भाइरल ‘ओशो साधना’ भिडियोको वास्तविकता के हो?

१९ असोज ८३, सोमबार
Share this
694shares

१९ असोज , काठमाण्डौ ।

Advertisement

केही दिनदेखि सामाजिक सञ्जाल, खासगरी टिकटकमा सेतो वस्त्र लगाएका महिला र पुरूष जोडी एक अर्काको सामिप्यतामा साधनारत रहेको तस्बिर र भिडियो भाइरल भइरहेका छन् । धेरैले यसलाई लिएर ओशो तपोवनभित्र अर्काका श्रीमान वा श्रीमतीहरूसँग अशोभनीय क्रियाकलाप हुने गरेको भन्दै आलोचना भइरहेको छ ।

यस विषयमा ओशो साधिका सोविता सिम्खडाले आपत्ति जनाएकी छन् । प्रष्टिकरणसहित उनले भाइरल बनेको दृष्य काठमाडौँको ओशो तपोवनको नभएको बताएकी छन् । सिम्खडाले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै यो सामग्री ओशो तपोवनको नभएको र यसका नाममा गलत अफवाह फैलाइएको भन्दै खण्डन गरेकी हुन् ।

Advertisement

सामाजिक सञ्जालमा कुनै पनि सामग्री देख्नेबित्तिकै त्यसको स्रोत, सत्यता र आधिकारिकता नबुझी सेयर गर्ने प्रवृत्तिका कारण भ्रम फैलिएको उनले गुनासो गरेकी छन् । ‘एउटा गलत क्याप्सन, एउटा झुटो दाबी र हतारमा गरिएको सेयरले वर्षौँदेखि निर्माण भएको संस्था, आश्रम वा व्यक्तिको विश्वास, प्रतिष्ठा र सामाजिक साखमा अनावश्यक चोट पु¥याउन सक्छ,’ उनी भन्छिन् ।

ओशो तपोवन केवल एउटा नाम वा भौतिक स्थान मात्र नभएर ध्यान, साधना, मौन, प्रकृति र आन्तरिक रूपान्तरणसँग जोडिएको आध्यात्मिक स्थल भएको सिम्खडाको भनाइ छ। तपोवन र यससँग आबद्ध आश्रमहरूमा त्यस्ता गतिविधिहरू नहुने उनले स्पष्ट पारेकी छन्।

Advertisement

सामाजिक सञ्जालमा देखिने केही सेकेन्डको भिडियो वा क्याप्सनका आधारमा बाहिरै बसेर अनुमान, हल्ला र अफवाह फैलाउनु भन्दा स्वयं आश्रममा पुगेर, त्यहाँको वातावरण हेरेर र ध्यानमा बसेर मात्र आफ्नो धारणा बनाउन उनलेले आग्रह गरेकी छन् ।

बाहिर बसेर अफवाह सुन्नुभन्दा एकपटक स्वयं पुगेर सत्य अनुभव गर्नु नै बुद्धिमानी हुने उनको स्ट्याटसमा उल्लेख छ ।खासमा यो दृष्य काठमाडौँ ओशो तपोवनका नभए पनि यी दृष्य ओशो आश्रमभित्रकै हुन् । गत अगस्ट १ देखि ५, २०२६ सम्म थाइल्यान्डको फुकेटस्थित कारोन बीचमा ५ रात ६ दिनको ‘ओशो मेडिटेसन क्याम्प’ आयोजना गरिएको थियो ।

‘ओशो लभर्स थाइल्यान्ड’ को व्यवस्थापन र ओशो साधक स्वामी आनन्द दिनेश तथा मा शोभिता (शोभिता सिम्खडा)को उपस्थितिमा अन्तर्राष्ट्रिय ध्यान शिविर भएको हो । सोही शिविरका क्रममा खिचिएका सामूहिक उत्सव, संगीत र नृत्यका छोटा क्लिपलाई टिकटक र फेसबुकमा स्रोत र सन्दर्भ नबुझी सेयर गर्दा नेपालको तपोवन संस्थासँग जोडेर भ्रम पैदा गरिएको छ ।

ओशोका अनुसार आधुनिक मानव मस्तिष्क निकै अशान्त र तनावग्रस्त छ । चौबीसै घण्टाको मानसिक दबाब र चिन्ताका कारण सिधै शान्त भएर आँखा चिम्लेर बस्न (पारम्परिक ध्यान गर्न) आधुनिक मानिसका लागि असम्भव प्रायः हुन्छ ।

