के आज पनि पानी पर्छ ? २१ जनाको मृत्यु, ५ जना बेपत्ता

१२ असोज ८३, सोमबार
Share this
695shares

१२ असोज , काठमाण्डौ ।

Advertisement

लगातारको वर्षा केही कम भएको छ । यद्यपि मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि मेघ गर्जनसहित केही स्थानमा वर्षा हुनेछ । आज दिउँसो देशभर आंशिक बादल लाग्नेछ । हिमाली र पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ

सुदुरपश्चिम प्रदेशको तराई भू–भागका थोरै तथा कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हुन सक्ने महाशाखाले जानकारी दिएको छ ।

Advertisement

भारी वर्षापछि बाढी र पहिरोका घटनामा २१ जनाको मृत्यु भएको छ । यस्तै, पाँचजना घाइते भएका छन् भने पाँच जना बेपत्ता छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीका ५३ घटनामा सातजनाको मृत्यु भएको छ।

पहिरोका २५६ घटनामा १४ जनाको मृत्यु, चार जना घाइते र पाँच जना बेपत्ता भएका छन् । बंगालको खाडीमा उत्पन्न न्यूनचापीय प्रणालीका कारण असोज ८ देखि ११ गतेसम्म देशका विभिन्न भागमा भारीदेखि अतिभारी वर्षा भएको हो । बाढी र पहिरोका कारण देशभर १४३ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने ५१ घरमा आंशिक क्षति पुगेको छ ।

Advertisement

विपद्का कारण ७४७ परिवार प्रत्यक्ष प्रभावित भएका प्राधिकरणले जनाएको छ । जोखिममा परेका विभिन्न जिल्लाबाट करिब दुई हजार जनालाई सुरक्षित स्थानमा सारिएको छ । निरन्तर वर्षाका कारण देशभरका १८६ वटा वर्षामापन केन्द्रमा सय मिलीमिटरभन्दा बढी वर्षा मापन भएको छ ।

सबैभन्दा धेरै नवलपरासी (बर्दघाट सुस्तापूर्व)को डेढगाउँमा ५४४ दशमलव दुई मिलीमिटर वर्षा भएको छ । कास्कीको पञ्चासेमा ५००.२ र तनहुँको अत्रौलीटारमा ४७२ मिलीमिटर वर्षा मापन गरिएको प्राधिकरणले जनाएको छ ।

अविरल वर्षासँगै आएको पहिरोले बागलुङमा १० जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन्। पछिल्लो दुई दिनमा पहिरोले जिल्लामा ठूलो मानवीय क्षति पु¥याएको छ। आइतबार मात्रै तमानखोला र निसीखोला गाउँपालिकामा ९ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन्।

शनिबार ताराखोलामा पहिरोले घर पुरिँदा ५९ वर्षीय मनबहादुर रोकाको मृत्यु भएको थियो। जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईँका अनुसार आइतबार तमानखोला गाउँपालिका–३ धर्नासुकमा घर पुरिँदा ८० वर्षीय बुद्धिराज घर्ती र ६६ वर्षीया भीमदेवी घर्तीको मृत्यु भएको छ।

सोही स्थानमा पहिरोले आठ घर बगाएको छ। तमानखोला–४ सन्तरमा पहिरोले घर पुरिँदा ५० वर्षीय हस्तवीर श्रीपाली र ६५ वर्षीया उडिसरा श्रीपालीको मृत्यु भएको छ। हस्तवीरकी श्रीमती पहिरोमा परी बेपत्ता छिन्। यस्तै, निसीखोला गाउँपालिका–३ जुग्जाखोलाको हदधारामा पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा ३६ वर्षीया श्यामकुमारी विक, उनका छोरा १३ वर्षीय मनोज, आठ वर्षीय मुकेश र तीन वर्षीय निशान छन्। निसीखोला–६ रङ्गिलमा पहिरोले गोठ पुरिँदा ५० वर्षीय सूर्यबहादुर घर्तीको मृत्यु भएको छ। बागलुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले पूर्वसूचनाका कारण थप मानवीय क्षति हुनबाट जोगिएको बताए।

