मनाङमा बेपत्ताहरुको खोजी कार्य जटिल, अर्को हिमपहिरोको डर

१३ असोज ८३, मंगलबार
Share this
686shares

१३ असोज , काठमाण्डौ ।

Advertisement

मनाङको हिमपहिरोमा हराइरहेका १२ जनाको खोजी कार्य झनै जटिल बनेको र यता थुनिएको मस्र्याङ्दी खुलाउन प्रयास भइरहेको छ। मनाङको नार्फाभूमिको उच्च हिमाली क्षेत्रमा गएको हिम पहिरोमा परेर हराइरहेकाहरूको खोजी कार्य जटिल बनेको हो ।

चार जनाको शव भेटिएको हिमपहिरोमा अझै १२ जना हराइरहेका छन् । नार्फाभूमि गाउँपालिका–५ हिमलुङ क्षेत्र जुन करिब ५२ सय मिटर उचाइमा छ त्यहाँ आइतबार हिमपहिरोमा परेर ४ जनाको मृत्यु भएको थियो । हिमपहिरोपछि अझै १२ जना बेपत्ता रहेका मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

Advertisement

उनीहरू हिमपहिरोमा पुरिएको आशंका गरिएको छ । उच्च हिमाली क्षेत्रमा ठूलो हिमपहिरो गएकाले खोज तथा उद्धार कार्य जटिल बनेको पौडेलले बताए । हिमपहिरोपछि खोजतलासको क्रमममा आइतबार दुई र सोमबार दुई जनाको शव फेला परेको नेपाल राष्ट्रिय पर्वतीय गाइड संघले जनाएको छ ।

हिमपहिरोमा परेर ज्यान गुमाउने वीरेन्द्र गुरुङ, घनश्याम राई, छेवी भोटे र पासाङ भोटेको शव भेटिएको हो । मनाङका सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले आज घटनास्थलमा उद्धार तथा खोजीका कुनै कार्यक्रम नरहेको बताए ।

Advertisement

‘आज घटनास्थलमा खोज तथा उद्धारको कुनै कार्यक्रम छैन। त्यहाँको भौगोलिक अवस्था र घटनाको प्रकृति हेर्दा उद्धार कार्य नै कठिन बनेको जानकारी उद्धार कर्मीले गराएका छन्’ घिमिरेले भने, ‘हिजो उद्धार कर्मीले हिउँमा ८ फिटसम्म खन्दा पनि केही भेटेनन्। उहाँहरूले नै अब हिउँ नपग्लिएसम्म खोजी गर्न सम्भव छैन भन्नु भएको छ।’

हिजो दुई जनाको शव घटनास्थलबाट खनेर निकालिएको उनले बताए । ‘उद्धार कर्मीहरू अहिले पनि घटनास्थल नजिकै हुनुहुन्छ,’ सहायक प्रजिअ घिमिरेले भने, ‘तर, अब त्यहाँ गएर फेरि खन्न सकिन्न भन्दै हुनुहुन्छ। त्यहाँ अर्को हिमपहिरोको पनि डर छ। यस विषयमा माथिबाटै केही निर्णय होला कि?’

हिम पहिरोमा बेपत्ताहरूको उद्धार र खोजकर्ता कम्पनी आफैँले गरेको हो । ‘यहाँ अहिले स्थानीय प्रशासनले केही गर्न सक्ने अवस्था छैन। हामीले समन्वय गर्ने मात्रै हो,’ घिमिरेले भने, ‘उच्च हिमालमा खोजी गर्न सक्ने उद्धार कर्ताले हिजो र अस्ती बेपत्ताको खोजी गरेका हुन्। त्यहाँ अहिले हाम्रा सुरक्षाकर्मी जानसक्ने अवस्था नै छैन। हेलीमा सुरक्षाकर्मी गएर अहिले केही काम पनि छैन। तालिम प्राप्त जनशक्तिले नै खोज्ने हो। उहाँहरू नै नसकिने भैयो भन्दै हुनुहुन्छ।’

काठमाडौँका दुईवटा टुरिस्ट कम्पनीबाट त्यहाँ वेसक्याम्प निर्माणका लागि गएका २७ जना नेपाली कामदार हिमपहिरोमा परेका हुन् । त्यसमध्ये हिमपहिरोपछि ११ जना सकुशल फर्किएका छन्। बाँकी १२ जनाको अवस्था भने अझै अज्ञात छ ।

यता मनाङको चामे क्षेत्रमा थुनिएको मस्र्याङ्दी नदी ब्लास्ट गरेर खोल्ने प्रयास अझै सफल हुन सकेको छैन । मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार पोखराबाट ब्लास्ट गर्ने सेनाको प्राविधिक टोली हिजै चामे पुगे पनि काम अघि बढ्न सकेको छैन ।

