२६ असोज , काठमाण्डौ ।
यमनका हुथी विद्रोहीहरुले साउदी अरबमाथि लगातार आक्रमण गरिरहेका छन् । हालै साउदी अरबको राजधानी रियादको एयरपोर्टमा हुथीले पटक पटक मिसाइल हमला गरेको छ । यो सैन्य रूपमा एउटा शक्तिशाली देश, साउदी अरबका लागि ठुलो झट्का हो ।
यसले देशका आवस्यक पूर्वाधारहरुको सुरक्षालाई लिएर चिन्तामात्रै बढाएको छैन, बरु मोहम्मद बिन सलमानको सेक्योरिटीलाई लिएर पनि भित्रि रुपमा चिन्ता बढाइदिएको छ । यस्तोमा एमबीएसको सुरक्षा बढाइएको छ । वाल स्ट्रीट जनरलका अनुसार, हुथी समूहको हमला बढेपछि मोहम्मद बिन सलमान बंकरहरु भएको र कडा सुरक्षा भएको महलमा सिफ्ट भएका छन् ।

उनको सुरक्षाका लागि खासरुपमा चुनिएका विशेष गार्डको दस्ता परिचालित भएको छ । खासगरी इंटरसेप्टर मिसाइलहरुको कमीले साउदीका अघि इनर्जी इंफ्रास्ट्रक्चर र शाही महलहरुको सुरक्षालाई लिएर चिन्ता बढेको हो ।
रिपोर्टमा दाबी गरिएको छ कि साउदी अरबका क्राउन प्रिंस मोहम्मद बिन सलमान लुक्नका लागि बाध्य भएका छन् किनभने हुथीका मिसाइलहरु रियादसम्म पुगेका छन् र साउदीका एयर डिफेंसले तिनिहरुलाई रोक्न असफल भएका छन् । यो डर पछिल्ला दुई दिनमा राजधानीको इंटरनेशनल एयरपोर्टमा भएको हमलाले थप बढाइदिएको हो ।

आइतबारको हमला साउदी अरबमा गत एक दशकको सबैभन्दा घातक हमला भएको ठीक २४ घंटापछि भएको हो । त्यसको अघिल्लो किंग खालिद इंटरनेशनल एयरपोर्टमामा एक मिसाइल खसेको थियो, जसमा १३ जनाको ज्यान गएको थियो । ३०० बढी मानिसहरु घाइते भएका थिए ।
आइतबार भने १ जनाको मृत्यु र ११ जना घाइते भएका थिए । यहाँसम्म कि साउदी सत्तामा भएका मानिसहरुसम्म पनि उनीहरु सुरक्षित छैनन् भन्ने संदेश पठाइएको थियो । यसबीच साउदीका अधिकारीहरुलाई उदृत गर्दै समाचारमा उल्लेख भएअनुसार, ४१ वर्षीय मोहम्मद बिन सलमान गत ६ दिनदेखि बंकर भएको र कडा सुरक्षा भएका महलहरुमा मात्रै जानेआउने गरिरहेका छन् ।
उनलाई अन्तिम पटक मंगलवार सार्वजनिक रूपमा देखिएको थियो, जतिबेला उनले राष्ट्रिय दान अभियानको समर्थनमा रक्तदान गरेका थिए । त्यसयता उनी कडा सुरक्षा घेरामा छन् । यता राजधानी रियादका विद्यालयहरु पनि बन्द गरिएको छ ।
साउदी अरबमाथि भएका हमलाहरुको कयौं ठुला देशहरुले निन्दासमेत गरेका छन् । इयु प्रमुख उर्सुलाले यी हमलाहरुको निंदा गर्दै यसलाई ’खतरनाक रूपले बिग्रदो स्थिति’ भनेकी छन् र हुथीहरुसंग आम नागरिकहरु रहने स्थानमा हमला रोक्न पनि अपिल गरेकी छन् ।
यता हुथीहरुको हमला रोक्न साउदीसंग इन्टरसेप्टरको कमी भएको खुलेको छ । द वाल स्ट्रीट जर्नलले साउदी अधिकारिहरुलाई उदृत गर्दै भनेको छ कि यमनमा ईरान समर्थित हूथी विद्रोही गुटको लगातारका आक्रमणहरुलाई रोक्नका लागि आवस्यक इंटरसेप्टर मिसाइलहरुको कमी भएको छ ।
साउदी अरबले अत्याधुनिक हतियारहरूमा ठूलो धनराशि खन्याएको छ तर हालैका घातक आक्रमणहरू विशेषगरी रियाद विमानस्थलमा भएको हमलाले हुथी विद्रोहीका निरन्तरका आक्रमणहरूलाई रोक्न सक्ने उसको क्षमतामा रहेका कमजोरीहरूलाई उजागर गरेको छ ।
साउदीमा रहेका कूटनीतिक नियोगहरूले आफ्ना नागरिकलाई आक्रमण हुनसक्ने स्थानमा नजान चेतावनी दिन बाध्य भएका छन् । पटक–पटक भएका क्षेप्यास्त्र तथा ड्रोन आक्रमणहरूले तेलको धनी यस अधिराज्यको स्थायित्वसम्बन्धी छविलाई समेत क्षति पु¥याएका छन् ।