प्रभावित क्षेत्रमा नेपाली सेनाको हेलिकप्टरसहित सुरक्षाकर्मीको टोली उद्धारमा खटिएको छ।यस्तै तनहुँका २४ घरमा क्षति लगातारको वर्षाका कारण बाढी र पहिरोले तनहुँका ६ स्थानीय तहका २४ घरमा क्षति पु¥याएको छ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार व्यास नगरपालिकामा ५, म्याग्देमा २, घिरिङमा ६, ऋषिङमा २, बन्दीपुरमा ४ र भानु नगरपालिकामा ५ घरमा क्षति पुगेको हो। पिडित परिवारलाई प्रहरीले सुरक्षित स्थानमा सारेको छ।

यस्तै देवघाट गाउँपालिका–५ स्थित सीता गुफा परिसरमा कालीगण्डकीको बाढीले शौचालय, बाथरुम र १०८ शिवलिङ्गसहितको ओमकार मूर्ति बगाएको छ। इलाका प्रहरी कार्यालय देवघाटका अनुसार गुफाका ७६ वर्षीय पुजारी शिवानन्द गिरीलाई सुरक्षित ठाउँमा सारिएको छ।

यता प्रधानमन्त्री बालेन्द्र शाहले बाढी, पहिरो, डुबान, हावाहुरी र चट्याङको जोखिम अझै कायम रहेकाले उच्च सतर्कता अपनाउन नागरिकलाई आग्रह गरेका छन् । प्रधानमन्त्री शाहले असोज ९ गतेदेखि हालसम्म चट्याङ, बाढी, पहिरो, हावाहुरी र अविरल वर्षाका कारण म्याग्दी, डोल्पा, धनुषा, पाल्पा, बागलुङ, लमजुङ, रुकुम पश्चिम, काभ्रे, धादिङ, मकवानपुर र सुर्खेतलगायत जिल्लामा २१ जनाको मृत्यु भएको जानकारी दिएका छन् ।

उनले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना तथा घाइते पाँच जनाको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । घाइतेको निःशुल्क उपचारको व्यवस्था मिलाइएको उनले बताएका छन् ।प्रधानमन्त्रीका अनुसार देशभर बाढी, पहिरो, डुबान र चट्याङका ४३९ वटा मनसुनजन्य घटना भएका छन् भने पाँच जना बेपत्ता छन् ।

मनाङको हिमपहिरोमा मानिस बेपत्ता भएको सूचना प्राप्त भएकाले विवरण सङ्कलन भइरहेको उनले बताए। उनले नागरिकको जीवन रक्षा सरकारको पहिलो प्राथमिकता भएको भन्दै बेपत्ताको खोजी, बाढीमा फसेका मानिस तथा पशुचौपायाको उद्धार र प्रभावित परिवारका लागि अस्थायी बसोबासको व्यवस्था भइरहेको बताए ।

सुरक्षाकर्मीलाई उद्धार तथा राहतका लागि पूर्ण तयारी अवस्थामा राखिएको उनको भनाइ छ । बाढी तथा पहिरोका कारण पृथ्वी राजमार्ग, बीपी राजमार्ग, कान्ति लोकमार्गसहित विभिन्न सडक प्रभावित भएको तथा केही सडक र पुलमा क्षति पुगेको प्रधानमन्त्रीले बताएका छन् ।

क्षतिग्रस्त सडक तत्काल मर्मत गरी यातायात सञ्चालनमा ल्याउन सरकार प्रतिबद्ध रहेको उनले बताए । यस्तै प्रधानमन्त्री बालेन्द्र शाहले विपद्को समयमा कालोबजारी गर्नेहरूलाई सरकारले कडा निगरानीमा राखेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले सरकारले कडा निगरानी गरिरहेको बताएका हुन् ।

’’ विपद्को समयमा भ्रामक सूचना फैलाउने, पीडितको गोपनीयता भंग गर्ने वा कालोबजारीमा संलग्न हुनेहरूमाथि सरकारले कडा निगरानी राखिरहेको छ। पीडितलाई थप पीडा दिने कार्य कसैबाट पनि हुनु हुँदैन,’’ प्रधानमन्त्री बालेनको भनाइ छ ।  उनले विपद्को जोखिम कायमै रहेको भन्दै पूर्वसर्तकर्ता अपनाउन नागरिकलाई अपिल गरेका छन् ।

