेलीब्रिज निर्माण र पुनस्र्थापना कार्यदलका संयोजक नेपाली सेनाका पूर्वउपरथी धर्मेन्द्र झाले मौसमले साथ दिएमा केही दिनमै बेत्रावतीमा पुल जडान सुरु गर्न सकिने बताएका छन्।
बेत्रावतीमा जडान गर्न लागिएको संरचना सामान्य बेलीब्रिज नभई पुरानो स्टकमा रहेको करिब ७३ मिटर लामो अमेरिकी प्रविधिको एक्रो ब्रिज हो। जडान सुरु भएपछि मौसम अनुकूल रहेमा पाँचदेखि सात दिनभित्र काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
यसअघि देवीघाटमा पनि एउटा बेलीब्रिज जडानको काम पूरा भइसकेको छ। बेत्रावतीको पुल सञ्चालनमा आएपछि सडक सञ्जाल स्याफ्रुबेँसीतर्फ जोडिने अपेक्षा गरिएको छ। त्यसपछि स्याफ्रुबेँसी क्षेत्रमा अर्को पुल जडान गर्दै रसुवागढीतर्फको सडक खोल्ने तयारी छ।
बाढीबाट प्रभावित सडक तथा पुल पुनःस्थापनाका लागि छिमेकी मुलुकबाट समेत सहयोग प्राप्त भइरहेको छ। भारतबाट १० वटा बेलीब्रिज उपलब्ध हुने क्रममा हालसम्म चारवटा नेपाल भित्रिसकेका छन्। ती पुलमध्ये अधिकतम करिब ७० मिटर लम्बाइका छन्।
चीनले पनि दुईवटा पुल उपलब्ध गराएको छ। तर ती पुलमा निश्चित दूरीमा पिलर आवश्यक पर्ने भएकाले तत्काल बाढीग्रस्त खोलामा जडान गर्न प्राविधिक कठिनाइ रहेको कार्यदलले जनाएको छ। नेपालमा आवश्यक पर्ने लामो स्पानका पुलका लागि अमेरिकासँग समेत थप संरचना उपलब्ध गराउन पहल भइरहेको बताइएको छ।
सबैभन्दा चुनौतीपूर्ण अवस्था भने स्याफ्रुबेँसीदेखि रसुवागढीसम्मको सडकखण्डमा रहेको अधिकारीहरूले बताएका छन्। उक्त क्षेत्रमा सडकको भौतिक अवस्था निकै बिग्रिएकाले स्थलगत निरीक्षणसमेत कठिन भएको छ। हाल हेलिकोप्टरमार्फत क्षतिको अनुगमन भइरहेको छ।
ठूला चट्टान तथा ढुंगा हटाउन कतिपय स्थानमा नेपाली सेनाको सहयोगमा ब्लास्टिङ गर्नुपर्ने अवस्था रहेको सडक विभागले जनाएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रारम्भिक क्षति तथा आवश्यकता आकलनअनुसार क्षतिग्रस्त सडक, मोटरेबल पुल तथा झोलुङ्गे पुलको स्थायी पुनर्निर्माणका लागि करिब ७३ अर्ब ३४ करोड रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ।
अधिकारीहरूका अनुसार स्थायी संरचना निर्माणका लागि ठूलो स्रोत र लामो समय आवश्यक पर्ने भएकाले अहिलेको प्राथमिकता अस्थायी संरचना निर्माण गरी यातायात सम्पर्क पुनःस्थापित गर्नु हो। दसैँअघि रसुवागढीसम्म सडक जोड्न सकिए स्थानीय बासिन्दा, व्यवसायी तथा चीनसँगको व्यापारिक आवागमनमा समेत सहजता आउने अपेक्षा गरिएको छ।



