चोलेन्द्र प्रकरणले संसद् तताउँदा, छोरा सुरक्षा माग्दै प्रहरीकहाँ पुगे 

१२ असोज ८३, सोमबार
Share this
740shares
१२ असोज , काठमाण्डौ ।
हिजो सोमबार विहानैदेखि पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको गिरफ्तारी र रिहाइ प्रकरणले सिंगो देश तरंगित छ । अधिकाँशले चोलेन्द्र शमशेर विवादित पात्र भएपनि र केहीले त कारबाही गर्नु पर्ने पात्र नै भएपनि सरकारले वा उ अन्तर्गत रहेको सुरक्षा सम्यन्त्रले जसरी अपहरणकै शैलीमा राति घरबाट उठायो ।
र पछि आलोचना भएपछि पक्राउ गरिएको नभई जेनजीको थ्रेटका कारण सुरक्षाका लागि उनलाई प्रहरी कार्यालयमा ल्याएर ११,१२ घण्टा राखिएको भन्यो । अनि पछि उनकै चाहानाबमोजिम छोराको जिम्मा लगाएर घरमै पुर्याइएको बतायो, र घरमा थप सुरक्षा निगरानीमा राखिएको पनि जनायो, यो सिंगो प्रक्रियामा प्रहरीले कानूनी राज्यको उपहास गरेको, सरकारले राज्यशक्तिको दुरुपयोग गरेको भन्दै आलोचना भइरहेको छ ।
यता यो विषयले आज प्रतिनिधिसभामा पनि प्रवेश पाएको छ । सोमबार बसेको बैठकको आकस्मिक समयमा विपक्षी दलका सांसदहरूले जबराको पक्राउलाई राज्य आतंक र केटाकेटी खेलको संज्ञा दिँदै सरकारको कार्यशैलीप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका छन् ।
सदनमा नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले पूर्वप्रधानन्यायाधीशजस्तो सम्मानित र प्रतिष्ठित व्यक्तिलाई मध्यरातमा अपहरण शैलीमा पक्राउ गरेर सरकारले राज्य आतंक र बर्बर नमुना प्रस्तुत गरेको आरोप लगाए ।
महरले भने, ‘पूर्वप्रधानमन्त्रीदेखि पूर्वप्रधानन्यायाधीशसम्मलाई मध्यरातमा डाका शैलीमा पक्राउ गर्ने काम भइरहेको छ । यो विधिको शासन हो कि निरंकुशता ?’ उनले जेन्जी पुस्ताको काँधमा टेकेर सरकारले आफ्ना गैरकानूनी क्रियाकलापलाई ढाकछोप गर्ने प्रयास गरिरहेकोसमेत दाबी गरे ।
नेकपाका प्रमुख सचेतक युवराज दुलालले सरकारको कार्यशैलीलाई दादागिरी र पागलपनको संज्ञा दिए । ‘बिना पक्राउ पुर्जी, बिना कारण मध्यरातमा पक्राउ गर्ने अनि १२ घण्टा नबित्दै छोड्ने ? यो कुन प्रकारको कानुनी राज्य हो ?  भनी प्रश्न गर्दै उनले सरकारलाई यस्तो राजनीतिक स्टन्ट बन्द गर्न चेतावनी दिए ।
उनले थपे,  ‘मध्यरातमा जोस र दिउँसो होस हराउने सरकारको कार्यशैलीले जनतालाई निराश बनाएको छ।’ यस्तै नेकपाका संयोजक प्रचण्डले पनि सरकारले छोरी कुटेर बुहारी तर्साएको भन्दै कटाक्ष गरेका छन् । यो प्रकरणमा सरकारले ठुलो मूल्य चुकाउनु पर्ने भन्दै चेतावनी दिएका छन् ।
श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले पूर्वप्रधानन्यायाधीशको पक्राउ र रिहाइलाई केटाकेटी खेलको संज्ञा दिए । उनले भने, ‘पूर्वप्रधानन्यायाधीशलाई पक्राउ गर्ने, अनि भोलिपल्टै छोड्ने रु यो पक्राउ हो कि नौटङ्की हो रु सरकारले यस्ता गम्भीर विषयमा नौटङ्की गर्न छोड्नुपर्छ।’
राईले राज्य संयन्त्रले पक्राउ गर्दा त्यसको आधार र गम्भीरता पुष्टि हुनुपर्नेमा जोड दिए । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद भरत गिरीले सरकारले राज्य संयन्त्रको दुरुपयोग गरेर प्रतिशोधको राजनीति गरिरहेको आरोप लगाए ।
उनले भने, ‘हामी कानून मान्छौँ, तर कानूनको आडमा गरिने ‘डार्क’ राजनीति हामीलाई स्वीकार्य छैन।’ उनले मुलुकमा बाढीपहिरोको वितण्डा चलिरहँदा राहत र उद्धारमा लाग्नुपर्ने सरकार विपक्षीलाई तर्साउन र संवैधानिक व्यक्तित्वहरूलाई अपमानित गर्न केन्द्रित भएको बताए ।
