फ्लाईदुबईका सहपाइलटको पहिचान खुल्यो, आतंकवादी सम्बन्ध भेटियो!

१७ असोज ८३, शनिबार
Share this
740shares

१७ असोज , काठमाण्डौ ।

Advertisement

गत बुधबार यूएईको दुबईबाट इजरायलको तेल अभिभ जाँदै गर्दा फ्लाई दुबईका क्याप्टेन भारतीय नागरिक स्मित मच्छारलाई चक्कुले हानेर घाइते बनाउने सहपाइलट ओमानी नागरिकबारे केही खुलासा भएको छ । अमेरिकी सञ्चार माध्यम सीएनएनले स्रोतलाई उधृत गर्दै उल्लेख गरेअनुसार ती सहपाइलट ओमानका नागरिक हमाम अल–हम्मामी हुन् ।

साउदी सरकारी सञ्चारमाध्यमले पनि उनको पहिचान यही भनेको छ । उनी संयुक्त अरब इमिरेट्स (यूएई) मा ओमानी बुबा र सिरियाली आमाका सन्तानका रूपमा जन्मिएका थिए । उनले जीवनका केही वर्ष यूएईमै बिताएका थिए । हमाम अल–हम्मामीको नाममा रहेको लिंक्डइन प्रोफाइलमा उल्लेख भएअनुसार उनले ओमान एयरमा सात वर्ष काम गरेका थिए ।

Advertisement

फेब्रुअरी २०२५ मा भने त्यहाँबाट बाहिरिए; त्यसपछि जुन २०२५ मा रोयल एयर मारोकमा आबद्ध भए तर जनवरी २०२६ मा त्यहाँबाट पनि बाहिरिए । उक्त पेजमा फ्लाई दुबईको कुनै कुरा उल्लेख छैन ।
सीएनएनले लेखेको छ, एक स्रोतले उक्त प्रोफाइल बुधबारको घटनामा संलग्न फ्लाई दुबईका सहपाइलटकै भएको पुष्टि गरेको छ । यद्यपि त्यसयता उक्त प्रोफाइल हटाइसकिएको छ ।

त्यस क्षेत्रका एक कूटनीतिज्ञ रहेका दोस्रो स्रोतले सीएनएनलाई बताएअनुसार ती व्यक्तिलाई उनको अतिवादी (कट्टरपन्थी) सोचका कारण उडान तालिमबाट हटाइएको थियो र ओमानको राष्ट्रिय एयरलाइनमा अर्को जिम्मेवारी दिइएको थियो ।

Advertisement

एबीसी न्युजले पनि अधिकारीहरूलाई उधृत गर्दै २०२४ मा ओमान एयरका लागि सह–पाइलट प्रशिक्षार्थीको रूपमा काम गर्दा हमाम अल–हमामीसँग अतिवादी सामग्री फेला परेको उल्लेख गरेको छ । तर पनि उनलाई एयरलाइनमा प्रशासनिक भूमिकामा काम गर्न अनुमति दिइएको स्रोतले बताएको छ ।

इजरायली अधिकारीले सीएनएनलाई बताएअनुसार अल–हम्मामीले ’फ्लाई दुबई’मा काम गरेको जम्मा आठ महिना मात्र भएको छ । अर्का एक स्रोतका अनुसार ती आक्रमणकारीले यसअघि ’रोयल एयर मारोक’मा काम गरेका थिए । यद्यपि फ्लाई दुबई स्वयंले भने ती सहपाइलटका विषयमा अहिलेसम्म केही बताएको छैन ।

लिङ्क्डइन प्रोफाइलमा दुई वटा पोस्ट मात्र गरिएका थिए । दुवै पोस्ट बुधबारको घटनाको करिब नौ घण्टापछि प्रकाशित भएका थिए । यी पोस्ट कसले प्रकाशित ग¥यो भन्ने स्पष्ट भएको छैन । ती पोस्ट पहिले नै सेड्युल गरिएका थिए कि भन्ने पनि खुलेको छैन ।

पहिलो पोस्टमा बोइङ ७३७ म्याक्स विमानको ककपिट भित्रका धेरै भिडियो क्लिप थिए । बुधबार साउदी अरबतर्फ मोडिएको फ्लाईदुबईको विमान ७३७ म्याक्स ८ थियो । सीएनएनले एउटा भिडियो क्लिप दुबई इन्टरनेसनल एअरपोर्टको भएको पहिचान गरेको छ । भिडियो बनाउने व्यक्तिले इजरायली एयरलाइन एल अलको विमानमा जुम गर्छ ।

भिडियोमा ककपिट स्क्रिनमा उडान नम्बर ओएमए ६२४ देखिन्छ । स्क्रिनमा ११ अक्टोबर २०२३ को मिति पनि देखिन्छ । यो उडान नम्बर सामान्यतया दुबईबाट मस्कट जाने उडानको हो । यो मिति उनी ओमान एयरमा कार्यरत रहेको समयसँग मिल्छ । भिडियोका अन्य क्लिपमा एल अलका अरू विमान देखिन्छन् ।

भिडियोमा अर्को इजरायली एयरलाइन अर्कियाको विमान पनि देखिन्छ । वाल स्ट्रिट जर्नलले पनि आफ्नो रिपोर्टमा यो कुरा लेखेको छ । प्रतिबन्धका बाबजुद पाइलटलाई फ्लाईदुबईले जागिरमा राखेको थियो । उसलाई यूएई र इजरायल बीचको संवेदनशील मार्गमा उडान गर्ने अनुमति दिइएको थियो।

