२६ असोज , काठमाण्डौ ।
विश्वव्यापी रूपमा क्यान्सरको जोखिम बढ्दै गएको छ । क्यान्सरका कारण वर्षेनी लाखौं मानिसको मृत्यु हुने गरेको छ । पुरुषमा प्रोस्टेट, फोक्सोको क्यान्सर र महिलामा स्तन र पाठेघरको क्यान्सर सबैभन्दा बढी देखिन थालेको छ ।
क्यान्सर हुने कारण भनेको कुनै कारणवश शरीरमा कोषिकाहरूको अनियन्त्रित वृद्धि हुनु हो । क्यान्सरको जोखिम कसलाई बढी हुन्छ पुरुष कि महिला ? भन्ने प्रश्न धेरैको चासोको विषय भएकाले पनि यसबारे पछिल्लो समय अध्ययन तथा अनुसन्धान भइरहेका छन् ।

नेपालमा क्यान्सरको उपचार हुने भनेर सर्वप्रथम नाम आउने चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा क्यान्सरका बिरामीको सङ्ख्या बढ्दै गएको देखिएको छ। अस्पतालले हालै सार्वजनिक गरेको तथ्याङ्कअनुसार अस्पतालमा आउने नयाँ बिरामीहरूमध्ये क्यान्सर रोग प्रमाणित हुने दर बढ्दै गएको देखिन्छ ।
अस्पतालका डा. सुशील अधिकारीका अनुसार सन् २०२५ मा अस्पतालको बहिरङ्ग विभाग (ओपीडी) मा आएका २७ हजार २४३ जना नयाँ बिरामीमध्ये ६ हजार ८५८ जनामा क्यान्सर रोग लागेको पुष्टि भएको थियो । सन् २०२४ मा आएका ३१ हजार ५६० नयाँ बिरामीमध्ये ७ हजार ९ जनामा क्यान्सर रोग लागेको देखिएको थियो ।

सन् २०२४ मा नयाँ बिरामीमध्ये २२.२० प्रतिशतमा क्यान्सर प्रमाणित भएको देखिएकोमा सन् २०२५ मा २५.१७ प्रतिशतमा क्यान्सर रोग लागेको प्रमाणित भएको थियो। अस्पताल आएका नयाँ बिरामीको सङ्ख्या र तीमध्ये क्यान्सर प्रमाणित हुने बिरामीको प्रतिशत निकाल्दा सन् २०२५ मा आउने नयाँ बिरामीमध्ये बढीमा क्यान्सर रोग लागेको देखिएको हो।
अस्पतालका अनुसार सन् २०२५ मा बहिरङ्ग विभाग (ओपीडी) बाट २ लाख १२ हजार ९७७ जनालाई सेवा दिइएको छ। ती बिरामीमध्ये २७ हजार २४३ जना नयाँ बिरामी हुन् भने बाँकी पुनः परीक्षणका लागि आएका बिरामी हुन्।
अझ गम्भीर कुरा त के छ भने अस्पतालको पछिल्लो ५ वर्षको तथ्याङ्कले क्यान्सर रोग पहिचान हुनेमा पुरुषभन्दा महिलाको सङ्ख्या बढी देखाएको छ । अस्पतालका अनुसार सन् २०२५ मा ३ हजार ८४ जना पुरुष र ३ हजार ७७४ जना महिलामा क्यान्सर रोग पुष्टि भएको थियो।
पछिल्लो १२ वर्षको अवधिलाई हेर्ने हो भने ओपीडीमा झन्डै १ लाख १७ हजार ६१५ जना बिरामी बढी आएको देखिन्छ। सन् २०१३ मा ९५ हजार ३६२ जना बिरामीले ओपीडी सेवा लिएका थिए। विश्वभर क्यान्सरका बिरामीहरूको तथ्याङ्क राख्ने एक संस्थाले गरेको अनुमानलाई आधार मान्ने हो भने नेपालमा बर्सेनि ५० देखि ७० हजार नयाँ क्यान्सरका बिरामी थपिन्छन्।
