३० वर्षपछि ड्रमक्री मार्च, उत्तरी आयरल्यान्डमा फेरि तनाव

१२ असोज ८३, सोमबार
Share this
816shares

१२ असोज , काठमाण्डौ ।

Advertisement

उत्तरी आयरल्यान्डमा ३० वर्षपछि फेरि एउटा विवादित मार्चलाई लिएर तनाव चुलिएको छ । पोर्टाडाउनको गार्भाघी रोडमा सयौँ प्रदर्शनकारी सडकमा उत्रिएपछि अरेन्ज अर्डरको ड्रमक्री मार्च अघि बढ्न सकेन । सबैभन्दा चासोको कुरा के छ भने, यो प्रदर्शनमा उत्तरी आयरल्यान्डकी फस्र्ट मिनिस्टर मिशेल ओ’निलसमेत सहभागी भएकी छन् ।

अब बुझौँ, आखिर यो विवाद के हो । ड्रमक्री मार्च अरेन्ज अर्डरसँग सम्बन्धित एउटा परम्परागत मार्च हो। अरेन्ज अर्डर मुख्य रूपमा प्रोटेस्टेन्ट र प्रो–ब्रिटिस समुदायसँग जोडिएको संगठन हो। तर मार्च जाने गार्भाघी रोड क्षेत्र मुख्यतः क्याथोलिक र आयरिस नेसनलिस्ट समुदायको बसोबास भएको क्षेत्र हो ।

Advertisement

त्यसैले स्थानीय बासिन्दाहरूले लामो समयदेखि यो मार्चको विरोध गर्दै आएका छन् । यो विवाद आजको होइन। सन् १९९० को दशकमा ड्रमक्री मार्चलाई लिएर उत्तरी आयरल्यान्डमा गम्भीर तनाव र हिंसा भएको थियो । सन् १९९५ देखि नै गार्भाघी रोडमा मार्चलाई लिएर प्रदर्शन र प्रहरीसँग टकरावका घटना हुँदै आएका थिए ।

सन् १९९८ मा परेड्स कमिसनले अरेन्ज अर्डरलाई गार्भाघी रोड हुँदै मार्च गर्न रोक्ने निर्णय ग¥यो। त्यसपछि करिब ३० वर्षसम्म उक्त मार्गमा मार्च हुन सकेन । तर यस वर्ष परेड्स कमिसनले फेरि मार्चलाई अनुमति दिएपछि पुरानो विवाद पुनः सतहमा आएको हो ।

Advertisement

आइतबार बिहानैदेखि सयौँ प्रदर्शनकारी गार्भाघी रोडमा जम्मा भए । उनीहरूले सडक अवरुद्ध गरेपछि प्रहरीले पटक–पटक बाटो खाली गर्न आग्रह गरेको थियो । तर प्रदर्शनकारीहरू पछि हटेनन् ।
मार्च बिहान ८ बजेसम्म सुरु गर्नुपर्ने भनिएको थियो ।

तर सडक खाली नभएपछि अरेन्ज अर्डरका सदस्यहरू अघि बढ्न सकेनन् । अरेन्ज अर्डरका स्थानीय डेप्युटी डिस्ट्रिक्ट मास्टर नाइजेल डसनले आफूहरू निराश भएको बताएका छन् । उनले सन् १९९८ मा रोकिएको मार्च पूरा गर्ने आफ्नो अडान कायमै रहेको स्पष्ट पारे ।

राति करिब ४ बजे केही पुरुषले मार्च अघि बढाउने प्रयाससमेत गरेका थिए । तर प्रहरीले प्रयोग गरेका ल्यान्ड रोभरहरूले उनीहरूलाई रोके । यता, गार्भाघी रोड रेसिडेन्ट्स कोएलिसनले भने आफूहरूले मार्च रोक्न सफल भएको जनाएको छ ।

प्रदर्शनकारीहरूलाई सम्बोधन गर्दै ब्रेन्डान म्याक कियोनिथले यो आन्दोलनलाई स्थायी रूपमा समाधान गर्नुपर्ने बताएका छन् । यही प्रदर्शनमा सहभागी फस्र्ट मिनिस्टर मिशेल ओ’निलले गार्भाघी रोडका बासिन्दाले आफ्नो अधिकारका लागि आवाज उठाएको बताएकी छन् ।

तर डेमोक्रेटिक युनियनिस्ट पार्टी अर्थात् डी–यू–पीले उनको सहभागिताको आलोचना गरेको छ । डी–यू–पी नेता गेभिन रोबिन्सनले फस्र्ट मिनिस्टर नै गैरकानुनी प्रदर्शनमा सहभागी भएको आरोप लगाएका छन् । यसैबीच नर्दर्न आयरल्यान्ड सेक्रेटरी सर क्रिस ब्रायन्टले दुवै पक्षलाई संयम अपनाउन र कम्प्रोमाइज खोज्न आग्रह गरेका छन् ।

पी–एस–एन–आईका चिफ कन्स्टेबल जोन बाउचरले भने पछिल्लो २४ घण्टा निकै चुनौतीपूर्ण भए पनि प्रहरीको उपस्थितिले ठूलो हिंसा र डिसअर्डर हुन नदिएको बताएका छन् । तर अहिले पनि विवाद पूर्ण रूपमा समाधान भएको छैन । अरेन्ज अर्डरका सदस्यहरू मार्च पूरा गर्ने अडानमा छन् ।

अर्कोतर्फ गार्भाघी रोडका बासिन्दाहरू भने आफूहरूको समुदाय हुँदै यस्तो मार्च हुन नदिने पक्षमा छन् । त्यसैले अब सबैको नजर आगामी राजनीतिक र कानुनी छलफलमा छ । किनकि ड्रमक्रीको यो विवाद एउटा मार्चको विषय मात्र होइन ।

यो उत्तरी आयरल्यान्डमा समुदाय, धार्मिक पहिचान, राजनीतिक विचार र सार्वजनिक स्थानको अधिकारलाई लिएर दशकौँदेखि जारी रहेको गहिरो विभाजनसँग जोडिएको विषय हो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top