१७ असोज , काठमाण्डौ ।
जितिया अर्थात् जीवित्पुत्रिका व्रत मिथिला तथा तराई–मधेश क्षेत्रमा विशेष महत्त्वका साथ मनाइने पर्व हो । विशेषगरी आमाहरूले आफ्ना सन्तानको दीर्घायु, सुस्वास्थ्य, सुख–समृद्धि र कल्याणको कामना गर्दै यो कठिन निर्जला व्रत बस्ने गर्छन् । यस वर्ष जितियाको क्रम हिजो शुक्रबारबाट सुरु भइसकेको छ ।
हिजो शुक्रबार नहाय–खाय अर्थात् व्रतको तयारी र शुद्धीकरणको दिन थियो । मिथिलाका कतिपय परिवारमा यही दिन माछ–मडुवा खाने परम्परा रहन्छ । सप्तमी तिथिमा व्रतार्थी स्नानादि गरी पवित्र भई घिरौँलाको पातमा तोरी वा सस्र्युको तेल र पिना (खरी) चढाएर जिमुतवाहन देवताको पूजा गर्दछन्, जसलाई तेलखरि भनिन्छ ।

यो तेलखरि प्रसादस्वरूप घरका सबैले टाउकोमा लगाउने गर्दछन् । सप्तमी तिथिकै दिन दिवंंगता महिलाप्रति श्रद्धा स्वरूप नैवेद्य अर्पण गरी महिलाहरूलाई निम्तो दिई भोज गर्ने चलन पनि रहेको छ, जसलाई पितराइन भनिन्छ । यसै दिन सधवाले कोदो रोटी र माछा खाने परम्परा रहेको छ ।
शाकाहारी हुनेले गम्हरी (कोसा भित्रै फल्ने धान) को खीर वा भात पनि खाने चलन छ । सो दिन नैवेद्यमा गहुँको पिठो र गुड मिसाएर पकाइएको पकवान, चामल, दाल, दही, च्यूरा, खीर, रोटी, दूध, चीनी जस्ता वस्तुहरू आफ्ना कुलवंश, रीति परम्परा अनुसार चढाइने गरिन्छ ।

सोही तिथिको रातिको अन्तिम प्रहरमा व्रतार्थी दही, च्यूरा, फल, अमोट, मिष्ठान्न आदि खाने गर्दछन्, जसलाई ओठङन भनिन्छ । यसरी खाइसकेपछि व्रतार्थी जलपात्रमा जल लिई घरको ढोकाको दैलोको छेउमा भित्तामा अडेस लगाएर पानी पिउने गर्दछन् ।
जितिया व्रत अष्टमी तिथिको व्रत भएकाले अष्टमी तिथि रहुञ्जेलसम्म निराहार बसिन्छ । अर्थात आज शनिबार, मुख्य निर्जला जितिया व्रत बस्ने दिन हो । व्रतालु आमाहरू दिनभरि पानीसमेत नखाई पूजा, आराधना र व्रत कथामा सहभागी हुन्छन् ।
अष्टमीका दिन व्रतालुले नजिकको पोखरी, तलाउमा स्नान गरी भगवान् सूर्यलाई अर्घ अर्पण गर्छन् । त्यसपछि व्रतको सङ्कल्प गर्छन् र घरमा आएर डाली भर्ने गरिन्छ । डालीमा नरिवल, काँक्रो, स्याउ, केरा लगायतका फलफूल राखेर नयाँ कपडाले छोपिन्छ ।
मध्यान्हतिर टोलभरिका महिलाले एक ठाउँमा भेला भएर जिमुतवाहन व्रतको महत्त्व, पर्वको शुभारम्भ, जिमुतवाहन देवताका बारेमा व्रतालु महिलाले कथावाचन गर्छन् र सबैले कथा श्रवण गरेपछि आ–आफ्ना घर फर्किन्छन् । साँझतिर आँगनमा गाईको गोबरले लिपपोत गरेर एउटा सानो खाल्डो खनेर पोखरीको निर्माण गरिन्छ ।
त्यो पोखरीको डिलमा पाकडी रुखको सानो हाँगा गाड्नुका साथै हाँगामा माटोको चिलको आकृति र हाँगामुनि स्यालको आकृति बनाउँछन् । त्यहाँ जलले भरिएको कलशमा कुशको जिमुतवाहनको मूर्ति राखिन्छ र फलफूल लिएर जिमुतवाहनको व्रतालु महिलाले पूजापाठ गर्छन् ।