बारम्बारका हुथी आक्रमणहरूले साउदी वायु प्रतिरक्षा प्रणालीमाथि दबाब बढाइरहेका छन् र सम्भवतः यसले इन्टरसेप्टरहरूलाई रित्याउँदै लगेको छ । त्यसको विश्वभर नै अभाव भइरहेको प्रतिवेदनहरूले देखाएका छन् ।
साउदी सेना देशका विभिन्न भागमा भएका आक्रमणहरूलाई विफल पार्न सक्षम छ तर तेल केन्द्रहरू र रियादको विमानस्थललाई लक्षित गरी गरिएका लगायतका थुप्रै प्रहारहरू भने प्रतिरक्षा घेरा तोडेर छिर्न सफल भएका छन् ।
किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थल जमिनको क्षेत्रफलका आधारमा विश्वकै सबैभन्दा ठूला विमानस्थलहरूमध्ये एक हो । त्यो शहरको केन्द्रबाट करिब ३५ किलोमिटर टाढा २२५ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ ।
लन्डनस्थित मेना एनालिटिका जोखिम परामर्शदाता संस्थाका एन्ड्रियास क्रिगले भने, ‘पेट्रियट, थाड, लडाकु विमान र अन्य सेन्सरहरूलाई संयोजन गर्ने बहु–तहको प्रणालीले पनि करिब २२ लाख वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको साउदी अरब जत्रो देशमा अभेद्य सुरक्षा छाता तयार गर्न सक्दैन ।’
उनीहरूले ‘रियाद, विमानस्थलहरू, तेल केन्द्रहरू, सैन्य अड्डाहरू, पवित्र शहरहरू र ठूलो परिमाणका महत्त्वपूर्ण पूर्वाधारहरूको निरन्तर रक्षा गर्नुपर्ने हुन्छ,’ उनले थपे । साउदी अरबसँग सीमित सैन्य–औद्योगिक क्षमता छ र त्यसैले यसले आयातित अत्याधुनिक हतियारहरूमा भारी खर्च गरेको छ ।
ऐतिहासिक रूपमा साउदी आफ्ना सेनालाई सुदृढ बनाउन विदेशी जनशक्ति, ठेकेदार र प्रशिक्षकहरूको ठूलो उपस्थितिमा भर पर्दै आएको छ । अमेरिकी, बेलायती र फ्रान्सेली कम्पनीहरू लगायतका पश्चिमी निर्माताहरूबाट ठूला हतियार खरिद गर्नु साउदी रक्षा नीतिको प्रमुख विशेषता र सहयोगी मुलुकहरूको मन जित्ने कूटनीतिक रणनीति बन्दै आएको छ ।
साउदी प्रतिरक्षा प्रणालीले आउने थुप्रै आक्रमणहरूलाई विफल पारिरहेको भए तापनि आफ्नो उद्देश्य पूरा गर्न ‘हुथीहरूले हरेकपटक प्रणालीलाई भेदन गरिरहनु आवश्यक नपर्ने’ क्रिगले बताए । उनीहरूलाई कहिलेकाहीँ प्रहार सफल हुनु नै पर्याप्त हुन्छ र रियादको विमानस्थलमा पटक–पटक भएका आक्रमणहरूले उनीहरू ‘रणनीतिक दूरीमा निरन्तर आक्रमणहरू गर्न सक्ने क्षमता कायमै राख्छन्’ भन्ने देखाएको उनले थपे ।
हुथी आक्रमणहरूमा आएको यो तीव्रता यस्तो बेला भएको हो जब लामो समयदेखि जारी यमनी गृहयुद्ध पछिल्ला महिनाहरूमा फेरि चर्किन पुगेको छ । त्यसमा साउदी नेतृत्वको गठबन्धनले यस समूहविरुद्ध अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारलाई समर्थन गर्छ ।
ओटावा विश्वविद्यालयका सुरक्षा विश्लेषक थोमस जुनोले हुथीहरू ‘खेलका नियमहरू पुनर्लेखन गर्न’ चाहन्छन् भनी बताएका छन् । हुथीको नियन्त्रणमा रहेको साना विमानस्थलमा साउदी लडाकु विमानहरूले आक्रमण गरिरहेको सन्दर्भमा इरान समर्थित यस समूहले ‘साउदी अरबले उनीहरूमाथि जे गर्छ, साउदी अरबलाई पनि त्यही गर्न’ चाहेको उनले थपे ।
अन्सार अल्लाह भनेर पनि चिनिने हुथी आन्दोलनसँग यमनको कठोर र पहाडी भूभागमा प्रशिक्षित, दृढ र युद्धमा खारिएका दशौं हजार लडाकुहरू छन् । तिनीहरूका क्षेप्यास्त्र र ड्रोनहरूले वर्षौंदेखि तेल सम्पन्न खाडी छिमेकीहरूका लागि खतरा खडा गर्दै आएका छन् र हालैका दिनहरूमा इजरायलसम्म पुगेका छन् ।