अनुसन्धानबारे जानकारी भएका अन्य व्यक्तिहरूले आक्रमणकारी ओमानका नागरिक हमाम अल–हमामी भएको बताएका छन् । ओमानले पाइलटको कट्टरपन्थी विचारबारे अन्य देश वा एयरलाइनलाई जानकारी दिएको थियो कि थिएन भन्ने खुलेको छैन।

उसको कट्टरपन्थको प्रकृतिका बारेमा पनि जानकारी पाउन सकिएको छैन । वाल स्ट्रिट जर्नलका अनुसार यो घटनाको अनुसन्धान यूएईको नेतृत्वमा भइरहेको छ । यूएईका प्रवक्ताले ओमानमा आक्रमणकारीको पुरानो रेकर्डबारे टिप्पणी गर्न अस्वीकार गरेका छन्।

अनुसन्धानको नतिजामा असर नपुगोस् भनेर टिप्पणी नगरिएको प्रवक्ताले बताएका छन्। शुक्रबार यूएईका राष्ट्रपतिका वरिष्ठ कूटनीतिक सल्लाहकार अनवर मोहम्मद गर्गाशले पहिलोपटक यो घटनालाई आतंकवादी कार्य भनेका छन्। उनले फ्लाईदुबई विमान अपहरणको प्रयासलाई आतंककारी कृत्य भनेका हुन् ।

‘पाइलट स्मित मच्छर प्रशंसाको हकदार छन्। गम्भीर आतंकवादी खतरा र सम्भावित विपत्तिको अगाडि उनले साहस र जिम्मेवारीको सच्चा परिचय दिए’,गर्गाशले एक्समा लेखेका छन्, ‘घटनाको सरल व्याख्या वा षड्यन्त्रका सिद्धान्तहरूको प्रचारभन्दा पर रहेर चरमपन्थ र आतंकवादका खतराहरूसँग जुध्न सतर्कता र सावधानी अपनाउनु अति आवश्यक छ।’

इजरायली प्रधानमन्त्री नेतान्याहुले आक्रमणकारीको झुकाव इस्लामिक कट्टरपन्थतर्फ रहेको बताएका छन्। आक्रमणकारी विमानका यात्रुहरूलाई लिएर विमान दुर्घटना गराउने नियतले आएको नेतान्याहुले बताएका छन्।

विमान सुरक्षा मामिलाका विश्लेषकहरूले यो घटनालाई सुरक्षा व्यवस्थाको गम्भीर त्रुटि भनेका छन् । अनुसन्धानको गल्तीले हतियार विमानसम्म पुग्न सक्ने उनीहरूको भनाइ छ । तर आक्रमणको नियत भएको व्यक्तिलाई विमानस्थल पुग्नु अघि नै रोक्नुपर्ने विश्लेषकहरू बताउँछन् ।

नेतान्याहुले उडानका क्रममा के भयो भन्ने कुरा अहिले स्पष्ट हुँदै गएको बताएका छन् । आक्रमणकारी ओमानको नागरिक भएको प्रधानमन्त्रीले पुष्टि गरेका छन् । उसको पहिचानसँग जोडिएका अन्य जानकारी अझै स्पष्ट भएका छैनन्। पाइलटले यो काम एक्लै ग¥यो वा अरू कसैसँग मिलेर गर्यो भन्नेबारे इजरायलले अनुसन्धान गरिरहेको छ ।

शुक्रबार क्याप्टेन स्मित मच्छारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई घटनाको विवरण दिएका छन्। दोस्रो पाइलटले लगातार आक्रमण गर्दा आफूले भुईँमा लडेर ककपिटको ढोका खोलिदिएको उनले बताएका छन्।

स्मित मच्छारले भनेका छन्, ‘त्यतिबेला म आफ्नो ज्यान बचाउन संघर्ष गरिरहेको थिएँ। म यति नराम्ररी घाइते भएको थिएँ कि लडेको थिएँ र म सोचिरहेको थिएँ कि यदि म उठ्न सकिनँ भने के होला। मलाई त्यतिबेला थाहा थियो कि मलाई केवल धकेल्नु छ, ढोका त्यहीँ थियो। त्यसपछि मैले त्यसलाई खोलिदिएँ र सबै मानिसहरू भित्र आए।’

विमानका कप्तान र सह–पाइलटलाई बिहीबार साउदी अरबबाट यूएई ल्याइएको थियो । विमानले साउदी अरबमा आपतकालीन अवतरण गरेको थियो। इजरायलले आक्रमणकारीसँग सोधपुछ गर्न पाउने आशा व्यक्त गरेको छ ।

फ्लाईदुबईले शुक्रबार आफ्ना मुख्य कार्यकारी अधिकृतको भनाइ उद्धृत गर्दै विज्ञप्ति जारी गरेको थियो । अधिकारीहरूको अनुरोधमा फ्लाईदुबईले तेल अभिवका लागि उडान अस्थायी रूपमा स्थगित गरेको छ। यो स्थगन अर्को सूचना नभएसम्म लागू हुनेछ। विज्ञप्तिमा भनिएको छ, ‘सम्बन्धित अधिकारीहरूको नेतृत्वमा र फ्लाईदुबईको पूर्ण सहयोगमा आधिकारिक अनुसन्धान भइरहेको छ।’

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top