तीमध्ये ३५ प्रतिशत मात्रै अस्पतालमा आउने गरेका छन्। अस्पतालमा दर्ता भएका बिरामीहरूको सङ्ख्याका आधारमा नेपालमा तीव्र रूपमा क्यान्सर रोगी बढिरहेको चिकित्सकहरूको भनाइ छ ।
गत वर्ष (सन् २०२५ मा) अस्पताल आएका नयाँ बिरामीमध्ये सबैभन्दा बढी नाक, कान, घाँटीको समस्या भएका ५ हजार ४४२ जना, प्रसूतिसम्बन्धी समस्या भएका ४ हजार ४०९ जना, स्तनसम्बन्धी समस्या भएका ४ हजार १२६ जना, छाती तथा फोक्सोसम्बन्धी समस्या भएका ३ हजार १६९ जना, पेटसम्बन्धी समस्या भएका ३ हजार ६७ जना र हाडजोर्नीसम्बन्धी समस्या भएका २ हजार ४६२ जनाले ओपीडीबाट सेवा लिएका छन्।
अस्पतालमा सन् २०२५ मा ठूला ३ हजार ९१ शल्यक्रिया गरिएको छ। सन् २०२४ मा ३ हजार १६९ ठूला शल्यक्रिया गरिएको थियो। अस्पताल सञ्चालन भएको दिन दैनिक २० देखि २५ वटासम्म अप्रेसन हुने गरेको छ।
अस्पतालमा बिरामीको औसत बसाइ ७ दिन छ। केमोथेरापी लगाउनुपर्ने बिरामीको औसत साइकल २१ दिनको हुने गरेको छ। बिरामीको अकुपेन्सी दर ८० प्रतिशतभन्दा माथि छ। अस्पतालमा मृत्युदर ३.६४ प्रतिशत छ।
क्यान्सर अस्पतालमा दैनिक २२० देखि २४० जना बिरामीलाई रेडियोथेरापी सेवा दिइन्छ। क्यान्सर पत्ता लागेका ६० देखि ७५ प्रतिशत बिरामीलाई रेडियोथेरापी उपचार सेवा दिनुपरेको तथ्याङ्कमा उल्लेख छ। सन् २०२५ मा अस्पतालको आकस्मिक विभागबाट २६ हजार १२६ जनाले सेवा लिएको जानकारी दिँदै डा. अधिकारीले ११ हजार ५५९ जना बिरामीले अन्तरङ्ग (भर्ना भएर) सेवा लिएको बताए।
सन् २०२५ मा अस्पतालमा विकिरण प्रविधिबाट उपचार गराउनेको सङ्ख्या २ हजार ९७० रहेको छ भने डे केयरमा भर्ना भएर केमोथेरापी लिने बिरामीको सङ्ख्या २६ हजार ४७२ रहेको डा. अधिकारीले जानकारी दिए।
अस्पतालले सन् २०२५ मा १० हजार ९२० जना विपन्न बिरामीको निःशुल्क उपचार गरेको छ। विपन्नको उपचारबापत ४३ करोड १२ लाख १४ हजार १६१ रुपैयाँ बराबरको छुट बिरामीले पाएको देखिन्छ।
नयाँ क्यान्सरका बिरामीमध्ये सबैभन्दा बढी फोक्सोका क्यान्सरका बिरामी छन्।
गत वर्ष अस्पतालमा थपिएका ६ हजार ८५८ नयाँ क्यान्सरका बिरामीमध्ये सबैभन्दा बढी फोक्सोका क्यान्सरका बिरामी छन्। फोक्सोका ३८० पुरुष र ३७९ जना महिला गरी ७५९ जनामा फोक्सोको क्यान्सर भएको पत्ता लागेको थियो। पुरुष र महिलामा झन्डै बराबरजस्तो सङ्ख्यामा फोक्सोको क्यान्सर भएको पत्ता लागेको छ ।
