२० असोज , काठमाण्डौ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बाङ्गाबीच अमेरिकाको वासिङ्टन डीसीमा उच्चस्तरीय द्विपक्षीय भेटवार्ता ।
विश्व बैंक अध्यक्ष बाङ्गाको निमन्त्रणामा प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका पुगेका अर्थमन्त्री वाग्लेले भेटका क्रममा नेपालको पुनर्निर्माण, आर्थिक सुधार र सामाजिक संरक्षणका विषयमा छलफल गरेको सचिवालयले दियो जानकारी ।

अर्थमन्त्री वाग्लेले हालै रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट क्षतिग्रस्त भौतिक तथा आर्थिक पूर्वाधारको पुनर्निर्माण, बृहत् आर्थिक सुधार तथा बीमा र सामाजिक संरक्षणका लागि करिब एक अर्ब अमेरिकी डलर बराबरको स्रोत परिचालनबारे विश्व बैंक अध्यक्षसँग घनीभूत छलफल गरेको सचिवालयको भनाइ ।
भेटमा अध्यक्ष बाङ्गाले बाढीबाट नेपालमा भएको क्षतिप्रति दुःख व्यक्त गर्दै पुनर्निर्माणका क्षेत्रमा विश्व बैंकले उल्लेख्य सहयोग गर्ने प्रतिबद्धता जनाएको उल्लेख ।

नयाँ सरकारले अघि बढाएका नीतिगत तथा संस्थागत सुधारका कदमको प्रशंसा गर्दै पूर्वाधारमा लगानी विस्तार र स्वदेशमै रोजगारी सिर्जनामा जोड ।
विश्व बैंकले एसियाली विकास बैंक तथा अन्तर्राष्ट्रिय वित्त निगमलगायत विकास साझेदारसँग समन्वय गरी नेपालको प्राथमिकताका क्षेत्रमा संयुक्त लगानी विस्तारका लागि नयाँ पहल गर्ने जानकारीसमेत बाङ्गाले दिए ।
नेपालका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक डेभिड सिस्लेनका अनुसार तीन दशकपछि विश्व बैंकका अध्यक्ष र नेपालका अर्थमन्त्रीबीच यो पहिलो प्रत्यक्ष द्विपक्षीय भेटवार्ता हो।
भेटमा विश्व बैंकका उपाध्यक्षद्वय जहानस जट र जुनेद अहमदसहित उच्च अधिकारीहरूको सहभागिता थियो।



