फ्लाई दुबई अपहरण प्रकरणमा खुल्यो नयाँ तथ्य, इजरायल मुख्य निशानामा

२० असोज ८३, मंगलबार
Share this
716shares

२० असोज , काठमाण्डौ ।

Advertisement

दुबईबाट इजरायलको तेलअविवतर्फ उडिरहेको फ्लाई दुबईको विमान भित्रै भएको आक्रमण र अपहरण प्रयाससम्बन्धी अनुसन्धानमा नयाँ तथ्य खुलेको छ ।

प्रारम्भिक अनुसन्धानमा उक्त विमान अपहरण गर्ने प्रयासका पछाडि रहेका सह–पाइलट हमाम अल–हमामीले इजरायलको बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थललाई सम्भावित मुख्य निशाना बनाउन खोजेको आशङ्का गरिएको छ।

Advertisement

गत सेप्टेम्बर ३० मा साउदी अरबको हवाई क्षेत्रमा उक्त घटना भएको थियो। विमान नियमित उडानमा रहेका बेला सह–पाइलट हमामीले ककपिटभित्रै पाइलट स्मिथमाथि अचानक आक्रमण गरेका थिए।

उनले बन्चरो प्रयोग गरेर पाइलट स्मित मच्छारमाथि आक्रमण गरेपछि विमानभित्र तनावपूर्ण अवस्था सिर्जना भएको थियो।तर, पाइलट र विमानमा रहेका केही यात्रुको तत्कालको प्रतिरोधका कारण हमामीलाई नियन्त्रणमा लिन सम्भव भएको थियो।

Advertisement

घटनाका क्रममा यात्रु तथा चालक दलका सदस्यहरूले देखाएको साहसका कारण सम्भावित ठूलो हवाई दुर्घटना टरेको बताइएको छ। विमानलाई नियन्त्रणमा लिने प्रयास सफल नभएमा त्यसको परिणाम निकै गम्भीर हुन सक्ने सुरक्षा अधिकारीहरूको आकलन छ।

अमेरिकी सञ्चारमाध्यम सीएनएनले इजरायली अधिकारीहरूलाई उद्धृत गर्दै सार्वजनिक गरेको विवरणअनुसार, घटनापछि इजरायली सुरक्षा निकायले विमान अपहरणको सम्भावित उद्देश्य र त्यसको अन्तिम गन्तव्यबारे अनुसन्धान गरिरहेको छ।

प्रारम्भिक विवरणले विमानलाई नियन्त्रणमा लिएपछि तेलअविवस्थित बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थललाई लक्ष्य बनाउने योजना हुन सक्ने संकेत गरेको छ । इजरायलको प्रमुख अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा रहेको बेन गुरियनमा दैनिक ठूलो संख्यामा अन्तर्राष्ट्रिय उडानहरू सञ्चालन हुने गर्छन्।

त्यसैले विमान अपहरणको सम्भावित लक्ष्यका रूपमा उक्त विमानस्थलको नाम जोडिएपछि इजरायली सुरक्षा निकायहरू थप सतर्क बनेका थिए। इजरायली सञ्चारमाध्यम च्यानल १२ न्युजले पनि बेन गुरियन विमानस्थल नै अपहरणकारीको सम्भावित मुख्य लक्ष्य रहेको दाबी गर्दै समाचार सार्वजनिक गरेको थियो।

घटनाबारे जानकारी प्राप्त भएपछि इजरायलले आफ्ना लडाकु विमानहरूलाई समेत उच्च सतर्क अवस्थामा राखेको जनाइएको छ। यद्यपि, अनुसन्धानको प्रारम्भिक निष्कर्षले सह–पाइलट हमामीले यो घटना एक्लैले योजना बनाएर कार्यान्वयन गरेको देखाएको छ।