पौडेलले भने, ‘प्राविधिक टोली हिजै चामे आइपुगेको हो । ब्लास्ट गर्नका लागि उपयुक्त ठाउँ फेला नपर्दा समस्या भएको हो ।’ उनले अगाडि भने, ‘ब्लास्ट गर्न ठूलो चट्टान आवश्यक पर्ने रहेछ । तर नदी थुनिएको आसपासमा चट्टान फेला पर्न सकेन । गिट्टी, बालुवा, रुख, माटो लगायत लेदोले नदी थुनिएको छ । जसका कारण ब्लास्ट गर्ने उपयुक्त ठाउँ फेला परेन ।’

ब्लास्ट गरेर थुनिएको नदी खोल्ने तयारी गरिए पनि त्यो तत्कालका लागि सम्भव नभएपछि दुई वटा उपकरण प्रयोग गरी अहिले नदी खोतल्ने काम भइरहेको उनले बताए । अविरल वर्षापछि स्थानीय घट्टेखोलामा आएको लेदोसहितको ढुङ्गा, गिट्टी, बालुवा थुप्रिएर चामे क्षेत्रमा मस्र्याङ्दी नदी थुनिएको हो ।

नदी थुनिएर बनेको तालबाट आंशिक रूपमा पानी बग्न थालेको छ । पौडेलका अनुसार अझै पनि ४ सय मिटर लम्बाइ र ८० मिटर चौडाइसम्म पानीको ताल बनेको छ । नदी थुनिएर बनेको ताल करिब २० फिट गहिरोसम्म हुन सक्ने उनले बताए ।

चार दिनको अविरल वर्षाका कारण मनाङका विभिन्न स्थानमा विद्युत्, टेलिफोन र सडक सञ्जाल अवरुद्ध छन् । यता बागलुङमा पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या १२ जना पुगेको छ । गएको शुक्रबार, शनिबार र आइतबार परेको निरन्तरको वर्षाबाट बागलुङका विभिन्न ठाउँमा पहिरोले घर पुरिँदा ज्यान गुमाउनेको संख्या १२ पुगेको हो ।

एक जनाको अवस्था अझै थाहा हुन सकेको छैन । बेपत्ताको खोजी भैरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । यसैबीच यता कपिलवस्तुमा गुडिरहेको बसमाथि ढुंगा खस्दा चारजना घाइते भएका छन् ।

मंगलबार बिहान करिब १ः३० बजे कपिलवस्तुको शिवराज नगरपालिका–१, चोरखोला भन्ने स्थानमा सु.प.प्र.०१–००१ ख ३७३० नम्बरको बसमाथि ढुंगा खसेको सशस्त्र प्रहरी बलले जनाएको छ । त्यो बस चितवनबाट बर्दियातर्फ जाँदै थियो । बसमा ३० जना सवार थिए ।

उनीहरूमध्ये चारजना घाइते भएका सशस्त्र प्रहरीले जनाएको छ । बसमाथि ढुंगा खस्दा चार यात्रु सिटमा च्यापिएका थिए । ढुंगा खसेपछि चोरखोलाबाट चालकले बस दाङको भालुवाङ पु¥याएर घटनाबारे प्रहरीलाई जानकारी गराएका थिए ।

त्यसपछि खटिएको प्रहरी टोलीले घाइतेको उद्धार गरेको थियो । अस्पतालमा उपचाररत घाइतेको अवस्था मध्यम रहेको सशस्त्र प्रहरीले जनाएको छ । “दाङ राप्ती गा.पा.–१ भालुवाङमा पुगी चारजना व्यक्तिलाई सिटले च्यापिएको अवस्थाबाट सकुशल उद्धार गरी उपचारको लागि भालुवाङ अस्पताल भालुवाङ दाङमा लगिएको र अवस्था मध्यम रहेको,” सशस्त्र प्रहरीले भनेको छ ।

घाइते हुनेमा बर्दियाका ३७ वर्षीय द्ववारिकाप्रसाद थारू, बर्दियाकै ३५ वर्षीय सुरेशलाल थारू, चितवनकी २० वर्षीया सलिना सुनार र कञ्चनपुरकी ४० वर्षीया भगवती कँडेल रहेका सशस्त्र प्रहरीले जनाएको छ ।

यसैबीच देशका धेरै ठाउँमा मौसममा सुधार आएको छ । गएको बुधबारदेखि लगातार परेको झरी आइतबार रातिदेखि रोकिएपछि मौसम खुलेको हो । पछिल्लो २४ घण्टामा छिटफुटबाहेक पानी नपरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी क्षेत्रमा अस्ति बेलुकीसम्म सक्रिय रहेको वर्षा त्यसपछि रोकिएको हो । पूर्वमा अस्ति बिहानदेखि र मध्य भेगमा त्यसैदिन दिउँसोदेखि नै झरी रोकिएको थियो । अब तत्काल ठूलो र लगातार पानी पर्ने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पानी पर्न रोकिएसँगै बिहानबेलुका चिसो भएपनि दिउँसो गर्मी हुन थालेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आजदेखि तराईका सबैजसो भागमा गर्मी बढ्नेछ । आज हिमाली र पहाडी भागका एक÷दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top