दोस्रोमा स्तनको क्यान्सर छ। गत वर्ष ७११ जना महिला र २० पुरुषमा स्तनको क्यान्सर भएर उपचार गरिएको अस्पतालको तथ्याङ्कमा उल्लेख छ। २० देखि ६० वर्ष र ६० देखि ७० वर्ष उमेर समूहका महिला र पुरुषमा यो क्यान्सर अधिक देखिएको छ। तेस्रो नम्बरमा पाठेघरको मुखको क्यान्सर पर्दछ।
गत वर्ष ६२२ जना महिलाले पाठेघरको मुखको क्यान्सर भएर अस्पतालमा उपचार गराएका छन्। चौथो नम्बरमा पित्तथैली तथा पित्तनलीमा क्यान्सर भएका ३७७ जना बिरामी नयाँ थपिएका छन्। पाँचौँ नम्बरमा आमाशयको क्यान्सर पुष्टि भएका बिरामीको सङ्ख्या ३५६ रहेको थियो।
छैटौँ नम्बरमा रक्त तथा बोनम्यारोको क्यान्सर रहेको देखिन्छ। गत वर्ष ३५३ जना यस्ता नयाँ बिरामीमा यो रोग पत्ता लागेको थियो। अस्पतालका अनुसार गत वर्ष ५१ थरी क्यान्सरका बिरामी उपचारका लागि आएका थिए।
सहरिया जीवनशैली र खानपानका कारणले क्यान्सरका रोगीहरू बढिरहेको चिकित्सकहरू बताउँछन्। सुर्तीजन्य पदार्थको प्रयोग, रासायनिक मल र कीटनाशक विषादीको प्रयोग गरिएका खाना, मिसावटयुक्त खाना र प्रदूषणका कारण क्यान्सरका रोगी बढिरहेको उनीहरूको भनाइ छ।
सुर्तीजन्य सामग्रीको प्रयोग क्यान्सर लाग्ने ३० प्रतिशत कारक बन्ने गरेको तथ्याङ्कले देखाउँछ । भरतपुरको क्यान्सर अस्पतालमा देशका ७७ वटै जिल्ला र भारतका विभिन्न ठाउँबाट बिरामीहरू उपचारका लागि आउने गरेका छन्। अस्पतालमा उपचार गराउन आउने बिरामीमध्ये अधिकांश चितवनका छन्।
अस्पतालमा क्यान्सरको पहिलो स्टेजमा आएमा ८० प्रतिशत, दोस्रो स्टेजमा आएका बिरामी ६० प्रतिशतसम्म र तेस्रो स्टेजका बिरामी २५ देखि ३० प्रतिशतसम्म निको हुने गरेको अस्पतालका चिकित्सकहरूको भनाइ छ।
अमेरिकन क्यान्सर सोसाइटीको २०२४ को विश्वव्यापी क्यान्सर अनुसार २०२४ मा विश्वभर २ करोड ६ लाख मानिसमा क्यान्सर देखिएको र ९८ लाखको मृत्यु भएको अनुमान छ। विश्व स्वास्थ्य संगठनको क्यान्सर अनुसन्धानसम्बन्धी अन्तर्राष्ट्रिय निकाय को सन् २०२२ को तथ्याङ्कअनुसार विश्वभर एक वर्षमा करिब २ करोड नयाँ क्यान्सरका बिरामी थपिन्छन् भने ९७ लाखभन्दा बढीको ज्यान जाने गरेको छ।
नयाँ बिरामीमध्ये करिब १ करोड ३ लाख पुरुष र ९६ लाख ६५ हजार महिला छन्। क्यान्सरबाट मृत्यु हुनेमा पनि पुरुषको सङ्ख्या बढी छ। सन् २०२२ मा करिब ५४ लाख पुरुष र ४३ लाख महिला गरी कुल ९७ लाखभन्दा बढीको मृत्यु भएको थियो।
क्यान्सर लाग्दैमा मृत्यु हुन्छ भन्ने होइन। समयमै पहिचान, सही उपचार र नियमित स्वास्थ्य परीक्षणले धेरै बिरामीको जीवन बचाउन सकिन्छ। विश्वभर क्यान्सर पहिचान भएको पाँच वर्षभित्रका करिब ५ करोड ३५ लाख मानिस जीवित रहेको अनुमान छ।