महत्त्वपूर्ण साउदी पूर्वाधारहरूलाई लक्षित गरेर हुथीहरूको सन्देश ‘शान्तिको मूल्य लगातार बढ्दै गइरहेको छ’ भन्ने रहेको जुनोले यमन युद्धलाई अन्ततः समाधान गर्ने आशातर्फ संकेत गर्दै बताए । ‘साउदी अरबका लागि यो पूर्ण रूपमा विनाशकारी हो किनभने साउदी अरबले धेरै वर्षदेखि यमनको युद्धबाट आफूलाई बाहिर निकाल्न प्रयास गरिरहेको छ,’ उनले थपे ।
‘विमानस्थलको अत्यधिक ठूलो महत्त्व छ’ किनभने यो युवराज मोहम्मद बिन सलमानको नेतृत्वमा रहेको साउदी भिजन २०३० को केन्द्रविन्दु हो जसको लक्ष्य रियादलाई पर्यटकहरू, बहुराष्ट्रिय कम्पनीहरू र अन्तर्राष्ट्रिय कार्यक्रमहरूको मुख्य केन्द्र बनाउनु हो, क्रिगले भने ।
‘हुथीहरूले यो कुरा राम्ररी बुझेका छन् ।’ रियादको विमानस्थललाई अवरुद्ध पार्दा साउदी सैन्य शक्ति कमजोर नहुन सक्छ तर बारम्बारका आक्रमणहरूले भौतिक क्षतिभन्दा पनि बढी आर्थिक र मनोवैज्ञानिक क्षति पु¥याउने चेतावनी क्रिगले दिए ।
शनिबार विमानस्थलमा भएको यो हमला सन् २०१५ को आत्मघाती बम विस्फोटयता अधिराज्यमा भएको सबैभन्दा घातक आक्रमण थियो । यो आक्रमण आइतबार रियादमा सुरु हुने डब्ल्युपीसी इनर्जी कंग्रेससँगै देशको उच्चस्तरीय सम्मेलन र मनोरञ्जनको मौसम सुरु हुने पूर्वसन्ध्यामा भएको थियो ।
अधिकारीहरूले पहिले हुन लागेका आक्रमणहरूबारे बेलाबेलामा टेक्स्ट म्यासेज अलर्टमार्फत नागरिकहरूलाई जानकारी दिने गर्थे । तर, त्यस्ता चेतावनीहरू हालैका दिनमा रोकिएका छन् । त्यसले गर्दा धेरै नागरिकहरू सशंकित बनेका छन् ।
शनिबार चिन्तित कूटनीतिक नियोगहरूले साउदी अधिकारीहरूबाट नियमित रूपमा जानकारी नपाएको भन्दै असन्तुष्टि जनाएका थिए । साउदी अधिकारीहरूले आफ्नो पहिलो आधिकारिक वक्तव्य जारी गर्नुभन्दा केही घण्टाअघि नै धेरै दूतावासहरूले आफ्ना नागरिकहरूलाई रियाद विमानस्थल नजान सल्लाह दिइसकेका थिए ।
यसैबीच हुथीको आक्रमणका कारण साउदी अरबमा हवाई यात्राहरु पनि नराम्रमरी प्रभावित भएका छन् । आज पनि देशका तीन प्रमुख विमानस्थलमा ठूलो संख्यामा उडानहरु रद्द भएका छन् । यसको असर आम यात्रिहरुका साथै उमरा गर्न जाने तीर्थयात्रियहरुलाई समेत परेको छ ।
कयौं यात्री एयरपोर्टमा फसेका छन्, अंतर्राष्ट्रिय उडानहरु पनि प्रभावित भएका छन् । बांग्लादेशको प्रवासी कल्याण मंत्रालयका अनुसार, हमलापछि रियादमा करीब ५०० बांग्लादेशी यात्री फसेका छन् । उता दम्माम एयरपोर्टलाई पनि हुथीले निशाना बनाएको छ ।
यसबीच एतिहाद एयरवेजले १३ अक्टूबरसम्म अबू धाबीबाट रियाद, जेद्दा र दम्माम जाने केही उडानहरु रद्द गरेको छ। एमिरेट्सले दुबईबाट साउदी अरबका केही शहरहरुका लागि सेवाहरु रद्द गरेको छ । फ्लाईदुबईले पनि रियादका उडानहरुमा लगाएको प्रतिबन्ध १४ अक्टूबरसम्म बढाएको छ ।
दुबई स्थित साउदी वाणिज्य दूतावासले पनि उडानहरु रद्द भएका कारण यूएईमा फसेका साउदी नागरिकहरुलाई फिर्ता पठाउनका लागि बसहरुको व्यवस्था गरेको छ । साउदीको यो तनावबारे आफ्ना टिप्पणीहरु अवस्य व्यक्त गर्नु होला ।
ताजा खबरका लागि नेपाल टाइम्सको अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरी हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।



