१९ असोज , काठमाण्डौ ।
मनसुन नेपालबाट बाहिरिने क्रम सुरु भए पनि आगामी दिनमा वर्षाको गतिविधि बढ्ने मौसमविद्ले बताएका छन् । आजदेखि पर्सिसम्म वर्षा अलि धेरै हुने सम्भावना रहेको मौसमविद्को भनाइ छ । त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलका अनुसार पूर्वी नेपालमा मनसुनी प्रणाली बाँकी रहेको, बंगालको खाडी र अरेबियन सागरबाट जलवाष्पयुक्त वायु आइरहेकाले वर्षाको गतिविधि बढ्ने भएको हो ।
मौसमविद पोखरेल भन्छन्, ‘अहिलेसम्मको अवस्था हेर्दाखेरि लगभग दशैंको घटस्थापनाको अघिल्लो दिनसम्म धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको छ ।’ दशैंको घटस्थापनाको दिन भने पानी पर्ने क्रम अलि कम हुने उनको अनुमान छ ।

नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् माधवी सिग्देलले पनि आजदेखि देशका विभिन्न भूभागमा वर्षाका गतिविधि छिटपुट रूपमा जारी रहने बताइन् । महाशाखाले तीन दिनसम्म मात्र मौसम पूर्वानुमान सार्वजनिक गर्ने गरेको छ ।
आगामी तीन दिनसम्मै वर्षाको गतिविधि जारी रहने मौसमविद सिग्देलले बताइन् । आगामी दिनमा विशेषगरी पश्चिमी भूभागमा वर्षाका गतिविधि बढ्ने सम्भावना रहेको उनले जानकारी दिइन् । मौसमविद्का अनुसार आज पनि वर्षाको सम्भावना छ ।

आज दिउँसो काठमाडौं उपत्यकासहित देशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा र तराईका पनि केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् सिग्देलको भनाइ छ । यस्तै मौसमविद पोखरेलका अनुसार भोलि असोज २० गते पहाडी भेगका धेरै ठाउँमा वर्षाको सम्भावना छ ।
पर्सि असोज २१ गते पश्चिमदेखि पूर्वका अझै धेरै ठाउँमा वर्षाको सम्भावना छ । मौसमविद पोखरेलका अनुसार २१ गते सुदूरपश्चिमका एक–दुई ठाउँमा भारी वर्षा हुने सम्भावना पनि रहेको छ । गत २४ घण्टामा भने कर्णालीदेखि कोशीसम्म नै वर्षा भएको छ ।
खासगरी कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यमदेखि भारी वर्षा भएको छ । एक घण्टायता पनि लुम्बिनी प्रदेशको बर्दियाको बर्गद्धा, अर्घाखाँचीको सिमलपानी र दाङको गढवामा पानी परिरहेको छ ।
मौसम विज्ञान विभागका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य तथा मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लागेको छ । महाशाखाका अनुसार केही स्थानमा तुवालोसमेत लागेको छ ।
मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाको बुलेटिनमा लेखिएअनुसार मधेश, कोशी, बागमती, गण्डकीको तराई भू–भागका थोरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ ।
पूर्वी भूभागमा अझै मनसुनको प्रभाव कायम छ । यस्तै कोशीसहित मधेश, बागमती प्रदेशको सबै भू –भाग र गण्डकी र लुम्बिनी प्रदेशको बाँकी भू–भागमा मनसुनी वायुको साथै पश्चिमी वायूको आंशिक प्रभाव समेत रहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भू–भाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भू–भागमा पश्चिमी वायुको प्रभाव छ ।
यसको प्रभावले सोमबार बिहान लुम्बिनी प्रदेशमा भारी वर्षा भएको हो । विहान एक घन्टामा बाँकेको ढकेरीमा ५२ मिलिमिटर वर्षा भएको छ । बैजपुरमा २५ मिलिमिटर वर्षा एक घन्टामै मापन भएको छ । पछिल्लो चौबिस घन्टामा कोशीदेखि लुम्बिनी प्रदेशसका पहाड र तराईका भूभागमा वर्षा भएको छ।