अहिलेसम्म उनी कुनै अन्तर्राष्ट्रिय आतङ्कवादी संगठनसँग प्रत्यक्ष रूपमा आबद्ध रहेको प्रमाण फेला नपरेको अनुसन्धानमा संलग्न अधिकारीहरूले बताएका छन्। त्यसैगरी, उनले कुनै आतङ्कवादी संगठनबाट विशेष तालिम लिएको वा विमान अपहरणका लागि बाह्य समूहबाट आर्थिक सहयोग प्राप्त गरेको प्रमाणसमेत अहिलेसम्म फेला नपरेको बताइएको छ।

यसका बाबजुद घटनालाई गम्भीर सुरक्षा चुनौतीका रूपमा लिइएको छ र अनुसन्धान विभिन्न कोणबाट अघि बढाइएको छ।संयुक्त अरब इमिरेट्सका महान्यायाधिवक्ताले घटनालाई ‘आतङ्कवादी कार्य’ का रूपमा लिएर अनुसन्धान भइरहेको बताएका छन्।

तर आतंकवादी संगठन अलकायदासँग सम्बन्धित प्रकाशनमा समेत घटनाको प्रशंसा गर्दै अमेरिकी र इजरायली यात्रु बोकेका विमानलाई निशाना बनाउन आह्वान गरिएको खबर सार्वजनिक भएको छ। यसले घटनालाई लिएर सुरक्षा चिन्ता थप बढाएको छ।

न्युयोर्क पोस्टको रिपोर्टअनुसार अलकायदासँग सम्बन्धित समर्थकहरूले आफ्नो हालैको साप्ताहिक प्रकाशनमा सन् २००१ को सेप्टेम्बर ११ अर्थात् ९÷११ को आतंकवादी हमलाको उल्लेख गर्दै त्यस्तै प्रकृतिका हमला दोहोर्याउन आह्वान गरेका छन्।

उक्त सामग्री अलकायदा समर्थक टेलिग्राम च्यानलहरूमा समेत साझा गरिएको थियो, तर पछि हटाइएको बताइएको छ। रिपोर्टअनुसार अरबी भाषामा प्रकाशित उक्त लेखमा हालै दुबईबाट तेल अभिभतर्फ जाँदै गरेको फ्लाईदुबईको उडान एफजेड १०७३ मा भएको गम्भीर घटनाको समेत उल्लेख गरिएको छ।

लेखमा घटनामा संलग्न सहपाइलटको प्रशंसा गर्दै यस्ता थप घटना गराउने धम्कीसमेत दिइएको बताइएको छ। घटनाको वास्तविक उद्देश्य के थियो, हमामीले विमान नियन्त्रणमा लिएपछि के गर्ने योजना बनाएका थिए र उनीसँग अन्य व्यक्तिको कुनै सम्पर्क वा सहयोग थियो कि थिएन भन्ने विषयमा अनुसन्धान केन्द्रित रहेको बताइएको छ।

अनुसन्धानका क्रममा हमामीको विगतसम्बन्धी अर्को महत्वपूर्ण तथ्य पनि सार्वजनिक भएको छ। उनी यसअघि ओमानको राष्ट्रिय विमान सेवामा कार्यरत रहेको र त्यहाँ पाइलट तालिमसमेत लिएको बताइएको छ। तर, उनको ‘कट्टरपन्थी विचार’ का कारण उनलाई पाइलट तालिमबाट हटाएर प्रशासनिक जिम्मेवारीमा पठाइएको विवरण बाहिर आएको छ।

यही पृष्ठभूमिका कारण अहिले विमान सुरक्षासम्बन्धी व्यवस्थामाथि गम्भीर प्रश्न उठेको छ। विगतमा सुरक्षा चासोका कारण पाइलट तालिमबाट हटाइएको व्यक्तिले पछि कसरी व्यावसायिक विमानको ककपिटसम्म पहुँच बनाउन सफल भए भन्ने विषय अनुसन्धानको महत्वपूर्ण हिस्सा बनेको छ।

विशेषगरी विभिन्न देशका विमान सेवा तथा सुरक्षा निकायबीच पाइलटको पृष्ठभूमिसम्बन्धी सूचना कति प्रभावकारी रूपमा आदानप्रदान हुन्छ भन्ने प्रश्न उठेको छ।

