१५ असोज , काठमाण्डौ ।
आफुले पठाएका शर्तहरु अस्वीकार गरिरहेको अमेरिकालाई इरानले नयाँ हतियार प्रयोग गर्ने धम्की दिएको छ । इरानको इस्लामिक रिभोलुसन गार्ड कोप्र्स (आईआरजीसी) ले द्वन्द्वले नयाँ रूप लिएको खण्डमा अत्याधुनिक हतियारको प्रयोग गर्ने चेतावनी दिएको हो ।
तेहरानमा आयोजित पत्रकार सम्मेलनमा आईआरजीसीका प्रवक्ता होसेन मोहेबीले इरान आफ्नो रक्षा क्षमता अभिवृद्धि गर्न निरन्तर लागिपरेको बताउँदै आवश्यक परेको खण्डमा युद्धमैदानमा नयाँ हतियार उतार्ने घोषणा गरेका हुन् ।

प्रवक्ता मोहेबीले इरानले विश्वभरका प्रविधिहरूलाई आत्मसाथ गर्दै आफ्नै हतियार निर्माण गरिरहेको र विद्यमान हातहतियारको स्तरोन्नतिमा जोड दिइरहेको स्पष्ट पारे । उनले भने, ‘हामी निरन्तर नयाँ हतियार डिजाइन गर्दैछौँ र ठूलो परिमाणमा उत्पादन गरिरहेका छौँ। यदि द्वन्द्वको स्वरूप बदलिएमा हामी पक्कै पनि नयाँ हतियारहरू युद्धमैदानमा ल्याउनेछौँ।’
मोहेबीले पछिल्ला केही महिनामा अमेरिकाले इरानविरुद्ध लगाएको नाकाबन्दी, आर्थिक दबाब र सीमावर्ती क्षेत्रमा सक्रिय समूहहरूलाई हतियार उपलब्ध गराएर अस्थिरता निम्त्याएको आरोप लगाए। उनले ती सबै प्रयास असफल भएको दाबी गर्दै इरानसँग ‘शत्रु’ का अन्य योजनाहरू विफल बनाउने पूर्ण तयारी रहेको जिकिर गरे ।

दुई देशबीचको तनाव फेब्रुअरी २८ मा उत्कर्षमा पुगेको थियो, जतिबेला अमेरिका र इजरायलले इरानी सहरहरूमा संयुक्त आक्रमण गरेका थिए । त्यसको जवाफमा इरानले मिसाइल र ड्रोन आक्रमण गरी हर्मुज जलमार्गमा आफ्नो पकड थप कसिलो बनाएको थियो ।
गत जुन १८ मा दुवै पक्षबीच युद्ध अन्त्य गर्ने र वार्तामार्फत समाधान खोज्ने सम्बन्धमा समझदारी पत्र (एमओयू) मा हस्ताक्षर भएको थियो । सम्झौताअनुसार ६० दिनभित्र वार्ता सम्पन्न हुनुपर्ने भएपनि अगस्ट १७ मा समयावधि सकिएकाले भविष्यको बाटो अझै अनिश्चित बनेको छ ।
पछिल्लो समय बढेको सैन्य सक्रियताले सम्झौता कार्यान्वयनमा थप चुनौती थपिएको छ । यसैबीच इरानले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले ‘सुटुक्क’ गरेको संयुक्त अरब इमिरेट्स (यूएई) भ्रमणको निन्दा गरेको छ ।
नेतन्याहुले हालै यूएई भ्रमण गरेको खुलासा भएपछि इरानको विदेश मन्त्रालयले मध्यपूर्वी देशहरूलाई चेतावनी दिँदै यसले अस्थिरता सिर्जना गर्ने दाबी गरेको हो । जारी विज्ञप्तिमा इरानको विदेश मन्त्रालयले भनेको छ, ‘क्षेत्रको सुरक्षा सबै देशहरूको साझा जिम्मेवारी हो। असुरक्षित शक्तिहरूलाई क्षेत्रमा प्रवेश गर्न बाटो सिर्जना गर्ने कुनै पनि कार्य अन्ततः क्षेत्रका सबै देशहरूका लागि हानिकारक हुनेछ।’ ‘यसले पश्चिम एसियामा विभाजन, असुरक्षा र अस्थिरता सिर्जना गर्नेछ । त्यसैले यस क्षेत्रका सरकारहरूले क्षेत्रमा शान्ति र स्थिरता कायम राख्न आफ्नो जिम्मेवारी बुझ्ने आशा छ।’
विज्ञप्तिमा अगाडि भनिएको छ, ‘उनीहरू (बाँकी देशका सरकारहरू) ले इजरायली शासनको हानिकारक उपस्थितिका लागि बाटो बनाउनबाट जोगिनुपर्छ र आफ्नो माटोलाई अन्य देशविरुद्ध गतिविधि गर्ने मञ्च बन्नबाट रोक्नुपर्छ।’
नेतन्याहुले गत आइतबार यूएईको गोप्य भ्रमण गरी त्यहाँका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानसँग भेटवार्ता गरेका थिए । जुन भ्रमण यूएई र इजरायलले दुई दिनपछि मात्र पुष्टि गरेका थिए । यसैबीच मध्यपूर्वमा जारी युद्धका कारण इरानको मुद्रा रियाल अमेरिकी डलरको तुलनामा फेरि कमजोर भएको छ ।