नेपाली काँग्रेसले भने हिजै वक्तब्य निकालेर यसको विरोध गरेको थियो । जबरालाई पक्राउ गर्नुपर्नाको कारण र कानुनी आधार माग गरेको थियो । यता पूर्वप्रधानन्यायाधीश जबरालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने नाममा गरिएको प्रहरी नियन्त्रणलाई लिएर रास्वपाकै सांसदहरुले पनि आपत्ति जनाएका छन् ।
सांसद रञ्जु दर्शनाले सामाजिक संजालमा आफ्नो धारणा राख्दै आपत्ति जनाएकी छन् । कसुर देखिएमा पक्राउ गर्न पाइने कानुनी व्यवस्था भए तापनि पक्राउ गर्दा विधि र प्रक्रिया मिल्नुपर्ने उनले बताएकी हुन् ।
‘कसुर अदृश्य भए पनि कानुनले प्रमाण माग्छ, केवल आरोप मात्र पर्याप्त हुँदैन, कसुर पुष्टि गर्ने आधार र प्रमाण चाहिन्छ,’ भन्दै दर्शनाले कानुनको शासनमा अधिकारको प्रयोग विधि र प्रमाणबिना हुन नसक्ने उल्लेख गरेकी छन्।  पूर्वप्रधानन्यायाधीशको सुरक्षाका लागि सतर्कता बढाउनुपर्ने र कुनै पनि पुस्ताले उनलाई धम्की दिन नसक्ने वातावरण बनाउनुपर्ने उनको भनाइ छ ।
यस्तै अर्का सांसद राजिब खत्रीले पनि विरोध जनाएका छन् । सामाजिक संजालमै उनले लेखेका छन्, ’चोलेन्द्र पक्राउबारे प्रहरीले भन्यो– ‘सुरक्षा थ्रेट’ १ तर पक्राउको कारण गोप्य राखेर ’छोडियो’ भनियो। चोलेन्द्र माथीको सुरक्षा खतरा कसरी टर्यो पत्तै पाइएन । ’चोलेन्द्रको घर डुबानको उच्च जोखिममा थियो– बगाउने खतराका कारण बेलैमा सुरक्षित स्थानमा सारियो– अहिले वर्षा रोकियो– टन्टलापुर घाम लाग्यो अनि परिवारको जिम्मा लगाएर पठाइयो’ भन्ने कुरा पनि आखिर हैन रहेछ ।  कुनै नागरिकले असुरक्षा महसुस गरे सुरक्षाको प्रत्याभूति गराउने काम राज्यको हो । तर प्रहरीले जसरी अपहरणको शैलीमा घरबाट उठायो यो तरिका सहि भएन । हिजो सभापति रवि लामिछानेमाथी गरिएको अपहरणको शैली पनि गलत थियो र आज चोलेन्द्र शमशेर राणा माथी पनि गलत नै भयो । उनले अगाडि लेखेका छन्, चोलेन्द्रका कर्मलाई लिएर हजार प्रश्न गर्न सकिन्छ । नैतिक तथा आर्थिक पतन भएको छ भने बेहिसाब समातिनु पर्छ । त्यस्तै प्रकृतिका कथित नेताहरु पनि पक्रिनु पर्छ । तर पक्राउ पुर्जीसमेत नदिई मध्यारातमा समात्नु गलत भो ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  पनि बिना कारण भीआईपीलाई पक्राउ गर्ने क्रम जारी रहेमा सरकारले ठूलो मूल्य चुकाउनुपर्ने  टिप्पणी गरेका छन् । सिंहदरबारस्थित संघीय संसद् भवनमा सोमबार सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले सरकारको नियत ठीक नदेखिएको बताए।
यस्ता कदम सरकारकै लागि घातक हुने उनको भनाइ थियो।  ‘यो सरकारको लागि भारी पर्छ। यही तरिकाले सरकार चलाउने कोशिस, दुस्साहस भइराख्यो भने यसको मूल्य धेरै ठूलो पर्छ भन्न चाहन्छु,’ प्रचण्डले भने।  अरुलाई तर्साउन पूर्वप्रधानन्यायाधीश राणाले पक्राउ गरिएको हुनसक्ने उनको आकलन छ।
प्रचण्डले भने, ‘तथ्य विस्तारै आउँछ, सरकारले छोरी पिटेर बुहारी तर्साउन खोजेको हो भने त्यो पनि घातक हुन्छ।’ सुरक्षा ‘थ्रेट’का बहानामा दुःख दिन नहुने उनले बताए। साच्चिकै सुरक्षा ‘थ्रेट’ भएमा घरमै सुरक्षाकर्मी बढाउनुपर्ने उनले बताए। ‘त्यो सुरक्षा थ्रेट भन्ने बहानाबाजी हो। त्यो लाटोले पनि बुझ्छ बहानाबाजी हो भन्ने,’ उनले थपे, ‘सुरक्षा थ्रेट हो भने सुरक्षाकर्मी बढाइदिन प¥यो नि?’ उनले यस्ता घटना नदोहोरिन नदिन सरकारसँग आग्रह गरेका छन् ।  