केही ठाउँमा भारी वर्षा मापन भएको छ । झापाको अनारमनी बिर्तामा ५२.४ मिलिमिटर वर्षा भएको छ। पाँचथरको मेमेङ जगातमा ५५.८ मिलिमिटर, संखुवासभाको खाँदबारीमा ६२.८ मिलिमिटर, सुनसरीको चतरामा ४३.६ मिलिमिटर वर्षा भएको छ ।
त्यस्तै कपिलवस्तुको रंगाईमा ६३ मिलिमिटर, रूपन्देहीको तुसारेपानीमा ४३.८ मिलिमिटर, बर्दियाको सानो श्री चेपाङमा ५२.६ मिलिमिटर वर्षा पछिल्लो चौबीस घन्टामा भएको छ। सोमबार दिउँसो पनि मधेश प्रदेश, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा मध्यम सम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
राति कोशी, बागमती, गण्डकी प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेश पहाडी भू–भागको थोरै स्थानमा मध्यम सम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
मधेश प्रदेश, कोशी, बागमती, गण्डकी प्रदेशको तराई भू–भागका थोरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागको एक–दुई स्थानमा राति पनि मध्यम सम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
कमजोर पश्चिमी वायुको प्रभावसँगै माथिल्लो वायुमण्डलीय प्रवाहका कारण नेपाल आसपास न्यूनचापीय प्रणालीहरू बारम्बार सक्रिय भइरहेकाले वर्षा भइरहेको मौसमविद् पोखरेलले बताए। पश्चिमी वायुबाट भूमध्यसागरीय क्षेत्रतर्फको आद्र्रता तथा बंगालको खाडी र अरब सागरबाट समेत केही आद्र्रता नेपालतर्फ आइरहेको उनको भनाइ छ ।
’पूर्वी नेपालमा अलिकति मनसुन बाँकी नै रहेको अलिकति पश्चिममा र वेअफ बंगाल र अरबन सीबाट पनि अलिकति आद्र्रता आइराखेको छ। त्यही कारणले पानी परिरहेको छ,’ उनले भने। पोखरेलका अनुसार आज दिनभरि नै देशका धेरै ठाउँमा वर्षाको सम्भावना रहेको हो ।
पनि मंगलबार पहाडी क्षेत्रमा अझ धेरै स्थानमा पानी पर्ने देखिएको छ भने पूर्वी नेपालमा वर्षाको मात्रा तुलनात्मक रूपमा बढी हुनसक्नेछ। पर्सिदेखि वर्षाको गतिविधि पूर्वबाट पश्चिमतर्फ विस्तार हुने उनको पूर्वानुमान छ ।
सुदूरपश्चिमका केही स्थानमा छोटो समयका लागि भारी वर्षा हुनसक्ने भए पनि लामो समयसम्म लगातार भारी वर्षा हुने अवस्था नरहेको उनले बताए। गण्डकी, कर्णाली, लुम्बिनी हुँदै सुदूरपश्चिमसम्म वर्षाको सम्भावना रहने तथा काठमाडौं उपत्यकामा पनि आजदेखि तीन दिनसम्म राम्रै पानी पर्ने देखिएको पोखरेलको भनाइ छ।
तीन दिनपछि वर्षाको मात्रा केही घट्ने भए पनि पूर्ण रूपमा रोकिने अवस्था भने नरहने उनले बताए। घटस्थापनाको दिनसम्म वर्षा केही कम हुने र त्यसपछि घाम लाग्ने अवस्था बन्नसक्ने उनको पूर्वानुमान छ। पोखरेलले आगामी एक सातामा नेपालभर औसतमा ५० देखि ६० मिलिमिटरसम्म वर्षा हुनसक्ने बताएका छन्।
यो अनुमान चारवटा मौसम पूर्वानुमान मोडलको औसतका आधारमा तयार गरिएको उनले स्पष्ट पारे। मध्यपहाडी क्षेत्रमा तुलनात्मक रूपमा बढी तथा हिमाली क्षेत्रमा पनि वर्षा हुने र तराईमा भने केही कम वर्षा हुने देखिएको छ ।
उनले मौसमको पूर्वानुमान मोडलमा आधारित हुने भएकाले वर्षाको समय, स्थान र वास्तविक मात्रा फरक पर्न सक्ने भन्दै सावधानी अपनाउन आग्रह गरेका छन्। विशेषगरी ट्रेकिङमा जाने तथा धान काट्ने समयको योजना बनाउनेहरूले दैनिक वर्षाको पूर्वानुमान हेरेर योजना बनाउन उनले सुझाव दिएका छन् ।