बाढी, पहिरो डुबान र चट्याङका कारण देशभर ४३९ वटा मनसुनका घटना भएको प्रधानमन्त्रीले जानकारी गराएका छन् । विपद्बाट सिर्जित संकटको घडीमा नागरिकको जीवन रक्षा गर्दै सुरक्षित महसुस गराउनु नै सरकारको पहिलो कर्तव्य रहेको उनले बताएका छन् । ’’कुनै पनि नागरिक संकटमा पर्नेबित्तिकै उद्धारका लागि हाम्रा सुरक्षा निकायहरू पूर्ण तयारी अवस्थामा छन्,’’ प्रधानमन्त्रीले भनेका छन्।

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अवरुद्ध राजमार्ग सुचारु र विपद्पछिको उद्धारमा गति बढाउन सरकारको ध्यानाकर्षण गराएका छन् । आइतबार विज्ञप्ति जारी गर्दै उनले यसतर्फ सरकारको ध्यानाकर्षण गराएका हुन् ।

’’विपद्पछिको अवस्थामा अवरुद्ध राजमार्गहरू तत्काल सुचारु गर्न र घरबारविहीन भएका नागरिकहरूको सुरक्षित आवास तथा पुनस्र्थापनाको कार्यमा कुनै पनि किसिमको ढिलासुस्ती नगर्न तीनवटै तहका सरकारहरूको ध्यानाकर्षण पनि गराउँदछौँ,’’ विज्ञप्तिमा भनिएको छ ।

प्रहरी, सशस्त्र प्रहरी बललगायत सम्बद्ध निकायहरूबाट अहोरात्र खटिएर भइरहेको उद्धार कार्यप्रति उनले आभार व्यक्त गरेका छन् । मौसमको प्रतिकूलता र विपद्को जोखिम अझै पूर्ण रूपमा नटरेको भन्दै उनले सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन् ।

विपद्को यस अवस्थामा स्थानीय निकायसँगको समन्वयमा प्रभावित क्षेत्रमा खटिन उनले पार्टीको ¥यापिड एक्सन टिम ¥याटलाई निर्देशन दिएका छन्। उता नारायणी नदीमा आएको बाढीले बगाएको विशाल ‘राइनोज क्रुजसिप’ चितवन र नवलपरासी जोड्ने नारायणी पुलमा अड्किएपछि पुलमा सवारी तथा पैदल आवागमन पूर्ण रूपमा बन्द गरिएको छ।

आइतबार साँझ गैँडाकोट नगरपालिका–२ स्थित होटल रिभर क्राउनबाट बाढीले बगाएको क्रुज पुलको संरचनामा आएर अड्किएको हो। क्रुज पुलको पिलरमा ठोक्किएर अड्किएपछि पुलमा क्षति पुग्न सक्ने जोखिमलाई ध्यानमा राख्दै दुवैतर्फबाट यातायात रोकिएको हो।

क्रुज अड्किएपछि चितवनको नारायणगढ र नवलपुरको गैँडाकोटतर्फ सयौँ सवारीसाधन तथा यात्रु बाटोमै रोकिएका छन्। नारायणी पुल पूर्व–पश्चिम राजमार्गको महत्वपूर्ण सडकखण्ड भएकाले आवागमन रोकिँदा यातायात प्रभावित भएको छ।

क्रुजसिपका निर्देशक दीपक ढुङ्गेलका अनुसार क्रुजलाई दुईवटा २० एमएमका टु–चेन डोरीसहित अन्तर्राष्ट्रिय अभ्यासअनुसार सुरक्षित रूपमा बाँधेर राखिएको थियो। तर, नदीमा आएको असामान्य ठूलो बहावका कारण बाँधिएको संरचना धान्न नसकेपछि क्रुज बगेको उनको दाबी छ।

करिब ६० टन तौल रहेको क्रुजसिप ९५ फिट लामो र २१ फिट चौडा रहेको बताइएको छ। ठूलो आकारका कारण त्यसलाई तत्काल काटेर हटाउन सहज नभएकाले क्रेन तथा एक्साभेटरको प्रयोग गरेर किनारतर्फ तान्ने तयारी छ ।

चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार क्रुजलाई कसरी सुरक्षित रूपमा हटाउने भन्ने विषयमा प्राविधिकहरूसँग छलफल भइरहेको छ। प्राविधिक मूल्यांकनपछि क्रेन वा अन्य उपकरणबाट तान्ने तथा सम्भव नभए काटेर हटाउने विकल्पमा निर्णय गरिने उनले बताएका छन्।

