१५ असोज , काठमाण्डौ ।
पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण क्याम्प छाडेका छन् । राष्ट्रिय टोलीको पत्रकार सम्मेलन र पोर्चुगल फुटबल महासंघका अध्यक्षसँगको कुराकानीपछि क्याम्प छाड्ने निर्णय गरेको रोनाल्डोले सामाजिक सञ्जालमार्फत जनाएका छन् ।
उनले क्याम्प छाड्नुको कारण भने अहिले सार्वजनिक नगर्ने र समय आएपछि पोर्चुगलका नागरिकलाई सवै सत्य बताउने उल्लेख गरेका छन् । रोनाल्डोले क्याम्प छाडेको घटना प्रशिक्षक जोर्जे जेसुससँगको असमझदारीको चर्चाबीच आएको हो ।

यसअघि नर्वेसँगको खेलमा रोनाल्डो बेन्चमा बसेपछि प्रशिक्षकसँग उनी असन्तुष्ट रहेको चर्चा भएको थियो । ओस्लोमा भएको यो खेलमा पोर्चुगल २–१ ले विजयी भए पनि रोनाल्डोले मैदान प्रवेश गरेका थिएनन् । करिब १८ वर्षपछि रोनाल्डो पहिलोपटक पोर्चुगलको खेलमा पूरै समय बेन्चमा बसेका हुन् ।
त्यसपछि प्रशिक्षक जेसुसको निर्णयलाई लिएर चर्चा चुलिएको थियो । डेनमार्कविरुद्ध नेसन्स लिगको खेल हुनुअघि कोपेनहेगनमा केही घण्टा तनावपूर्ण बनेपछि उनले शिविर छाडेका हुन् । प्रशिक्षक जर्ज जेसुससँग विवाद भएको रिपोर्टहरू सार्वजनिक भइरहेका बेला रोनाल्डोले यस्तो निर्णय गरेका हुन् ।

रोनाल्डोले इन्स्टाग्राममा लेख्दै राष्ट्रिय टोलीका प्रशिक्षकको पत्रकार सम्मेलनपछि पोर्चुगिज फुटबल महासंघका अध्यक्षसँग कुराकानी गरेर आफूले प्रशिक्षण शिविर छाड्ने निर्णय गरेको बताए । त्यसपछि पोर्चुगलको टोली रोनाल्डो र प्रशिक्षक जेसुसबिना होटल पुगेको थियो ।
त्यतिबेला दुवै कहाँ थिए भन्ने स्पष्ट भइसकेको थिएन । यसअघि बुधबार प्रशिक्षक जेसुसले रोनाल्डोले प्रशिक्षण गर्न अस्वीकार गरेको भन्ने कुरा अस्वीकार गरेका थिए । पोर्चुगिज फुटबल महासंघले भने बिहीबार डेनमार्कविरुद्ध हुने खेलअघि अन्तिम प्रशिक्षणमा रोनाल्डो सहभागी नभएको पुष्टि गरेको थियो ।
पोर्चुगिज पत्रिका ‘ए बोला’ले सार्वजनिक गरेको भिडियोमा रोनाल्डो कोपेनहेगनस्थित पार्केन स्टेडियमबाट पोर्चुगिज फुटबल महासंघको गाडीमा निस्किएको देखिएको थियो । जेसुसले रोनाल्डो प्रशिक्षणमा सहभागी हुने बताएको केही समयपछि नै उनी त्यहाँबाट निस्किएको ‘ए बोला’ले जनाएको छ ।
स्पेनिस खेल सञ्चारमाध्यम ‘मार्का’का अनुसार रोनाल्डो केही घण्टाभित्र निजी विमानमार्फत मड्रिड जाने तयारीमा थिए । रोनाल्डोले आइतबार नर्वेविरुद्ध पोर्चुगलले २–१ को जित निकालेको खेल पनि खेलेका थिएनन् । जेसुसले उनलाई बेन्चबाट मैदान प्रवेश गराउने बताए पनि अन्तिम समयमा उनलाई मैदानमा नउतार्ने निर्णय गरेका थिए ।