यस्तै नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले बालेन सरकार निरङ्कुश शैलीमा अघि बढेको आरोप लगाएका छन्।  सोमबार राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद ढुंगानाले बिनापुर्जी र मध्यरातमा पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई गरिएको गिरफ्तारीलाई पञ्चायती शासनको पुनरावृत्ति भन्दै आपत्ति जनाए।
सांसद ढुंगानाले कानुनको शासन उपहास भइरहेको भन्दै सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरे।  ‘हिजो पञ्चायतकालमा सिभिल ड्रेसमा आएर बिना जानकारी गिरफ्तारी हुन्थ्यो, आज लोकतन्त्रमा पनि त्यस्तै अवस्था देखिनु चिन्ताजनक छ,’ ढुंगानाले भने, ‘दुई तिहाइको दम्भमा सरकारले स्वेच्छाचारी निर्णय लिइरहेको छ। जुनसुकै घटनामा सरकारले संसदलाई जानकारी दिनुपर्ने र जनताप्रति उत्तरदायी हुनुपर्ने संवैधानिक दायित्व बिर्सन मिल्दैन।’ 
यता पक्राउ परेर छुटेपछि पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले शान्ति सुरक्षा माग गरेका छन् । उनले काठमाडौँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीलाई पत्र पठाउँदै आफ्नो र आफ्ना परिवारको सुरक्षा माग गर्दै निवेदन दिएका हुन्।
आफू असुरक्षित भएको कुरा प्रहरीले पक्राउ गरेपछि नै थाहा पाएको उनका तर्फबाट छोरा सचिन्द्र शमशेर जबराले दिएको निवेदनमा उल्लेख छ । प्रहरीले शनिबार राति २ बजेतिर पक्राउ गरेर आइतबार दिउँसो २ बजे जबरालाई घरै लगेर छाडेको थियो ।
देशको अवस्था, सामाजिक सञ्जाललगायत सञ्चार माध्यममा आएका कतिपय शान्ति सुरक्षासँग सम्बन्धित प्रश्नहरूको कारण आफू र आफ्नो परिवारको शान्ति सुरक्षामा गम्भीर चुनौती महसूस गरेको उनको निवेदनमा उल्लेख छ ।
निवेदनमा भनिएको छ, ‘मेरो विगतमा राज्यका अंगहरूमा बहन गरेका जिम्मेवारी, राज्यको न्यायपालिका प्रमुखको हैसियतमा सम्पादन गरेका न्यायिक निर्णयलगायतका कारण पनि ममाथि थप असुरक्षाको महसूस भएको छ। मैले कतिपय कुराहरू हालका मितिमा यस कार्यालयमा आइसके पश्चात पनि जानकारी पाएँ। यस कारण मलाई सुरक्षा थप गरी पाउन यो निवेदन पेश गरेको छु।’ 
आफ्नो निवास, परिवार तथा जिउ ज्यानको सुरक्षामा राज्यको सम्पूर्ण ध्यान पुगोस् भन्ने उनको माग छ ।  निवेदन लगत्तै उनको घरमा सुरक्षा तैनाथी समेत बढाइएको छ ।  उनको तर्फबाट छोरा सचिन्द्र जबराले काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा दिएको निवेदनको आधारमा प्रहरीले उनको सुरक्षा बढाएको छ ।
जबराको घर वरिपरि निगरानीका लागि थप प्रहरी परिचालन गरिएको हो । शनिबार राति निवासबाटै गिरफ्तारमा परेका जबरालाई प्रहरीले उनकै सुरक्षाका लागि ल्याएको दाबी गरेको छ। तर उनी कोबाट असुरक्षित भएको भन्ने प्रहरीले खुलाउन सकेको छैन ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी शुशीलसिंह राठौरले उनको सुरक्षामा थप प्रहरी परिचालन गरिसकेको बताएका छन । ‘आइतबार निवेदन आएको थियो। त्यसपछि हामीले सादा पोषाकमा प्रहरी परिचालन गरेर निगरानी बढाएका छौँ’, राठौरले भनेका छन् ।
चोलेन्द्रलाई धम्की दिने समूहबारे पनि अनुसन्धान भइरहेको उनले बताएका छन् । यता काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले भने अहिलेसम्म आफ्नो कार्यालयमा निवेदन नआएको बताए । निवेदन प्राप्त भए प्रक्रिया अनुसार अगाडि बढ्ने उनले बताए ।  राणालाई हिजो प्रहरीले पक्राउ गरेर १२ घण्टा नियन्त्रणमा लिएको थियो ।
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top