१८ असोज , काठमाण्डौ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार, आज कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भू–भाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भू–भागमा पश्चिमी वायुको प्रभाव रहेको छ । त्यस्तै, कोसी, मधेस, वाग्मती प्रदेशका सबै भू–भाग, गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भू–भागमा भने मनसुनी वायुको आंशिक प्रभाव रहेको छ ।
दिउँसो कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागमामा आंशिक बादल लाग्नेछ । तराई भू–भागमा आंशिक बादल लाग्नेछ ।

यस्तै कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने महाशाखाले जानकारी दिएको छ ।
यसैबीच जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका सम्पूर्ण भूभागबाट मनसुन पूर्ण रूपमा बाहिरिएको छ। विभागका मौसमविद् सञ्जीव अधिकारीका अनुसार शनिबारदेखि नेपालको पश्चिमी क्षेत्रबाट मनसुन बहिर्गमन सुरु भएको हो।

सुदूरपश्चिम र कर्णालीसँगै लुम्बिनी प्रदेशका पश्चिमी अधिकांश भूभाग तथा गण्डकी प्रदेशको पश्चिमतर्फका केही भूभागबाट पनि मनसुन बाहिरिसकेको विभागले जनाएको छ।मनसुन बाहिरिन थालेसँगै अब देशभरको मौसममा क्रमशः सुधार आउने अपेक्षा गरिएको छ।
तर मनसुन बाहिरियो भन्दैमा तत्कालै सबै ठाउँमा पानी पर्न पूर्ण रूपमा बन्द हुने भने होइन। मौसमविद्हरूले पश्चिमी वायुको प्रभावका कारण आगामी दिनमा पनि देशका विभिन्न भूभागमा हल्का तथा मध्यम वर्षा हुन सक्ने बताएका छन्।
विभागले मनसुन बहिर्गमनको अवस्थालाई नियमित रूपमा अनुगमन गरिरहेको जनाएको छ। बाँकी भूभागबाट पनि क्रमशः मनसुन बाहिरिँदै जाने र त्यसपछि पश्चिमी वायुको प्रभावले मौसममा पार्न सक्ने असरबारे आवश्यक जानकारी सार्वजनिक गरिने विभागको भनाइ छ।
मौसमविद् अधिकारीका अनुसार मनसुन बाहिरिँदैमा आकाश सधैँ खुला रहने वा पानी पर्नै छाड्ने अवस्था हुँदैन। पश्चिमी वायु सक्रिय भएमा देशका केही स्थानमा वर्षा हुन सक्छ। त्यसैले मौसममा सुधार देखिए पनि तत्कालै पूर्ण रूपमा ढुक्क भइहाल्ने अवस्था भने नरहेको उनको भनाइ छ।यद्यपि, तत्कालका लागि ठूलो वर्षाको जोखिम भने देखिएको छैन।
विभागले आगामी २४ घण्टामा देशका कुनै पनि क्षेत्रमा भारी वर्षाको सम्भावना नरहेको जनाएको छ। पछिल्लो २४ घण्टामा लमजुङको फलेनी केन्द्रमा मात्र भारी वर्षा मापन भएको र अन्य अधिकांश क्षेत्रमा ठूलो पानी नपरेको विभागले जनाएको छ।
हिमाली क्षेत्रमा आंशिक बदली मात्र रहेको मौसम विभागको भनाइ छ। पछिल्लो २४ घण्टामा तराईका भूभागमा उल्लेख्य वर्षा भएको छैन। लुम्बिनी प्रदेशलगायत केही पहाडी तथा हिमाली भूभागका सीमित स्थानमा भने हल्कादेखि मध्यम वर्षा भएको विभागले जनाएको छ।
यता कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली मात्र रहने र अपराह्नपछि एक–दुई स्थानमा सामान्य वर्षा हुन सक्ने मौसमविद् अधिकारीले बताएका छन्। पश्चिमी तराईका अधिकांश भूभागमा भने शनिबार दिउँसो पानी पर्ने सम्भावना नरहेको विभागको पूर्वानुमान छ।
शनिबार रातिदेखि मौसममा थप सुधार आउने अनुमान गरिएको छ। राति कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुन सक्ने भए पनि पश्चिमी क्षेत्रमा वर्षाको सम्भावना नरहेको विभागले जनाएको छ। अहिले देशभर कुनै मौसमी चेतावनी जारी गरिएको छैन।
विभागले सबै भूभागलाई सामान्य अवस्थाको संकेत गर्दै हरियो रङमा राखेको छ। यसको अर्थ तत्काल ठूलो मौसमी जोखिम नरहेको बुझिन्छ। तर मौसम सामान्य बन्दै गएको अवस्थामा पनि किसानका लागि भने केही सावधानी आवश्यक देखिएको छ।
अहिले धेरै ठाउँमा धान भित्र्याउने समय सुरु भइसकेको छ। यस्तो अवस्थामा केही समयका लागि हुने हल्का वर्षाले पनि काटेर राखिएको धान तथा अन्य कृषि उपजमा असर पार्न सक्छ। त्यसैले किसानलाई मौसम सफा देखियो भन्दैमा मात्र भर नपरी नियमित मौसम पूर्वानुमान हेरेर धान भित्र्याउने तथा कृषि कार्य अघि बढाउन विभागले सुझाव दिएको छ।
सुदूरपश्चिम र कर्णालीबाट मनसुन पूर्ण रूपमा बाहिरिसकेको अवस्थामा अब क्रमशः देशका अन्य भूभागबाट पनि मनसुन बाहिरिने देखिएको छ । मनसुनको बिदाइसँगै भारी वर्षा, बाढी र पहिरोजस्ता मनसुनी जोखिम क्रमशः घट्ने अपेक्षा गरिए पनि मौसम पूर्ण रूपमा स्थिर भइसकेको भने होइन।
आगामी दिनमा पश्चिमी वायुको प्रभाव र स्थानीय मौसमी प्रणालीका कारण कतिपय स्थानमा वर्षा हुन सक्ने भएकाले मौसमको नियमित अपडेटमा ध्यान दिनुपर्ने देखिन्छ।