एउटा देशमा सुरक्षा जोखिमका रूपमा पहिचान गरिएको व्यक्तिबारे अर्को देशको विमान सुरक्षा प्रणालीलाई पर्याप्त जानकारी थियो कि थिएन भन्ने विषयले पनि अन्तर्राष्ट्रिय हवाई सुरक्षामा नयाँ बहस सिर्जना गरेको छ।

सीएनएनका अनुसार, इजरायली यातायात मन्त्रालयले हालको सुरक्षा प्रक्रियामा पाइलटको नामलाई विशेष रूपमा ‘स्क्यानिङ’ गर्ने व्यवस्था नरहेको स्वीकार गरेको छ। घटनापछि विद्यमान सुरक्षा मापदण्ड तथा प्रक्रियाको पुनरावलोकन गर्नुपर्ने आवश्यकता देखिएको मन्त्रालयको भनाइ छ।

विमान सुरक्षामा सामान्यतया यात्रु तथा विमानस्थलमा प्रवेश गर्ने व्यक्तिको कडा जाँच गरिए पनि चालक दलका सदस्यबाटै सम्भावित जोखिम उत्पन्न हुन सक्ने घटनाले सुरक्षा प्रणालीको अर्को संवेदनशील पक्ष उजागर गरेको छ।

ककपिटभित्र प्रवेश गर्ने व्यक्तिको मनोवैज्ञानिक अवस्था, विगतको व्यावसायिक अभिलेख र सुरक्षा पृष्ठभूमिको नियमित मूल्याङ्कन आवश्यक हुन सक्ने बहससमेत सुरु भएको छ।यस घटनाले विमान अपहरणको जोखिम बाहिरी व्यक्तिबाट मात्र नभई विमान सञ्चालनमा प्रत्यक्ष संलग्न व्यक्तिबाट पनि उत्पन्न हुन सक्ने देखाएको छ।

त्यसैले अन्तर्राष्ट्रिय उड्डयन क्षेत्रमा चालक दलको छनोट, तालिम, पृष्ठभूमि जाँच र सुरक्षा मूल्याङ्कनसम्बन्धी प्रक्रियालाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याइएको छ। हाल घटनाको मुख्य अनुसन्धान यूएईले नेतृत्व गरिरहेको छ।

अनुसन्धानकर्ताहरूले हमामीको विगत, उनको वैचारिक पृष्ठभूमि, विमान अपहरणको सम्भावित उद्देश्य तथा घटनामा अन्य व्यक्ति वा समूहको संलग्नताबारे थप प्रमाण सङ्कलन गरिरहेका छन्। बेन गुरियन विमानस्थललाई नै अन्तिम लक्ष्य बनाइएको थियो भन्ने विषयमा अनुसन्धानको अन्तिम निष्कर्ष आउन बाँकी छ।

तर, प्रारम्भिक विवरणमा उक्त विमानस्थलको नाम जोडिएसँगै घटनालाई सामान्य अपहरण प्रयासभन्दा गम्भीर अन्तर्राष्ट्रिय सुरक्षा चुनौतीका रूपमा हेरिएको छ।विमान अपहरण प्रयासपछि सम्बन्धित देशहरूले आफ्नो हवाई सुरक्षा प्रणालीको पुनरावलोकन गर्नुपर्ने अवस्था सिर्जना भएको छ।

विशेषगरी चालक दलको पृष्ठभूमि जाँच, सुरक्षा सूचना आदानप्रदान, ककपिटको पहुँच नियन्त्रण र सम्भावित जोखिम पहिचान गर्ने संयन्त्रलाई थप बलियो बनाउनुपर्ने देखिएको छ।

अनुसन्धान अघि बढ्दै जाँदा हमामीको वास्तविक उद्देश्य, विमान नियन्त्रणमा लिएपछि उनको सम्भावित योजना र बेन गुरियन विमानस्थलसँग सम्बन्धित लक्ष्यबारे थप तथ्य सार्वजनिक हुने अपेक्षा गरिएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top