२२ असोज , काठमाण्डौ ।
दसैँ सुरु हुन अब केही दिन मात्रै बाँकी छ। काठमाडौं उपत्यकामा अध्ययन, रोजगारी तथा व्यवसायका लागि बस्दै आएका नागरिक यतिबेला धमाधम घर फर्किने तयारीमा छन्। कोही टिकटको खोजीमा छन् भने कोही अग्रिम टिकट बुकिङ खुल्ने दिन कुरिरहेका छन्।
सरकारले यातायात व्यवसायीसँगको सहमतिपछि यस वर्षको दसैँका लागि यही असोज २३ गतेदेखि देशभरका यात्रुवाहक सवारीसाधनको अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो। यात्रुको चापलाई व्यवस्थित गर्ने, टिकट सहज रूपमा उपलब्ध गराउने तथा सुरक्षित यात्राको वातावरण सुनिश्चित गर्ने उद्देश्यले सम्बन्धित निकायले आवश्यक तयारी अघि बढाएका छन्।

यातायात व्यवस्था विभाग, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ, मजदुर सङ्घ–सङ्गठन, प्रहरी प्रधान कार्यालय तथा उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच भएको समन्वयपछि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरिएको हो।
दसैँको समयमा सार्वजनिक यातायातमा यात्रुको अत्यधिक चाप हुने भएकाले टिकट वितरणदेखि सवारी सञ्चालनसम्मका विषयलाई व्यवस्थित बनाउने तयारी गरिएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले दसैँको समयमा यात्रुसँग सरकारले तोकेकोभन्दा बढी भाडा नलिन सबै यातायात व्यवसायीलाई आग्रह गरेको छ।

महासङ्घका महासचिव डेकनाथ गौतमले तोकिएको भाडाभन्दा बढी रकम असुल्ने सवारीसाधनलाई कारबाही गरिने जानकारी दिएका छन्।दसैँका बेला यात्रुको चापको फाइदा उठाउँदै कतिपय व्यवसायीले बढी भाडा लिने, टिकटमा अनियमितता गर्ने तथा यात्रुलाई असहज बनाउने गुनासो आउने गरेका छन्।
त्यसलाई नियन्त्रण गर्न सम्बन्धित निकायले अनुगमनलाई प्रभावकारी बनाउने तयारी गरेका छन्। यात्रुले पनि टिकट खरिद गर्दा तोकिएको भाडादरभन्दा बढी रकम तिर्न नहुने र समस्या परेमा सम्बन्धित निकायमा जानकारी गराउनुपर्नेछ।
अग्रिम टिकट बुकिङका लागि काठमाडौंको गोङ्गबु बसपार्कलगायत प्रमुख टिकट काउन्टरमा आवश्यक व्यवस्थापन गरिएको छ। महासङ्घले सातै प्रदेश, जिल्ला समिति तथा सदस्य सङ्घ–संस्थालाई आवश्यक निर्देशन दिएको जनाएको छ।
गोङ्गबु बसपार्कमा कार्यरत शाखा प्रमुख तथा कर्मचारीलाई समेत यात्रुको चापअनुसार सेवा प्रवाह गर्न निर्देशन दिइएको छ।अग्रिम टिकट बुकिङ काउन्टरमा खटिने कर्मचारीले तोकिएको पोसाक तथा परिचयपत्र अनिवार्य रूपमा लगाउनुपर्नेछ।
यात्रुसँग नम्र व्यवहार गर्ने, सहज रूपमा टिकट उपलब्ध गराउने र यात्रुको गुनासो तथा समस्यालाई सम्बोधन गर्ने व्यवस्था मिलाउन भनिएको छ। टिकट बिक्रीका क्रममा हुने सम्भावित भीडलाई व्यवस्थित गर्न आवश्यक सुरक्षा तथा व्यवस्थापनसमेत गरिनेछ।