त्यसपछि रोनाल्डो सोमबार र मंगलबार टोलीसँग सामूहिक प्रशिक्षणमा सहभागी भएनन् र जिममा अभ्यास गरेका थिए । उनी घाइते भने थिएनन् । बुधबारको प्रशिक्षणअघि पत्रकार सम्मेलनमा जेसुसले रोनाल्डोसम्बन्धी विवाद सिर्जना नगर्न आग्रह गरेका थिए ।
खेलपछि केही दिन खेलाडीले टोलीसँग प्रशिक्षण नगर्नु सामान्य भएको उनको भनाइ थियो । ‘उनले प्रशिक्षण गर्न अस्वीकार गरेका होइनन् । उनी आज प्रशिक्षण गर्नेछन्,’ जेसुसले भनेका थिए । उनले थपे, ‘यो चौथो दिन हो, त्यसैले उनी प्रशिक्षण गर्नेछन् । उनले प्रशिक्षण गर्न अस्वीकार गरेकै होइनन् । यस्तो हुनै सक्दैन । के तपाईं यो विश्वास गर्नुहुन्छ ? क्रिसले त्यस्तो गर्दैनन्।’
रोनाल्डोले यसै वर्षको विश्वकपपछि अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिनेबारे विचार गरेको बताएका थिए। तर करिअरमा १ हजार गोल पूरा गर्ने लक्ष्यका कारण उनले राष्ट्रिय टोलीमा निरन्तरता दिने निर्णय गरेका थिए । हालको अन्तर्राष्ट्रिय विश्रामका लागि जेसुसले घोषणा गरेको २५ सदस्यीय टोलीमा रोनाल्डो समावेश थिए।
उनले नेसन्स लिगअन्तर्गत वेल्सविरुद्धको पहिलो खेलमा सुरुआती टोलीबाट खेलेका थिए । नर्वेविरुद्ध निर्णायक गोल गरेका गोन्कालो रामोसलाई जेसुसले डेनमार्कविरुद्ध पनि रोनाल्डोभन्दा प्राथमिकता दिने संकेत गरेका थिए ।
‘यदि मलाई रोनाल्डोको आवश्यकता प¥यो भने उनी मैदानमा आउनेछन्। आवश्यकता परेन भने आउने छैनन्,’ जेसुसले भनेका थिए । पोर्चुगल फुटबल महासंघले रोनाल्डोले टोली छाडेको पुष्टि गर्दै बाँकी २४ खेलाडीसहित डेनमार्क र नर्वेविरुद्धका खेलको तयारी पूर्वनिर्धारित योजनाअनुसार अघि बढ्ने जनाएको छ।
महासंघका अनुसार टोलीको ध्यान आगामी खेल र निर्धारित लक्ष्यमा केन्द्रित रहनेछ । यसैबीच रोनाल्डोलाई लिएर पोर्चुगलको राष्ट्रिय टोलीमा देखिएको परिस्थितिबारे छलफल गर्न पोर्चुगल फुटबल महासंघका अध्यक्ष पेद्रो प्रोएन्साले प्रशिक्षक जेसुस र रोनाल्डोसँग भेट गर्ने तयारी गरेको बताइएको छ ।
प्रोएन्साले बुधबार अजोरेसमा जिब्राल्टरविरुद्ध हुने पोर्चुगलको यू–२१ टोलीको खेल हेर्ने कार्यक्रम तय गरेका थिए। तर‚ रोनाल्डोलाई लिएर विकसित घटनाक्रमपछि उनले आफ्नो भ्रमण कार्यक्रम परिवर्तन गरेको समाचार सार्वजनिक भएको छ ।
फ्रान्सेली सञ्चारमाध्यम ‘फुट मर्काटो’का अनुसार प्रोएन्साले अजोरेसको भ्रमण रद्द गरेर कोपेनहेगन हुँदै माल्मो जाने तयारी गरेका छन्। त्यहाँ उनले जेसुस र रोनाल्डोसँग आपत्कालीन बैठक गर्ने बताइएको छ ।
रोनाल्डोले हालसम्म अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएको औपचारिक घोषणा भने गरेका छैनन्। तर‚ राष्ट्रिय टोलीको क्याम्प अचानक छाडेपछि उनको पोर्चुगल करिअरलाई लिएर नयाँ अड्कलबाजी सुरु भएको छ ।