क्रुज हटाउने क्रममा पुलमा थप क्षति नहोस् भन्ने विषयलाई प्राथमिकतामा राखिएको छ। प्रशासनले प्राविधिक टोलीसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा पुलको सुरक्षा तथा क्रुज हटाउने तयारी गरिरहेको जनाएको छ।

नदीको बहाव घटेपछि मात्रै उद्धार तथा हटाउने काम थप सहज हुने अपेक्षा गरिएको छ। पुलको जोखिम मूल्यांकनपछि मात्रै यातायात पुनः सञ्चालन गर्ने विषयमा निर्णय गरिने जनाइएको छ। अर्काेतर्फ मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र त्यसका कारण मस्र्याङ्दी नदीमा जुनसुकै बेला ठूलो बाढी आउनसक्ने जोखिम भएपछि लमजुङतर्फ नदी आसपासका बस्तीका स्थानीयवासीलाई सुरक्षित स्थानमा सर्न आग्रह गरेको छ ।

लमजुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनालका अनुसार हिजो साँझ करिब ७ः०० बजेदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरी मस्र्याङ्दी नदी आसपासका बस्तीमा माइकिङ गरिएको थियो ।

खुदी, भकुण्डे, पाउदीलगायत नदी आसपासका बस्तीका स्थानीयवासीलाई घरमा नबस्न तथा सुरक्षित स्थानमा सर्न आग्रह गरिएको उनले बताए । प्रजिअ खनालका अनुसार अहिले मस्र्याङ्दी नदीको पानीको बहाव केही कम भए पनि मनाङतर्फ घट्टे खोलामा पहिरो झर्नेक्रम जारी छ ।

पहिरोका कारण खोला थुनिएर एक्कासी ठूलो बाढी आएमा नदी आसपासका बस्तीमा क्षति हुनसक्ने उच्च जोखिम रहेकाले सावधानी अपनाइएको हो । उनका अनुसार पाउदीलगायत केही स्थानमा यसअघि नै बाढीको प्रभाव देखिएको छ ।

तत्काल ठूलो समस्या नदेखिए पनि घट्टेखोला थुनिएर पानी एक्कासी आएमा जोखिम अझ बढ्नसक्ने भएकाले नदी आसपासका बस्तीका स्थानीयवासीलाई सुरक्षित स्थानमा सर्न आग्रह गरिएको उनले बताए ।

यसैगरी, जोखिमलाई ध्यानमा राख्दै ७० मेगावाटको मध्य मस्र्याङ्दी र ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी जलविद्युत् आयोजनालाई गेट खोलेर पानी निकास गर्न र विद्युत् उत्पादन बन्द गर्न आग्रह गरिएको प्रजिअ खनालले बताए । सोहीअनुसार पानीको निकास भइरहेको बताए ।

विभिन्न निर्माणाधीन आयोजनामा रहेकालाई आयोजना छाडेर अन्यत्र बस्न लगाइएको उनले बताए । नदी आसपासका बस्तीका स्थानीयवासीलाई नदी किनार तथा आसपासका क्षेत्रमा नजान र सुरक्षित स्थानमा जान प्रशासनले आग्रह गरेको छ ।

हिमलुङ हिमालमा भएको हिमपहिरोमा बेपत्ता दुई पर्वतारोहण गाइड मृत फेला परेका छन्। विभिन्न कम्पनीमा कार्यरत १४ जना सहयोगी र दुई जना गाइड सम्पर्कविहीन भएकोमा दुई गाइडको शव फेला परेको नेपाल नेसनल माउन्टेन गाइड्स एसोसिएसन (एनएनएमजीए) ले जनाएको छ।

नेपाल राष्ट्रिय माउन्टेन गाइड एसोसिएसन (एनएनएमजीए) का अनुसार उद्धार टोलीका मिङ्मा जी, पासाङ काजी शेर्पा, आशीष गुरुङ र पेम्बा छिरिङ शेर्पा प्रभु हेलिकप्टरमार्फत दुर्घटनास्थल पुगेका छन्।

टोलीले घटनास्थलमा खोज तथा उद्धार सुरु गरिसकेको छ। मृत्यु भएका दुवै गाइडका परिवार तथा आफन्तप्रति एनएनएमजीएले समवेदना व्यक्त गरेको छ। बेपत्ता १४ जना किचन स्टाफको खोजी तथा उद्धार कार्य भने जारी रहेको एसोसिएसनले जनाएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top