दसैँमा सडकमा हुने अत्यधिक सवारी चापलाई व्यवस्थापन गर्न केही सडकखण्डमा ठूला सवारीसाधन सञ्चालनमा समेत रोक लगाइने भएको छ। यही असोज २५ गते घटस्थापनादेखि आगामी कात्तिक ८ गतेसम्म नारायणगढ–काठमाडौं सडकखण्डमा ट्रेलरलगायत ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइनेछ।
तर खाद्य सामग्री, औषधि, फलफूल तथा अन्य अत्यावश्यक सामग्री बोकेका सवारीसाधनको आवतजावतमा भने रोक नलगाइने भएको छ। अत्यावश्यक वस्तुको आपूर्ति प्रभावित नहोस् भन्ने उद्देश्यले त्यस्ता सवारीसाधनलाई सञ्चालनको अनुमति दिइएको हो।
त्यसैगरी, घटस्थापनादेखि कात्तिक १० गतेसम्म यात्रुवाहक सवारीसाधनका लागि देशभर लामो तथा मध्यम दूरीका रुट परमिट खुला गरिएको छ। यसले दसैँको समयमा यात्रुको चापअनुसार थप सवारीसाधन सञ्चालन गर्न व्यवसायीलाई सहज हुने अपेक्षा गरिएको छ।
यद्यपि सडकको विशेष प्रकृतिका कारण निश्चित आकार तथा प्रकारका सार्वजनिक सवारीसाधन सञ्चालनमा लगाइएको प्रतिबन्ध भने यथावत् रहने महासङ्घले जनाएको छ। सडकको अवस्था र सुरक्षालाई ध्यानमा राखेर यस्तो व्यवस्था गरिएको हो।
काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुलाई सहजीकरण गर्न प्रमुख नाकामा यात्रु सहायता कक्ष स्थापना गरिएको छ। ती सहायता कक्षको अनुगमन तथा सहजीकरणका लागि यातायात व्यवस्था विभागले फोकल पर्सनसहितको टोली परिचालन गर्ने भएको छ।
महासङ्घले पनि गोङ्गबु बसपार्क, कलङ्की, कोटेश्वर, गौशाला तथा चाबहिल क्षेत्रमा जिम्मेवारी तोकेको छ। यात्रुले टिकट, भाडा, सवारी सञ्चालन वा अन्य कुनै विषयमा समस्या भोगेमा सहायता कक्ष तथा सम्बन्धित निकायमा सम्पर्क गर्न सक्नेछन्।
यसपटक दसैँ यात्रालाई सुरक्षित बनाउन सार्वजनिक सवारीसाधनको ‘फिटनेस’ परीक्षणलाई पनि प्राथमिकता दिइएको छ। यातायात व्यवस्था विभागको सवारी परीक्षण कार्यालय, टेकुबाट प्राविधिक कर्मचारी खटाएर गोङ्गबु बसपार्कमै सवारीसाधनको निःशुल्क फिटनेस परीक्षण गर्ने व्यवस्था मिलाइने भएको छ।
दसैँमा ठूलो सङ्ख्यामा नागरिक काठमाडौं उपत्यकाबाट बाहिरिने भएकाले सडकमा सवारीको चापसँगै दुर्घटनाको जोखिमसमेत बढ्ने गर्छ। त्यसलाई ध्यानमा राख्दै सवारीसाधनको अवस्था, चालकको जिम्मेवारी तथा यात्रुको सुरक्षामा विशेष ध्यान दिन सम्बन्धित निकायले व्यवसायीलाई निर्देशन दिएको छ।
अब दसैँमा घर फर्किने यात्रुले अग्रिम टिकट बुकिङ खुलेसँगै आफ्नो यात्रा योजना बनाउन सक्नेछन्। यातायात व्यवसायीलाई तोकिएको भाडादर पालना गर्न, यात्रुलाई सहज सेवा दिन र सुरक्षित रूपमा गन्तव्यसम्म पु¥याउन सम्बन्धित निकायले निर्देशन दिएको छ।
यात्रुहरूलाई पनि सम्भव भएसम्म अग्रिम टिकट लिएर यात्रा गर्न तथा तोकिएकोभन्दा बढी भाडा नतिर्न आग्रह गरिएको छ।