भोली आइतबार, भने पारण गरेर व्रत समापन गरिन्छ । पारणको ठ्याक्कै समय भने स्थानीय पञ्चाङ्ग तथा परम्पराअनुसार फरक हुन सक्छ । नवमी तिथिमा स्नानादि गरी पवित्र भई पूर्ववत् जिमुतवाहनलाई नैवेद्य अर्पण गरी प्रसाद ग्रहण गरिन्छ । यसरी व्रतको पारण गरिन्छ ।
यस पर्वमा थुक पनि निल्न नहुने र ३६ घण्टासम्म निराहार उपवास व्रतमा बसी व्रतलाई खण्डित पनि गर्न नपाउने नियम रहेकाले यो पर्वलाई कठोर पर्वका रूपमा पनि लिइन्छ । धार्मिक आख्यानमा जितियालाई राजा जीमूत वाहनको त्याग र बलिदानसँग जोडिन्छ ।
अर्काको सन्तानको जीवन जोगाउन उनले गरेको त्यागको कथा यस पर्वको मूल भावसँग जोडिएको छ । त्यसैले जितिया केवल उपवास र पूजाको पर्व मात्र नभई, सन्तानप्रतिको माया, त्याग र जीवन रक्षाको भाव बोकेको सांस्कृतिक पर्व पनि हो ।
जितिया नजिकिँदै गर्दा मिथिलाका कतिपय घरमा भान्साको माहोल नै फरक हुन्छ । कतै मडुवाको रोटी पाकिरहेको हुन्छ, कतै स्थानीय माछाको झोल तयार भइरहेको हुन्छ । बाहिर पर्वको तयारी चलिरहँदा घरभित्र आमाहरू पूजा सामग्री जुटाउन व्यस्त हुन्छन् ।
भोलिपल्टदेखि निर्जला व्रत बस्नुपर्ने भए पनि अघिल्लो दिन परिवारका सदस्यका लागि खाना पकाउने, खुवाउने र व्रतको तयारी गर्ने जिम्मेवारी उनीहरूकै काँधमा हुन्छ । यही दृश्यले जितियाको धार्मिक पक्षसँगै यसको पारिवारिक र भावनात्मक पक्षलाई पनि उजागर गर्छ।
मिथिलाका कतिपय परिवारमा जितियाको अघिल्लो दिन माछ–मडुवा खाने चलन छ। मडुवा अर्थात् कोदोको रोटी र स्थानीय माछाको यो संयोजन आजका पुस्तालाई अलि अनौठो लाग्न सक्छ। सामान्यतः धेरै धार्मिक व्रतको अघिल्लो दिन मांसाहारी खाना त्यति सामान्य मानिँदैन ।
तर जितियाको लोकपरम्परामा माछ–मडुवाले छुट्टै स्थान बनाएको छ । यद्यपि यो सबै समुदाय, परिवार वा ठाउँमा अनिवार्य चलन भने होइन। मिथिलाको भूगोल र समुदायअनुसार जितिया मनाउने विधि, खानपान र पूजाका परम्परामा फरक पाइन्छ ।
माछ–मडुवाको परम्परालाई मिथिलाको पुरानो ग्रामीण जीवनसँग जोडेर हेर्न सकिन्छ । पहिले मडुवा सहजै उत्पादन हुने रैथाने अन्न थियो। चामल र गहुँ तुलनात्मक रूपमा सम्पन्न परिवारको मुख्य खानामा पर्ने बेला मडुवा धेरै ग्रामीण तथा विपन्न परिवारको भरपर्दो खाद्यान्न थियो।
आफ्नै खेतमा उत्पादन गर्न सकिने, घरमै पिस्न सकिने र लामो समयसम्म प्रयोग गर्न सकिने भएकाले यसको महत्त्व थियो। त्यसैगरी मिथिलाका नदी, पोखरी, तलाउ र खोल्सामा पाइने ट्याङ्ग्रा, पोठी, गरै, झिँगेजस्ता साना स्थानीय माछा सामान्य परिवारको पहुँचमा थिए।
त्यसैले माछ–मडुवा केवल एउटा परिकार होइन, स्थानीय उत्पादन र जीवनशैलीसँग जोडिएको खानाको परम्परा पनि हो। आजभोली कोदो अर्थात् मडुवा फेरि पोषणका कारण चर्चामा आएको छ। आधुनिक पोषण विज्ञानले कोदोमा फाइबर, खनिज, प्रोटिनलगायत विभिन्न पोषक तत्त्व पाइने बताउँछ ।