त्यसैले ओशोले वैज्ञानिक रूपमा डिजाइन गरिएका ‘सक्रिय ध्यान विधिहरू’ को विकास गरेका थिए । यस अन्तर्गत डायनामिक मेडिटेसन र कुन्डलिनी मेडिटेसन जस्ता विधिहरू पर्दछन्, जसमा सुरुवाती चरणमा गहिरो श्वासप्रश्वास, शरीरलाई कम्पन गराउने, संगीत र उल्लासमय नृत्यमार्फत शरीर र मस्तिष्कमा जमेको तनाव र दमित भावनाहरूलाई बाहिर फालिन्छ ।

शरीर पूर्ण रूपमा हलुका र तनावमुक्त भएपछि मात्र मानिस स्वतः र प्राकृतिक रूपमा गहिरो मौन वा ध्यानमा प्रवेश गर्दछ ।  योगको शाब्दिक अर्थ जोड हो । आत्माको परमात्मासितको जोडलाई नै योग भन्ने गरिन्छ । योग संस्कृत भाषा ‘युज’ बाट आएको हो जसको अर्थ ईश्वरसँग आत्माको मिलन हो। अर्थात् योगमा यति धेरै शक्ति छ कि यसले अमरत्व प्राप्त गर्न सक्छ।

कतिपय मानिसहरूले योगलाई सरल सरल ठान्छन्। तर, यो त्योभन्दा धेरै हो। योग मुख्यतः एक आध्यात्मिक अनुशासन हो, जसमा जीवन शैलीको पूर्ण सार आत्मसात गरिएको छ। रोगीका लागि योग चिकित्सा पद्धति हो भने निरोगीका लागि जीवन पद्दति हो ।

योग भनेको अज्ञानताबाट ज्ञानतर्फ, जडबाट चेतनातर्फ, निर्बलताबाट सवलता, जीवनबाट ब्रहृमतर्फ, प्रत्यक्षबाट परोक्ष एवं सीमितबाट असीमिततर्फको आध्यात्मिक यात्रा हो । केही विद्वान् ऋषिमुनिले योगको अर्थ संयोग अथवा मिलन पनि हो भनेका छन्।

आफ्नो इच्छाशक्तिलाई परआत्माको इच्छाशक्तिमा संयोग गर्नुलाई नै योग भनिन्छ । तर, अहिले योगको परिभाषा बदलिएको छ । अहिले मानिसहरुलाई शारीरिक तथा मानसिक समस्याले सताएको छ । यस अर्थमा अहिले मनसँग शरीरको जोडलाई नै योग भन्न सकिन्छ ।

यस अर्थमा शारीरिक रुपमा स्वस्थ्य, मानसिक रुपमा शान्त र आधात्मिक रुपमा उच्च चेतनायुक्त भएर जिउने कलालाई नै योग भनिन्छ । त्यसैले योग एउटा जीवनशैलीको रुपमा हेर्नुपर्छ र बनाउनुपर्छ । परापूर्वकालमा ऋषिमुनि तथा योगीहरु अदृश्य शक्तिसित आफूलाई जोड्नका लागि योग गर्थे ।

अहिले बद्लिदो जीवनशैली तथा खानपानका कारण मानिसहरुलाई स्वस्थ रहन पनि योग आवश्यक छ । जब मानिस व्यक्तिगत रुपमा शारीरिक र मानसिक रुपमा स्वस्थ्य हुन्छ, त्यसपछि मात्र उसलाई अन्य कुराको चेत आउँछ ।

त्यस्तै, भाइरल भिडियोमा देखिएको दृश्य पनि सोही सक्रिय ध्यानकै एक हिस्सा हो । यस्ता अन्तर्राष्ट्रिय ध्यान रिट्रिटहरूमा कैयौँ मानिसहरू आफ्ना श्रीमान श्रीमती वा जीवनसाथी सँगै सहभागी हुन जान्छन् र उत्सवका क्रममा सँगै नृत्य गर्छन् ।

ओशोको ध्यान पद्धतिमा सामूहिक नृत्य, उत्सव र अङ्गालोलाई मनको अहंकार र तनाव पगाल्ने, तथा सकारात्मक ऊर्जा साटासाट गर्ने एउटा ध्यानकै प्रक्रिया का रूपमा लिइन्छ। त्यहाँ उपस्थित साधकहरूले एकअर्कालाई साधनाको सहयात्रीका रूपमा स्विकार्छन् ।

भिडियोमा देखिएका कतिपय मानिस सँगै आएका आफ्नै वास्तविक जोडी हुन सक्छन् भने कतिपय उत्सवको माहौलमा ध्यानकै प्रक्रिया अन्तर्गत सामूहिक नृत्य गरिरहेका साधकहरू हुने गर्दछन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top