मंगलबार तेहरानमा एक अमेरिकी डलरका लागि २५ लाखभन्दा बढी रियालमा कारोबार भएको थियो । यो रियालको अहिलेसम्मकै सबैभन्दा कमजोर अवस्था हो । यसअघि सेप्टेम्बर २ मा एक अमेरिकी डलर बराबर २२ लाख रियाल पुगेको थियो । त्यसको २७ दिनपछि रियालले फेरि नयाँ न्यून विन्दु कायम गरेको हो ।
युद्ध सुरु भएयता इरानी मुद्रा लगातार दबाबमा रहँदै आएको छ । इरानको अर्थतन्त्र लामो समयदेखि अन्तर्राष्ट्रिय प्रतिबन्धको असरमा छ । इरानी तेलमाथि लगाइएको अमेरिकी प्रतिबन्धले देशको विदेशी मुद्रा आम्दानीमा असर गरेको छ ।
युद्ध सुरु भएपछि अमेरिकी प्रतिबन्ध र इरानी तेलमाथिको नाकाबन्दी थप कडा भएकाले आर्थिक समस्या झन् बढेको छ । मुद्रा कमजोर हुँदा इरानमा आयात हुने वस्तु महँगो हुन सक्छन्। यसले दैनिक उपभोग्य वस्तुको मूल्य बढ्ने र सर्वसाधारणमाथि आर्थिक दबाब थपिने जोखिम हुन्छ ।
यसैबीच उता बेलायती प्रधानमन्त्री एन्डी बर्नामले रोयल एयर फोर्स (आरएएफ) फेयरफोर्ड वायुसेना अखडानजिक भएको शंकास्पद घटनामा इरानको भूमिका रहेको बताएका छन् । उक्त घटनाको अनुसन्धान अहिले बेलायतको आतंकवादविरोधी प्रहरीले गरिरहेको छ ।
आइतबार फेयरफोर्डनजिकैको वेल्फोर्ड गाउँबाट पाँच बेलायती नागरिक पक्राउ परेका थिए । २० देखि २५ वर्ष उमेर समूहका उनीहरूलाई विस्फोटक पदार्थसम्बन्धी अपराध तथा आतंकवादी कार्यको तयारी गरेको आशंकामा नियन्त्रणमा लिइएको थियो । यद्यपि, उनीहरूलाई सोमबार कडा धरौटी सर्तमा रिहा गरिएको छ ।
फेयरफोर्ड अखडालाई अमेरिकी वायुसेनाले पनि सैन्य गतिविधिका लागि प्रयोग गर्दै आएको छ । संदिग्धहरूलाई पक्राउ गरेको भोलिपल्टै धरौटीमा रिहा गरिएको विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र विदेशमन्त्री मार्को रुबियोले चासो र प्रश्न उठाएका छन् ।
प्रधानमन्त्री बर्नामले पत्रकारहरूसँग कुरा गर्दै फेयरफोर्ड घटनामा इरानको संलग्नता रहेको ‘बलियो संकेत’ मिलेको दोहो¥याए । तर, अनुसन्धान जारी रहेकाले अहिल्यै थप विवरण सार्वजनिक गर्न नमिल्ने उनको भनाइ छ ।
यस विषयमा उनले सोमबार क्याबिनेट कार्यालयमा आपत्कालीन बैठकको अध्यक्षता समेत गरेका थिए । बेलायती सरकारले अनुसन्धानका लागि अमेरिकी अधिकारीहरूसँग पनि समन्वय भइरहेको जनाएको छ । अर्कोतर्फ, इरानले भने यस घटनामा आफ्नो संलग्नता पूर्ण रूपमा अस्वीकार गरेको छ ।
लन्डनस्थित इरानी दूतावासले बेलायतको आरोपको खण्डन गर्दै यसलाई इरानविरोधी प्रचारको संज्ञा दिएको छ । घटनामा संलग्न पाँचैजनालाई पक्राउ गरेको भोलिपल्ट धरौटीमा रिहा गरिएको विषयमा प्रश्न उठेपछि बर्नामले उनीहरू सामान्य अवस्थामा रिहा नभएको बताएका छन् ।
उनका अनुसार, उनीहरूमाथि कडा धरौटी सर्त लागु गरिएको छ र सुरक्षा निकायले घटनालाई नजिकबाट निगरानी गरिरहेको छ । यसैबीच, पक्राउ परेकामध्ये एकजनाले घटनाभन्दा करिब एक घण्टाअघि आफैँ प्रहरीको आपत्कालीन नम्बरमा फोन गरेको विवरण सार्वजनिक भएको छ ।
आतंकवादविरोधी प्रहरीले फेयरफोर्डनजिक रोकिएका तीनवटा भ्यानको अनुसन्धान गरेको थियो । गाडीमा कुनै विस्फोटक उपकरण नभेटिएको तर केही मात्रामा पेट्रोल तथा अन्य सामग्री फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनाको उद्देश्य र पक्राउ परेकाहरूको सम्भावित विदेशी सम्बन्धबारे अनुसन्धान जारी राखेको छ । बेलायती अधिकारीहरूले इरानको संलग्नताको ‘बलियो संकेत’ रहेको बताए पनि अनुसन्धानले त्यसको विस्तृत प्रमाण वा घटनामा उनीहरूको ठोस भूमिका सार्वजनिक गरिसकेको छैन ।