माछा उच्च गुणस्तरको प्रोटिन र शरीरका लागि आवश्यक केही फ्याटी एसिडको स्रोत हो । यसरी हेर्दा पुस्तौँदेखि चलिआएको स्थानीय खाद्य संस्कृतिमा आजको विज्ञानले भनेको पोषणको राम्रो संगम भेटिन्छ । यता जितियाको मुख्य धार्मिक पक्ष भने व्रत र पूजा हो ।
व्रतका दिन आमाहरू निर्जला उपवास बस्छन् । अर्थात् दिनभरि पानीसमेत नखाई सन्तानको दीर्घायु र स्वास्थ्यका लागि प्रार्थना गर्छन् । जीमूतवाहनको पूजा गरिन्छ र जितियासँग सम्बन्धित व्रत कथा सुनिन्छ । चिल र स्यालसँग जोडिएको लोककथा पनि यस पर्वको महत्त्वपूर्ण हिस्सा हो ।
यी धार्मिक आख्यान र लोककथाको केन्द्रमा त्याग, निष्ठा, सन्तानप्रतिको माया र जीवन रक्षाको भावना रहेको पाइन्छ । अर्थात एउटै पर्वमा धर्म छ, लोककथा छ, पारिवारिक सम्बन्ध छ, स्थानीय खानपान छ र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको सांस्कृतिक स्मृति पनि छ ।
माछाले मिथिलाको नदी, पोखरी र जलाशयसँगको सम्बन्ध सम्झाउँछ भने मडुवाले माटो, कृषि र रैथाने अन्नको कथा सुनाउँछ । माछा पानीसँग जोडिन्छ, मडुवा माटोसँग । यी दुवैको बीचमा परिवार र मातृत्वको भावना जोडिएको छ ।
जितियाको अघिल्लो दिन माछ–मडुवा खाने चलनलाई केवल ‘व्रतअघिको खाना’ भनेर हेर्दा यसको सांस्कृतिक अर्थ केही साँघुरो हुन सक्छ । यो स्थानीय स्रोतमा आधारित खानपान, पुरानो ग्रामीण अर्थतन्त्र र पारिवारिक परम्पराको निरन्तरता पनि हो ।
समयसँगै खानपान बदलिएको छ, जीवनशैली बदलिएको छ र धेरै पुराना अभ्यासहरू हराउँदै पनि गएका छन्। तर यस्ता पर्वले ती पुराना स्वाद र सम्झनालाई नयाँ पुस्तासम्म पु¥याउने काम गर्छन् । सबैभन्दा महत्त्वपूर्ण कुरा, जितियाको वास्तविक केन्द्र माछा वा मडुवा मात्र होइन ।
यसको केन्द्रमा छ, आमाको माया र त्याग । त्यसैले जितियाको माछ–मडुवामा केवल स्वाद छैन, एउटा इतिहास छ । त्यसमा मिथिलाको माटोको सुगन्ध छ, पोखरी र नदीसँग जोडिएको जीवनको कथा छ, पुर्खाहरूको खानपान छ र आमाबाट अर्को पुस्तामा सर्दै आएको परम्परा छ ।
यसको सामाजिक, सांस्कृतिक र धार्मिक अर्थ बुझ्दै नयाँ पुस्तासम्म पु¥याउनु नै यसको वास्तविक संरक्षण हो । यस्तै प्रकृति र पर्यावरणका विविध पक्षसँग गहिरो साइनोको निरन्तरताको प्रतीक रहेको जितिया पर्वले वनस्पतिक सम्पदाको संरक्षण तथा टेवालाई बल पु¥याइ रहेको छ ।
घिरौँलाका पात, फूल, तोरीको तेल, खरी, नरिवल, काँक्रा, केराउ, केरा केराको पात, बाँसको पात, पान पूजा सामग्रीका रूपमा प्रयोगले यसको पुष्टि गर्दछ । माटाका स्याल चिल बनाइ पूजाले पनि यसको विशिष्टतालाई उजागर गर्दछ ।



